वीरगंज । नापी कार्यालय पर्सा, वीरगंजका एक जना बिचाैलिया एक लाख २५ हजार घुसकाे रकमसहित रंगे हात पक्राउ परेका छन् । निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिदै आएकाे वीरगंज १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे प्रहरी टोलीले वीरगंजको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैया लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आई रहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
अभियुक्तलाई ठगी कसुरमा कारवाही अगाडी बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए । नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेको र उनि मार्फत नापी कार्यालय आउने सेवाग्राहीलाई अवैध रकम दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ ।
घटनास्थल पुगेकाे संचारकर्मीहरुको टोली घटना बारे बुझ्न नापी कार्यालयमा पुगेपछि कर्मचारीहरुले पिडितको लालपुर्जा तत्काल उपलब्ध गराएका थिए । यसले सरकारी पोशाकमै विचौलिया राखेर नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग रकम असुल्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।