वीरगंज । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत पर्सामा सुपरिवेक्षकहरु घर तथा घरपरिवार सूचीकरण गरिरहेका छन् । पर्साकाे १४ पालिकामा असाेज १ गतेदेखी ७ प्रश्न लिएर सुपरिवेक्षकहरु घरदैलो गर्न थालेका हुन् ।
केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर पर्सामा १४४ सुपरिवेक्षक घरदैलाेमा पुगेका छन् ।
उनीहरूले जिल्ला भरीका करिब एक लाख घरपरिवारका मुलीलाई भेटेर यी प्रश्न सोध्ने छन् । निर्धारित तालिकाअनुसार सूचीकरण कार्य २० दिनभित्र सम्पन्न हुनेछ । जिल्लाकाे ६ स्थानमा स्थापना गरिएकाे स्थानिय जनगणना कार्यालय मातहत दुई दिने पुनर्ताजगी तालिम दिएर सुपरिवेक्षकहरु खटाइएकाे जिल्ला जनगणना कार्यालय पर्साले जनाएकाे छ ।
आगामी असोज १८ गतेभित्र घर तथा घरपरिवार सूचिकरण सम्पन्न हुने जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले वताए । घर तथा घर परिवार सूचिकरणका लागि खटिएका सुपरिवेक्षकहरुले गरेकाे कार्यकाे जिल्ला जनगणना कार्यालय र स्थानिय जनगणना कार्यालयबाट दिनहुँ अनुगमन भइरहेकाे अधिकारी ज्ञवालीले जानकारी दिए ।
सुपरिवेक्षकहरुले घर तथा घर परिवार सूचिकरण दैनिक प्रगति दिनहु विभागकाे एप्समा अपलाेड गरिरहेका छन् । हाल सम्म ५ दिनमा जिल्लाका अनुमानित २५ हजार घर तथा घर परिवार सूचिकरण भइसकेकाे जिल्ला जनगणना कार्यालय पर्साले जनाएकाे छ ।
गणकले सोध्ने पहिलो प्रश्न, ‘तपाईंको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरूको संख्या कति छ ?’ भन्ने रहेको छ ।
यसैगरी ‘घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ ?’ दोस्रो प्रश्न रहेको छ । यसअन्तर्गत व्यक्तिको घर, व्यापार व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग तथा कलकारखाना, बैंक तथा वित्तीय संस्था, संस्थागत, होटल तथा लज, गोठ तथा धन्सार र खाली घरहरूको संख्या र प्रयोजन खुलाउने गरेका छन् ।
यस्तै उपभोग गर्दै गरेको कृषियोग्य जग्गाजमिन र परिवारले पालन गरेको पशुपन्छीहरूको संख्या खुलाइने छ । सम्बन्धित परिवारले सरकारी अनुदानअन्तर्गत आवासीय घर निर्माण गरेको छ/छैन भन्ने उल्लेख गरिने छ । घरका सदस्यमध्ये कति जनाको नाममा बैंक वा वित्तीय संस्थामा खाता रहेको भए/नभएको सोधि रहेका छन् ।
सुपरिवेक्षकहरुले भर्ने फाराममा परिवारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका व्यक्तिको संख्यासमेत उल्लेख गरिएकाे छ । यसका साथै बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिए/नलिएको समेत खुलाउनले गरेका छन् ।
विभागले सुपरिवेक्षकलाई घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सुचिकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने र गणकको अनुगमन गर्ने जिम्मेवारी तोकेको जिल्ला जनगणना अधिकारी ज्ञवालीले जानकारी गराए ।
दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । त्यसनिम्ति करिब साढे ५ सय गणक थपिने छन् भने सुपरिवेक्षक र कर्मचारीसमेत साथै रहने जनाइएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणनामा समाजका सबै तहतप्काको सहभागिता जनाउन विभागले आग्रह गरेकाे छ ।