वीरगंज । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यकाे बैशाख १० गते आइतबार भएकाे उपनिर्वाचनकाे बुधबार विहान १:३० बजे सम्पन्न मतगणना नतिजा अनुसार ५ हजार ८१ मतले अध्यक्ष यादव विजयी भएका हुन् ।
५ दलिय गठबन्धनका सांझा उम्मेदवार समेत रहेका अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरि विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए ।
तेस्राे स्थानमा नेकपा एमालेका पुरुषाेत्तम पाैडेल १० हजार २१६ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेल २ हजार ८२९ मत र पांचाै स्थानमा रहेका आम जनता पार्टीका अरुण कुमार ज्ञवाली २ हजार ७३८ मत पाएका हुन् ।
यस क्षेत्रमा एक लाख ५ हजार २४८ जम्मा मतदाता रहेपनि त्यसकाे ६५ .५८ प्रतिशत अर्थात ६९ हजार २२ मत मात्र खसेकाे थियाे । जस मध्ये ८३० मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
२०७९ मंसिर ४ गते भएकाे निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जसपा कै रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेकाे पदकाे लागि उपनिर्वाचन भएकाे थियाे ।