वीरगंज । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ रानिघाटस्थित ३ वटा गाेदामहरु छापामारी गरी भन्सार छली ल्याइएका चामलहरू बरामद गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरू छापामारी गरी १३ लाख ६० हजार ८ सय बराबरकाे भन्सार छलीकाे चामल बरामद गरेकाे हाे ।
तिनै जनाकाे गादाेमहरुमा कानून बमोजिम खानतलासी गर्दा २०/२४/२६ के.जी.का बोराहरू भएकाे ९०५ बोरा चामल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बरामद चामलहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार नै वीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
भन्सार छली चोरी पैठारी गरी वीरगंज ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको अवस्थामा बरामद चामलकाे मुल्य रु.१३ लाख ६० हजार ८ सय पर्ने प्रहरीले जनाएकाे छ ।
प्रहरी कै मिलाेमताेमा यसरी वीरगंज पुग्छ तस्करीकाे सामग्री
सरकारले सीमा क्षेत्रबाट हुने चोरी तस्करी, अवैध कारोवार तथा सीमा सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरेको छ । सीमामा बसेको प्रहरीले अबैध कारोबारमा संलग्न व्यक्तिसँग रकम लिएर सीमा क्षेत्रबाट साइकल, मोटरसाइकल र पैदल खाद्यान्न बोकेर ल्याउनेलाई छुट दिने गरेको देखिन्छ ।
भंसार चोरी पैठारी नियन्त्रण गर्न सीमा क्षेत्रमा खटिएको प्रहरीले रकम असुल्छ र सामान छोड्छ अर्कोतर्फ त्यही प्रहरीले व्यापारीको गोदामा छापामारी गर्छ र भंसार चोरी पैठारी गरी ल्याएको चामल बरामद गरेको भनि भंसार कार्यालय पठाउँछ । तस्करी गराउन प्रोत्साहन पनि गर्ने र तस्करी भएर आएको सामान छापामारेर बहादुरी देखाउने काम प्रहरीबाट भएको देखिन्छ । यसमा सीमा क्षेत्रबाट चोरी पैठारी नियन्त्रणमा किन सुरक्षा निकाय चुक्दैछ ? यसको जबाफ कसले दिने ?
वीरगञ्जमा भन्दा भारतीय बजार रक्सौलमा खाद्यान्न सामाग्री सस्तोमा पाइने भएकोले वीरगञ्जका अधिकांश मानिसहरु चामल, दाल, चिनी लगायत खाद्यान्न सामाग्री किन्न रक्सौल जाने गर्दछन् । वीरगञ्जका केही व्यापारीहरुले सीमा क्षेत्रमा खटिने प्रहरीलाई मिलाए साइकल, मोटरसाइकलमा खाद्यान्न रक्सौलबाट ल्याई महंगोमा बेच्छन् ।
वीरगञ्जको खुला नाका बाहेक मुख्य भंसार कार्यालयको गेट भएर दैनिक सयाैंकाे संख्यामा अट्टोरिक्सा, साइकल र मोटरसाइकलमा चामल, चिनी, दाल, लसुन, आलु, प्याज, खुसार्नी ढुवानी गरेको देख्न पाइन्छ । यस्तो कार्यमा संलग्न व्यक्तिहरुले प्रहरीलाई पैसा दिएर माससामान अवैध रुपमा वीरगञ्ज बजार सम्म पु¥याउने गरेको कारोबारमा संलग्न व्यापारीहरुको भनाई छ ।