वीरगंज । बारा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ६ निवासी धुमन साह सोनार, साेही उपमहानगरपालिका वडा नं.९ निवासी असलम देवान र सुवर्ण गाउँपालिका वडा नं.८ निवासी नेपाली खाँ पैठान भन्ने आजाद खाँ पैठानलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
फैसला कार्यान्वयनको सिलसिलमा बारा जिल्ला अदालतको मिति २०७६/०३/२७ गतेको फैसला आदेशले कुटपिट अंगभंग मुद्दामा कैद तथा जरिवाना लागि फरार रहेका साेनार र देवानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
अदालतले साेनारलाई ४ बर्ष कैद, रु ४० हजार जरिवाना र देवानलाई ६ महिना कैद, रु ५ हजार जरिवाना ताेकेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।
बिहिबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले निजहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतकाे आदेशानुसार निज प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको उनले जानकारी दिए ।
त्यसैगरी, बारा जिल्ला अदालतमा बिचाराधिन रहेको ठगी मुद्दाका प्रतिवादी पैठानलाई शुक्रबार पक्राउ गरी बारा जिल्ला अदालतमा दाखिला गरिएको प्रवक्ता मिश्रले वताए ।