Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

spot_img
spot_img

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न भएको छ ।

जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले बारामा २० हजार ९ सय २१ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर जिल्लाले लक्ष्यभन्दा बढी प्रतिष्ठानको विवरण संकलन गर्दै निर्धारित लक्ष्य पार गर्न सफल भएको छ ।

प्रारम्भिक तथ्याङ्कले पछिल्ला वर्षहरूमा बारामा आर्थिक गतिविधि विस्तार हुँदै गएको तथा व्यावसायिक प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखाएको छ । यसले जिल्लाको आर्थिक क्षेत्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको अधिकारी दासले बताए ।

नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरिरहेको छ । देशभर २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने गणना कार्यक्रमअन्तर्गत बारामा पनि स्थलगत तथ्याङ्क संकलन तीव्र रूपमा भइरहेको छ ।

गणना कार्य प्रभावकारी बनाउन जिल्लाभर ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएको छ । उनीहरूले स्थानीय तह, वडा कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गरी उद्योग, व्यापार, सेवा, होटल, रेष्टुरेन्ट, निर्माण सामग्री, वित्तीय सेवा, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण संकलन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय तह, व्यवसायी तथा सरोकारवालाको सहयोगका कारण गणना कार्य प्रभावकारी रूपमा अघि बढिरहेको कार्यालयले जनाएको छ । निर्धारित समयभित्र गुणस्तरीय तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणनाको उद्देश्य मुलुकका आर्थिक प्रतिष्ठानको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानसम्बन्धी विवरण संकलन गर्नु हो । प्राप्त तथ्याङ्कले सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कार्यालयले गणनामा सहयोग गर्न तथा छुटेका प्रतिष्ठानहरूले आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित व्यवसायी तथा उद्योगीलाई आग्रह गरेको छ । अन्तिम विवरण सार्वजनिक भएपछि बाराको आर्थिक संरचना, व्यावसायिक प्रवृत्ति तथा रोजगारीको अवस्थाबारे थप स्पष्ट तस्वीर प्राप्त हुने अधिकारी दासले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...