Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Home Blog Page 83

झिंगना टोलमा सुशील कुमार कानुको घरदैलो: स्थानीय समस्याको समाधानमा प्रतिबद्धता

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम निरन्तरतासहित सम्पन्न भएको छ। कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको ठूलो संख्यामा सहभागिता र उत्साहजनक समर्थन देखिएको थियो।

घरदैलोमा स्थानीयवासीले यसपटकको निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाए। उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार कानुले पसरागढीमा अस्पताल र स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल र सिंचाइको सुविधा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने बताए। साथै बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै यी समस्याहरू चरणबद्ध रूपमा समाधान गर्ने वचन दिएका छन्।

सेमरा टोलको विष्णु महायज्ञमा दलित सहभागिता विवाद, प्रशासनमा उजुरी

0

वीरगंज । पर्साको कलिकामाई गाउँपालिका वडा नम्बर ५ सेमरा टोलमा आउँदो फाल्गुन ६ गतेदेखि हुने विष्णु महायज्ञमा दलित समुदायलाई पूजा कार्यक्रममा सरिक नगराइएको आरोप लागेपछि स्थानीय दलितहरू आक्रोशित भएका छन्।

दलित अगुवा कमलेश पासवान का अनुसार महायज्ञमा २५ जना पूजा बस्ने निर्णय भएपछि दलित समुदायबाट ५ जनाको नाम प्रस्ताव गरिएको थियो। तर, ती नाम समावेश नगरिएपछि विवाद सिर्जना भएको उनले बताए।

स्थानीय दलित समुदायले आफूहरू पनि हिन्दू धर्मावलम्बी भएको उल्लेख गर्दै नेपालका संविधानले जातीय विभेदलाई दण्डनीय व्यवस्था गरेको स्मरण गराएका छन्। यज्ञका सभापतिसहित आयोजक पक्षले पूजा बसाउन नमानेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको जनाइएको छ।

दलित अगुवाहरूका अनुसार यज्ञका सभापति जयबालकसहित सम्बन्धित व्यक्तिविरुद्ध उजुरी परेको छ। यद्यपि, समस्या समाधानका लागि हालसम्म कुनै प्रभावकारी पहल नभएको र आफूहरू यज्ञबाट वञ्चित हुने अवस्था देखिएको उनीहरूको गुनासो छ।

स्थानीय बासिन्दाहरूले कानुन कार्यान्वयन र सामाजिक सद्भाव कायम गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने बताएका छन्। जातीय विभेदसम्बन्धी विषयमा प्रशासन मौन बस्नु दुःखद भएको उनीहरूको भनाइ छ।

डोकैला र बहुअरीमा नेकपाका मनोज चौधरीको जनता दर्शन कार्यक्रम

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी ले बहुरमाई नगरपालिका वडा नं. ४ अन्तर्गत डोकैला र बहुअरीमा घरदैलो एवं ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा गाउँ–वस्तीमा पुगेर चौधरीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या पहिचान गरी निर्वाचित भएलगत्तै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

डोकैलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार चौधरीले जनताको समर्थन र सहयोगले आफू उत्साहित भएको बताए। घरदैलो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान,नेता विपिन यादव, बिरेन्द्र यादव, सोम लामा, रामेश्वर मण्डल, दीपेन्द्र सिंह पटेल तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलोमा सहभागी नेताहरूले नेकपा समाजवादी आन्दोलनमा रहेको उल्लेख गर्दै अभियानमा डोकैला र बहुअरीवासीको साथ र सहयोग पाउनेमा आशावादी रहेको बताए। कार्यक्रममा विकास, रोजगारी र आधारभूत सेवासम्बन्धी विषयमा मतदातासँग छलफलसमेत गरिएको थियो।

एकटाँगामा अशाेक टेमानीको घरदैलो: मतदाताले खानेपानी, शिक्षा र स्वास्थ्यका समस्या सुनाए

वीरगंज । पर्सागढी नगरपालिकाको वडा नं. ९ एकटाँगा क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार टेमानी बुधबार एकटाँगा पुगेका हुन्।

घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै दैनिक जीवनसँग जोडिएका समस्या र अपेक्षाबारे जानकारी लिए। प्रत्यक्ष संवादमा स्थानीयले खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका चुनौतीलाई प्रमुख रूपमा उठाएका थिए। ग्रामीण भेगमा पर्ने यस क्षेत्रमा आधारभूत सेवासमेत पर्याप्त रूपमा उपलब्ध नभएको उनीहरूको गुनासो थियो।

स्थानीयका अनुसार शुद्ध खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन। कतिपय टोलमा धारा तथा पाइपलाइनको व्यवस्था कमजोर रहेको र गर्मी याममा पानीको अभाव झनै गम्भीर हुने गरेको बताइएको छ। दैनिक उपभोगका लागि समेत पानी जुटाउन कठिनाइ हुने अवस्था रहेको उनीहरूले बताएका छन्।

शिक्षा क्षेत्रको अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। सामुदायिक विद्यालयमा शिक्षक अभाव, कमजोर भौतिक संरचना तथा आवश्यक शैक्षिक सामग्रीको कमीका कारण बालबालिकाको पढाइ प्रभावित भइरहेको स्थानीयको भनाइ छ। माध्यमिक तहपछि पढाइ जारी राख्न विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता रहेको उल्लेख गरिएको छ।

स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको भन्दै स्थानीयले सामान्य उपचारका लागि समेत टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको बताएका छन्। स्वास्थ्य चौकीमा आवश्यक औषधि, उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले समयमै सेवा पाउन नसकेको गुनासो गरिएको छ। आकस्मिक अवस्थामा एम्बुलेन्स र तत्काल उपचारको पर्याप्त व्यवस्था नहुँदा थप समस्या हुने गरेको उनीहरूको भनाइ छ।

कृषि क्षेत्रमा किसानहरूले समयमा मल र उन्नत बीउ नपाउने, सिँचाइको अभावले उत्पादन घट्ने तथा उत्पादित बालीले उचित मूल्य नपाउने समस्या रहेको बताएका छन्। कृषि मुख्य पेशा भए पनि आवश्यक पूर्वाधार र सहयोगको कमीले जीवनयापन कठिन हुँदै गएको गुनासो गरिएको छ।

स्थानीयको समस्या सुनेपछि उम्मेदवार टेमानीले आफू निर्वाचित भएमा खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रामीण क्षेत्रको विकास बिना समग्र क्षेत्रको समृद्धि सम्भव नभएको उल्लेख गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।

घरदैलो कार्यक्रमका क्रममा बृद्धदेखि युवासम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा राजनीतिक गतिविधि र मतदाताबीच चासो बढ्दै गएको स्थानीयले बताएका छन्।

पर्सा–४ मा लोसपा पर्साका अध्यक्ष पंडित र नेता सोनार कांग्रेसमा प्रवेश

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका जिल्ला अध्यक्ष रामचन्द्र पंडित तथा नेता चन्द्रिका सोनार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई नेपाली कांग्रेसका नेता एवं पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजाल ले आफ्नै निवासमा टीका तथा अबीर लगाएर स्वागत गरेका हुन्।

पंडित र सोनारसहित करिब १५० भन्दा बढी समर्थक तथा लोसपाका नेता–कार्यकर्ताहरू समेत नेपाली कांग्रेसमा समाहित भएका छन्। यस प्रवेशसँगै पर्सा निर्वाचन क्षेत्र नं. ४ मा पार्टी थप बलियो बनेको नेता रिजालले दाबी गरे।

पार्टी प्रवेश कार्यक्रमपछि आयोजित भेटघाट तथा छलफलमा नेता रिजालले क्षेत्र नं. ४ मा नेपाली कांग्रेस दिनप्रतिदिन मजबुत हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

नवप्रवेशी नेताहरूले नेपाली कांग्रेसको विचार र सिद्धान्त जनमुखी रहेको बताउँदै मधेशवादी दलमा रहेर मधेशको हकहित र विकासका लागि प्रभावकारी रूपमा काम गर्न कठिन भएको अनुभवका आधारमा कांग्रेस रोजेको स्पष्ट पारे ।

उनीहरूले पर्सा निर्वाचन क्षेत्र नं. ४ मा नेता रिजालको विकल्पमा अन्य उम्मेदवार नरहेको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित हुने विश्वाससमेत व्यक्त गरेका छन् । पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह सचिव नविन सिंह, क्षेत्रिय सभापति श्रीकान्त यादव लगायतकाे समेत उपस्थिती रहेकाे थियाे ।

पर्सा–३ मा एमाले उम्मेदवार रुपेश पाण्डेयको घरदैलो अभियान तीव्र

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनावी प्रचार अभियानलाई थप तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

उम्मेदवार पाण्डेयले आज पकहाँ मैनपुर गाउँपालिकाकाे लहावरथकरि र मैनपुर क्षेत्रमा घरदैलो गर्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्। घरदैलोका क्रममा उनले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै एमालेले अघि सारेका विकास र समृद्धिका योजनाबारे जानकारी गराएका थिए।

स्थानीयवासीहरूले उम्मेदवार पाण्डेयप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै विकास, रोजगारी, कृषि तथा क्षेत्रको समग्र उन्नतिका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

पाण्डेयले जनताको साथ र विश्वासले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तर अगाडि बढाइने बताए।

नेकपा (एमाले) ले पर्सा क्षेत्र नम्बर–३ मा संगठन विस्तारसँगै चुनावी माहोल थप मजबुत बन्दै गएको जनाएको छ।

सुगौली बिर्तामा एमालेको रात्री सभा सम्पन्न, रिमा यादवद्वारा महिला सशक्तीकरण र युवा रोजगारीमा जोड

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर–२६ सुगौली बिर्तामा नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आयोजित रात्री सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले महिलाको हक–अधिकार सुनिश्चित गर्नु वर्तमान आवश्यकता रहेको बताइन्।

उम्मेदवार यादवले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउन शिक्षा, सीपमूलक तालिम तथा स्वरोजगारका अवसर विस्तार गर्नुपर्नेमा जोड दिइन्। “महिला शिक्षालाई प्राथमिकता दिएर मात्रै समाजको समग्र विकास सम्भव हुन्छ,” उनले भनिन्। साथै उनले आधुनिक शिक्षा प्रणाली, प्राविधिक ज्ञान र रोजगारीमुखी तालिममार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना रहेको उल्लेख गरिन्।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य विजय सरावगी, मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादव र नेता मुकेश दुबेदी लगायतका वक्ताहरूले देश विकास, स्थायित्व र सुशासनका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा राखे। उनीहरूले संगठन सुदृढ गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए।

त्यसैगरी, कार्यक्रममा एमाले वीरगंज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियकत अली र लेखा समिती संयाेजक अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागी वक्ताहरूले स्थानीय विकास, पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण तथा युवा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।

जनता दर्शनमा सक्रिय मनोज चौधरी, शिक्षा–स्वास्थ्यदेखि ड्राइपोर्ट मुआब्जासम्मका मुद्दा अघि सार्दै

वीरगंज। चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले ‘जनता दर्शन’ कार्यक्रमलाई निरन्तरता दिएका छन्। घरदैलो तथा प्रत्यक्ष जनसंवादमार्फत मतदातासँग भेटघाट गरिरहेका चौधरीले आफ्नो जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गरेका छन्।

चौधरी अन्य उम्मेदवारको तुलनामा सक्रिय देखिएका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार तथा ड्राइपोर्टका मुआब्जा पीडितको मुद्दालाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेको बताएका छन्। यी जनजीविकासँग जोडिएका विषयका कारण मतदाताबीच आफूप्रति आकर्षण बढेको उनको भनाइ छ।

समाजवादी नारासहित जनतामाझ पुगेका चौधरीले गरिब, मजदुर, मधेशी, आदिवासी, जनजाति तथा सर्वहारा वर्गको हितमा नेपाली कम्युनिस्ट पार्टी मात्र दृढ रहेको दाबी गरे। उनले पर्साका मतदाता सचेत भइसकेकाले यसपटकको निर्वाचनमा भ्रम फैलाएर मत प्रभावित गर्न नसकिने उल्लेख गरे।

आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गर्दै चौधरीले विगतमा निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनबारे जनतालाई स्पष्ट जानकारी भइसकेको बताए। “साँचो अर्थमा नयाँ र प्रतिबद्ध उम्मेदवार म नै हुँ,” उनले भने। चौधरीले पार्टीको ‘ताराछाप’ चुनाव चिह्नप्रति जनताको समर्थन बढ्दै गएको दाबी गर्दै विजयप्रति आत्मविश्वास व्यक्त गरे।

नेपाल पोस्ट डेलीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जालमा देखिने प्रचार–प्रसारभन्दा जमिनको यथार्थ फरक रहेको बताए। “हल्ला र प्रचारको पछि जनता लागेका छैनन्, उनीहरू सत्य र विकासको पक्षमा छन्,” चौधरीले भने। मतदाताबाट आफूले विश्वास र साथ पाउँदै आएको उनको दाबी छ।

धोबिनी–५ मा जसपा उम्मेदवार डा. कृपासिन्धु चौधरीको घरदैलो सम्पन्न

सेढवा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) पर्सा क्षेत्र नं. ४ का उम्मेदवार डा. कृपासिन्धु चौधरीले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। यसक्रममा उनले धोबिनी गाउँपालिका वडा नं. ५ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका दौरान डा. चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। उनले क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन्।

घरदैलो अभियानमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको जनाइएको छ। केही मतदाताले विगतका विकास निर्माणका कामप्रति सन्तुष्टि जनाउँदै आगामी दिनमा थप विकास र समृद्धिको अपेक्षा व्यक्त गरेका छन्। “जनताको काममा सधैं उपलब्ध हुने प्रतिनिधि आवश्यक छ,” भन्दै स्थानीयवासीले सक्रिय नेतृत्वको आवश्यकता औंल्याएका छन्।

औपचारिक चुनावी गतिविधि अन्तर्गत आयोजित कार्यक्रमप्रति मतदाताको चासो र सहभागिताले पर्सा–४ मा चुनावी माहोल सक्रिय बन्दै गएको देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका उम्मेदवारहरूले घरदैलो तथा भेटघाट कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत देखिएको छ।

रामगढवामा अशोक टेमानीको घरदैलो, शिक्षा र रोजगारी मुख्य एजेण्डा

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवामा जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान उत्साहका साथ सम्पन्न भएको छ। स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, संवाद र समस्या सुन्ने उद्देश्यले आयोजित कार्यक्रममा जसपाका नेता तथा पूर्वमन्त्री रमेश कुर्मी, नेतृ करिमा वेगमलगायत पार्टीका नेताकार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

घरदैलो अभियानका क्रममा उम्मेदवार टेमानीले घरघर पुगेर मतदातासँग हातेमालो गर्दै उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझाव सुने। स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य सेवा, बेरोजगारी, आधारभूत पूर्वाधारको अभाव तथा युवाहरूको पलायनलाई प्रमुख गुनासोका रूपमा उठाए। अभिभावकहरूले सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक दरबन्दी व्यवस्थापन र शैक्षिक वातावरण सुदृढ पार्न ठोस पहल आवश्यक रहेको बताए। स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेको गुनासोसमेत राखिएको थियो।

युवाहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजनाको माग गरे भने महिला समूहहरूले स्वरोजगार, साना उद्यम प्रवर्द्धन र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिए। वृद्धवृद्धा तथा असहाय नागरिकहरूले सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएका झन्झट र ढिलासुस्तीबारे ध्यानाकर्षण गराए।

मतदाताका समस्या सुन्दै उम्मेदवार टेमानीले निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै विद्यालय सुधार कार्यक्रम, स्वास्थ्य चौकी सुदृढीकरण तथा युवाका लागि सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
‘जनताको समस्या नै मेरो एजेण्डा हो, रामगढवाको आवाज संसदसम्म पुर्‍याउने दायित्व म लिन्छु,’ टेमानीले भने।

कार्यक्रममा पूर्वमन्त्री रमेश कुर्मीले जसपाले जनताको अधिकार, समावेशी विकास र सामाजिक न्यायका मुद्दालाई सदैव प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै टेमानीलाई जिताउन आग्रह गरे। नेतृ करिमा वेगमले महिलाको सशक्तीकरण, शिक्षा र स्वास्थ्य सुधारमा जसपाको स्पष्ट दृष्टिकोण रहेको बताइन्।

घरदैलो कार्यक्रमसँगै रामगढवामा चुनावी माहोल थप तातेको छ। स्थानीय बासिन्दाले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा सन्तुष्टि व्यक्त गरेका छन्। जसपा नेताहरूले यस्ता अभियानले मतदाता र उम्मेदवारबीच विश्वासको सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्दै अभियान अन्य वडाहरूमा पनि निरन्तर जारी रहने जनाएका छन्।