रामेछाप । इलाका प्रहरी कार्यालय धोबिडाडा, रामेछापले एक डाँका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय धोबिडाडाका प्रहरी निरिक्षक जटाशंकर यादवकाे कमाण्डमा खटिएकाे टाेलीले डाँका मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गर्न सफल भएकाे हाे ।
डाका मुद्दाका फरार प्रतिवादी रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं. ५ तिलपुङ डाडा बस्ने बर्ष २३ का भक्त बहादुर तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । मन्जु तामाङको जाहेरीले वादी नेपाल सरकार भएको डाका मुद्दामा तामाङलाई २०७७ चैत ३० गते जिल्ला अदालत मन्थलीले ६ बर्ष ११ महिना २० दिन कैद र ७० हजार जरिवाना गरेको थियो ।
डाका मुद्दामा कैद फैसला भइसकेका तामाङ फैसला थाहा पाइसकेपछी लुकिछिपी बस्दै आएको र उनको खोजिमा रहेकाे प्रहरी निरिक्षक यादवको कमाण्डले दुई बर्ष ४ महिनापछि पक्राउ गर्न सफल भएकाे हाे । मन्थली नगरपालिका वाड नं. १ बाट तामाङलाई पक्राउ गरि आइतबार जिल्ला अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय धोबिडाडाले जनाएकाे छ ।