वीरगंज । बीरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित रहेको श्री शारदा माद्यमिक विद्यालय बहुअरी सुगौलीका विद्यार्थीहरुले पठनपाठन नियमित सञ्चालन हुनु पर्ने अवाज उठाउदा थुन्ने, कुटने र थुनामा पठाउन लगाउने कार्य भइरहेकाे आराेप लागेकाे छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरगंज महानगर कमिटीले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले आफ्नाे अधिकारकाे लागि अवाज उठाउदा थुन्ने, कुटने र थुनामा पठाउन लगाउने कार्य गैर जिम्मेवार कार्य भएकाे वताउँदै भर्त्सना समेत गरेकाे छ ।
संगठनका अध्यक्ष आशिफ अहमदले प्रेस विज्ञप्ती जारी गर्दै शारदा मावि विगत केही महिनादेखी अस्त व्यस्त हुँदै गएको जनाएकाे छ । संगठनले विज्ञप्ती मार्फत विद्यालयमा नियमित कक्षा संचालन नहुने, पुरै समय र समयमा कक्षा संचालन नहुने भएकोले वीरगंज महानगरपालिकाकाे शिक्षा महाशाखालाई पटक पटक जानकारी गराउँदा पनी कुनै चासो नदेखाएकाे आराेप समेत लगाएकाे छ ।
मधेश प्रदेशको एक मात्र वीरगंज महानगरपालिकामा रहेकाे प्राविधिक विषय पढाई हुने सामुदायिक सारदा माविमा कक्षा ११ र १२ लगायत प्राविधिक तर्फका शिक्षक छैनन्, नियमित कक्षा संचालन हुँदैन प्रअ विद्यालयमा बस्दैनन्, शिक्षक समयमा नआउने गरेकाे जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ । विद्यार्थीहरुले सो समस्या बारे अवगत गराउँदा पनि शिक्षा महाशाखामा कुनै कदम नचालनु गैर जिम्मेवार कार्य भएकाे संगठनकाे भनाई छ ।
दुई दिन पहिला मात्र विद्यालयमा विद्यार्थीहरु नियमित कक्षा सञ्चालनको माग गरेपछि थुनामा परेको घटना बाहिरिएकाे थियाे ।
विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको थियाे । पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका थिए ।
दैनिक सात घण्टी पढाइ हुनुपर्नेमा एक घण्टीसमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो छ । विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् ।
यस विषयमा बुझ्न विद्यालयका प्रअ विनाेद मेहतासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले भने विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिए । उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि घटनाको छानबिन शुरु गरिएको बताए ।