वीरगंज । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार राष्ट्रिय सभा निर्वाचनका दिन डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता-कार्यकर्ताहरूले सरकारी गाडीमा तोडफोड गरेका छन् । राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आउने क्रममा जनमतका कार्यकर्ताले प्रदेश सभा सदस्य, पालिका प्रमुख र उप प्रमुखका गाडी ताेडफाेड गरेका हुन् ।
उनीहरुले राष्ट्रिय सभाका लागि मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादव, सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई र उप मेयर रेणुका पाैडेल सवार गाडीसहित दर्जनाैं सरकारी गाडीमा तोडफोड गरेका हुन् ।
तोडफोडका क्रममा सांसद यादवसहित आधा दर्जन घाइते भएका छन् ।
जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको थियाे ।जनमत पार्टीका कार्यकर्ताहरुले जनप्रतिनिधि सवार गाडीलाई निशाना बनाएका थिए ।
जसपा नेतृ एवम् संघीय मन्त्री रेणु यादवले गौरमा सीके राउतको नाम लिँदै अर्को नरसंहार मच्चाउने बताएयता जनमत पार्टीका नेता कार्यकर्ता झनै आक्रमक भएका छन् ।
जनमतका नेता कार्यकर्ताहरु ‘पहिला किसानलाई मल देऊ, त्यसपछि मतदान गर’ सहितका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।उनीहरु लाठी र भाटासहित मतदानस्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप समेत भएको थियाे ।