वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित भारतिय नाेटसहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले भारत उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्ता र जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई पक्राउ गरेकाे हाे ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकबाट आइतबार दिउसाे ३:३० बजे बिनोद कुमार गुप्तालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
प्रहरीका अनुसार भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल हिँडी आउदै गरेको गुप्तालाई रोकी कानूनी रीतपुर्याई जाँच गर्दा गुप्ताले पछाडि भिरेको निलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू.५ सय दरको नोट-३६३ थान रु.२ सयको नोट-१३ थान, रु.१ सय दरको नोट-१ सय ४५ थान रू.५० दरको नोट-२८ थान गरी जम्मा रु दुई लाख फेला परेको हाे ।
यसैगरी, प्रहरीले वीरगंज महानगरपालिका कै वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट अमित कुमार सिंहलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले जानकारी दिए ।
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाटै खटिएको संयुक्त चेकिङ टोली साेमबार राती ९ बजेको समयमा वीरगंजबाट रक्सौलतर्फ संकास्पद रूपमा हिडिँरहेका सिंहलाई चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट रु ३ लाख ७५ हजार बरामद गरेकाे उनले वताए ।
पक्राउ परेका सिंहकाे साथबाट रु.२ सय दरका नोट-२१ थान, रू.५ सय दरको नोट-६४४ थान रू.२ सय दरको नोट-३३ थान रु.१०० दरको नोट-४५ थान र रू.५० दरको नोट-१४ थान गरी फेला परेकाे प्रवक्ता बुढाथाेकीले जानकारी गराए ।
दुबै जनालाई बरामद रकमकाे साथमा राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइसकिएकाे उनले वताए ।