वीरगञ्ज । पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।
रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद समेत हुन् । सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बन भएरै उनको कार्यकाल वितेको थियो ।
उनी संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टी (जसपा) का नेता समेत हुन् ।
प्रतिक्रिया लेख्नुहोस