Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Home Blog Page 84

कालिकामाईका स्वास्थ्य संयोजक चौरसियाको राजिनामा स्वीकृत

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा सि.अ.हे.व. अधिकृत (छैठौं) तहमा कार्यरत तथा गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र प्रसाद चौरसियाको स्वेच्छिक राजिनामा स्वीकृत भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाका अनुसार चौरसियाले दिएको राजिनामा माघ २९ गते बिहीबारदेखि लागू हुने गरी स्वीकृत गरिएको हो । चौरसियाले माघ १२ गते नै प्रमुख प्रशासकीय अधिकृत कुशवाहा समक्ष लिखित रूपमा राजिनामा पेश गरेका थिए ।

बुझाएको राजिनामापत्रमा उनले स्वास्थ्य सेवा समूह हे.ई. तह अन्तर्गत सि.अ.हे.व. अधिकृत पदमा वि.सं. २०५३/०५/२५ गते स्थायी नियुक्ति पाएदेखि हालसम्म निरन्तर तथा अविछिन्न रूपमा सेवा गर्दै आएको उल्लेख गरेका थिए । साथै, घरायसी समस्याका कारण सेवामा निरन्तरता दिन नसक्ने अवस्था आएको जनाउँदै आफ्नो इच्छाअनुसार खुसीराजीका साथ राजिनामा दिएको स्पष्ट पारेका छन् ।

यद्यपि, स्रोतका अनुसार चौरसिया लामो समयदेखि राजनीतिमा सक्रिय हुने तयारीमा थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई आगामी स्थानीय तह निर्वाचनमा कालिकामाई गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ ।

सानो दीप संस्थाद्वारा शारदा माविमा निःशुल्क स्वास्थ्य परीक्षण

वीरगंज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत तथा रक्त समूह परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
आँखा परीक्षणका लागि सामुदायिक आँखा अस्पतालको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो भने दाँत परीक्षण बुद्ध अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले गरेका थिए। साथै, विद्यार्थीहरूको रक्त समूह परीक्षणसमेत निःशुल्क रूपमा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक चरणमै सम्भावित रोग पहिचान गरी आवश्यक उपचारतर्फ मार्गदर्शन गर्नु रहेको संस्थाले जनाएको छ। परीक्षणका क्रममा थप उपचार आवश्यक परेका विद्यार्थीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिससमेत गरिएको थियो।

कार्यक्रममा सानो दीप संस्थाका अध्यक्ष कृष पटेल, सचिव दिव्यांशु कर्ण तथा सदस्यहरू सुरज चौधरी, स्नेहा कुशवाहा, मुस्कान र झा लगायतको सक्रिय उपस्थिति तथा सहयोग रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

संस्थाका अध्यक्ष कृष पटेलले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक, स्वास्थ्य तथा व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालय प्रशासनले यस्ता उपयोगी कार्यक्रमबाट विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित भएको उल्लेख गर्दै आयोजक संस्था तथा संलग्न स्वास्थ्य संस्थाप्रति आभार व्यक्त गरेको छ।

पर्सा १ मा जनमत पार्टीको प्रचार तीव्र: इनर्वामा रात्रीसभा, वडा–५ मा घरदैलो

वीरगंज । पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।

यसैक्रममा वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वामा आयोजित रात्रीसभा उल्लेख्य जनसहभागितासहित सम्पन्न भएको छ। स्थानीय बासिन्दाको बाक्लो उपस्थितिले चुनावी माहोल थप सक्रिय बनेको देखिएको थियो।

घरदैलो अभियानका क्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको धारणा, अपेक्षा र स्थानीय समस्याबारे संवाद गरेका थिए। इनर्वाका बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा नाला लगायत आधारभूत पूर्वाधारसँग सम्बन्धित विषय उठाएका थिए। सर्राफले ती मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै ‘जनताको आवाज संसदसम्म पुर्‍याउने’ अठोट दोहोर्‍याए।

रात्रीसभालाई सम्बोधन गर्दै सर्राफले मधेशका मुद्दा लामो समयदेखि ओझेलमा परेको उल्लेख गर्दै तिनको समाधानका लागि जनमत पार्टी नै विकल्प रहेको बताए। विजयी भएपछि पहिचान, प्रतिनिधित्व, विकास र अधिकारका सवाललाई नीतिगत तहमा उठाउने तथा कार्यान्वयनतर्फ विशेष पहल गर्ने उनले प्रतिबद्धता जनाए। ‘अब नाराभन्दा काम हेर्ने समय आएको छ,’ उनले जोड दिए।

कार्यक्रममा सहभागी युवाहरूले रोजगारी, सीपमूलक तालिम र उद्यमशीलताका अवसरबारे जिज्ञासा राखेका थिए भने महिला सहभागीहरूले शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवर्द्धनका विषयमा अपेक्षा व्यक्त गरेका थिए। स्थानीय बुद्धिजीवीहरूले स्पष्ट एजेण्डा र मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण सर्राफप्रति आकर्षण बढ्दै गएको टिप्पणी गरेका थिए।

जनमत पार्टीको तर्फबाट सञ्चालन भइरहेको घरदैलो र सभासमारोहले पर्सा क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढाएको छ। इनर्वाबाट सुरु भएको सक्रियता अन्य वडाहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ। यसैबीच आज वीरगंज महानगरपालिका वडा नं. ५ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेताहरू विद्यालाल प्रसाद, रम्भा मिस्रा, समानुपातिक उम्मेदवार बबिता पुडासैनी, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज साह, सत्युग साह, सुनिल गुप्ता, दिनानाथ साह, मुकेश यादव, नरेश राम, तुल्सी राम, अलि अकबर मियाँ, सिकेश महतो, निराजन कुशवाहा लगायत सयौंको उपस्थिति रहेको थियो।

ताजपुरका चौक–चौतारीमा घण्टी चिन्ह सहित हरि पन्तको स्वागत

वीरगंज । ताजपुरका विभिन्न चौक–चौतारीमा घण्टी चिन्ह बनाएर रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई स्थानीयले स्वागत गरेका छन्। आज घरदैलो तथा मतदाता भेटघाटका लागि ताजपुर पुगेका पन्तलाई स्थानीयहरूले विभिन्न रंगको प्रयोग गरेर घण्टी चिन्ह बनाइ स्वागत गरेका थिए।

भेटघाटको क्रममा मतदाताहरूले मुलुकमा परिवर्तन निश्चित भएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चिन्ह नै मुलुकको परिवर्तनको प्रतीक भएकोले यसपाली उनीहरूको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यसक्रममा पन्तले रास्वपाको जित समग्र मुलुकको जित भएको भन्दै सबै मतदातालाई राष्ट्रिय स्वतन्त्र पार्टी र आफूलाई जिताउन आग्रह गरेका थिए।

घरदैलो कार्यक्रममा स्थानीयहरूले उत्साहजनक उपस्थिति देखाएका थिए, जसले उम्मेदवारको लोकप्रियता र जनसंपर्क कार्यक्रमको सफलता स्पष्ट पारेको छ।

पर्सा–१ मा अनिल रुङ्टामाथि मतदाताका प्रश्न, जनविश्वासको परीक्षामा चुनावी अभियान

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङ्टाको चुनावी अभियानप्रति मतदाताबाट मिश्रित प्रतिक्रिया देखिएको छ। केही स्थानीयवासीले उम्मेदवार रुङ्टामाथि जनसम्पर्क, पहुँच र विगतको सक्रियताबारे प्रश्न उठाएका छन्।

मतदाताको एकथरीले चुनावी समयमा मात्र सक्रियता देखिएको गुनासो गर्दै निर्वाचनपछि जनप्रतिनिधिसँग सम्पर्क कायम राख्न कठिन हुने चिन्ता व्यक्त गरेका छन्। “चुनाव नजिकिँदा मात्रै देखिने सक्रियता पुरानै प्रवृत्ति हो,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।

क्षेत्रमा सामाजिक तथा राजनीतिक योगदान अपेक्षाकृत न्यून रहेको आरोपसमेत उठिरहेको छ । साथै, रुङ्टासँग सम्बद्ध उद्योगको वातावरणीय प्रभाव र रोजगारीमा स्थानीय श्रमिकको सहभागिताबारे पनि आलोचना सुनिएको छ । यी विषयमा स्पष्ट धारणा र जवाफ आवश्यक रहेको मतदाताहरूको भनाइ छ ।

व्यावसायिक पृष्ठभूमि भएका उम्मेदवार संसद पुगेपछि नीति निर्माण जनमुखीभन्दा निजी क्षेत्र अनुकूल हुन सक्ने आशंका केही मतदाताले व्यक्त गरेका छन् । यद्यपि, समर्थकहरू भने निजी क्षेत्रको अनुभवले विकास र लगानी प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने तर्क गर्छन् ।

रुङ्टाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुझाव संकलनमार्फत जनआवाज सदनमा उठाउने एजेन्डा सार्वजनिक गर्दै आएका छन्। तर, आलोचकहरूले कार्यक्रमहरू प्रचारमुखी बढी भएको टिप्पणी गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–१ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा उम्मेदवारहरूको लोकप्रियताभन्दा विश्वसनीयता, जनसम्पर्क र विगतको कार्यसम्पादन निर्णायक बन्ने संकेत देखिएको छ। स्थानीय तहमा देखिएको प्रतिक्रियाले रुङ्टाको अभियान अहिले जनविश्वासको परीक्षामा रहेको आकलन गरिएको छ। मतदाताहरूले भाषणभन्दा काम र वाचाभन्दा परिणामलाई प्राथमिकता दिने स्पष्ट सन्देश दिइरहेका छन्।

पर्सा २ काे बर्वामा एमालेको अगुवा कार्यकर्ता भेला, रिमा यादवद्वारा विकास एजेन्डा सार्वजनिक

वीरगंज । पर्सा क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१९ अन्तर्गत बर्वा टोलमा नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा उम्मेदवार रिमा यादवले क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना तयार गरेको बताइन्। उनले सीपमूलक तालिम विस्तार, प्राविधिक शिक्षाको प्रवर्द्धन, आधुनिक कृषि प्रणाली विकास, पशुपालन प्रवर्द्धन तथा स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर नीतिगत रूपमा काम गर्ने धारणा व्यक्त गरिन्।

यादवले कृषि क्षेत्रको सुदृढीकरणका लागि प्रत्येक वडामा ‘कृषि क्लिनिक’ स्थापना गर्ने योजना रहेको उल्लेख गरिन्। साथै, समयमै मल र बिउ उपलब्ध गराउने नीति निर्माणमार्फत कृषकका समस्या समाधान गर्ने लक्ष्य रहेको बताइन्।

विगतका जनप्रतिनिधिले पूरा गर्न नसकेको कामलाई अघि बढाउँदै क्षेत्रको विकासमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले अझै धेरै काम बाँकी रहेको उल्लेख गरिन्। ती मुद्दा सदनसम्म सशक्त रूपमा उठाउन आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन्।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी, मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अली, लेखा समिति संयोजक अजय साह, वडा अध्यक्ष संजु छतकुली, युवा नेता मुकेश दुबेदी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा ४ काे भेडिहारीमा रमेश रिजालको घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातेका बेला नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । मतदाताको घरआँगनमै पुगेर समर्थन जुटाउने रणनीतिअन्तर्गत उनले बिहिबार बिहान कालिकामाई गाउँपालिका–२ भेडिहारीमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरे ।

घरदैलोका क्रममा रिजालले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको सुधारलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए । स्थानीय बासिन्दाले विगतका अधुरा योजना, पूर्वाधारको अभाव र रोजगारी संकटबारे गुनासो राखेका थिए ।

मतदाताका जिज्ञासा र गुनासोको जवाफ दिँदै रिजालले “अबको पाँच वर्ष पर्सा–४ को समग्र विकासका लागि निर्णायक हुने” भन्दै स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी, अजय पटेल, राधाकिशुन चौधरी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेताहरूले गाउँ–गाउँमा बढ्दो सहभागिताले कांग्रेसको अभियान थप बलियो बन्दै गएको दाबी गरेका छन्।

पर्सा–३ मा परिवर्तनको बहस: युवा उम्मेदवार रूपेश पाण्डेप्रति बढ्दो जनसमर्थन

वीरगंज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले पुरानो राजनीतिक धरातललाई चुनौती दिने संकेत देखिएको छ। लामो समयदेखि सक्रिय राजनीतिमा रहेका नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी विरुद्ध जनअसन्तुष्टि बढ्दै गएको चर्चा चलिरहँदा परिवर्तनको पक्षमा माहोल बनेको स्थानीय स्तरमा आँकलन गरिएको छ।

फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति मतदाताको आकर्षण बढ्दो रहेको बताइन्छ। घरदैलो अभियान, टोल–टोल भेटघाट तथा जनसंवाद कार्यक्रममा पाण्डेको सक्रियताले मतदातामाझ सकारात्मक सन्देश प्रवाह गरेको समर्थकहरूको भनाइ छ।

स्थानीय मतदाताहरूले विगतमा पटक–पटक सांसद र मन्त्री हुँदा पनि अपेक्षित क्षेत्रीय विकास हुन नसकेको विषय उठाउँदै नेतृत्वको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गर्ने गरेका छन्। पटेर्वा सुगौलीका एक मतदाताले भने, “भाषणभन्दा काम र परिणाम जनताको प्राथमिकता हो।”

यता रूपेश कुमार पाण्डेले रोजगारी, सुशासन, पारदर्शिता तथा स्थानीय पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आएका छन्। विभिन्न स्थानमा उनलाई खादा र टीका लगाएर स्वागत गरिएको तथा अग्रिम शुभकामना दिइएको दृश्यहरू पनि देखिएका छन्।

यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि प्रतिस्पर्धामा छन्। यद्यपि समग्र राजनीतिक समीकरण हेर्दा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच केन्द्रित रहेको विश्लेषण भइरहेको छ।

पर्सा–३ मा यसपटकको निर्वाचन केवल दलगत प्रतिस्पर्धा नभई पुस्तान्तरण, कार्यशैली र विकासका मुद्दासँग जोडिएको रूपमा हेरिएको छ। मतदाताहरूले वाचा भन्दा परिणाम र भाषणभन्दा कामलाई प्राथमिकता दिने संकेत दिएका छन्।

पर्सा २ मा जसपाकाे पार्टी प्रवेश कार्यक्रम, उम्मेदवार टेमानीद्वारा पार्टी कार्यालय उद्घाटन

वीरगंज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने उक्त वडामा विभिन्न दल परित्याग गरी सयौं जना युवा, बुद्धिजीवी तथा स्थानीय अगुवाहरू जसपामा प्रवेश गरेका छन्। सामूहिक रूपमा आयोजित प्रवेश कार्यक्रमले क्षेत्रमा जसपाको चुनावी अभियानलाई नयाँ ऊर्जा दिएको पार्टीले जनाएको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी, जसपाकी नेतृ करिमा बेगम, पार्टी नेता सन्तोष तिवारी तथा वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी लगायतको उपस्थिति रहेको थियो। नेताहरूले अबिर, टीका र फूलमाला लगाएर नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा देखिएको उत्साहले जसपाप्रति स्थानीय तहमा बढ्दो विश्वास झल्काएको सहभागीहरूको भनाइ थियो।

उक्त अवसरमा सोही स्थानमा जसपाको नयाँ पार्टी कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ। कार्यालयको उद्घाटन प्रमुख अतिथिका रूपमा रहेका उम्मेदवार अशोक टेमानीले गरेका थिए। स्थानीय स्तरमै पार्टी कार्यालय सञ्चालनमा आएपछि संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी गतिविधि सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले जसपालाई विकास र परिवर्तनको आशा बोकेको शक्ति भएको धारणा व्यक्त गरे। विगतमा विभिन्न दलका उम्मेदवारलाई निर्वाचित गराउँदा अपेक्षित विकास हुन नसकेको अनुभव सुनाउँदै उनीहरूले यसपटक जनचासो र आवश्यकता नजिकबाट बुझेका उम्मेदवारलाई साथ दिने बताएका छन्।

उम्मेदवार टेमानीले उपस्थित सबैलाई धन्यवाद दिँदै क्षेत्रको विकास, सुशासन र जनसेवामुखी राजनीति आफ्नो प्राथमिकता रहेको बताए। स्थानीय युवाशक्ति र बुद्धिजीवीहरूको साथले चुनावी अभियान थप मजबुत बन्ने विश्वास उनले व्यक्त गरे।

बहुदरमाई–४ मा भएको यस सामूहिक प्रवेश कार्यक्रमलाई जसपाको चुनावी रणनीतिका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। स्थानीय तहमा पार्टी संरचना मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी पार्टीले जनाएको छ।

पर्सागढी–२ मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, स्थानीयबाट उत्साहजनक समर्थन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा स्थानीयवासीले पर्सा–२ मा परिवर्तनको आशा जागेको प्रतिक्रिया दिएका छन्। सहभागीहरूले यसपटकको मतदानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुप्रति समर्थन जनाएका थिए।

उम्मेदवार सुशील कुमार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल उपलब्ध गराउने व्यवस्था तथा सिंचाइका लागि पानीको सुनिश्चिततालाई प्राथमिकतामा राखिने बताए।

त्यसैगरी बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि सार्दै कानुले निर्वाचित भएसँगै आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने धारणा राखे।

घरदैलो कार्यक्रममा रास्वपाका नेता शर्फु आलमका अनुसार फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरी लगायतको सहभागिता रहेको थियो।