Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 81

सरुवा भएको एक वर्ष बित्दा पनि दरबन्दीमा गएनन् बरिष्ठ सई मेगजन लामा

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मेगजन लामा सरुवा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि आफ्नो दरबन्दी रहेको कार्यालयमा रवाना नभएको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार लामाको प्रदेश प्रहरी गण, ढल्केबरमा सरुवा भएको भए पनि हालसम्म उनी उक्त कार्यालयमा हाजिर हुन नगई जिल्ला प्रहरी कार्यालय पर्सामै कार्यरत छन् । उनी काज सरुवामार्फत सुबेदार मेजरको जिम्मेवारी सम्हाल्दै पर्सा प्रहरीमा कार्यरत रहेको बताइएको छ ।

प्रदेश प्रहरीको काज सरुवाको अवधि समाप्त भइसकेको अवस्थामा समेत उनी दरबन्दी भएको स्थानमा जान तयार नभएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बरिष्ठ सई लामाकी श्रीमती समेत नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगंजमा कार्यरत रहेकाले उनी रवाना नभएको अवस्था रहेको छ । पारिवारिक तथा व्यक्तिगत कारण देखाउँदै उनी पर्सामै बस्न चाहेको प्रहरी वृत्तमा चर्चा रहेको स्रोतको दाबी छ ।

बाराको सिमरा उपमहानगरपालिका निवासी लामा घर पायक पर्ने भएकाले प्रहरी संगठनभित्रको प्रभाव प्रयोग गरी सरुवा कार्यान्वयन नगरेको आरोप समेत लाग्दै आएको छ । उनीसंगै सरुवा भएका अधिकांश प्रहरीहरु रवाना भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले आवश्यकताकाे आधारमा संगठनले काजमा खटाउने गरेकाे वताए । पहुँचकाे आधारमा लामाले लामाे समयदेखि काज मै बसेकाे पत्रकारकाे प्रश्नमा प्रवक्ता बस्नेतले त्यसाे नभएकाे भन्दै काजकाे समय सिमा नहुने गरेकाे वताए ।

प्रहरी संगठनभित्र सरुवा निर्णयको कार्यान्वयनमा समान मापदण्ड लागू हुनुपर्ने माग उठिरहेका बेला लामाको विषयले पुनः चर्चा पाएको छ ।

वीरगंजमा उपेन्द्र यादव : भूमि, संघीयता र बजेटबारे सरकारको आलोचना

0

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताउँदै सीमा सम्बन्धी विवादहरू ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको आयोजनामा वीरगंजस्थित होटल भिस्वामा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपाल आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति स्पष्ट रहेको उल्लेख गर्दै कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको बताए ।

“नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन । सीमासम्बन्धी विवाद भएका क्षेत्रहरू ऐतिहासिक दस्तावेज, सन्धि तथा प्रमाणका आधारमा समाधान हुनुपर्छ,” यादवले भने ।

गत फागुन २१ गतेकाे सम्पन्न निर्वाचनपछि पहिलाे पटक वीरगंज आएका अध्यक्ष यादवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन दुवै देशले आपसी सम्मान, समानता र विश्वासको आधारमा संवाद अघि बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा अध्यक्ष यादवले संघीयतालाई अझ प्रभावकारी बनाउन हालको सात प्रदेशको संरचनालाई पुनरावलोकन गरी १० प्रदेशको अवधारणा लागू गर्नुपर्ने धारणा राखे । मधेशका जनताले आफूहरूलाई संघीयताको रक्षाका लागि मतदान गरेको उल्लेख गर्दै जनताको अधिकार र विश्वासको रक्षा गर्न जसपा नेपाल प्रतिबद्ध रहेको बताए ।

उनले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउँदै उनीहरूलाई घरबारविहीन बनाउने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारे ।

सरकारले हालै प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यादवले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गलत भएको बताए । उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै यसले आम उपभोक्ता तथा उद्योग व्यवसायीलाई थप आर्थिक भार पर्ने धारणा राखे ।

उनले कृषि उत्पादनको मुख्य सिजनमा किसानलाई आवश्यक मलखादको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गर्दै वर्तमान परिस्थितिप्रति अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरू समेत असन्तुष्ट रहेको दाबी गरे ।

राज्यका सबै समुदायको समान र सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै उनले समावेशी लोकतन्त्रको मर्मअनुसार राज्य सञ्चालन हुनुपर्ने बताए ।

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै यादवले प्रत्येक जिल्लाबाट अनिवार्य रूपमा एक–एक सांसद निर्वाचित गर्ने प्रस्तावप्रति आपत्ति जनाए । प्रतिनिधित्वको आधार भूगोलभन्दा जनसंख्या हुनुपर्ने उनकाे भनाई थियाे ।

यस्तै, २३–२४ गते भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सरकारले थप अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग समेत उनले गरे ।

कार्यक्रममा जसपा नेपालका नेता लालबाबु राउत गद्दी, जितेन्द्र सोनल, रमेश कुर्मी, रामनरेश यादव लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन रिपाेर्टस क्लब वीरगंजका अध्यक्ष कन्हैया गुप्ताले गरेका थिए ।

सर्वाधिक मत ल्याएकी तुलसा रास्वपा पर्साको कोषाध्यक्षसँगै कार्यवाहक सभापति

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला कार्यसमितिको बैठकबाट महत्वपूर्ण संगठनात्मक निर्णयहरू गरेको छ । शनिबार जिल्ला सभापति हरि पन्तको अध्यक्षतामा बसेको बैठकले तुलसा पौडेल अधिकारीलाई जिल्ला कोषाध्यक्ष तथा कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

जिल्ला सचिव सुदिश प्रजापतिले जारी गरेको निर्णयअनुसार तुलसा अधिकारीलाई जिल्ला कोषाध्यक्षमा मनोनित गरिएको छ । साथै, उनलाई जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी समेत प्रदान गरिएको छ ।

बैठकले जिल्ला अनुशासन आयोग बाहेक जिल्लामा रहेका सम्पूर्ण विभागहरू खारेज गरी पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । पार्टीको संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउन विभागहरूको पुनर्गठन गर्न लागिएको जनाइएको छ ।

रास्वपा पर्साको जिल्ला अधिवेशनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेकी तुलसा पौडेल अधिकारी अब जिल्ला कोषाध्यक्षसंगै कार्यवाहक सभापति समेत जिम्मेवारी पाएकी हुन् ।

प्रधान न्यायाधीश डा. शर्मा गृह नगर वीरगंजमा, उच्च र जिल्ला अदालतको गरे अवलोकन

0

वीरगंज । सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मा शनिबार साँझ गृह जिल्ला पर्सा आइपुगेका छन् । गत महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएपछि उनी पहिलोपटक आफ्नो गृह जिल्ला आएका हुन् ।

वीरगंज आगमनलगत्तै प्रधानन्यायाधीश शर्माले चिनिमिलस्थित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज तथा पर्सा जिल्ला अदालतको स्थलगत अवलोकन गरेका छन् । उनले अदालतको सेवा प्रवाह, सुरक्षा व्यवस्था तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिँदै सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका थिए ।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार प्रधानन्यायाधीश शर्मा र सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालत भवनको अवलोकन गर्दै जीर्ण अवस्थामा रहेको भौतिक संरचनाप्रति चासो व्यक्त गरेका थिए । अवलोकनका क्रममा प्रधानन्यायाधीश शर्माले नयाँ र सुविधासम्पन्न अदालत भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।

अनुगमनका क्रममा पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गोकर्ण डाँगी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, अदालतका कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार प्रधानन्यायाधीश शर्मा शनिबार राति वीरगंजमै रहने कार्यक्रम रहेको छ । उनको भ्रमणलाई न्यायिक क्षेत्रसँगै स्थानीय तहले पनि विशेष महत्वका साथ हेरेका छन् ।

प्रधानन्यायाधीश शर्माको यस भ्रमणले पर्साको न्यायिक पूर्वाधार, सेवा प्रवाह र अदालत व्यवस्थापनका विषयमा आवश्यक सुधार तथा विकासका लागि सकारात्मक सन्देश दिएको स्थानीय कानुन व्यवसायीहरूको भनाइ छ ।

लिटल बडी प्रि स्कुलमा ग्राजुएसन सेरेमोनी सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटल बडी प्रि स्कुलमा युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूको सम्मानमा भव्य ग्राजुएसन सेरेमोनी सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल विजय बलको अध्यक्षता तथा डा. प्रिति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक यात्राको पहिलो महत्वपूर्ण उपलब्धिलाई उत्सवका रूपमा मनाइएको थियो । विशेष पोशाकमा सजिएका नानीबाबुहरूले प्रमाणपत्र ग्रहण गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा लिटल बडी प्रि स्कुलले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा बालमैत्री सिकाइ पद्धतिमार्फत वीरगंजमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको बताएका थिए ।

वक्ताहरूले बालबालिकाको आधारभूत शिक्षालाई मजबुत बनाउन यस्ता विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयले शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, वीरगंज युवा समाजका पूर्वअध्यक्ष कमल चौगाईलगायत शिक्षा, सामाजिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । गीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले अभिभावक र अतिथिहरूलाई आकर्षित गरेको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धिमा समेत विशेष ध्यान दिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

0

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सुशासन, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका सवालमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।

शनिबार वीरगंजमा आयोजित आम जनता पार्टीको मधेस प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले दुई तिहाइ जनमतको समर्थनसहित सरकार सञ्चालन गर्ने अवसर पाएको रास्वपा नेतृत्वको सरकारप्रति जनताले ठूलो आशा र अपेक्षा राखेको भए पनि छोटो समयमै निराशा बढेको बताए ।

उनले सरकारको सुशासनको नारामाथि प्रश्न उठाउँदै सुरुवातमा ठूलो प्रचार गरिए पनि व्यवहारमा कुनै उल्लेखनीय सुधार नदेखिएको दाबी गरे । “हाम्रोतिर एउटा उखान छ, गर्जिने बादलले वर्षात् गर्दैन । अहिलेको सरकार पनि सुशासन र सदाचारको नाममा धेरै बोल्यो तर परिणाम दिन सकेन,” उनले भने ।

साहले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरिए पनि त्यसमा निष्पक्षता नदेखिएको आरोप लगाए । सरकारी कार्यालयमा सेवाग्राहीको भीड र झन्झट कम गर्ने प्रतिबद्धता पूरा नभएको, करार कर्मचारी हटाउने घोषणा गरेर उल्टै नयाँ भर्ती प्रक्रिया बढाइएको तथा राजनीतिक कार्यकर्ताहरूलाई विभिन्न निकायमा अवसर बाँडिएको उनको आरोप थियो ।

प्रधानमन्त्री शाहले सरकारी तथा सार्वजनिक क्षेत्रका उत्पादनको प्रवर्द्धन गर्नु सकारात्मक भए पनि निजी क्षेत्रका निश्चित ब्रान्डको प्रचारमा संलग्न देखिनु उपयुक्त नभएको साहले बताए । उनले वर्तमान सरकारले आर्थिक नीतिमा समेत स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरे ।

सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै उनले बजेटले गरिब, किसान, बेरोजगार र मध्यम वर्गका नागरिकलाई कुनै आशा नदिएको बताए । बजेटमा विकास निर्माणका नयाँ योजनाको अभाव रहेको, विकास खर्च घटाइएको तथा कर र ऋणको भार बढाइएको उनको भनाइ थियो ।

मधेसप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै साहले विकास पूर्वाधार, खेलकुद तथा अन्य क्षेत्रमा मधेसलाई उपेक्षा गरिएको बताए । मुलुकको आर्थिक राजधानीका रूपमा चिनिने वीरगञ्जलाई समेत योजनाबद्ध रूपमा बेवास्ता गरिएको उनको आरोप थियो ।

राष्ट्रियताको विषयमा पनि सरकार चुकेको भन्दै उनले विदेशी नागरिकलाई विभिन्न क्षेत्रमा सहज पहुँच दिने प्रयास, नेपाली भूमि सम्बन्धी विषयमा कमजोर कूटनीतिक अडान तथा राष्ट्रिय हित विपरीतका निर्णयले गम्भीर प्रश्न उठाएको बताए ।

लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई कमजोर बनाउने गरी सरकार अघि बढेको आरोप लगाउँदै साहले संसद् र निर्वाचित जनप्रतिनिधिको भूमिकालाई कमजोर पार्ने काम भइरहेको बताए । उनले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न खडा गरेको उल्लेख गरे ।

आजपाका मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्मार्ट जी प्ले स्कुलमा अभिभावक भेटघाट सम्पन्न, सहभागीलाई विरुवा वितरण

0

वीरगंज । वीरगंज–११ श्रीपुर, नयाँ बस्तीस्थित स्मार्ट जी प्ले स्कुलमा शनिबार अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षबीच बालबालिकाको शैक्षिक तथा व्यवहारिक विकासका विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमले अभिभावक र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै बालबालिकाको सिकाइ प्रक्रिया, उपलब्धि र सुधार गर्नुपर्ने पक्षबारे प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको सहभागी अभिभावकहरूले बताएका छन् । कार्यक्रममा प्रत्येक बालबालिकाको शैक्षिक प्रगति, कक्षाकोठाभित्रको गतिविधि तथा भविष्यमा अपनाउन सकिने सुधारका उपायहरूबारे जानकारी आदान–प्रदान गरिएको थियो ।

विद्यालयकी प्रिन्सिपल निक्की कुशवाहाले बालबालिकाको समग्र विकासका लागि अभिभावक र शिक्षकबीचको सहकार्य अपरिहार्य रहेको बताइन् । उनले भनिन्, “जब अभिभावक र शिक्षक एकै लक्ष्यका साथ अघि बढ्छन्, तब बालबालिकाले आफ्नो पूर्ण क्षमता विकास गर्न सक्ने वातावरण सिर्जना हुन्छ । विद्यालय र परिवारबीचको समन्वयले नै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।”

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले नियमित रूपमा यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै आएकोमा खुसी व्यक्त गरेका थिए । उनीहरूले विद्यालयले बालबालिकाको शैक्षिक गुणस्तरका साथै नैतिक, सामाजिक तथा व्यवहारिक विकासमा समेत विशेष ध्यान दिएको बताएका थिए ।

सो अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सहभागी अभिभावकहरूलाई विभिन्न प्रजातिका विरुवा समेत वितरण गरिएको थियो । विद्यालयले शिक्षा मात्र नभई वातावरणीय सचेतना अभिवृद्धिमा समेत योगदान पुर्‍याउने उद्देश्यले विरुवा वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

विद्यालयका अनुसार यस्ता कार्यक्रमले अभिभावक, शिक्षक र विद्यालयबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा बालबालिकाको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

रास्वपामा युवा नेता बिकेश राय थारूको घरफिर्ती, सांसद कानूद्वारा स्वागत

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढीका युवा नेता बिकेश राय थारू पुनः आफ्नै राजनीतिक घर रास्वपामा फर्किएका छन् । केही समयअघि आन्तरिक तथा सांगठनिक असमझदारीका कारण अन्य राजनीतिक दलमा आबद्ध भएका थारू दर्जनौं साथी तथा समर्थकसहित पुनः रास्वपामा फर्किएका हुन् ।

रास्वपाको विचार, स्पष्ट सिद्धान्त र जनमुखी कार्यशैलीप्रति सधैं आकर्षित रहेकाले आफू पुनः पार्टीमा फर्किएको थारूले बताएका छन् । गत स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिका–१ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका थारू झिनो मतान्तरले दोस्रो स्थानमा रहेका थिए । उनी रास्वपा पर्सागढीको प्रथम अधिवेशनदेखि नै पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

थारूको घरफिर्तीलाई स्वागत गर्न पर्सागढीमा आयोजित विशेष कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का संघीय सांसद सुशील कुमार कानूले खादा तथा अबिर लगाएर उनलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए ।

सो अवसरमा सांसद कानूले सक्षम, ऊर्जाशील र जनतामाझ लोकप्रिय युवाहरू पार्टीमा फर्किनु रास्वपाका लागि सकारात्मक संकेत भएको बताए । उनले यस्ता युवाको सक्रियताले पर्सामा पार्टी संगठन थप सशक्त बन्ने र आगामी निर्वाचनमा समेत सकारात्मक परिणाम हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पर्सागढी नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न स्वागत तथा घरफिर्ती कार्यक्रममा रास्वपाका युवा नेता सुधीर पटेल, बुद्धिराज अर्याल, जोखू मियाँ, नगर उपसभापति सुनील रायभर, नगर सचिव सर्फू आलम अन्सारी, वडा सभापतिहरू मिनबहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँ, रामलीला चौधरीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

पर्सा क्राईमका ईन्चार्ज बरिष्ठ सई लोकेन्द्रको कोहलपुर सरुवा

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा लामो समयदेखि कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) लोकेन्द्र पण्डितको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय कालिकामाई दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखा इन्चार्जका रूपमा कार्यरत पण्डितलाई नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुर (बाँके) सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले जेठ २९ गते सार्वजनिक गरेको सरुवा सूचीअनुसार उनको सरुवा भएको हो । प्रहरी स्रोतका अनुसार पर्साका तत्कालीन प्रहरी उपरीक्षक गौतम मिश्रको निकट सहयोगीका रूपमा चिनिएका पाण्डितको १६ महिनामा सरुवा भएकाे हाे ।

पण्डितविरुद्ध विगतमा आर्थिक अनियमितता, तस्करीमा संलग्नता तथा आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा प्रहरी प्रधान कार्यालयमा पटक–पटक उजुरी परेको थियो । तर पहुँच र प्रभावका कारण उनी लामो समयसम्म पर्सामै कार्यरत रहन सफल भएको आरोप लाग्दै आएको थियो ।

उनको मातहतमा कार्यरत रही आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएका आधा दर्जनभन्दा बढी प्रहरी कर्मचारीलाई यसअघि नै कारबाहीस्वरूप विभिन्न पहाडी जिल्लामा सरुवा गरिएको स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार पण्डितले असार १ गतेदेखि नयाँ कार्यस्थलबाट तलब–सुविधा पाउनेछन् ।

पण्डितसंगै अन्य १० जना वरिष्ठ प्रहरी नायब निरीक्षकको समेत प्रहरी प्राधान कार्यालयले सरुवा गरेकाे छ । सरुवा सूचिमा देखिका अधिकांशहरु लामाे समय सम्म मधेश कै जिल्लामा बसेका र विगतमा प्रहरी संगठनमा राम्राे दबदबा रेहका देखिएका छन् ।

जिराभवानी गाउँपालिका पूर्ण साक्षर घोषणा

0

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिकाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका साक्षरतासम्बन्धी सबै सूचक तथा मापदण्ड पूरा गरेपछि शुक्रबार आयोजित विशेष समारोहबीच गाउँपालिका अध्यक्ष अनोज चौधरीले पालिकालाई औपचारिक रूपमा पूर्ण साक्षर घोषणा गरेका हुन् ।

गाउँपालिकाको सहयोग तथा आसमान नेपालको प्राविधिक सहयोग र समन्वयमा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यसैक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाका शिक्षक रमेश कुमार साहलाई पालिकास्तरीय उत्कृष्ट शिक्षक घोषणा गर्दै नगद ५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पूर्ण साक्षर घोषणा केवल औपचारिक उपलब्धि नभई गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षातर्फको नयाँ यात्राको सुरुवात भएको बताए । उनले आगामी दिनमा डिजिटल शिक्षा, सीपमूलक सिकाइ तथा आधुनिक प्रविधिमा आधारित शिक्षालाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फुयालले साक्षरता अभियान सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै अब शिक्षाको पहुँचसँगै गुणस्तर अभिवृद्धिमा विशेष ध्यान केन्द्रित गरिने बताए ।

वडा नं. १ का अध्यक्ष रामशरण खवास तथा वडा नं. २ का अध्यक्ष महादेव महतो थारुले पूर्ण साक्षर घोषणा सम्पूर्ण स्थानीयवासीको साझा उपलब्धि भएको उल्लेख गर्दै विद्यालयको गुणस्तर सुधार, बालबालिकाको नियमित उपस्थितिमा वृद्धि तथा समुदायको सहभागिता सुदृढ बनाउन निरन्तर प्रयास गरिने बताए।

त्यसैगरी आसमान नेपालका कार्यक्रम व्यवस्थापक अजय कुमार यादव, कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसिया तथा शिक्षकहरू कृपासिन्धु प्रसाद पटवारी र रामाशंकर चौधरीले शिक्षा क्षेत्रमा निरन्तर लगानी, समुदायको सक्रिय सहभागिता तथा विद्यालयहरूको मेहनतका कारण यो उपलब्धि सम्भव भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागी विद्यार्थी प्रतिनिधिहरूले शिक्षामा गाउँपालिकाले दिएको प्राथमिकताप्रति खुशी व्यक्त गर्दै आधुनिक तथा प्रतिस्पर्धात्मक युगअनुसार सीपमूलक र प्रविधिमा आधारित शिक्षाको विस्तार आवश्यक रहेको बताए ।

स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले जिराभवानी गाउँपालिकाको पूर्ण साक्षर घोषणा शिक्षा विकासको क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

गाउँपालिकाले अब शतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने, डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने तथा शिक्षाको गुणस्तर सुधारका लागि विशेष योजना सञ्चालन गर्ने जनाएको छ ।