Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 85

२५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । २५ वर्षअघि भएको कर्तव्य ज्यान घटनामा संलग्न फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०५८ फागुन २६ गते पर्साको साविक धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावडी भन्ने रीना देवीको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको हो ।

घरायसी विवादका कारण रीना देवीको घाँटी थिची हत्या गरिएको थियो । घटनापछि फरार रहेका अभियुक्तलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साेमबार बिहान करिब ७ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको साविक धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी ५० वर्षीय काशी महतो चाई भन्ने काशीप्रसाद चौहान रहेका छन् ।

प्रहरीले कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाको लामो समयपछि अभियुक्त पक्राउ परेकाले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

केन्द्रीय कार्यालयमा रास्वपा बाराका कार्यकर्ताको धर्ना, निर्वाचित नेतृत्वलाई मान्यता दिन माग

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताहरूले काठमाडाैंस्थित पार्टीकाे केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गर्दै रास्वपा कार्यकर्ताहरु काठमाडाैं पुगेका हुन् । उनीहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता नदिई पुनः निर्वाचन गराइनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको बताएका छन् ।

कार्यकर्ताहरूका अनुसार २०८३ जेठ १७ गते सम्पन्न कलैया उपमहानगरपालिका अधिवेशनमा उमाशंकर राैनियार १२४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए । निर्वाचन परिणाम घोषणा भएपछि उनको शपथग्रहणसमेत सम्पन्न भएको थियो । तर त्यसको दुई दिनपछि ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना सार्वजनिक गरिएको भन्दै कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।

रास्वपा कार्यकर्ता धिराज पटेलका अनुसार उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा जिम्मेवार पदाधिकारीको नामबिनाको साधारण कागजमा सार्वजनिक गरिएको थियो । उनले निर्वाचन सम्पन्न भइसकेपछि ‘५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएको’ आधार देखाउँदै पुनः निर्वाचन गराउने निर्णय गरिएको दाबी गरिएको भए पनि सो विषय निर्वाचनकै दिन किन नउठाइएको भन्ने प्रश्न गरेका छन् ।

पटेलले पार्टीका निर्वाचन प्रतिनिधि तथा नेतृत्वले विधानको सही व्याख्या नगरेको आरोप लगाउँदै विजयी घोषणा गरी माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको बताए । उनले उपनिर्वाचन सीमित प्रतिनिधिबीच मात्र गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाए ।

कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग उपनिर्वाचनको आधार सार्वजनिक गर्न, निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्न तथा निष्पक्ष ढंगले समस्या समाधान गर्न माग गरेका छन् । साथै उनीहरूले परिवर्तनको अपेक्षासहित पार्टीमा आबद्ध भएका समर्थकहरू पछिल्लो घटनाक्रमबाट निराश बनेको बताएका छन् ।

बलिष्टर अहमद जिल्ला वन पैदावार आपूर्ति समिति पर्साको अध्यक्षमा नियुक्त

0

वीरगंज । मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदलाई जिल्ला वन पैदावार आपूर्ति समिति पर्साको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले जारी गरेको नियुक्ति पत्रअनुसार मन्त्रीस्तरको मिति २०८३ जेठ १९ गतेको निर्णयबमोजिम प्रदेश वन ऐन, २०७७ को दफा ९४ अनुसार अहमदलाई उक्त पदमा नियुक्त गरिएको हो ।

मन्त्रालयका महाशाखा प्रमुख सूर्य प्रसाद मैनालीद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा निष्पक्ष, इमान्दार तथा उत्तरदायी भई प्रचलित कानुनबमोजिम कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरिएको छ । साथै अध्यक्ष पदमा नियुक्त भएकोमा मन्त्रालयले अहमदलाई बधाई तथा शुभकामना समेत दिएको छ ।

बलिष्टर अहमद नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिवका रूपमा सक्रिय रहँदै आएका छन् । उनको नियुक्तिसँगै जिल्ला वन पैदावार आपूर्ति समिति पर्साको नेतृत्वले वन पैदावारको व्यवस्थापन, वितरण तथा संरक्षणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

नियुक्तिपत्रको बोधार्थ प्रदेश वन निर्देशनालय जनकपुरधाम, डिभिजन वन कार्यालय पर्सा तथा जिल्ला वन पैदावार आपूर्ति समिति पर्सालाई समेत पठाइएको मन्त्रालयले जनाएको छ ।

कालिकामाईमा नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर

0

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा पर्साको कालिकामाई गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीबलुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

ग्रामीण क्षेत्रका बासिन्दा तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी आयोजित शिविरको उद्घाटन नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्मी प्रमुख अतिथि तथा वडा नम्बर ४ का वडा अध्यक्ष संजय कुमार साह विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

शिविरमार्फत स्थानीय बासिन्दा र विद्यार्थीहरूको आँखा परीक्षण गरिएको आयोजक संस्थाका कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सभापति चौधरीले मानव शरीरका विभिन्न अंगमध्ये आँखा सबैभन्दा महत्वपूर्ण अंग भएको उल्लेख गर्दै आँखाको माध्यमबाट नै संसार देख्न सकिने भएकाले यसको संरक्षण र नियमित परीक्षण आवश्यक रहेको बताए । उनले नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न जनचेतनामूलक तथा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रमको समापनमा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्मीले आयोजक संस्था, प्राविधिक टोली तथा उपस्थित सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।

शिविरमा नेपाल नेत्रज्योति संघ पर्साका उपसभापति मदन प्रसाद गुप्ता, सचिव सिताराम उपाध्याय, फुलमहम्मद मियाँ, मधुसूदन उपाध्याय, उमेश गुप्ता, गणेश प्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।

शिविरको प्राविधिक सहयोग शिवशंकर प्रसाद, मुकुन्द खत्री र अञ्जली चौधरीले गरेका थिए । कार्यक्रमबारे जानकारी कार्यसमिति सदस्य राजन श्रीवास्तवले दिएका हुन्

कोल्भी–८ नयाँबस्तीमा प्रभु हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २०० जनाले पाए सेवा

0

कोल्भी । “घरदैलोमा डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल, वीरगञ्जले बाराको कोल्भी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नीसम्बन्धी परीक्षण गर्नुका साथै नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श प्रदान गरेका थिए । शिविरमा सहभागीहरूलाई निःशुल्क औषधि वितरण तथा सुगर परीक्षणसमेत गरिएको थियो ।

त्यसैगरी, वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा विशेषज्ञ महेश सिंह धामीले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरेका थिए । आँखा परीक्षणका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको शल्यक्रिया तत्कालै गरिने जानकारी दिइएको छ ।

शिविरमा ११० महिला र ९० पुरुषसहित वृद्धवृद्धा, बालबालिका, अशक्त तथा असहाय गरी कुल २०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

कार्यक्रम प्रमुख दिलीप राज कार्कीले अस्पतालसम्म पुग्न समय वा सुविधा नभएका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

वडा अध्यक्ष अनुप सुवेदीले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण भएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीय बासिन्दालाई ठूलो राहत पुगेको बताए ।

कार्यक्रमका वडा संयोजक विशाल ठकुरीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूले समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।

स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

जिल्ला अधिवेशन विवाद: वीरगंजमा रास्वपा कार्यकर्ताबीच कुटाकुट, ३ जना घाइते

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच हानाहान भएको छ । घटनापछि अधिवेशनको निर्वाचन प्रक्रिया अस्थायी रूपमा स्थगित गरिएको छ ।

आइतबार हुने जिल्ला अधिवेशनका लागि वीरगंज–९ स्थित होटल गेट वे वीरगंजमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला पार्टीका दुई पक्षबीच विवाद बढ्दै गएपछि हानाहानको अवस्था सिर्जना भएको हो ।

प्रतिनिधि चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै दुई पक्षबीच भएको झडपमा वीरगंज–१४ निवासी ३८ वर्षीय महादेवप्रसाद कुर्मी, वीरगंज–१ निवासी ४० वर्षीय वीरेन्द्र साह र वीरगंज–२ निवासी ४० वर्षीय रन्दिप श्रीवास्तव घाइते भएका छन् । घाइतेहरूको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि शनिबार दिउँसो पार्टी सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितको समूहले जिल्ला अधिवेशन स्थगित गर्न माग गर्दै मधेश प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरूले जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागबाट प्रतिनिधि चयन गर्ने क्रममा जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त पक्षले पार्टीको विधान र पद्धति विपरीत एकलौटी रूपमा आफ्ना निकट व्यक्तिलाई प्रतिनिधि बनाएको आरोप लगाएका छन् ।

ज्ञापनपत्र प्राप्त भएपछि निर्वाचन समितिले करिब दुई घण्टाका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । तर प्रक्रिया पुनः सुरु भएपछि निर्वाचन कार्यालय रहेको होटल परिसरमै दुई पक्षबीच विवाद चर्किएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार होटलभित्र सुरु भएको विवाद सडकसम्म पुगेको थियो । झडपका क्रममा केही व्यक्तिले एकअर्कामाथि हेल्मेटसमेत प्रहार गरेका थिए । अवस्था नियन्त्रणबाहिर जान थालेपछि घटनास्थलमा पुगेको प्रहरीले लाठीचार्ज गरी भिड तितरबितर पारेको थियो ।

निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले कार्यकर्ताबीच झडप भएपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिए । उनका अनुसार अब निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिनेछ ।

रास्वपा पर्साभित्र पालिका अधिवेशनदेखि नै देखिएको आन्तरिक विवाद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा थप सतहमा आएको देखिएको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद तथा जिल्ला सभापति हरि पन्तले अधिवेशन बिथोल्ने उद्देश्यले घटना गराइएको दाबी गरेका छन् । उनले घटनापछि निर्वाचन प्रक्रिया आइतबार बिहानसम्मका लागि स्थगित गरिएको बताए ।

पर्सामा रास्वपाभित्र हाल दुई स्पष्ट समूह देखिएका छन् । एक समूहको नेतृत्व संस्थापक जिल्ला सभापति तथा सांसद हरि पन्तले गर्दै आएका छन् भने अर्को समूहमा सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य रहेका छन् । साे समुहकाे नेतृत्व सुधिर पटेलले गर्दै आएका छन् ।

रास्वपा पर्साको जिल्ला सभापति पदका लागि हालसम्म सांसद हरि पन्त र सांसद सुशील साह कानु मुख्य आकांक्षीका रूपमा देखिएका छन्। आन्तरिक प्रतिस्पर्धा र प्रतिनिधि चयन विवादका कारण अधिवेशनअघि नै पार्टीभित्रको गुटगत संघर्ष सार्वजनिक रूपमा छताछुल्ल भएको छ।

गौतम माविमा छात्रवृत्ति परीक्षा सम्पन्न, एक हजार १४५ विद्यार्थी सहभागी

0

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति परीक्षा शनिबार सम्पन्न भएको छ । विद्यालयका अनुसार एलकेजीदेखि कक्षा ८ सम्मका कुल १ हजार १४५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

विद्यालयका कोअर्डिनेटर सौराज प्रधानका अनुसार विद्यालयले हरेक वर्षझैँ यस वर्ष पनि पारदर्शी, व्यवस्थित र निष्पक्ष ढंगले छात्रवृत्ति परीक्षा सञ्चालन गरेको हो । कक्षा एलकेजीदेखि ४ सम्मका विद्यार्थीका लागि जुनियर विङ र कक्षा ५ देखि ८ सम्मका विद्यार्थीका लागि सिनियर विङमा परीक्षा सञ्चालन गरिएको थियो ।

विद्यालय प्रशासनले परीक्षा शान्तिपूर्ण, अनुशासित तथा व्यवस्थित वातावरणमा सम्पन्न भएको जनाएको छ । परीक्षा केन्द्रको अनुगमन वीरगंज महानगरपालिका शिक्षा समितिकी उपप्रमुख सृजना बुढाथोकीले गरेकी थिइन् । अनुगमनका क्रममा उनले परीक्षा व्यवस्थापन, अनुशासन तथा पारदर्शिताको प्रशंसा गर्दै विद्यालयले शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याइरहेको बताइन् ।

विद्यालयले प्याब्सनद्वारा निर्धारित छात्रवृत्ति आरक्षण व्यवस्थाअनुसार विभिन्न वर्ग तथा समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सो व्यवस्थाअनुसार जेहेन्दार विद्यार्थीका लागि ३७ प्रतिशत, गरिब तथा विपन्न वर्गका लागि ३७ प्रतिशत, आदिवासी तथा जनजातिका लागि १२ प्रतिशत, अल्पसंख्यक, सीमान्तकृत तथा पिछडिएको क्षेत्रका लागि २ प्रतिशत, दलितका लागि ६ प्रतिशत, अपाङ्गता भएका व्यक्तिका लागि ३ प्रतिशत तथा शहीद, बेपत्ता व्यक्तिका सन्तति र सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते परिवारका सन्ततिका लागि ३ प्रतिशत छात्रवृत्ति आरक्षण छुट्याइएको छ ।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीले छात्रवृत्ति परीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीप्रति आभार व्यक्त गरे। उनले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । शनिबार लिइएकाे परिक्षाकाे नतिजा असार १२ गते प्रकाशित गरिने विद्यालयले जनाएकाे छ ।

जिराभवानी गाउँपालिकाले ल्यायो महत्वाकांक्षी नीति तथा कार्यक्रम

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण, सुशासन तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाको वडा नं. ३ स्थित जीतपुर कृषि तथा पशुपन्छी भवनमा आयोजित १७औँ गाउँसभामा उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभामा समग्र विकासलाई लक्षित गर्दै विभिन्न क्षेत्रका योजनाहरू सार्वजनिक गरिएको हो ।

नीति तथा कार्यक्रमअनुसार शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । राष्ट्रिय साक्षरता अभियानलाई प्रभावकारी बनाउँदै निरक्षरता उन्मूलन गर्ने, सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार तथा शौचालय निर्माणमा अनुदान उपलब्ध गराउने, नियमित अनुगमनमार्फत गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

सामुदायिक विद्यालयहरूमा कक्षा ३ सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट पठनपाठन गराइने, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने तथा विद्यालयहरूमा कम्प्युटर, प्रिन्टर र विद्युतीय हाजिरी प्रणालीको व्यवस्था गरिने नीति लिइएको छ । साथै “एक वडा, एक माध्यमिक विद्यालय” अवधारणालाई कार्यान्वयन गर्दै उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिने जनाइएको छ ।

सामाजिक विकासतर्फ बाल सञ्जाल तथा बालबालिकाको क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । बालिकाहरूको शिक्षाको हक सुनिश्चित गर्न विशेष व्यवस्था गरिने, अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरी अपाङ्ग गाउँ सञ्जाल गठन गरिने तथा ज्येष्ठ नागरिक, दलित, आदिवासी, अल्पसंख्यक, मुस्लिम र पिछडा वर्गको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

वातावरण संरक्षण तथा सरसफाइतर्फ “पवित्र, सुन्दर, समृद्ध र समुन्नत जिराभवानी” नारालाई सार्थक बनाउन गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्य लिइएको छ । वृक्षारोपण अभियान, सरसफाइ कार्ड वितरण तथा शौचालयविहीन घरधुरीलाई आवश्यक सहयोग उपलब्ध गराइने नीति समेटिएको छ । जग्गाविहीन नागरिकका लागि समुदायमा आधारित शौचालय निर्माण गरी सञ्चालन व्यवस्थापन सम्बन्धित निकायलाई हस्तान्तरण गरिने जनाइएको छ ।

राजस्व तथा आर्थिक प्रशासनतर्फ नक्सापास तथा स्वीकृतिविना निर्माण गरिएका संरचनाहरूलाई कानुनी दायरामा ल्याइने, मापदण्डभित्र निर्माण भए पनि स्वीकृति नलिएका संरचनाहरूलाई २०८३ असार मसान्तभित्र नियमितीकरण गरी करको दायरामा ल्याइने व्यवस्था गरिएको छ । घर तथा जग्गा बहालमा लगाउनेहरूको अभिलेख तयार गरी बहाल कर संकलन गर्ने, फोहोरमैला व्यवस्थापन शुल्क उठाउने तथा नयाँ राजस्व स्रोतहरूको पहिचान गरी करको दायरा विस्तार गरिने नीति लिइएको छ ।

त्यसैगरी हाटबजार, पटके पसल तथा सार्वजनिक सम्पत्तिबाट हुने आम्दानीलाई एकद्वार प्रणालीमार्फत गाउँपालिकाको राजस्व प्रणालीमा आबद्ध गरिने, पोखरीहरूको मर्मत–सम्भार तथा व्यवस्थित ठेक्का व्यवस्थापन गरिने र वर्षौंदेखिका बक्यौता तथा पेश्की रकम कडाइका साथ असुलउपर गरिने उल्लेख गरिएको छ ।

प्रशासन, सुशासन तथा पारदर्शितालाई सुदृढ बनाउन कार्यालयको अभिलेख तथा फाइलिङ प्रणाली व्यवस्थित गरिने, शाखा तथा कर्मचारीहरूको विवरण अद्यावधिक गरिने र विकास निर्माणका कार्यमा ‘पेश्की बेरुजु शून्य नीति’ अवलम्बन गरिने जनाइएको छ । कर्मचारीहरूलाई पोशाक भत्ता उपलब्ध गराई परिचयपत्रसहित निर्धारित पोशाक अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था पनि गरिनेछ ।

गाउँसभामा वडा अध्यक्षहरू रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय थारु, राजेश्वर दास थारु तथा दारा सिंह राउतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गाउँ कार्यपालिकाका सदस्य सरोज चौरसियाले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, विभिन्न शाखाका प्रमुखहरू, कर्मचारी, जनप्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले शिक्षा, सामाजिक न्याय, वातावरण संरक्षण, सुशासन र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै समुन्नत जिराभवानी निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।

क्रियाशील युवा पत्रकार मञ्चद्वारा वीरगंजमा रक्तदान, ३ महिला सहित ६० जनाले गरे रक्तदान

0

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित रक्तदान कार्यक्रम शनिबार वीरगंजकाे घण्टाघरमा सम्पन्न भएको छ । कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले गरेका थिए । कार्यक्रममा पत्रकार, समाजसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

रक्तदान गर्नेहरूमा राकेश कुमार साह, आरोहण साह, ज्ञान्ती पटेल, पूजा साह, माधुरी महतो, अनिश पटेल, मुनेश पटेल, मुकेश पटेल, आदित्य शर्मा, दीपेन्द्र पटेल, दीपक पटेल, भूपेन्द्र पटेल, बृजकिशोर चौधरी, राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल, अनुज पटेल, रञ्जय पटेल, विशेष द्विवेदी, जितेन्द्र साह, सुनिल साह, सूर्यप्रताप पटेल, सागर कुमार साह, अनिल पटेल, सुभाषचन्द्र महतो लगायत रहेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, समाजसेवी सञ्जु साह, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, प्रेस युनियन पर्साका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, मञ्चका पूर्वअध्यक्ष प्रणय साहल, समाजसेवी बृजेश चौधरी, प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव लगायतले रक्तदानको महत्वबारे धारणा व्यक्त गरेका थिए ।

वक्ताहरूले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए । रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमले सामाजिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको थियो । साथै हाल रक्त संचार केन्द्र वीरगंजमा देखिएकाे रक्त अभाव परिपुर्तिमा कार्यक्रमले सहयाेग पुग्ने वक्ताहरुले विश्वास व्यक्त गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा प्राविधिक टोलीले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष वीरेन्द्र साहले गरेका थिए ।

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

0

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो, सोना मन्सुली, मनी मन्सुली लगायत विभिन्न हाइब्रिड जातका धानको बीउ ब्याडमा राख्न थालेका हुन् ।

यस वर्ष समयमै वर्षा भएकाले धानको बीउ राख्न सहज भएको किसानहरू बताउँछन् । जिराभवानी गाउँपालिका–३ नौकाटोलाका किसान हरिशंकर रायका अनुसार गत वर्षको तुलनामा यसपटक पर्याप्त वर्षा भएकाले ब्याडमा सिँचाइको आवश्यकता कम परेको छ । उनले अहिले राखिएको बीउ करिब २० देखि २५ दिनपछि अर्थात् असारको दोस्रो सातादेखि रोपाइँका लागि तयार हुने जानकारी दिए ।

पर्साका अधिकांश किसान अझै पनि धानको उन्नत तथा हाइब्रिड बीउका लागि भारतीय बजारमै निर्भर रहेका छन् । किसानहरू नरकटियागञ्ज, भंगहा, इनरवा, मैनाटाँड, भेलाही, सिकटा र बेतिया लगायतका भारतीय बजारबाट बीउ खरिद गरिरहेका छन् । नेपाली बजारमा गुणस्तरीय बीउ उचित मूल्यमा सहज रूपमा उपलब्ध नहुँदा भारतीय बजार रोज्न बाध्य भएको किसानहरूको गुनासो छ ।

भारतीय बजारबाट बीउ खरिद गर्ने क्रममा किसानहरू मुद्रा सटहीमा समेत ठगिने गरेका छन्। एक सय भारतीय रुपैयाँ बराबर करिब १६० नेपाली रुपैयाँ भए पनि केही व्यापारीहरूले एक सय भारतीय रुपैयाँका लागि १६५ नेपाली रुपैयाँसम्म लिने गरेको किसानहरूको भनाइ छ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले वर्षे धानका १६८ जात सिफारिस गरे पनि पर्साका किसानहरू सोना मन्सुली, भदई मन्सुली, मनी मन्सुली तथा अन्य हाइब्रिड जातप्रति बढी आकर्षित देखिएका छन्। सरकारी सिफारिस नपाएका यी जातका धानको खेती जिल्लाको धानयोग्य जमिनको ९० प्रतिशतभन्दा बढी क्षेत्रमा भइरहेको स्थानीय कृषकहरू बताउँछन् ।

यसबाहेक सरकारले औपचारिक रूपमा सिफारिस नगरेका भारतीय कम्पनीका धानका बीउहरू नेपाली बजारमा खुलेआम बिक्री–वितरण भइरहेको पाइएको छ । केही स्थानीय तहहरूले समेत यस्ता बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको स्रोतको दाबी छ। यसले बीउबिजनको गुणस्तर नियन्त्रण, सरकारी नियमन तथा कृषि नीतिको प्रभावकारितामाथि प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ ।