वीरगंज । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरेकाे ट्रक प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउसाे ४ बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २१ परवानीपुर चोकस्थित सडकखण्डबाट प्रदेश नं.२-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।
विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरेकाे ट्रक पोखरा लग्दै गरेको सूचना प्राप्त भई खटिएको टोलीले मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.२ बस्ने वर्ष ३३ को नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू. ६० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।