आनन्द पटेल/
वीरगंज । “घरको धारा महिनौं भो सुकेको तर हालसम्म स्थानीय सरकारले यस समस्याको समाधान गर्नका लागि कुनै पनि पहल कदमी अगाडी बढाएको छैन ।“ यो दुःखेसो स्थानीय संतोष यादवको हो । उनी बारा जील्लाको परवानीपुर गाउँपालीका वडा नं १ बुनियाद टोलका निवासी हुन् । उनी लगायत सिकेन्द्र पासवान, मुकेश पासवान, मुन्ना पासवान लगायतको पनि अहिलेत्यही दुर्दशा छ ।
“एक त हामी दलित र त्यसमा पनि गरिबको संतान भएको कारणले हाम्रो बस्तीमा गाउँको सिंहदरबार भनेर चिनिने स्थानीय सरकारको आँखा पर्न सकेको छैन” स्थानीय मुकेश पासवानको दुःखेसो छ । पानी भनेको जीवन हो, तर त्यही एक थोपा पानी पाउन आफूहरुलाई घन्टौंसम्म कुर्नु परेको पिडित मुन्ना पासवानको भनाई छ । एक त आफूहरुसँग घरमा पानी पीउन चापाकल छैन । अर्कोतिर छिमेकीको चापाकल हुँदाहुँदै पनि धारा नै सुकिसकेपछि अब कहाँबाट सहज रुपमा पानी खाने यो प्रश्न अधिकांश स्थानीयको मनमा छ ।
आफूहरुको अवस्था अहिले कर या मर जस्तै भएको स्थानीयहरुको भनाई छ । यो जल्दो बल्दो कहानी बारा जील्लाको परवानीपुर गाउँपालीकाको हो । यो पालीका देशकै सबै भन्दा सानो पालीकाको रुपमा चिनिन्छ ।
परवानीपुर गाउँपालीका मधेश प्रदेशको बारा जिल्लामा पर्दछ । यसको क्षेत्रफल १५.४८ वर्ग कि.मी. रहेको छ भने यहाँको जनसंख्या २२ हजार भन्दा बढी रहेको छ । यस पालीकामा पाँच वटा वडाहरु रहेका छन् । यस पालीकामा विभिन्न जातीका मानिसहरुको बसोबास रहेको छ । जस्तै मधेशी, थारु क्षेत्री, यादव, कुर्मी, तेली, मुस्लीम, चमार, दुसाद आदी छन् । यी सबै समुदायको आ-आफ्नै धर्म संस्कृतीहरु रहेको छ ।
सबै समुदायले आ-आफ्ना धर्म फरक फरक तरिकाले मनाउने गरेका छन् । तर यो पालीकामा खासगरी दलीत समुदायका मानीसहरु अझै पनि पछाडि परेका छन् । यो पालीकामा करिब एक हजार भन्दा बढी दलीतहरुको बसोबस रहेको छ । ज्याला मजदुरी गर्नु, खेतीपाती गर्नु आदी उनीहरुको प्रमुख पेशा हो । तर यस पालीकाको खासगरी दलीत बस्तीमा अहिले खानेपानीको समस्या बढिरहेको छ ।
हुनत यो समस्या मधेश प्रदेशभरि नै छ । तर परवानीपुर गाउँपालीकाको दलीत बस्तीमा खानेपानीको समस्या विकराल छ । यस गाउँपालीकाको पाँचवटै वडाका मानिसहरु खानेपानीको समस्या भोगिरहेका छन् ।
वडा नं १ बुनीयाद टोलमा दलीतहरुको जनसंख्या ३ सय भन्दा बढी रहेको र अधिकांश घरमा पानीको समस्या रहेको स्थानीय सिकेन्दर पासवानले बताए । उनले विगत पाँच महिनादेखि उनीहरु पानीको समस्याबाट गुजारी रहेको बताए । त्यती मात्र होईन घरको धारा सुक्दा खाना पकाउन, नुहाउन, बच्चाहरुलाई स्कुल पठाउन लगायतका समस्याहरु दिनहुँ भोगिरहेको बताए । पासवानले पानी बिना बाँच्नै गाह्रो भएको बताए । उनले स्थानीय सरकारसँग छिटो भन्दा छिटो पानीको समस्या समाधान गर्न आग्रह गरे ।
त्यस वडाका वडा अध्यक्ष चोकट महतो धानुकले पानीको समस्या गाउँभरी नै रहेको बताए । उनले दलीत बस्तीमा अलि बढि समस्या भएको स्वीकारे । “हुनत उनीहरुको बस्तीमा हामीले एक दुई ठाउँमा चापाकल दिएकै हौँ तर जमीन मुनि नै पानीको सतह सुकेको कारणले गर्दा चापाकलमा पानी आउनै छाड्यो ।“
वडा अध्यक्ष धानुकले पालीकाको बैठकमा पनि दलित बस्तीको पानीको समस्याका कुराहरु राख्ने तयारी गरेको बताए । अरु वडामा पानी ट्यांकीको सुविधा भएको तर आफ्नो वडामा पानी ट्यांकीको सुविधा पनि नहुँदा पानी वितरण गर्नमा समस्या भएको बताए । उनले खानेपानी मात्र नभई यस वर्ष पानी नर्पदा खेतीपाती गर्नमा पनि समस्या भएको बताए ।
यता खानेपानीको समस्या उता पानी नर्पदा खेतीपाती गर्नमा समस्या यो दुवै समस्याले अब आफूहरु बाँच्न नै नसक्ने भएको त्यहाँको स्थानीयहरुको दुःखेसो छ ।
यसैगरी वडा नं २ रामपुर टोकनीको दलीत बस्तीमा पनि खानेपानीको समस्या भयावह छ । खासगरी रामपुर टोलको मुसहरी बस्तीमा दलीतहरुको धेरै बसोबास रहेको छ । मुसहरी बस्तीमा दलीतहरुले पानीको समस्या धेरै भोग्दै आएका छन् । वडा नं २ निवासी नथु रामले पानीको समस्याले दैनिक कामकाजमा समस्या भईरहेको बताए । उनले भने “हाम्रो दलीत बस्तीमा खानेपानीको समस्या छ, पानी नै समयमा पाउन नसक्ने भएपछि अरु कुराहरु कसरी पाउने?” उनकै घरमा बस्ने एक जना दलित महिलाले भनिन् “घरमा चापाकल छैन ।
दलित महिला भएर अरुको धारामा पानी लिन जाँदा समस्या हुन्छ तर पनि दुःख गरेर भए पनि थोरै पानीले जिनतिनकाम चलाई राखेका छौं ।”पानी बिना दैनिकी चलाउनै गाह्रो भएपछि जसरी भएपनि टाँढासम्म गएर पानी ल्याउनु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । यती मात्र होइन उनीहरुले यहाँका निर्वाचित जनप्रतिनिधीसँग पानीको समस्या समाधान गरिदिन आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको बताए ।
आफूहरु दलित भएकै कारण समाजले अहिलेसम्म समान रुपमा हेर्ने नगरेको उनीहरुको गुनासो छ । आफूहरु दैनिक ज्यालादारी गरेर खाने व्यक्ति भएको हुनाले जतिसक्दो छिटो पानीको समस्या समाधान गरिदिन सबैसँग बारम्बार आग्रह गरिरहेको बताए । निर्वाचित भएर आईसकेपछि यस वडामा चापाकल जडानगरी स्थानीयलाई खानेपानीको सहज सुवीधामा सहयोग गरेको र त्यही बेला दलीत बस्तीमा पनि चापाकल जडान गराईएको वडा नं २ का वडा अध्यक्ष महमदुनुरुल होदा अंसारीले बताए ।
उनले अब गाउँसभा सम्पन्न भईसकेको हुनाले यस वर्षको आर्थीक बजेटमा यो समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए । वडा अध्यक्ष होदाले यस समबन्धमा गाउँपालीका प्रमुखजयूसँग पनि छलफल भईरहेको जानकारी दिए । यहाँका बुद्धीजीवी अगुवाहरुको अनुसार गाउँमा भएको ईनार, बोरीङ आदि संचालनमा ल्याउन सके तत्कालका लागी यो समस्या समाधान हुने बिश्वास छ । यस वडामा ८ देखी १० जना दलीतहरुको घरमा पानीको कुनै सेवा-सुविधा नैनरहेको स्थानीय जवाहीर रामले बताए ।
यसैगरी वडा नं ३ लिपनीमा पनि यस्तै खानेपानीको समस्या छ । वडा नं ३ लिपनीमा ३ सय भन्दा बढि दलितहरुको बसोबास रहेको छ । ती दलित बस्तीमा अधिकांश मानिसहरू अनपढ, काम गर्ने सीपको कमी र बढी गरीबीको रेखामुनी बसोबास गर्ने नै छन् । प्राय: उनीहरू दैनिक ज्यालादारी गरेर आफ्नो परिवार चलाउने गर्छन् । तर यो बस्तीमा पनि चापाकल सुकेर जाँदा खाने पानीको समस्या उत्पन्न भएको छ । बस्तीमा आवश्यकता जति चापाकल नभएकोले यहाँ पानीको झन् समस्या छ । बस्तीमा पानीको समस्याले बालबच्चादेखि लिएर परिवारका हरेक सदस्यलाई पानी बिना काम गर्न निक्कै समस्या भएको उनीहरुले दुःखेसो पोखे ।
वडा नं ३ लिपनी बस्ने जीतेन्द्र रामले स्थानीय सरकार प्रतिदु:खेसो पोखे “गाउँमा यत्रो ठूलो मानवीय समस्या उत्पन्न भएको छ तर यहाँका वडा अध्यक्ष, वडा सदस्य लागायत राजनीतिक दलहरुलेकिन केही गर्न नसकेको ?” अर्का स्थानीय करिमन राम भन्छन् “हामी दलीतहरुको आवाज प्राय: सुनिदैन । एउटा चापाकलको लागि नेताहरुलाई कति हार-गुहार गरें तर अहिलेसम्म कसैले मेरो कुरोको सुनुवाई गरेनन् ।“
यति मात्र होइन गाउँको कुनै बैठक, भेला आदिमा पनिदलितहरुको सहभागिता गराउने परिपाटी नै हराएको गुनासो पनि उनीहरुको छ । खाने पानीको आवश्यकता पूरा गर्न आफूहरु बिहान ३ बजे देखि नै लाईनमा बसेर पानी लिन घन्टौं कुर्नुपर्ने समस्या रहेको सीता देवी हजराको पीडा छ ।
उनी भन्छिन् घरमा ६ जना बच्चाहरु छन्, तिनीहरु बिहानै स्कूल जानुपर्छ, उनीहरूको लागि बिहानै नास्ता बनाउनु पर्ने, उनीहरूलाई नुहाई धुवाइ गर्ने आदि कामहरू गर्ने भएकोले पानीको धेरै प्रयोग गर्नु पर्ने हुन्छ, तर पानी न पाउँदा बालबच्चालाई नुहाई, धुवाई गर्ने खाना पकाउने, घरको काम गर्ने आदिमा धेरै समस्या भइरहेको बताइन् । यस वडामा खाने पानीकोट्यांकी उपलब्ध रहेको तर स्थानीय सरकारको लापरवाहीका कारण सञ्चलानमा नआएको हुनाले उनीहरुलाई थप पीडा भएको उनीहरुको भनाइ छ ।
यसैगरी सोही वडाका कार्यपालीका सदस्य जगदिश रामले आफ्नो अथक प्रयासले यसै आर्थीक वर्षमा खानेपानी ट्यांकी संचालनका लागी गाउँपालीकाबाट रु. २५ लाख रुपैयाँ छुट्टयाईएको र खानेपानी ट्यांकी संचालन गर्नका लागि आफू दिनरात लागी परेको बताए ।
वडा नं ३ का वडा अध्यक्ष इब्राहीम मियाँ धोबिसँग खानेपानीको समस्याको बारेमा बुझ्दा उनले यस वडामा खानेपानीको समस्या भएको स्वीकारे । वडा अध्यक्ष इब्राहीम मियाँको भनाई अनुसार यस वडामा दिनहुँ सयौंको संख्यामा स्थानीयहरू खानेपानीको समस्या लिएर आफू कहाँ आउने गरेको र त्यसमा दलित बस्तीका मानिसहरू पनि आफ्ना समस्या लिएर आउने गरेको बताए ।
उनले भने “ दैनिक १०० देखि १५० जनाको संख्यामा स्थानीयहरू खानेपानीको समस्या लिएर वडा कार्यालयमा आउने गरेको र पालीकाको बैठकले प्रत्येक वडामा एक एक वटा पानी ट्यांकीको बोरीङ जडान गरिने र्निणय भएको बताए । यो र्निणयले अब केही हदका लागि पनि पानीको समस्या समाधान गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।
यसका साथै उनले यस वडामा गाउँका भद्र भलाद्मीसँग छलफलगर्दा वहाँहरुले तत्कालका लागि पुरानो इनार सफा गराउने, डिप बोरिङको व्यवस्थापन गराउने, पानी ट्यांकी सञ्चालनमा ल्याउने आदि सल्लाह सुझाव दिएको र आफू त्यसै अनुसार कामहरू अगाडि बढाउन लागि परेको वडा अध्यक्ष धोबीको भनाइ छ ।
यस गाउँपालिकाको बिचमा पर्ने वडा नं. ४ चैनपुर टोल हो । यो टोलमा सबै भन्दा बढि दलितहरुको संख्या रहेको छ । यस वडामा ४ सय भन्दा बढि दलितहरुको बसोबास छ । राजनीतिक दृष्टकोणले पनि यो वडा एकदमै महत्वपूर्ण मानिन्छ । तर राजनीतिक दृष्टिकोणले यति बलियो मानिएको यो वडा पनि खानेपानीको समस्याबाट भने बच्न सकेको छैन ।
यस वडामा पनि खासगरी दलितहरु खानेपानीको समस्याबाट मुक्ति पाउन सकेका छैनन् । यहाँ पनि पानी लिन बिहानैदेखि ठूलो लाईनमा बसेर एक बाल्टिन पानीका लागि मानिसहरु तड्पिनु परेको अवस्था छ । चार सय भन्दा बढि संख्या भएका यी दलितहरु बेला बेलामा राजनीतिको शिकार हुँदै आएका छन् । यो समाजले अहिले पनि भित्री मनले आफूहरुलाई समान रूपमा स्वीकार गर्न नसकेको दलित अगुवा महन्थ रामले बताए ।
उनले नेपाल सरकारले जातीय छुवाछूतको भेदभाव अन्त्य गरे पनि समाजले आफूहरुलाई पूर्ण रूपमा स्वीकार नगरेको बताए । चाहे राजनीतिक रुपमा होस्, या सामाजिक रूपमा होस्, हामी दलितहरु अहिले पनि पछाडि नै परेको उनले बताए । यस वडाको दलित बस्तीमा खानेपानीको सुविधा स्वरूप चापाकल जडान गरिएको तर जमीन मुनिको पानीको मुहान सुकिसकेको कारण आफूहरूलाई पानीको धेरै समस्या भएको दलीतहरुको भनाइ छ । यस बस्तीमा पानीको मुख्य श्रोत चापाकल नै रहेको छ ।
रोजगारीको समस्या भएको कारण आफूहरू जीविको पार्जन गर्नका लागि घरमा बाख्रा, गाई, भैंसी पालन गरेर दुई पैसा आर्जन गर्ने गरेको तर पानीको समस्याले गर्दा जीवजन्तुहरुलाई पनि पालनधेरै समस्या भएको उनीहरुको गुनासो छ । आफ्नो बस्तीमा खानेपानीको सुविधा नहुँदा अरूको घरमागएर पानी लिन जानुपर्ने बाध्यता रहेको शंकर रामले बताए । पानीको सुविधा नहुदाँ आफूहरुको खेत खलियान पनि समयमै तयार गर्न नसकेको उनीहरूको भनाइ छ ।
यस वडाका वडा अध्यक्ष गम्भीरा राउत कुर्मीले खानेपानीको समस्या मात्र दलित बस्तीमा नभएर वडाभरि नै रहेको बताए । उनले भने यसपाली पानी समयमा नपर्दा करिब ७० प्रतिशत मानिसहरूको चापाकल सुकिसकेको अवस्था छ । ठूलो वडा भएको कारण आफूहरुसँग बजेटको पनि कमी भएको हुनाले जन अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे ।
वडा अध्यक्ष कुर्मीले आफू चुनाव जीतेर आएपछि करिब ३ सय घरदुरीमा चापाकल जडान गराएको र यसका साथै दलीत बस्तीमा पनि चापाकल जडान गराएको बताए । उनले आफ्नो नजरमा दलित बस्ती पनि अरु ठूला वडा जातीको सरह भएको बताए । उनले भने “दलितहरुको बस्ती अलि ठूलो छ, आफूले हरेक क्षेत्रमा काम गर्नुपर्ने भएको हुँदा दलित बस्तीलाई अलि व्यवस्थापन गर्न नसकेको स्वीकार गरे ।“
आफ्नो निजी प्रयोगका लागि जडान गराइएको बोरिङग र धारा आम जनताको लागि खुल्ला गरिएको र बिहानदेखि रातीसम्म सयौंको संख्यामा मानिसहरु पानी लिएर जाने गरेको वडा अध्यक्ष कुर्मीको भनाई छ । साथै वडामा कम्तीमा पनि ३ वटा डिप बोरिङ जडान गर्ने पालीकाबाट आफूले माग गरेको पनि बताए ।
दलित बस्तीको अर्को बिडम्बनाको कुरा के छ भने पैसा हुनेहरुले डीप बोरिङ गरेर पानीको समस्या समाधान गरि राखेका छन् तर धेरैसँग त्यती पैसा नभएपछि त्यो काम पनि गर्न पाएका छैनन् । यसमा बहुअरी निवासी रामबेलास पासवान भन्छन् “ एक छाक खाना खानको लागी दिनभरि ईटा मसालामा काम गर्नुपर्ने अवस्था छ , बालबच्चाहरुलाई पढाउर्नु पर्ने ठूलो जीम्मेवारी छ अनि यती गर्दा त यो कमाईले पुगीरहेको छैन अनि कहाँबाट डीप बोरिङ जडान गर्नु । राम्रो काम पाउन मुस्किल छ, हाम्रो लागि यस्ता कामहरु पहाड तोडे जस्तै छ ।
यस गाउँपालिकाको सबभन्दा अन्तिम वडा भनेको वडा नं ५ बहुअरी टोल हो । यो टोल बारा जिल्ला मै सब भन्दा बढी शिक्षित टोलको रूपमा परिचित छ । एक महिना अगाडी यस वडामा बिधालयको भवन शिलान्यास कार्यक्रममा आउनु भएका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि आफ्नो मन्तब्यको क्रममा यो कुराको चर्चा गर्नु भएको थियो ।
यस वडामा २०० सय भन्दा बढि दलितहरुको संख्या छ । अरु वडाको तुलनामा यहाँ दलितहरु अलि शिक्षित छन । तर खानेपनीको समस्या यहाँ पनि अन्यत्र जस्तै छ । अधिकांशले आफ्नै लगानीमा चापाकल जडान गरे पनि यसपाली बढि गर्मी भएको कारणले गर्दा चापाकल सुकेको कारण उनीहरूलाई खानेपानीको समस्या भएको हो । पानी नपर्दा गाउँपालिकाको अरु वडा भन्दा यस टोलमा बढी समस्या भएको अवस्था छ ।
यहाँ पनि दलित लगायत अरु समुदायका मानिसहरू पशुपालन गरेर दुई चार पैसा कमाउने गरेको तर खानेपानीको अत्यधिक समस्याले गर्दा पशुहरुमा विभिन्न रोगहरू समेत लाग्न सुरु भइसकेको छ । यसबाट दलितहरूलाई ठूलो क्षति हुने पनि अवस्था सिर्जना भएको छ ।
वडामा गएर खाने पानीको लागी एउटा चापाकल जडानको लागि पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको र पछि बाध्य भएर कर्जा लिएर आफ्नो घर अगाडि चापाकल जडान गरिएको तर त्यो पनि सुकेर काम लाग्ने नभएपछि पानीको समस्या भएको हरिन्द्र हजारले आफ्नो दुःख पोखे । उनले अरुको धारामा पानी लिन जाँदा हप्काउने, कहिलेकाहिँ घरको गेट नै बन्द गरिदिने भएपछि एक बाल्टीन पानी लिन धेरै संघर्ष गर्नु परेकोले उनी आज कल निराश छन् ।
यसैगरी धुरेन्दर दासले पानीको समस्याले गर्दा घरमा पढ्ने बालबच्चाहरु सधैं स्कूल ढिलो जाने गरेको बताए । यति मात्र होइन पानीको समस्याले गर्दा आफ्नो काममा पनि धेरै अवरोध हुने गरेको पीडा व्यक्त गरे । खाना पकाउन, नुहाउन, कपडा धुन आदि घरायसी कामकाजका लागि पानी नपाएपछि सधैं जारमा पानी बोकी साइकल, मोटरसाइकलमा ल्याएर गुजारा चलाइरहेको हरिन्द्र हजारले बताए ।
यो वडामा अरु समुदाय भन्दा बढि दलितहरुको बस्तीमा खानेपानीको समस्या छ । यस वडाका रामायण प्रसाद गुप्ताले आफ्नो निजी डीप बोरिङबाट सयौंलाई बिहान र बेलुकाको समयमा नि:शुल्क रुपमा पानी बितरण गर्दै आएका छन् । यसैगरी टाँढा, टाँढाबाट स्थानीयहरु पानी ल्याएर गुजारा चलाईराहेका छन् । टोलमा लाखौंको बजेट आए पनि यहाँका निर्वाचित जनप्रतिनिधिले मात्र सडक, नालाको काम गरेर बजेट सिध्याइरहेको दलितहरुको आरोप छ ।
यस वडाका वडा अध्यक्ष रामेश्वर साह कलवारले वडामा भएको खानेपानीको समस्यालाई लिएर आफूहरु धेरै चिन्तित रहेको र यस समबन्धमा यस वडामै खानेपानी ट्यांकी जडान गराउनेमा आफूहरु लागिपरेको बताए । पानी ट्यांकी जडान गर्ने काम शुरु पनि भईसकेको र थप बजेटका लागी प्रदेश सरकार र संघीय सरकारलाई लिखित रुपमा नै माग गरिसकेको निर्वाचित वडा सदस्य दारा सिंह पटेलले जानकारी दिए ।
दलीत बस्ती लगायत सबै समुदायको लागी खानेपानी अत्ति नै आवश्यक भएको हुनाले तत्कालका लागि सबैले मिलीजुली पानीको व्यवस्थापन गर्न उनले आग्रह गरे । गाउँमा भएको वनजङ्गल विनाश गरेर वातावरणलाई प्रदुषित पारेकै कारण आज खानेपानीको यत्रो ठूलो समस्या उतपन्न भएको अधिवक्ता रामचन्दर सिंहले बताए । उनले अब पनि सबै नागरिक सचेत भएर वातारण स्वच्छ पारी खानेपानीको ब्यवस्थापनमा लाग्न जरुरी रहेको बताए ।
यस सम्बन्धमा गाउँपालीका प्रमुख रामक्षत्री प्रसाद पटेलले दलीत बस्ती लगायत यस पालीकामा भएको खानेपानीको समस्यालाई लिएर आफूहरु धेरै चिन्तित रहेको र तत्कालका लागि गाउँपालीकाको पाँच वटै वडामा, पाँचवटा डिप बोरिङ जडान गर्ने कार्य शुरु भईसकेको जनाए ।
यसरी अत्ति आवश्यक पर्ने ठाउँमा डिप बोरिङ जडान कार्य सम्पन्न भईसकेपछि तत्कालका लागि पानीको समस्या समाधान हुने बताए । साथै उपलब्ध पानी ट्यांकीलाई शुचारु गर्नेर वडाको अवस्था अनुसार थप कार्यहरु अगाडि बढाईने अध्यक्ष पटेलले प्रतिबद्धता जनाए ।