वीरगंज । बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । यही बैशाख १० गते आइतबार हुने उपनिर्वाचनकाे सम्पूर्ण तयारी पुरा भएकाे जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरीले वताए ।
निर्वाचन हुने बारा क्षेत्र नम्बर २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको जिल्ला निर्वाचन अधिकारी चाैधरीले जानकारी दिए ।
मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । उनका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको छ ।
यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ ।
बारा क्षेत्र नम्बर २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले वताए । कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताए ।
निर्वाचनका समयमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशसान कार्यालयबाट पास लिएको भए पनि त्यसको दुरुपयोग भएको पाइएमा कानुन बमोजिम त्यस्तालाई कारवाहीसमेत गरिने प्रजिअ सापकोटाको भनाइ छ ।
निर्वाचन क्षेत्रमा ८२ मतदान स्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशिल र १७ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएकाे छ ।