वीरगंज । नेकपा एमाले प्रबेश गर्ने घाेषणा गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंह साेमबार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । वीरगंजस्थित नगर सभा गृहमा आयाेजित पार्टी प्रबेश कार्यक्रम मार्फत जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नेता सिंहलाई पार्टी प्रबेश गराएका छन् ।
नेता सिंहसंगै लाेसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, आषुताेष चतुर्वेदी, रामानन्द पटेल, मदन गुप्ता, मदन यादव, माओवादी केन्द्रबाट वीरगंज महानगरपालिका वडा नं. ५ का सुशिल क्षेत्री लगायतकाले जसपा प्रबेश गरेका हुन् ।
यसअघि माघ २८ गते नेता सिंहले पत्रकार सम्मेलन मार्फत एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । तर, सिंह प्रवेश गर्नुअगावै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जसपा त्याग गरी एमाले प्रवेश गरेपछि सिंह असन्तुष्ट देखिएका थिए ।
कांग्रेस प्रवेश गर्न प्रयास असफल भएपछि मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको घरमा आयोजना भएको एक वैवाहिक कार्यक्रममा सहभागी हुन आउँदा मेयर सरावगीलाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
एमाले प्रबेशकाे तयारीमा रहेका नेता सिंह अगावै मेयर सरावगी एमाले प्रबेश गरेपछि वीरगंजकाे राजनितिक चक्र एकासि फेरिएका थिए । मधेशवाद त्याग गरेर एमाले प्रबेश गर्न लागेकाे सिंहकाे आलाेचना नसेलाउँदै एमालेमा मधेशवादी दलबाट मेयरमा निर्वाचित भएका सरावगी एमाले प्रबेश गरेपछि उनकाे चक्राे आलाेचना सुरु भएकाे थियाे । एमालेले वीरगंज महानगरको नगरप्रमुखमा उम्मेदवार बनाउने आश्वासन पाएर नेता सिंहले एमाले प्रवेश गर्ने घोषणा गरेको चर्चा समेत चलेको थियो ।
तर नेता सिंह अघि मेयर सरावगी एमाले प्रबेश गरेपछि सिंहलाई जसपा प्रबेश गराउन प्रयास सुरु भएकाे थियाे । पर्सा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य एवम् जसपाका नेता प्रदिप यादवकाे पहलमा त्याे प्रयास साेमबार आएर सफल भएकाे हाे ।
जसपाले नेता सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर लडाउने आश्वासन दिएर पार्टी प्रबेश गराएकाे चर्चा छ । चर्चा अनुसार अब नेता सिंह जसपाबाट वीरगंज महानगरकाे मेयरमा चुनाव लड्ने छन् भने उप मेयरमा सांसद प्रदिप यादवकी श्रीमती पिंकी यादवले चुनाव लड्ने छिन् ।
गत स्थानिय तहकाे निर्वाचनमा सिंह तत्कालिन राष्ट्रिय जनता पार्टीबाट वीरगंजकाे मेयरमा चुनाव लडेका थिए । तेस्रो स्थान ल्याएका सिंहले १२ हजार १६५ मत प्राप्त गरेका थिए ।