वीरगंज । नेपाली कांग्रेस पर्साकाे १४ औं जिल्ला अधिवेशनमा बिहिबार भएकाे मतदानकाे मतगणना अहिले जारी छ । पदाधिकारी तर्फका जारी मतगणनामा शुक्रबार विहान ६ बजे सम्म एक हजार २ सय मत गन्दा सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनकाे प्यानल अगाडी रहेकाे छ ।
संस्थापन पक्षका सभापतिका उम्मेदवार क्षेत्रीकाे ७२२ मत आएकाे छ भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलकाे ४६६ मत आएकाे छ ।
वीरगंजकाे आदर्शनगरस्थित मतदानस्थल बाल मन्दिरमा चारै क्षेत्रकाे छुट्टा छुट्टै मतगणना जारी रहेकाे निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीले जानकारी दिए ।
सार्वजनिक क्षेत्र नं. ४ काे मगतगणना अनुसार ३०० मत गन्दा सभापतिमा क्षेत्रीकाे २२४ रहेकाे छ भने पटेलकाे ७३ मत आएकाे छ ।
यस्तै क्षेत्री प्यानलका उप सभापतिका उम्मेदवार रामनारायण कुर्मीकाे २३८, अशाेक कुमार गुप्ता २०९, सचिवमा इम्तियाज आलमकाे २३३, दिनेश कुमार चाैधरीकाे २१६, सह सचिवमा सब भन्दा बढी नविन सिंहकाे २४७ र मदन राउत अहिरकाे २१७ मत रहेकाे छ ।
यस्तै पटेल प्यानलका उप सभापतिका उम्मेदवार कृपा सिन्दु चाैधरीकाे ७७, राजु कुमार गुप्ताकाे ५९, सचिवमा विश्वराज घिमिरेकाे ६८, विरेन्द्र यादवकाे ६६, सह सचिवमा लुकमान अंसारीकाे ४३ र दिलिप राज कार्कीकाे ६३ मत रहेकाे छ ।
क्षेत्र नं. ४ मा जम्मा रहेकाे ५ सय १५ मतदाता मध्ये ५ सय ६ मत खसेकाे छ भने जिल्ला भरीमा जम्मा रहेकाे एक हजार ८ सय २० मतदाता मध्ये एक हजार ७ सय ७८ मत खसेकाे छ ।