Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 9

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

0

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ ।

ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा आयोजित शिविरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, कलैया, बाराकी प्रमुख चिकित्सक डा. पुनिता केसीलगायतको विशेष उपस्थिति रहेको थियो ।

शिविरमा दाँत, मुख तथा गिजा रोग विशेषज्ञ डा. उषा महतो र डा. प्रनिषा सिमखडालगायत विभिन्न क्षेत्रका चिकित्सक, वैद्य तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि बिहानैदेखि सयौँ सेवाग्राहीको भीड लागेको थियो । सेवाग्राहीलाई निःशुल्क फुल बडी स्वास्थ्य जाँच, सुगर, तौल तथा रक्तचाप परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो ।

त्यसैगरी आयुर्वेदिक चिकित्सक तथा वैद्यहरूले स्वास्थ्यसम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क आयुर्वेदिक औषधिसमेत वितरण गरेका थिए । दाँत, मुख तथा गिजासम्बन्धी समस्या भएका सेवाग्राहीका लागि विशेष निःशुल्क दन्त क्लिनिक सेवा पनि सञ्चालन गरिएको थियो ।

आयुर्वेदिक चिकित्सा, प्राकृतिक जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित शिविरबाट ठूलो संख्यामा स्थानीय सेवाग्राही लाभान्वित भएका आयोजकले जनाएको छ । आयोजकका अनुसार यस्ता कार्यक्रमले रोगको समयमै पहिचान, उपचार तथा स्वस्थ जीवनशैलीप्रति समुदायमा जागरूकता बढाउन सहयोग पुग्नेछ ।

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

0

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका सम्बन्धमा उठाएका आरोपप्रति कलेज प्रशासनले आपत्ति जनाएको छ । कलेजले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद अन्सारीबाट व्यक्त गरिएका आरोप तथा टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा नेशनल मेडिकल कलेजले सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरिएको छ । कलेजका अनुसार यस अवधिमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन र नियामकीय प्रक्रियाअन्तर्गत संस्था सञ्चालन हुँदै आएको छ ।

सांसद अन्सारीले उठाएका आरोप हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको कलेजले जनाएको छ । यद्यपि तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि कलेज तयार रहेको र सम्बन्धित निकायलाई आवश्यक सम्पूर्ण अभिलेख तथा विवरण उपलब्ध गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार तथा अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको भनाइ छ । अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने कलेजले जनाएको छ ।

कलेजका प्रशासन प्रमुख विश्वनाथ कण्ठद्वारा जारी विज्ञप्ती मार्फत कलेजले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति प्रतिबद्ध रहेकोसमेत स्पष्ट पारेको छ ।

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २९ गते गरेको उपसचिव तथा अधिकृतहरूको सरुवाअन्तर्गत रौनियारको परवानीपुर गाउँपालिकाबाट फेटा गाउँपालिकामा सरुवा भएको थियो । सरुवा भएर फेटा जान लागेका रौनियारलाई परवानीपुर गाउँपालिकाले बिहीबार एक कार्यक्रम आयोजना गरी सम्मानसहित बिदाइ गरेको हो ।

यसैगरी, देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका कृष्णनन्दन राय परवानीपुर गाउँपालिकामा हाजिर भएपछि उनको स्वागत गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी कनुइन, वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा कर्मचारीहरूले रौनियारलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए । सोही अवसरमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रायलाई स्वागत गर्दै गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन अपेक्षा व्यक्त गरिएको थियो ।

यसैबीच, रौनियार शुक्रबार फेटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका छन् । फेटा गाउँपालिकामा पनि शुक्रबार आयोजित कार्यक्रममा रौनियारको स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको बिदाइ गरिएको छ ।

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

1

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१६ निवासी २९ वर्षीय विर नारायण चौरसिया र २४ वर्षीय राज नारायण चौरसिया रहेका छन् ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहिबार अपराह्न करिब ४ः३० बजे वीरगंज–१६ स्थित इनर्वाबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

0

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता सुभाष साहका अनुसार आगामी आइतबार असोज १८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्नेछ ।

बैठकले पार्टीको आगामी कार्ययोजनाको रूपरेखा तय गर्नुका साथै आन्दोलनको तयारीबारे महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । बैठकमा सरकारका कामकारबाहीको समीक्षा गर्दै अध्यक्ष प्रभु साहले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता साहले बताए ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै ‘विदेशी एजेण्टबाट देश बचाउने’, सैनिक हस्तक्षेपबाट लोकतन्त्र जोगाउने तथा ‘फेक शासन’को अन्त्य गर्ने विषयमा छलफल हुने आजपाले जनाएको छ ।

त्यसैगरी मूल्यवृद्धि, कालोबजारी, कर आतंक, मलखादको अभाव, बाढीपीडितको पुनर्स्थापना तथा पुनर्निर्माणलगायत जनसरोकारका विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ ।

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

0

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भई जिम्मेवारी सम्हालेका हुन् ।

पटेर्वा सुगौली गाउँपालिकामा महमद नवाज हुसैन, धोबिनी गाउँपालिकामा सञ्जीव कुमार यादव, छिपहरमाई गाउँपालिकामा सर्वजीत कुमार झा र पकाहाँमैनपुर गाउँपालिकामा सुमित कुमार सिंहले पदभार ग्रहण गरेका छन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूलाई सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् । पालिकाहरुमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरूले फूलमाला, अबिर तथा गमछा ओढाएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै चारै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले प्रशासनिक कामलाई व्यवस्थित बनाउँदै नागरिकलाई सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले स्थानीय तहको विकास निर्माण, योजना कार्यान्वयन, सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

0

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ।

प्रतिष्ठानले बिहीबार विद्यालयमा कार्यक्रम आयोजना गरी ११२ जना विद्यार्थीलाई एक–एक थान टिसर्ट र पाइन्ट वितरण गरेको हो। विद्यालयका प्रधानाध्यापक अकलेस जयसवालका अनुसार अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई कपडा वितरण गरिएको थियो।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालय पोसाकका रूपमा कपडा उपलब्ध गराउँदा उनीहरूलाई राहत पुग्ने विद्यालयले जनाएको छ। सहयोगले विद्यार्थीलाई अध्ययनमा थप सहज वातावरण बनाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कपडा वितरण कार्यक्रममा होसेक प्रतिष्ठान नेपालका प्रतिनिधि कैलाश लामा र जेनी कार्कीसहित विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा अन्यको सहभागिता रहेको प्रधानाध्यापक जयसवालले जानकारी दिए।

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

0

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीले मन्सुरीलाई बुधबार वीरगंजबाट पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका–५ घर भई हाल वीरगंज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय मन्सुरीलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । मन्सुरी भैंसी तथा पाडा व्यापारी हुन् ।

प्रहरीका अनुसार मन्सुरीमाथि जगरनाथपुर गाउँपालिका–४ घर भएकी आफ्नी सालीको हत्या घटनामा संलग्न रहेको आरोप छ । यसअघि सोही घटनामा उनका दाजु नासिर अहमदलाई प्रहरीले पक्राउ गरिसकेको छ । नासिर अहिले प्रहरी हिरासतमा छन् ।

२०७८ साल असोज २१ गते जाफिरकी अविवाहित सालीको शव प्रहरीलाई जानकारी नदिई वीरगंज–१३ मुर्लीस्थित कब्रस्तानमा गाड्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । शव गाड्ने क्रममा नासिर, जाफिरलगायतका व्यक्तिहरू संलग्न रहेको आरोप लागेको थियो ।

प्रहरीका अनुसार ती युवतीमाथि जबर्जस्ती करणी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त अवस्थामा गाउँकै क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि उनको शव वीरगंज ल्याएर गुपचुप रूपमा कब्रस्तानमा गाड्ने प्रयास गरिएको आरोप छ ।

घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले करिब पाँच वर्षपछि अहिले नासिर र जाफिरलाई पक्राउ गरेको हो । पाँच वर्षअघि राजनीतिक पहुँचका कारण घटनाको अनुसन्धान अगाडि नबढाइएको आरोपसमेत लाग्दै आएको थियो । प्रहरीले भने अहिले घटनाको अनुसन्धानलाई पुनः अगाडि बढाएको जनाएको छ ।

घटनामा संलग्न अन्य आरोपितहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

१९ क्विन्टल कुखुरा र रकम लुटिएको आरोपको व्यवसायी सङ्घद्वारा खण्डन

1

वीरगञ्ज । पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको छ।

आर्या फ्रेस हाउस एन्ड सप्लायर्सका सञ्चालक फिरोज अन्सारीले धोबिनी गाउँपालिका–३, गुलरियास्थित क्यामुदिन पोल्ट्री फर्मका सञ्चालक क्यामुदिन मियाँले आफ्ना चालकबाट कुखुरा र रकम नियन्त्रणमा लिएको आरोप लगाउँदै बुधबार पत्रकार सम्मेलन गर्नुभएको थियो।

उक्त आरोपको खण्डन गर्दै सङ्घले बिहीबार जिल्ला समन्वय समिति पर्साको परिसरमा पत्रकार सम्मेलन गरी घटना लुटपाट नभएको दाबी गरेको हो।

सङ्घका अध्यक्ष देवेन्द्रप्रसाद आजादका अनुसार क्यामुदिन मियाँले अन्सारीबाट कुखुरा खरिदबापत करिब साढे ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी थियो। पटक–पटक रकम माग्दा पनि भुक्तानी नभएपछि व्यवसायी तथा किसानहरूले अन्सारीको कुखुरा बोकेको गाडी रोकेको उहाँको दाबी छ।

आजादले कुखुरा नियन्त्रणमा लिइएको स्वीकार गर्दै रकम असुल गर्ने उद्देश्यले गाडी रोकिएको बताए। उहाँका अनुसार अन्सारीमाथि आफू, अन्य कुखुरा व्यवसायी तथा दाना व्यवसायीको गरी २५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ।

सङ्घले अध्यक्ष आजादको करिब १५ लाख, बहुदरमाईस्थित सोनम फ्रेस हाउसका सञ्चालक अनिलप्रसाद यादवको ९४ हजार, वीरगञ्ज–२७ घुर्मीका दाना व्यवसायी मनोज पटेलको २ लाख ५० हजार, वीरगञ्ज–१९ विन्दवासिनीका अनिश सप्लायर्सका सञ्चालक रामअयोध्या कलवारको ४० हजार तथा आसवारीका पिन्टु पटेलको २ लाख रुपैयाँलगायत रकम अन्सारीबाट लिन बाँकी रहेको दाबी गरेको छ।

सङ्घका अनुसार रकम भुक्तानीका लागि पटक–पटक सम्पर्क गर्दा अन्सारी सम्पर्कमा नआएपछि व्यवसायी तथा किसानले कुखुरा बोकेको गाडी रोकेका थिए। गाडी रोक्नु र कुखुरा नियन्त्रणमा लिनु कानुनी प्रक्रियाअनुसार उचित नभए पनि घटनाबारे प्रहरीलाई जानकारी गराइएको सङ्घको भनाइ छ।

सङ्घका अनुसार गाडी बुझाउन जानकीटोला प्रहरीलाई आग्रह गरिएको भए पनि प्रहरीले नबुझेपछि चालकले क्यामुदिनको फर्मअगाडि गाडी पार्क गरेर वीरगञ्ज फर्किएका थिए।

घटनाबारे दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन्। विवाद समाधानका लागि पोखरिया प्रहरीको रोहबरमा दुवै पक्षबीच छलफल गराउने तयारी भइरहेको सङ्घले जनाएको छ।

शैक्षिक गुणस्तर र अनुशासनमा जोड, विद्यालय व्यवस्थापन समितिको छड्के अनुगमन

0

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले छड्के अनुगमन गर्दै शैक्षिक गुणस्तर र विद्यार्थी अनुशासनमा विशेष जोड दिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश सहनीले विद्यालयका विभिन्न कक्षाकोठामा पुगेर शिक्षकको उपस्थिति, शैक्षिक गतिविधि, विद्यार्थीको अनुशासन तथा कक्षाको वातावरणको प्रत्यक्ष निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले विद्यालयको शैक्षिक वातावरणलाई थप गुणस्तरीय, मर्यादित र प्रभावकारी बनाउन प्रधानाध्यापक मनोजकुमार यादवलाई आवश्यक निर्देशन दिनुभएको थियो ।

अध्यक्ष सहनीले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न विद्यालयमा अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्न तथा विद्यार्थीलाई नियमित रूपमा गृहकार्य दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको बताइएको छ । शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनबीच प्रभावकारी समन्वय भएमा मात्र शैक्षिक गुणस्तरमा अपेक्षित सुधार ल्याउन सकिने उहाँको भनाइ थियो ।

व्यवस्थापन समितिको निर्देशनपछि प्रधानाध्यापक यादवले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालयका नियम तथा अनुशासन पूर्ण रूपमा पालना गर्न निर्देशन दिनुभएको छ । विद्यालयको नियम उल्लङ्घन गर्ने विद्यार्थीलाई नियमानुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

विद्यालय व्यवस्थापन समितिको नियमित अनुगमनबाट शिक्षकको कक्षामा उपस्थिति, विद्यार्थीको अनुशासन, गृहकार्यको नियमितता तथा समग्र शैक्षिक वातावरणमा सुधार आउने विद्यालय पक्षले अपेक्षा गरेको छ।