Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
Home Blog Page 80

वीरगंज–३ मा एमालेको वडा भेला सम्पन्न, रिमा यादवलाई जिताउन एकजुट हुने प्रतिबद्धता

वीरगंज । पर्सा क्षेत्र नं. २ काे वीरगंज महानगरपालिका वडा नम्बर–३ मा नेकपा एमालेकाे चुनावी वडा भेला सोमबार सम्पन्न भएको छ । वडा कमिटीका उपाध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

भेलालाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताइन्। “जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउनेछु,” उनले भनिन्, “स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाइनेछ।”

मालपोत चौकमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, जिल्ला सचिव महेश दास, क्षेत्र नम्बर–२ का संयोजक मनोज कुशवाह, वडा अध्यक्ष वैजु सुवर्णकार, नेता खैरुदिन हवारी, महानगर उपाध्यक्ष लियाकत अली, नविदिन हवारी लगायतले मन्तव्य व्यक्त गर्दै पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

त्यस्तै, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शुभकामना सन्देश दिँदै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरे । उनले विकासका योजनामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

भेला सम्पन्नसँगै एमालेले वीरगंज–३ मा चुनावी अभियान थप तीव्र बनाउने जनाएको छ । स्थानीय नेताहरूका अनुसार घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने निर्णय गरिएको छ। कार्यक्रमको सहजीकरण प्रेस चाैतारी पर्साका अध्यक्ष निरन्जन मिश्रले गरेका थिए।

पर्सा ४ मा जालिम मियाँ जिताउन बाह्य प्रभावको आशंका, सुरक्षा सतर्कता बढाउन माग

वीरगंज। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र बारा जिल्लामा बाह्य प्रभावको प्रयास भइरहेको भन्ने चर्चा राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । केही स्रोतहरूले बंगलादेश, पाकिस्तान तथा भारतबाट केही मुस्लिम धर्मगुरु र स्वयंसेवी अभियन्ताहरू नेपाल प्रवेश गरी विशेष समुदायका उम्मेदवारको पक्षमा सक्रिय भएको दाबी गरेका छन्।

उक्त दाबीअनुसार ती व्यक्तिहरू अवैध रूपमा नेपाल प्रवेश गरी बारा–पर्साका केही मस्जिदहरूमा बसोबास गर्दै चुनावी गतिविधिमा संलग्न रहेको आशंका व्यक्त गरिएको छ। यद्यपि यसबारे आधिकारिक निकायबाट पुष्टि भने भएको छैन।

यसैबीच, निर्वाचन प्रभावित पार्न ठूलो मात्रामा अवैध आर्थिक चलखेल हुन सक्ने आशंका समेत व्यक्त गरिएको छ। विदेशी मुलुक तथा खाडी क्षेत्रबाट हवाला वा हुण्डीमार्फत रकम भित्र्याइ चुनावमा प्रयोग गर्न सकिने दाबी स्रोतहरूले गरेका छन्।

बाराको निर्वाचन क्षेत्र नं. ४ मा दुई जना मुस्लिम उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने पर्सा क्षेत्र नं. १ र ४ मा पनि मुस्लिम उम्मेदवार चुनावी मैदानमा छन् । पर्सा क्षेत्र नं. ४ मा जालिम मियाँको पक्षमा संगठित रूपमा गतिविधि भइरहेको आरोप समेत लगाइएको छ । सो क्षेत्रमा पछिल्लो समय अपरिचित व्यक्तिहरू गाउँ–टोलमा देखिन थालेको र उनीहरू विभिन्न मस्जिद तथा उम्मेदवारका आफन्तको घरमा बस्दै आएको स्थानीयवासीको भनाइ छ।

पर्सा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल र जालिम मियाँबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। तर, केही स्थानीयले निर्वाचनलाई धार्मिक प्रतिस्पर्धाको रूपमा चित्रण गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

“यहाँ मुद्दा र विकासभन्दा पनि साम्प्रदायिक आधारमा मतदान गराउने प्रयास हुन सक्ने सम्भावना देखिन्छ,” एक स्थानीय मतदाताले बताए।

राजनीतिक विश्लेषकहरूका अनुसार बाह्य शक्तिको चलखेलसम्बन्धी चर्चा बढ्दै जाँदा मतदाताबीच विभिन्न आशंका उत्पन्न हुनु स्वाभाविक भए पनि यस्ता विषयमा आधिकारिक छानबिन र तथ्यपरक पुष्टि आवश्यक हुन्छ। साथै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्ष सचेत रहनुपर्ने आवश्यकता औंल्याइएको छ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले निर्वाचन अनुगमन प्रणाली सक्रियताका साथ काम गरिरहेको बताउँदै, “यदि यस्ता गतिविधि भएको पाइएमा जानकारी लिई सम्बन्धित व्यक्ति तथा उम्मेदवारलाई कारबाहीको दायरामा ल्याइनेछ,” प्रतिक्रिया दिए।

“लोकप्रियताका लागि होइन, काम गर्नका लागि राजनीतिमा आएको हुँ” : रुपेश पाण्डे

वीरगंज । पर्सा क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेले आफू राजनीति लोकप्रिय हुनका लागि नभई काम गर्नका लागि आएको बताएका छन्।

मतदातासँगको भेटघाट तथा संवादका क्रममा उनले आफ्नो व्यक्तिगत एजेन्डा स्पष्ट रहेको उल्लेख गर्दै विकास र सुधारका प्राथमिकताहरू सार्वजनिक गरेका हुन्।

पाण्डेले किसान र कृषि क्षेत्रको रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्दै साना किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, मलखाद र सिँचाइको सहज व्यवस्था मिलाउने तथा बजार व्यवस्थापन सुधार गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी, शिक्षा र स्वास्थ्यको आधुनिकीकरणमा जोड दिँदै उनले शिक्षामा प्रविधि र सीपमूलक कार्यक्रममार्फत गुणस्तर वृद्धि गर्ने तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरी गुणस्तरीय सेवा विस्तार गर्ने योजना रहेको बताए।

युवालाई नेपालमै सम्मानजनक रोजगारी र सीपको अवसर सिर्जना गर्ने, महिलाको वास्तविक नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता बढाउने तथा जेष्ठ नागरिकका लागि समुदाय–आधारित सहयोग र सम्मान सुनिश्चित गर्ने विषय पनि आफ्नो एजेन्डामा रहेको उनले प्रस्ट पारे।

सांसद निर्वाचित भए नियमित जन–प्रतिवेदन प्रस्तुत गर्दै प्रत्यक्ष जवाफदेहिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले भने, “म नारा होइन, संरचना बनाउन चाहन्छु। म भीड होइन, भविष्यसँग उभिन चाहन्छु। यदि राजनीति सेवा हो भने, म त्यसलाई अभ्यासमा देखाउन चाहन्छु।”

जिराभवानी मन्दिरमा महाशिवरात्रिदेखि एक साताको मेला सुरु

सेढवा । पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जिराभवानी मन्दिरमा आजदेखि महाशिवरात्रि अवसरमा एक साताको मेला सुरु भएको छ। जिराभवानी गाउँपालिका वडा नं. १ र २ को दोसाँधमा रहेको मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भिड लागेको थियो।

भक्तजनहरूले जल, प्रसाद, फूल, गांजा र किसानले उत्पादन गरेको धानको मुरला चढाएर पूजा अर्चना गरे। भीड नियन्त्रणका लागि मन्दिर संरक्षण समितिले स्वयंसेवक, जनपद प्रहरी र शस्त्र प्रहरी समेत परिचालन गरेका थिए। मन्दिरमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन जिल्लाका साथै भारतको बिहार र उत्तर प्रदेशका भक्तजनहरू समेत दर्शन गर्न आउने गरेका छन्।

जिराभवानी मन्दिर करिब ४०० वर्ष पुरानो प्राचीन स्थल हो। प्रारम्भमा मन्दिर क्षेत्र जंगलले घेरिएको थियो र थारु समुदायको बसोबास थियो। परम्पराअनुसार, ग्रामिण किसानहरूले आफ्नो मुख्य बाली धानको केही अंश मन्दिरमा अर्पण गर्ने चलन रहेको छ।

मन्दिर क्षेत्रमा कृषि, व्यापारिक र सामाजिक सम्बन्धमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ। मन्दिर परिसरको करिब १० बिघा जग्गामा स्थानीय पहलमा बगैचा, पर्खाल, बिबाह मण्डप, चौतारा र प्रतिक्षालय निर्माण गरिएको छ। संघीयता लागू भएपछि स्थानीय तथा प्रदेश सरकारले मन्दिर संरचना र विकासमा पहल गर्न थालेका छन्।

हाल मन्दिर संरक्षण र व्यवस्थापनको लागि दुई वर्षअघिदेखि वैधानिक समिति पनि गठन गरिएको छ। मेलाले भक्तजनको आस्था र समुदायको सांस्कृतिक परम्परालाई जीवित राख्दै, ग्रामिण किसानलाई कृषि तथा घरेलु सामग्री खरीद गर्ने अवसर समेत प्रदान गरेको छ।

बगहीमा अशोक टेमानीको घरदैलो, १२५ जनाले गरे जसपा प्रवेश

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २८ अन्तर्गत बगही टोलमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आफ्नो घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

उम्मेदवार टेमानीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको दैनिक जीवनसँग सम्बन्धित समस्या र अपेक्षाबारे विस्तृत जानकारी लिएका थिए। घरदैलोका क्रममा मतदाताले खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका समस्या उठाएका थिए।

स्थानीयले शुद्ध खानेपानीको पहुँच कमजोर भएको, धारा र पाइपलाइनको व्यवस्था पर्याप्त नभएको र गर्मी याममा पानीको अभाव गम्भीर हुने गुनासो गरेका थिए। शिक्षा क्षेत्रमा शिक्षक अभाव, कमजोर भौतिक संरचना र आवश्यक शैक्षिक सामग्रीको कमीले बालबालिकाको पढाइ प्रभावित भएको जनाइएको थियो। स्वास्थ्य सेवामा औषधि, उपकरण र दक्ष जनशक्तिको अभावले सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने अवस्था देखिएको थियो।

किसानहरूले मल र उन्नत बीउको अभाव, सिँचाइको समस्या र उत्पादनको उचित मूल्य नपाउनु जस्ता चुनौतीहरू सामना गरिरहेको बताए। यसरी उठाइएका समस्याप्रति टेमानीले आफू निर्वाचित भएमा खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। बृद्धदेखि युवासम्मको सक्रिय उपस्थिति थियो र विकास, रोजगारी तथा आधारभूत सेवामा सुधारको स्पष्ट अपेक्षा प्रकट भएको थियो।

त्यसै अवसरमा प्रमोद यादव, बिरेंद्र यादव, सुरजलाल मण्डल, पनालाल मण्डल, चोकट साहनी, विनोद यादव, शंकर राम, सुभधर राम, बलदेव राम, धनराज यादव, सुरज महतो, पनालाल यादव, सुनिता देवी, मधु महतो, दिपक महतो, लक्ष्मी कुमार, कलावती देवी, दिनेश महतो र रुपेश पटेललगायत करिब १२५ जनाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

पर्सा–२ मा मतदाताले निर्वतमान सांसद चाैरसियासँग जवाफ माग्न थाले

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री अजय चौरसिया विरुद्ध स्थानीय युवाहरूले गरेको विरोध प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि क्षेत्रको राजनीतिक माहोल फेरि तातेको छ । घटना शुक्रबार भएको बताइए पनि भिडियो सार्वजनिक भएसँगै आइतबारदेखि व्यापक चर्चा सुरु भएको हो।

पर्सागढी नगरपालिका वडा नं. ३ झबराहास्थित इन्दु रिसोर्ट होटलमा कांग्रेसको नगरस्तरीय भेला चलिरहेका बेला ब्यानरसहित पुगेका युवाहरूको समूहले होटल बाहिर नाराबाजी गरेका थिए । उनीहरूले “भ्रष्टाचार बन्द गर”, “जवाफ दे” र “पुराना अनुहार होइन, नयाँ नेतृत्व चाहियो” जस्ता नारा लगाउँदै विगतका कामबारे सार्वजनिक जवाफदेहिताको माग गरेका थिए।

प्रदर्शनका क्रममा केहीबेर अवस्था तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । यद्यपि, कुनै अप्रिय घटना नभएको स्थानीय प्रहरीले जनाएको छ।

विरोधमा उत्रिएका युवाहरूले विगतका कार्यकालमा भएका भनिएका अनियमितताबारे निष्पक्ष छानबिन र स्पष्ट सार्वजनिक जवाफको माग गरेका छन् । उता, भेलाभित्र सम्बोधन गर्दै उम्मेदवार चौरसियाले आफूमाथि लागेका आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै अस्वीकार गरेको स्रोतले जनाएको छ।

स्थानीय राजनीतिक वृत्तका अनुसार उक्त घटनाले क्षेत्र नं. २ का मतदातामा राजनीतिक सचेतना र जवाफदेहिताप्रतिको अपेक्षा झल्किएको चर्चा छ । मतदाताहरूले निर्वतमान जनप्रतिनिधिसँग कार्यकालका उपलब्धि, विकासका काम तथा सुशासनका विषयमा प्रश्न उठाउन थालेको विश्लेषण गरिएको छ ।

पर्सामा निर्वाचन विरोधी गतिविधि गर्ने एक युवक पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोस्टर टाँस्दै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ भंसार क्षेत्रमा बस्ने अन्दाजी २० वर्षीय बिधान पुलामी मगरलाई नियन्त्रणमा लिएको हो ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेतले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको बताए । प्रहरीले निर्वाचन आचारसंहिता विपरीतका गतिविधीमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

पर्सा–२ चैनपुर टोलमा सुशील कानुको घरदैलो, स्वास्थ्य र रोजगारी मुख्य एजेन्डा

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ स्थित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित उक्त कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र अपेक्षाहरूबारे जानकारी लिएका थिए। उनले रास्वपा नेतृत्वमा आएपछि स्वास्थ्य सेवाको सुधार, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा युवाहरूका लागि स्थायी र दिगो रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरे।

कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्दै जनताको आवश्यकता अनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए। “स्वास्थ्य र शिक्षा बलियो भए मात्रै समाज र राष्ट्र समृद्ध बन्छ,” उनले भने, “स्थानीय तहमा प्रभावकारी सेवा पुर्‍याउन र युवालाई रोजगारीमा जोड्न विशेष कार्यक्रम ल्याइनेछन्।”

उम्मेदवार कानुले कृषकहरूको समस्या समाधानका लागि समयमै मल उपलब्धता, सिँचाइ सुविधा विस्तार तथा उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने उल्लेख गरे। साथै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलतामा जोड्ने योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेही नेतृत्व आवश्यक भएको प्रतिक्रिया दिएका थिए। परिवर्तनमुखी एजेन्डा बोकेको रास्वपाप्रति भरोसा बढ्दै गएको उनीहरूको भनाइ थियो।

उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर अघि बढिरहेको रास्वपालाई विजयी बनाउन स्थानीय मतदाताहरूलाई आग्रह गर्दै जनताबाट प्राप्त सुझाव र अपेक्षालाई घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

पर्सा–४ काे सुवर्णपुरमा एमाले परित्याग, ७ जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर–५ सुवर्णपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गर्दै ७ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको संगठन विस्तार र जनसमर्थन बढ्दै गएको संकेतका रूपमा यस घटनालाई हेरिएको छ।

आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर–४ का कांग्रेस उम्मेदवार रमेश रिजाल ले नवप्रवेशीहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। उनले पार्टी प्रवेश गर्ने सबैलाई धन्यवाद दिँदै कांग्रेसको नीति, सिद्धान्त र विकासमुखी योजनामा विश्वास गरेर आएको बताए।

उम्मेदवार रिजालले कार्यक्रममा बोल्दै गाउँ–ठाउँको विकासका लागि एकताबद्ध भएर कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्न आग्रह गरे। जनताको समस्या समाधान र समृद्धि ल्याउने शक्ति कांग्रेस नै भएको उनको भनाइ थियो।

कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायत स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले स्थानीयस्तरमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको र परिवर्तनको पक्षमा जनलहर विस्तार भइरहेको बताएका छन्।

पर्सा–३ मा चुनावी माहोल तात्यो, सुरेन्द्र चौधरी र रुपेश पाण्डेबीच कडा प्रतिस्पर्धा

वीरगंज । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातेको छ। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीनेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे बीच हुने आकलन गरिएको छ।

राजनीतिक विश्लेषक तथा स्थानीय कार्यकर्ताहरूका अनुसार यसपटक पर्सा–३ मा कडा प्रतिस्पर्धाको संकेत देखिएको छ। गत २४ गते गादीमा आयोजित एमालेको सभामा देखिएको जनसहभागिताले विपक्षी दलहरूलाई दबाबमा पारेको चर्चा भइरहेको छ। पार्टीभित्र एकता कायम रहन सके एमाले उम्मेदवार पाण्डेको सम्भावना बलियो रहने एमाले निकट स्रोतको दाबी छ।

हालै एमाले पृष्ठभूमिका अनुभवी नेता प्रहलाद गिरी पार्टी प्रवेश गरेपछि संगठन थप सुदृढ भएको बताइएको छ। पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रमोद जयसवाल को नेतृत्वमा गठित मुख्य चुनाव परिचालन समितिले आन्तरिक एकता कायम राख्न सके परिणाम अनुकूल हुने एमाले कार्यकर्ताहरूको विश्वास छ।

एमालेभित्रका विभिन्न तहका नेताहरू—वर्तमान पालिका प्रमुख जसवन्त यादव, पूर्व प्रमुख प्रदीप जयसवाल, पटेर्वा सुगौलीका पूर्व प्रमुख हरिनारायण चौधरी, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान तथा पकाहा मैनपुरका पूर्व प्रमुख विजय चौरसिया लगायतबीच समन्वय भए पार्टीको पुरानो आधार बलियो हुने विश्लेषण गरिएको छ।

उता कांग्रेसभित्रको आन्तरिक मनमुटाव, युवा मतदाताको अपेक्षाप्रति पुराना नेतृत्वको कमजोरी तथा विकासका विषयमा असन्तुष्टि जस्ता कारणले कांग्रेस उम्मेदवार चौधरी दबाबमा परेको टिप्पणी सुनिन थालेको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसियाको उम्मेदवारीले विशेषगरी कांग्रेस मतमा असर पार्ने चर्चा छ। स्थानीय वृत्तमा उनको प्रभाव ‘भोट कटुवा’ का रूपमा सीमित रहने आकलन गरिएको छ।

स्थानीय राजनीतिक वृत्तका अनुसार युवा, विद्यार्थी, महिला, किसान तथा मजदूर वर्गका मतदातालाई आकर्षित गर्न सके पाण्डेको सम्भावना अझ बलियो बन्ने देखिन्छ। गत निर्वाचनमा एमालेका उम्मेदवार राजकुमार गुप्ताले विजय हासिल गरेको पृष्ठभूमिले पनि पार्टीलाई आफ्नो प्रतिष्ठा जोगाउन थप दबाब सिर्जना गरेको बताइन्छ।

समग्रमा, पर्सा–३ मा चुनावी प्रतिस्पर्धा दिनप्रतिदिन रोचक बन्दै गएको छ। अन्तिम परिणाम पार्टी एकता, मतदाताको मनोविज्ञान तथा चुनावी रणनीतिमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।