Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 8

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

0

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्।

भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले शनिबार साँझ सीमावर्ती क्षेत्रमा विशेष चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा वीरगञ्जबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई–रिक्सालाई रोकेर खानतलासी गर्दा रिक्साभित्र लुकाएर राखिएको बोराबाट २२ वटा कालो प्लास्टिकका प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय सुरक्षा निकायले जनाएको छ।

चरेससहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–छपकैयाका ३९ वर्षीय अमर चौधरी रहेका छन्। पक्राउ परेका चौधरीलाई बरामद चरेस र ई–रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त चरेस मकवानपुरका विभिन्न स्थानबाट सङ्कलन गरी बारा र पर्साको बाटो हुँदै भारततर्फ लैजान खोजिएको खुलेको बताइएको छ।

मकवानपुरदेखि राजमार्ग तथा विभिन्न सुरक्षा जाँचस्थल पार गर्दै ठूलो परिमाणमा लागूऔषध वीरगञ्जको सीमासम्म पुग्नु र भारतीय भूमिमा प्रवेश गर्ने क्रममा मात्रै बरामद हुनुले नेपालतर्फको सुरक्षा निगरानी तथा चेकजाँच प्रणालीमाथि प्रश्न उठाएको छ।

खुला सीमाको फाइदा उठाउँदै लागूऔषधको अन्तरदेशीय ओसारपसार भइरहेको घटनाले सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडाइ गर्नुपर्ने आवश्यकता समेत देखाएको छ।

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन ऐन, २०८३’ को विधेयक सङ्घीय संसद् सचिवालयलमा दर्ता गराइएको उल्लेख गर्नुभएको छ ।

शुक्रबार दर्ता गरिएको उक्त विधेयकले निम्न आय भएका परिवारको आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको उहाँको भनाइ छ ।

दर्ता गरिएको विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो । त्यस्तै, गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको उहाँको भनाइ छ ।

“गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २५ हजार गरी कूल रु ७५ हजारसम्म अनुदान उपलब्ध गराउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । साथै, विपद्, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको छ”, उहाँले उल्लेख गर्नुभएको छ ।

नयाँ भवन ऐन तथा नियमावलीले मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ । रु बीस लाखदेखि ७५ लाखसम्म लागत पर्ने यस्ता घर ९०० देखि एक हजार ३०० प्लिन्थ (भवनको कुल ओगटेको क्षेत्रफल) क्षेत्रका हुने प्रस्ताव गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रारम्भिक रूपमा रु पाँच लाख अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक रु ११ हजार किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ । साथै रु १० लाख अग्रिम भुक्तानीमा मासिक रु १५ हजार, रु १५ लाख अग्रिममा मासिक रु २० हजार, रु २० लाख अग्रिममा मासिक रु ३० हजार र रु २५ लाख अग्रिममा मासिक रु ३५ हजार किस्ता तिर्ने विकल्पसमेत प्रस्ताव गरिएको छ ।

निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चितता सम्मका व्यवस्था समेट्दै सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले नयाँ भवन ऐन ल्याएको हो ।

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

0

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् ।

ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन् ।

उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण, डुबानलगायत विपद्का घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

विपद्का विभिन्न घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी रहेको छ । दुई महिनाको अवधिमा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना तथा आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य छ । बाढी, डुबान तथा पानीमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकासमेत पर्ने गरेका छन् ।

मधेसमा वर्षायामसँगै बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ । यस अवधिमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा जलाशयमा डुबेर मानिसको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनाको अवधिमा आगलागीका मात्रै ११२ घटना भएका छन् । आगलागीका कारण ठूलो मात्रामा धनमालको क्षति भएको छ । त्यसैगरी करेन्ट लागेका १०७ घटना भएका छन् । पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएको प्रहरीले जनाएको छ ।

आगलागी र करेन्टसँग सम्बन्धित घटनाको सङ्ख्या उल्लेख्य देखिए पनि यी घटनामा मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी तथा जनचेतनाको भूमिका महत्त्वपूर्ण हुने बरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

विपद्का ४५९ घटनाबाट रु दुई करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आगलागीका घटनाबाट मात्रै २१२ परिवारका घर जलेका छन् । आगलागीबाट रु दुई करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी बाढी तथा पहिरोबाट रु ११ लाख ९० हजार बराबरको क्षति भएको छ । चट्याङबाट रु तीन लाख, जंगली जनावरको आक्रमणबाट रु दुई लाख ७२ हजार तथा अन्य विभिन्न विपद्का घटनाबाट रु चार लाख ६३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सो अवधिमा भएका विपद्का घटनाबाट ५१० परिवार प्रभावित भएका छन् । विपद्का कारण कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयको घर तथा सम्पत्तिमा क्षति पुगेको छ । बाढी तथा डुबानका कारण ग्रामीण क्षेत्रमा रहेका बस्ती, सडक तथा अन्य संरचनामा असर पर्ने गरेको छ । वर्षायाममा नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको बरिष्ठ प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।

विपद्का समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायले समन्वय गर्दै आएको उहाँले बताउनुभयो ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यका क्रममा दुई हजार ८६९ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले विपद्का घटनामा उद्धार, खोजी, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ । बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थामा प्रहरी टोलीलाई तत्काल परिचालन गर्ने गरिएको छ ।

मधेस प्रदेशका आठ वटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिने गरिएको उहाँले बताउनुभयो ।

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

0

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५ वर्षीया छोरी चाँदनी पटेल र भोला पटेलकी १६ वर्षीया छोरी निशा पटेलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पोखरीमा डुबेको खबर पाएलगत्तै स्थानीयको सहयोगमा दुवै किशोरीलाई उद्धार गरी तत्काल अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।

जितिया पर्वको व्रत तथा खुसीयाली मनाइरहेका बेला भएको यस दुःखद घटनाले देवताल गाउँपालिका–६ सहित स्थानीय समुदाय शोकमा डुबेको छ।

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

0

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ।

आगामी असोज १८ गते आइतबार बिहान १० बजेदेखि वीरगन्जस्थित आर्मी ब्यारेकको उत्तरपट्टि रहेको क्लासिक ब्याङ्क्वेटमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा प्याब्सन पर्सामा आबद्ध २० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।

प्रत्येक विद्यालयबाट न्यूनतम ८ देखि अधिकतम १२ जना प्री–प्राइमरी तहका विद्यार्थीले विभिन्न राइम्स प्रस्तुत गर्नेछन्। प्रत्येक विद्यालयलाई प्रस्तुति दिन अधिकतम चार मिनेटको समय दिइने आयोजकले जनाएको छ।

सबै विद्यालयको प्रस्तुति सम्पन्न भएपछि निर्णायकहरूको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच विद्यालय छनोट गरिनेछ। तीमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। चौथो र पाँचौँ स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीलाई सान्त्वना पुरस्कारस्वरूप प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्री–प्राइमरी तहका बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

प्रतियोगिताको संयोजन प्याब्सन नगर कार्यसमिति सदस्य विजय कुमार बलले गरेका छन्। प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले प्रतियोगिताले सानै उमेरदेखि बालबालिकाको प्रतिभा पहिचान, प्रस्तुति क्षमता र आत्मविश्वास विकासमा सहयोग पुग्ने बताए।

बालबालिकाको प्रारम्भिक सिकाइलाई मनोरञ्जनात्मक तथा सिर्जनात्मक गतिविधिसँग जोड्दै विद्यालयबीचको सहकार्य र बालप्रतिभाको विकासमा समेत प्रतियोगिताले योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ।

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

0

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको बताएका छन् ।

काठमाडौंको कोटेश्वरमा शनिबार बसेको आजपा सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै साहले जेनजी आन्दोलनले उठाएका राजनीतिक, सामाजिक तथा शासन व्यवस्थासम्बन्धी मुद्दा सम्बोधन गर्न अन्तरिम राजनीतिक तथा संवैधानिक व्यवस्था आवश्यक रहेको बताएका हुन् ।

साहले जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भए पनि त्यसअनुसार नयाँ संवैधानिक व्यवस्था निर्माण हुन नसक्दा अहिले राजनीतिक अन्योल सिर्जना भएको दाबी गरे । उनले वर्तमान अवस्थालाई संविधान र सरकारबीचको संवैधानिक अन्तरविरोधका रूपमा व्याख्या गरेका छन् ।

उनले भने, ‘यदि अहिलेकै संविधान ठीक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठीक हो भने अहिलेको संविधान गलत छ ।’

संविधानले प्रतिनिधिसभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्ने परिकल्पना नगरेको उल्लेख गर्दै साहले सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको अवस्थाले संवैधानिक संकटको प्रश्न उठाएको बताए ।

‘प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुने परिकल्पना यो संविधानमा छैन । त्यसैले अहिलेको संविधानको आवश्यकता र औचित्यमाथि गम्भीर प्रश्न उठेको छ,’ उनले भने ।

साहले पुरानै संवैधानिक व्यवस्थाभित्रबाट वर्तमान राजनीतिक संकट समाधान गर्न खोज्दा समस्या थप जटिल बन्न सक्ने दाबी गरे । मुलुकलाई निकास दिन तत्काल अन्तरिम सरकार गठन गरी अन्तरिम संवैधानिक व्यवस्थामार्फत अघि बढ्नुपर्ने उनको जोड छ ।

जेनजी आन्दोलनले उठाएका विषयलाई केवल सरकार परिवर्तन गरेर मात्र सम्बोधन गर्न नसकिने साहको भनाइ छ । आन्दोलनका मुद्दा, राज्य सञ्चालनको संरचना र संवैधानिक व्यवस्थामाथि समेत पुनर्विचार गर्नुपर्ने उनले बताए ।

आफ्नो राजनीतिक प्रतिवेदनमा साहले अन्तरिम सरकार र अन्तरिम संविधान निर्माण गरेर मात्रै मुलुकलाई राजनीतिक निकास दिन सकिने उल्लेख गरेका छन् ।

यसैबीच, आजपाले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि विकसित परिस्थिति तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिएका छन् ।

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल एण्ड मेडिकल कलेजकाे सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

स्थानीय श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा भएको शिविरमा महिला तथा पुरुष गरी करिब ४ सय जनाले निःशुल्क आँखा तथा दन्त परीक्षण गराएका थिए ।

शिविरमा सहभागी स्थानीयवासीको आँखा तथा दाँतको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो । ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई आफ्नै गाउँमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार यादवले स्थानीयवासीले आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा पाउँदा राहत महसुस गरेको बताए । उनले जनप्रतिनिधि र जनताबीचको दूरी बढ्दै गएको गुनासो सुनिन थालेपछि ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरका लागि पहल गरेको बताए ।

यादवले पत्रकारितामार्फत जनताको आवाज उठाउनुका साथै जनताको सुखदुःखमा समेत आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

शिविरमा स्थानीय युवाहरू सन्तोष यादव (भोला), राजेश पण्डित, मनोज मण्डल, सरोज मण्डल, यश मण्डल, कमलेश मण्डललगायतको सक्रिय सहभागिता रहेको थियो ।

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

0

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व मागिएको भन्दै कायरोस इन्टरनेशनल प्रालिले आपत्ति जनाएको छ ।

चीनको सांघाईमा उत्पादन भएको टेस्ला मोडल वाई आरडब्लुडी आयात गरेको कायरोसका अनुसार वीरगंज भन्सार कार्यालयले असोज ११ गते पत्र पठाउँदै यसअघि छुट भएको भनिएको भन्सार राजस्व दाखिला गर्न ताकेता गरेको हो । कम्पनीका अनुसार दुईवटा गाडीमा मात्रै प्रतिगाडी करिब ७८ देखि ७९ लाख रुपैयाँका दरले थप राजस्व माग गरिएको छ ।

कम्पनीका भन्सार प्रतिनिधि मधुकुमार बरालले हाल आयात भएका गाडी चीनको सांघाईमा उत्पादन भई हङकङ हुँदै नेपाल ल्याइएको बताए । उनका अनुसार अमेरिकाबाट विगतमा आयात भएका समान मोडलका गाडीको तुलनामा चीनमा उत्पादन भएको गाडीको खरिद तथा ढुवानी लागत कम परेको छ ।

पुरानो र नयाँ आयात मूल्यमा फरक

बरालका अनुसार करिब छ महिनाअघि अमेरिकाबाट टेस्ला गाडी आयात गर्दा ३४ हजार ५०० अमेरिकी डलर अर्थात् करिब ५० लाख ६२ हजार रुपैयाँको मूल्य कायम गरिएको थियो । उक्त गाडीमा विभिन्न शीर्षकमा गरी करिब ७९ लाख ११ हजार रुपैयाँ राजस्व दाखिला गरिएको उनको भनाइ छ ।

तर अहिले चीनको सांघाईमा उत्पादन भएको सोही ब्रान्ड तथा मोडलको गाडीको खरिद मूल्य नै कम परेको कम्पनीको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा नयाँ मोडल तथा नयाँ उत्पादन बजारमा आउँदा पुराना मोडलको मूल्य घट्नु स्वाभाविक रहेको बरालले बताए ।

कायरोसका अनुसार हाल आयात गरिएको गाडीको हङकङमा रहेको एमआरपी २ लाख ५४ हजार हङकङ डलर भए पनि भ्याट तथा एजेन्सी छुटलगायत रकम समायोजन गर्दा मूल्य करिब २ लाख ५०० हङकङ डलर पर्न आउँछ । नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यसको आधारभूत मूल्य करिब ३८ देखि ३९ लाख रुपैयाँ हुने कम्पनीको दाबी छ ।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार उक्त मूल्यमा भन्सार महसुल, एकीकृत महसुल, सडक सम्भार दस्तुर र भ्याटसमेत गरी कुल कर तथा राजस्व करिब ३५ लाख ८५ हजार रुपैयाँ पर्ने जनाएको छ ।

जाँचपास भइसकेका गाडीमा थप राजस्वको माग

कायरोसका अनुसार चालु आर्थिक वर्षमा जुलाई २९ र सेप्टेम्बर ९ मा दुई खेपमा टेस्ला मोडल वाई आरडब्लुडी नेपाल आयात गरिएको थियो । ती गाडी वीरगंज भन्सारबाट जाँचपास भई ग्राहकलाई बिक्रीसमेत भइसकेका छन् ।

तर जाँचपास भएको केही समयपछि सञ्चारमाध्यममा प्रकाशित समाचारपछि वीरगंज भन्सार कार्यालयको आन्तरिक लेखापरीक्षणबाट कम राजस्व असुल भएको निष्कर्ष निकालिएको भन्दै थप रकम दाखिला गर्न पत्र पठाइएको कम्पनीको भनाइ छ ।

गाडी बिक्री भइसकेकाले ग्राहकबाट पुनः थप रकम उठाउन सम्भव नरहेको कम्पनीले जनाएको छ । ग्राहकले खरिदका बेला तोकिएको मूल्यअनुसार सम्पूर्ण रकम भुक्तानी गरिसकेको कम्पनीको भनाइ छ ।

आयातकर्ता पक्षले भन्सार मूल्यांकन गर्दा गाडी उत्पादन भएको देश, वास्तविक खरिद मूल्य, ढुवानी खर्च, आयातसम्बन्धी कागजात तथा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध मूल्यलाई समेत आधार बनाउनुपर्ने तर्क गरेको छ ।

कम्पनीले एउटै मोडल विभिन्न देशमा फरक लागतमा उत्पादन हुने र बजारअनुसार मूल्यमा समेत फरक हुन सक्ने भएकाले प्रत्येक आयातको वास्तविक व्यापारिक कागजातका आधारमा मूल्यांकन गर्नुपर्ने जनाएको छ ।

थप राजस्व माग फिर्ता नभए आन्दोलनको चेतावनी

थप राजस्वको माग फिर्ता नभए व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । आयातकर्ता पक्षले जाँचपास भएर बिक्री भइसकेका गाडीमा पछि गएर ठूलो कर दायित्व सिर्जना हुँदा व्यवसायी र ग्राहक दुवै प्रभावित हुने जनाएको छ ।

व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तन भएको अवस्थामा वास्तविक खरिद मूल्यका आधारमा भन्सार मूल्यांकन गर्ने कि विगतको आयात मूल्यलाई आधार बनाउने भन्ने विषयमा स्पष्ट नीति र व्यवहारिक कार्यविधि आवश्यक रहेको

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

0
एआईकाे सहयाेगमा तयार पारिएकाे तस्बिर

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, बारामा नागरिकतासम्बन्धी उजुरी परेपछि अनुसन्धान भइरहेको बताइएको छ । मित्तलमाथि भारत र नेपाल दुवै देशको नागरिक रहेको आरोपसमेत लाग्दै आएको छ ।

यसैबीच, मित्तलमाथि वीरगंजका व्यवसायी निरञ्जन अग्रवाललाई फसाउन खोजेको आरोपसमेत लागेको छ । उद्योगी अग्रवालले आफूले लिनुपर्ने रकमबापत मित्तलले सौहार्दपूर्ण वातावरणमा चेक दिएको, तर पछि उल्टै प्रहरीमा उजुरी गरेर आफूलाई फसाउने प्रयास गरेको आरोप लगाएका छन् ।

आफूले पाउनुपर्ने रकमबापत मित्तलले आफैंले दिएको चेकका आधारमा रकम असुल गर्नुपर्ने अवस्थामा उल्टै प्रहरीमा निवेदन दिएर मानसिक यातना दिने प्रयास गरिएको अग्रवालको आरोप छ । मित्तलले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपछि चेक लिने पक्षलाई नै प्रतिवादी बनाउने प्रयास भएको भन्दै अग्रवालले आपत्ति जनाएका छन् ।

आफैंले दिएको चेक चोरी भएको वा दुरुपयोग भएको दाबी गर्दै उजुरी परेपछि आफू आश्चर्यमा परेको अग्रवालले बताएका छन् । अग्रवालका अनुसार यसअघि पनि मित्तलले विभिन्न बिचौलियामार्फत आफूविरुद्ध मुद्दा तथा जालझेल गर्ने प्रयास गर्दै आएका थिए । पछिल्लो समय बाटोघाटोमा भेट हुँदा समेत आफूहरूबीच सौहार्दपूर्ण रूपमा कुराकानी हुने गरेको र मित्तलले विगतमा भएका विषयमा आफूले कुनै षड्यन्त्र नगरेको बताउने गरेको अग्रवालको दाबी छ ।

अग्रवालले भने, “हामी मिलेर आ–आफ्नो कारोबार गरौँ, हामीबीच रहेको लेनदेनको विषय आपसी सहमतिमा मिलाऔँ र अड्डा–अदालतबाट पछि हटौँ” भन्दै मित्तलले आफूलाई दिनुपर्ने रकम बराबरको चेक आफैं दिएको दाबी गरेका छन् । तर अहिले आएर सोही विषयलाई लिएर आफूविरुद्ध झुटो मुद्दा लगाउने प्रयास भएको जानकारी केही सञ्चारमाध्यमबाट पाएको उनले बताए ।

मित्तलसँग आफ्नो कुनै किसिमको दुश्मनी वा द्वेष नरहेको बताउँदै अग्रवालले उनको पछिल्लो कार्यशैलीबाट आफू चकित भएको बताएका छन् । केही दिनअघि मात्र आफूहरूबीच भेटघाट तथा कुराकानी भएको र उक्त भेटको भिडियोसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरे । अग्रवालले मित्तललाई बिचौलियाको उक्साहटमा पुनः आफूविरुद्ध लागेको आरोपसमेत लगाएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रहरीमा उजुरी परेको र घटनाका सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । चेक के–कति कारणले लेनदेन भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने तथा दोषी देखिएकालाइ आवश्यक कानुनी कारबाही गरिने उनले बताए ।

चेक लेनदेनसम्बन्धी विवादमा दुवै पक्षका दाबी फरक–फरक रूपमा सार्वजनिक भएपछि व्यवसायी वृत्तमा समेत चेकको विश्वसनीयता र व्यावसायिक कारोबारमा यसको प्रयोगबारे चर्चा सुरु भएको छ । व्यवसायिक कारोबारमा चेक दिएपछि पुनः त्यही चेकको विषयमा विवाद उत्पन्न हुने अवस्था आए व्यापारिक लेनदेनमा यसको प्रभाव कस्तो पर्छ भन्ने प्रश्नसमेत उठेको छ ।

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिरामीको उपचारका क्रममा हुने रगत अभाव न्यूनीकरण गर्दै स्थानीयस्तरमै रगत संकलन गरी मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा १३ महिलासहित ४८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा पत्रकार तिवारी यादव, विनोद पटेल, सन्तोष यादवलगायत अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

वीरगंजस्थित ब्लड बैंकमा पछिल्लो समय रगतको अभाव देखिँदा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तलाई आवश्यक रगत जुटाउन कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

संकलित रगत आकस्मिक अवस्था, शल्यक्रिया तथा अन्य उपचारका क्रममा आवश्यक पर्ने बिरामीका लागि उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ ।