वीरगंज । चाेरीकाे पोल खुल्ने डरले एकल महिलाकाे हत्या गरेकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल निवासी ५६ बर्षिय कान्ती देवी वीनकाे हत्या आराेपमा प्रहरी उनकाे जेठाजुसहित ३ जनालाई पक्राउ गरेकाे हाे ।
२०८० असाेज २ गते दिउँसो ३ बजेको समयमा विन कै घर कोठा भित्र घाटी रेटी हत्या गरेकाे अवस्थामा उनकाे शव फेला परेको थियाे ।
साेही हत्यामा सलंग्न जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल निवासी ३६ बर्षिय भुट्टा भन्ने लालबाबु राउत वीन, साेही ठाउँ निवासी ५९ बर्षिय चन्द्रिका राउत र ५७ बर्षिय अमिका भन्ने अमीरीका राउत वीनलाई प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) काेमल साहले जानकारी दिए ।
उनका अनुसार सुरुमा शंकास्पद आधारमा लालबाबुलाई पक्राउ गरि अनुसन्धान गर्दा घटनामा मृतककाे जेठाजुहरु चन्द्रिका र अमीरीका समेतको संलग्नता खुलेकाे हाे ।
पक्राउ परेका लालबाबुले अधिकार प्राप्त अधिकारी समक्ष मृतकको जेठाजुहरु चन्द्रिका र अमीरीका समेतको संलग्नता रहेको व्यान समेत दिएका छन् । त्यसपछि निजहरूलाई समेत असाेज १४ गते पक्राउ गरि अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार प्रकाउ परेकाहरुले असाेज १ गते अन्दाजी राति ११:४५ बजेकाे समयमा मृतकको घरमा सुरुङ बनाइ (सेनकाटी) घर भित्र चोरी गर्नको लागि प्रवेश गरेका थिए । उनीहरुले घर भित्र रहेकाे बक्साहरू खोतिल्दै गरेको अवस्थामा मृतक बिउझेपछि आफुहरुलाई चिनेकाे भय र पोल खुल्ने डरले निजहरुले मिली मृतकको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएका थिए ।
त्यस पश्चात, उनीहरुले सिरानीले मुख थुनि खुर्पीले घाँटी रेटी हत्या गरेको भनि प्रकाउ प्रतिवादी लालबाबुकाे बयानबाट खुलेको प्रहरीकाे भनाई छ ।
वैदेशिक राेजगारकाे शिलसिलामा विदेशमा बस्दै आएका मृतकको छोरा जाहेरवाला अर्जुन मुखिया वीन बिदेशबाट घर आए पश्चात प्रतिवादी लालबाबु राउत वीनको नाममा असाेज ०७ गतेका दिन किटानी जाहेरी दरखास्त दिएका थिए । त्यस पश्चात निज प्रतिवादी लालबाबुलाई पक्राउ गरी प्रस्तुत मुद्दामा सोही दिन म्याद थप गरी अनुसन्धान कार्य जारी गरीएको थियाे ।
अनुसन्धानको क्रममा प्रतिवादीहरूको पोलिग्राफ परीक्षण समेत गराइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एसपी साहले वताए ।
घटनाकाे सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट एसपी साहकाे कमाण्डमा SOCO, तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा खटीएकाे थियाे । घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतक लाश पोष्ट मार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको थियाे ।
मृतकको छोरा बैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेको हुँदा पोष्ट मार्टम पश्चत मृतक लास सदगतको लागि तत्काल मृतकको जेठाजु नाता पर्ने चन्द्रिका राउत वीनले जिम्मा बुझी लगेका थिए ।