वीरगञ्ज, २४ कार्तिक /
हिन्दुहरुको महान पर्व छठको अवसरमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आज छठघाटहरुको निरीक्षण तथा अवलोकन गर्नु भएको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा सांसद यादवले रानीघाट, पिपरा लगायतका छठघाटहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
अवलोकनको क्रममा सांसद यादवले खासगरी नेपालको तराई–मधेशमा भव्यताका साथ मनाइने छठ पर्वको विशेष धार्मिक महत्व रहेको बताउनु भयो । विशेषगरी नेपालको तराई–मधेशमा मात्र मनाइने छठ पर्व अहिले राजधानी काठमाडौँ लगायत मुलुकभर मनाइने गरिन्छ ।
यस्तै यो पर्व मुस्लिमलगायत अन्य धर्मावलम्बीले पनि उत्तिकै हर्षाेल्लासका साथ मनाउने गरेका छन् । मुलुकमा जाती, क्षेत्रीय सद्भावको अभाव खड्किरहेको वर्तमान अवस्थामा पहाडी, मधेशी, मुसलमान, धनी, गरिब सबैले मनाउने यस पर्वले नेपालीबीच जातीय क्षेत्रीय सद्भाव र एकता धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउनमा मद्दत पु¥याइरहेको सांसद यादवले बताउनु भयो । साथै छठघाट सजावटका लागि आफुले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।
अवलोकन भ्रमणमा जिल्ला सह ईन्चार्ज रामनरेश यादव, जिल्ला सदस्य तबरेज अहमद, पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम, नगर उपाध्यक्ष घनश्याम गुप्ता, जिल्ला सदस्य मुस्तकीम अंसारी, स्वकीय सचिव निखिल वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस