वीरगंज । भेट्रान सिटी क्लब वीरगंजकाे आयोजनामा कार्त्तिक १८ गतेदेखि ‘प्रथम वीरगंज गोल्ड कप २०८०’ हुन लागेकाे छ । वीरगंजमा मधेस प्रदेशकै सबै भन्दा बढी नगद राशि पुरस्कारको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएकाे आयाेजकले जनाएकाे छ ।
प्रतियोगिता बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सबिन बस्नेतले कात्तिक १८ देखि कार्त्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमले भाग लिने जानकारी गराए ।
उनका अनुसार, प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक वीरगंज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टिमले भाग लिने भएका हुन् ।
प्रतियोगिताको उपाधि उपविजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।
वीरगंजमा विगत पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव पङ्कज श्रेष्ठले बताए । उनले वीरगंजकाे खेलकुद प्रवर्द्धनमा सङ्घ र प्रदेश दुवै सरकारले उपेक्षा गरिरहेको परिप्रेक्ष्यमा वीरगंजले पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्छ भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
वीरगंजकाे आदर्शनगर रङ्गशालामा हुने प्रतियोगितामा दर्शकका लागि प्रवेश शुल्क एक सय रुपैयाँ राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क दुई सय रुपैयाँ राखिएको जानकारी उनले गराए ।
प्रतियोगिता आयोजनास्थल आदर्शनगर रङ्गशालाको दर्शक क्षमता १० हजार रहेकामा प्रतियोगिताकै लागि भनेर ३ हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिटपनि निर्माण गरिएको जानकारी श्रेष्ठले दिए । फाइनल खेलको अघिल्लो दिन कार्तिक २४ गते नेपाल र भारतको महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल पनि हुने जानकारी उनले गराए ।
प्रतियोगिताको कूल खर्च लागत ८० लाख रुपैयाँ रहेकोमा मुख्य सहयोगी वीरगञ्ज महानगरपालिकाले २५ लाख रुपैयाँ दिएको क्लबका अध्यक्ष बस्नेतले बताए । आर्थिक सहयोगका लागि अन्य प्रयोजकहरूसँग पनि छलफल चलिरहेको उनले बताए ।