वीरगंज । पर्साकाे पोखरीया नगरपालिकाले नियम विपरित कर्मचारी भर्ना आव्हान गर्न लागेकाे विभिन्न राजनीतिक दलले आराेप लगाएका छन् ।
नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र र रास्वपाले संयुक्त रुपमा बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले २०८० मंसिर ७ गते र मंसिर १० गते करार कर्मचारी भर्नाको लागी ऐन कानून विपरीत सूचना प्रकाशित गरेको जनाएकाे छ ।
उक्त सूचना अनुसार विभिन्न पदमा समावेशी सिद्धान्त विपरीत र मात्र मौखिक अन्तर्वाताको माध्यमवाट आफ्नो नजिकको व्यक्तिहरुलाई आर्थिक लेनदेनको भरमा कर्मचारी भर्ना गरी नगरपालिकाको थप आर्थिक भार ठेग्न नसकिने अवस्थामना पुर्याउने जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव सुरेन्द्र प्रसाद सिंह, जसपा पाेखरिया नगरपालिकाका अध्यक्ष राजु साह तेली, माओवादी केन्द्र पाेखरियाका अध्यक्ष पान्नालाल पटेल, रास्वपा पर्सा संयाेजक दिलिप कुमार कुर्मीद्वारा जारी विज्ञप्तीमा सुनयोजित तरिकाले कर्मचारी भर्नाको प्रक्रिया शुरु भएकोमा आपति जनाएकाे छ ।
सो कर्मचारी भर्ना प्रक्रिया अविलम्व वन्द गरी हालसम्म पोखरीया नगरपालिकामा अस्थाई, स्थाई, करार र ज्यालादारी कर्मचारीहरुको समेत संख्या सार्वजनिक गरी आवश्यक जनशक्ति मात्र पदपुर्तिको लागी नियम संगत नयाँ सूचना प्रकाशित राजनीतिक दलहरुकाे माग छ ।
एक हप्ता भित्र माग पुरा नभए हामी सम्पूर्ण राजनितिक दलहरु चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरि आन्दोलन गर्ने बाध्य हुने प्रेस विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन् । सो आन्दोलनवाट हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वय् नगरपालिका कार्यालय नै हुने ४ राजनीतिक दलहरुले जनाएका छन् ।