वीरगंज । सरकारले वंशजका आधारमा झूटो विवरण पेस गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निर्णय गरिएकाे हाे ।
हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालयमा, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अग्रवाल र कास्कीबाट भण्डारीको नागरिकता रद्द गर्ने निर्णय जानकारी दिइन् ।
उनले भनिन्, ‘गृह मन्त्रालयको प्रस्तावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेस गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निर्णय गरेको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषदले रद्द गरेको छ ।’