वीरगंज । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालय पर्सामा आवेदन दिन आउनेहरुकाे भिड लाग्न थालेकाे छ । नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले आवेदन आह्वान गरेको पहिलाे दिन पर्सामा आवेदन दिनेहरुकाे भिड देखिएकाे हाे ।
आवेदन दिने आउनेहरु जिल्ला प्रहरी कार्यालय पर्सा पछाडी रहेकाे मधेश प्रदेश विपद व्यवस्थापन गुल्मकाे खेल मैदानमा लामबद्ध भएर आफ्नो घण्टाै सम्म आफ्नाे पालो कुरि आवेदन दिने गरेका छन् । आवेदन दिनेमा महिलाको सङ्ख्या नियून देखिएपनि पुरुषहरु भने हरेक उमेर समूहका देखिएका छन् ।
एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेकाे पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने सूचना आह्वान गरिएको छ ।
२०७९ बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीको सहयोगीका रूपमा जवानसरह सुविधासहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको छ ।
सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेश प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । मधेश ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको जनाइएको छ ।