वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालको सयुँक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा औषधी वितरण गर्ने अभिप्रायका साथ शिविरको आयोजना गरिएको लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले जानकारी दिइन् । खातुनका अनुसार शिविरमा स्वास्थ्यको परीक्षण गराएका ग्रामिण भेगका ५० जना गर्भवती महिलाहरुलाई पोषण सामग्रीसँगै आवश्यक औषधीसमेत उपलब्ध गराइएको थियो ।
शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले गर्भवती महिलाहरुको चेकजाँच गर्नुका साथै निशुल्क रुपमा परामर्श पनि दिएकी थिइन् । गाउँका महिलाहरु शहरमा आउन समय नमिल्ने हुँदा क्लबले आयोजना गरेको शिविरबाट ग्रामिण भेगका महिलाहरु लाभान्वित भएको डा. थापाले बताइन् ।
साथै महिलाहरुले आफ्नो समस्यालाई पनि लुकाएर राख्ने र बताउन नसक्दा समस्या झनै बल्झिने हुँदा खुलेर समस्या बताउन पनि उनले बिरामीहरुलाई सचेत गराएकी छिन् ।
उद्योगी बिरेन्द्र कुमार संघाईले शिविरमा सहभागी महिलाहरुलाई पोषण सामग्री उपलब्ध गराउन सहयोग गरेका थिए ।
शिविरमा उद्योगीहरु रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा अभियन्ता दिलीपराज कार्की, देवकीनन्दन अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।