वीरगंज । साहिब दरबार वीरगंजकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित जैन धर्मशालामा भएको कार्यक्रममा ८ जना महिलासहित १ सय ५५ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शरिरको रगत तीन/तीन महिनामा त्यत्तिकै खेर जाने भएकोले रक्तदान गरि पुण्य कमाउन आग्रह गरे । रक्तदान गर्ने रक्तदाताहरुलाई मेयर सिंहले प्रमाणपत्र हस्तान्तरण समेत गरेका थिए ।
अत्याधिक गर्मीका कारण रक्तदान कार्यक्रममा कमी आउँदा केही समय यता वीरगंजमा रगतको कमि सृजना भएको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकाे छ । रगत अभावमा यहाँका डेढ दर्जन अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आउन थालेपछि साहिब दरबारले रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेकाे संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए ।
रक्तदान कार्यक्रममा साहिब दरबारका संस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, संस्थाकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, प्रतिमा सिंह लगायतको सहभागिता रहेको थियो ।