24.3 C
Birgunj
22 December 2024
KALIKATIMES.COM

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने राजेशमान र इम्तियाजकाे संयुक्त प्रतिवद्धता

वीरगंज । आसन्न स्थानीय तहको निर्वाचनको लागि वीरगञ्ज महानगरपालिकामा ५ दलीय सम्मिलित गठबन्धनले ‘साझा प्रतिबद्धता–पत्र’ सार्वजनिक गरेको छ । ‘जे बोल्छौं, त्यो गर्छौं, त्यति मात्रै बोल्छौं, जति गर्न सक्छौं, ‘सम्भावना’ लाई ‘सम्भव’ बनाउने महाअभियान विकसित वीरगंजका लागि विवेकपूर्ण मतदान’ भन्ने मुल नारासहित गठबन्धनले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनका नेताहरुले संयुक्त रुपमा ‘साझा प्रतिबद्धता’ पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गठबन्धनबाट वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार राजेशमान सिंहले देशको अन्य स्थानीय तहको दाँजोमा वीरगंज महानगरपालिकालाई विकासको प्रतिस्पर्धामा अगाडि लैजाँदै एउटा उन्नत नगर बनाउन प्रतिबद्धता जनाए ।

उनले सम्भावनै सम्भावना बोकेको वीरगंज शहर राजनीति परिवर्तन, बलिदानीपूर्ण आन्दोलन र देशको आर्थिक उन्नतिमा अग्रणी भूमिकामा रहेर पनि उपेक्षाको शिकार भएको भन्दै सिंहले गत स्थानीय तहको निर्वाचनमा चुनिएका गलत नेतृत्वका कारण विकासमा मुलुकमै पछाडि परेको वीरगंज महानगरपालिकालाई देशको अन्य स्थानीय तहको दाँजोमा विकासको प्रतिस्पर्धामा अगाडि लग्दै एउटा उन्नत नगर बनाउने अठोट लिएर अगाडि बढेको बताए ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पार्टीको केन्द्रीय निर्णय अनुसार गठबन्धनमा आबद्ध सम्पूर्ण पार्टीका जिल्ला स्तरीय नेताहरु एक ढिक्का भएर गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

केन्द्रीय स्तरमा भएको गठबन्धन अनुसार आफ्ना उम्मेदवारलाई जिताउन यसमा आबद्ध सम्पूर्ण दलका जिल्ला स्तरीय नेताहरुको दायित्व र जिम्मेवारी रहेको भन्दै ‘मूल्य र मान्यताको राजनीति गर्नेले राजनीति बेइमानी गर्नु हुँदैन, देशकै आवश्यकताले गठबन्धनमा गएका हौं, हामीले बेइमानी गरेका छैनौं, सबै मिलेर गठबन्धनका उम्मेदवारलाई जिताउन लागि परेको बताए ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने गठबन्धनकाे प्रतिवद्धता

गठबन्धनले सार्वजनिक गरेको साझा प्रतिबद्धता पत्रमा जनताको शासन, जनमुखि प्रशासन, पर्यावरण संरक्षण तथा फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शिक्षा विज्ञान तथा प्रविधि, स्वास्थ्य, पूर्वाधार विकास तथा पर्यटन, युवा उद्योग एवं रोजगारी, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपँक्षी, सूचना प्रविधि तथा सञ्चार, खेलकुद, सहिद घाइते तथा अपाङ्ग, साहित्य तथा भाषा सँस्कृत्ति सम्बन्धित विषयहरु समेटिएको छ ।

त्यस्तै जनताको शासन, जनमुखी प्रशासन, सुशासनलाई प्रशासन तथा सेवा प्रवााहको मूलमन्त्र बनाइने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने, अनावश्यक प्रशासनिक खर्च कटौती गरी, विकास बजेट बढाइने, महानगरको सम्पूर्ण करको पुनरावलोकन गर्दै करको दर घटाइने तथा दायरा बढाइने, पिठिया कर खारेज गरिने, वर्षातको मौका छोपेर हुने गुणस्तरहीन कामलाई नियन्त्रण गर्ने, गरिब तथा विपन्न नागरिकको बिजुली र पानीको न्यून्तम शुल्क महानगरले व्यवहोर्ने महानगर एवं वडाका सेवाहरुलाई अनलाइन सेवा प्रणाली कार्यान्वयनमा ल्याइने तथा विदेशी भई महानगरभित्र व्यवसाय गरि रहेकाहरुको डिजिटल आइडेन्टिफिकेशन कार्ड बनाइने जस्ता उल्लेख गरिएको छ ।

त्यसैगरी फोहरमैला व्यवस्थापन, नाला सफाइ र लामखुट्टे नियन्त्रण गर्न एक महिने ‘सरसफाइ घरदैलो अभियान’ सञ्चालन गर्ने, बु्रमर तथा उपयुक्त प्रविधिको प्रयोगबाट धुलो नियन्त्रण गरिने, फोहर व्यवस्थापनमा सफल विधि कार्यान्वयनमा ल्याइने, घरबाट निस्किने फोहर वर्गीकरण गरी अलगअलग संकलन गर्ने, सरसफाइ शुल्क खारेज गर्ने जस्ता बुंदाहरु साझा प्रतिबद्धता पत्रमा उल्लेख छ । डुबानको र निकासीको समस्यालाई स्थायी रुपमा समाधान गर्न प्राविधिक अध्ययनका आधारमा नाला निर्माण र सुधार गर्ने, ब्रुमर तथा उपयुक्त प्रविधिको प्रयोगबाट धुलो नियन्त्रण गर्ने, नगर क्षेत्रमा नयाँ सार्वजनिक शौचालय निर्माण र जीर्ण शौचालयको मर्मत गरी प्रयोगमा ल्याउने, सहर हरियाली बनाउन वृक्षरोपण, सहरी वन कार्यक्रम र निजी वनलाई प्रोत्साहन गरिने, महानगरबाट नक्सा पास गर्दा १ घर बराबर कम्तीमा २ बिरुवा अनिवार्य रुपमा हुर्काउनैपर्ने नियम लगाउने उल्लेख छ ।

सार्वजनिक जग्गा र पोखरीको संरक्षण गर्नुका साथै सिर्सिया नदीलाई पुरानै अवस्थामा फर्काउने योजना ल्याउने, नदीलाई प्रदूषणमुक्त बनाउन पानी प्रशोधन केन्द्रको स्थापना गर्ने प्रतिबद्धता छ । सहरभरि माकुराको जालो झैं जेलिएका टेलिफोन, ईन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरूका तार र जथाभावी राखिएका होर्डिङ बोर्ड व्यवस्थित, प्लास्टिकको कालो झोलाको प्रयोग न्यूनीकरण गर्दै सबै प्रकारका प्रदूषण नियन्त्रण गर्नुका साथै खुला दिसामुक्त बनाउने भनिएको छ ।

त्यसैगरि ट्राफिक व्यवस्थापन तर्फ नगर ट्राफिक प्रहरीको व्यवस्था गरिने, पार्किङ्गको व्यवस्था गरिने, फुटपाथ व्यवस्थापन गरिने, छाडा चौपाया पूर्ण रुपमा नियन्त्रण गरिने, सवारी चापलाई नियन्त्रण गरिने, ध्वनि प्रदूषणमुक्त वीरगन्जलाई कार्यान्वयनमा ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यसरी नै शिक्षातर्फ सबैका लागि सुलभ शिक्षा’ का लागि विद्यालय भर्ना अभियान चलाइने, सरकारी विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि, शिक्षकलाई तालीम र विद्यार्थीलाई नैतिक शिक्षा दिने, बालमैत्री शैक्षिक वातावरण बनाइनुका साथै शिक्षण सिकाइ सामग्री, पुस्तकालय र खेलकुदका सामग्रीको उचित व्यवस्था गर्ने, महानगरका मावि तथा उच्च माविमा प्राविधिक शिक्षामा जोड दिँदै नयाँ पूर्ण प्राविधिक विद्यालय स्थापना गरिने छ ।

सरकारी विद्यालयका बेथिति अन्त्य गर्दै विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्ने, गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, महानगरका वडाहरूको संयुक्त क्लस्टर बनाई गरिब, विपन्न तथा फरक क्षमताका व्यक्तिका लागि लोक सेवा, शिक्षक सेवा र सेना एवं प्रहरी सेवा लगायतको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने, महानगरभित्रका पुस्तकालयहरूको स्तरोन्नति र नयाँ पुस्तकालय स्थापना गरी अध्ययनको वातावरण सृजना गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै महानगरको ग्रामीण वडामा छोरीका लागि कन्या विद्यालय तथा कलेज स्थापना गर्ने, विद्यालयमा स्पोर्टस् तथा आईटी शिक्षकको दरबन्दी कायम गर्ने, निजी विद्यालयको हकमा सरोकारवालाको कार्यदल बनाई अध्ययनका आधारमा समस्या समाधान र सम्भावनालाई प्रोत्साहन दिने साथै वीरगञ्जलाई शैक्षिक हबको रुपमा विकास गरिने घोषणापत्रमा उल्लेख छ ।
यस्तै पूर्वाधार विकास तथा पर्यटनमा व्यवस्थित गोदाम, पार्किङ्ग र अन्य सुविधासहित ट्रान्सपोर्ट नगर स्थापना गरिने, ३२ वटै वडालाई सडक सञ्जालसँग जोड्ने, नयाँ सडक निर्माण गरिने, घण्टाघर चोकमा ओभरब्रिज निर्माण गरिने, महानगरीय पर्यटन सर्किट निर्माण गरिने, पर्यटन बोर्ड गठन गरिने, मधेशी सहिद पार्क र विभिन्न खाली स्थानमा आधुनिक पार्क निर्माण गरिने लगायतका भौतिक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

पुजन हाेटलमा भएकाे कार्यक्रममा जपसाका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदिप यादव, संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका पाेलिट ब्युराे सदस्य रामचन्द्र साह, नेपाली कांग्रेस पर्साका सचिव एवम् वीरगंज महानगरका उप मेयरका उम्मेदवार इम्तियाज आलम, माओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज विजय महताे, जिल्ला अध्यक्ष रामदरश कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापा लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

आशा किरण केन्द्रको दशौं वार्षिकोत्सव सम्पन्न

कालिका टाईम्स

सुदुरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

कालिका टाईम्स

ओविसी पर्साको बैठक सम्पन्न, जिल्ला भेला तथा प्रशिक्षण गर्ने निर्णय

कालिका टाईम्स
SQL requests:215. Generation time:3.720 sec. Memory consumption:81.48 mb