वीरगंज । राउण्ड टेबल नेपालको २३ औँ वार्षिक साधारण सभाबाट नितेशकुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौँमा सम्पन्न २३ औँ साधारण सभाले अग्रवालको अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतीक अग्रवाल, कोषाध्यक्षमा शाहील अग्रवाल तथा सम्पादकमा पङ्कज झुनझुनवाला रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले राउण्ड टेबलले सुरु गरेका विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने छ । राउण्ड टेबल नेपालले हाल देशका विभिन्न स्थानमा विद्यालय स्तरोन्नति, राउण्ड टेबल नेपाल मोडल स्कूल स्थापना, विपन्न वर्गका बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान, र एक देश एक लाख बिरुवाको अभियान सञ्चालन गरिरहेको छ ।
त्यस्तै नयाँ कार्यसमितिले आफ्ना सदस्यहरूका लागि विभिन्न तालिम तथा गोष्ठीहरूको आयोजना गर्नुका साथै उनीहरूको नेतृत्व र सिप विकासका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने छ । त्यसै गरी सदस्यहरू बिचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने कार्य गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।
साधारण सभामा निवर्तमान अध्यक्ष राहुल अग्रवालले आफ्नो कार्यकाल तथा गत आर्थिक वर्षको वार्षिक तथा लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनलाई अनुमोदन गर्दै नयाँ कार्यसमिति चयन गरिएको थियो ।
के हो राउण्ड टेबल नेपाल ?
राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरूको एक गैह्र नाफामूलक सामाजिक संस्था हो, जसको मुख्य उद्देश्य एडप्ट, एडप, इम्प्रुभ हो । राउण्ड टेबलले आफ्नो उद्देश्य पूरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरूको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरूलाई स्थानीय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तर रूपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।
राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेको छ । संस्थाले विशेष गरी शिक्षा, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा अग्रसर भई कार्यहरू गर्दै आएको छ ।