वीरगंज । जीउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३२ वर्षपछि पक्राउ परेका छन् । पर्साकाे साविक गाबिस ठोरी वडा नं.९ घर भई हाल उदयपुरकाे कटारी नगरपालिका वडा नं. ३ मा लुकीछिपी बसिरहेको ५७ बर्षिय विष्णु वहादुर थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
मिति २०४६।०५।१८ गते २ जना महिलालाई भारत, मुम्बईको कोठीमा लगी बिक्री गरेको भन्ने व्यहोराको जाहेरी दरखास्तमा जिल्ला प्रहरी कार्यालयबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजनपश्चात पर्सा जिल्ला अदालतबाट मिति २०६१।१२।१४ गते भएको फैसला अनुसार कसूर ठहर भएका थापालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतले थापालाई १० वर्ष कैद र रू. २५ हजार जरिवाना सजाँय तोकेकाे थियाे । त्यसपछि हालसम्म उनी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फरार कसूरदार पक्राउ टोलीले उनलाई बुधबार लुकीछिपी बसिरहेको स्थानबाट पक्राउ गरी ल्याई पर्सा जिल्ला अदालतमा बुझाएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।