Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 513

खानेपानी मन्त्रीसंग वीरगंजका जनप्रतिनिधीहरुको गुहार

0

वीरगंज । वीरगंज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् ।

बिहीबार वीरगंजमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री यादवसामु महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुले महानगरमा खानेपानीको चरम संकट पारेकाले तत्काल समस्या समधान गरिदिन गुहार लगाएका हुन् ।

वीरगंज महानगरमा दुई हप्ता यतादेखि ९० प्रतिशत चापाकल सुक्दा खानेपानीको संकटसंग महानगरवासी जुधिरहेका छन् । महानगरपालिका लगायतका संघ/संस्थाले वडा वडामा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । तर त्यसले पानीको संकट नटरेकाले स्थायी समधानका लागि बिहीबार वीरगंजमै खानेपानी मन्त्री यादवलाई बोलाएर महानगरपालिकाले छलफल कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा ३२ वटै वडाका वडाध्यक्षहरुले पानीको चरम संकटले महानगरवासी त्राहिमाम भएकाले पानीको समस्या समधानका लागि मन्त्री यादवलाई गुहारे ।

वडाध्यक्षहरुले महानगरका प्राय सबै चापाकलहरु सुकेर महानगरवासीले पिउने पानी समेत नपाउँदा कोरोना महामारीको भन्दापनि भयावह अवस्था सृजना भएको बतााए ।

वीरगंज २४ का वडाध्यक्ष विजय कुर्मीले भने,‘ टोल टोलमा पानीको संकट छ, पानी बाँड्न ट्यांकर पुग्दा पालो थाप्न हानथाप हुन्छ, अहिले देखिएको पानीको संकट त कोरोना महामारीको भन्दापनि भयावह छ ।

वीरगंज ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले भने,‘ यस्तो भयावह अवस्था त कोरोना महामारीका बेला पनि थिएन, एक एक थोपा पानीका लागि मान्छेहरु ब्याकुल छन्, अहिलेको पानीको संकटले कोरोनाकालको भन्दापनि विकराल समस्या भएको छ ।

वीरगंज २६ का वडा अध्यक्ष शम्भु मिश्राले महानगरमा अहिले देखिएको पानीको संकट समाधान महानगरपालिकाको एक्लो प्रयासले सम्भव नभएकाले यसमा संघ र प्रदेश सरकारले अग्रसरता लिनु पर्ने बताए । उनले भने,‘ ट्यांकरबाट ओसारेर घरघरमा पानी बाँडिरहेका छौ, राति १ बजेपछि मात्रै सुत्न पाइएको छ ।

मन्त्री यादव समक्ष वडाध्यक्षहरुले हरेक वडाको सार्वजनिक स्थाानमा नेपाल खानेपानी संस्थानको धारा जडान गरिदिन आग्रहपनि गरे । साथै नीजी घरमा संस्थानको धारा जडान गर्ने प्रकृया झन्झटीलो हुनुका साथै समयपनि बढि लागिरहेकाले नगरवासी थप पिडामा परेको गुनासो उनिहरुले मन्त्रीलाई सुनाए ।

त्यस कारण संस्थानको धारा जडान प्रकृया सहज र छिटो छरितो बनाइदिन उनले मन्त्री यादवसंग अनुरोधपनि गरे ।

वीरगंज ११ का वडाध्यक्ष अजय चौरसियाले भने,‘ संस्थानको पाइप लाइन १ देखि १७ र १९ नम्बर वडामा मात्रै छ, बाँकी १४ वटा वडामा पाइपलाइन नै छैन, पाइपलाइन पुगेका ठाँउमा पनि संस्थानले सहज र छिटोछरितो धारा जडान गरिरहेको छैन ।

वीरगंज ५ का वडाध्यक्ष प्रदीप चौरसियाले वीरगंजस्थित खानेपानी संस्थानमा जनशक्तिको अभावका कारण धारा जडानमा समस्या भइरहेकाले आवश्यक जनशक्ति थपिदिन मन्त्री यादवसंग आग्रह गरे ।

वीरगंज २२ का वडाध्यक्ष द्वारिका महत्तोले महानगरका विभिन्न वडामा प्रयोगविहिन रहेका इनारहरुको जीर्णेद्वार गरि पानीको प्रबन्ध मिलाई दिन मन्त्री यादवसंग अनुरोध गरे ।

वीरगंज महानगरका मेयर राजेशमान सिंहले महानगरका ३२ मध्ये २२ वटा वडा ( वडा नम्बर १ देखि १७ र १९ ) मा रहेका ९० प्रतिशत चापाकल सुकेको जानकारी गराए ।

पानीको हाहाकारले संकट खेपिरहेका महानगरबासीलाई राहत दिन महानगरपालिकाले ठाँउ ठाँउमा डिप बोरिङ र सार्वजनिक धारा जडान गर्नुका साथै ट्यांकरबाट पानी वितरण गरिरहेको उनले बताए । तर महानगरपालिका भएको सिमित बजेट र श्रोत–साधनले थेग्न नसकिरहेकाले यसमा संघ र प्रदेश सरकारले तत्कालै अग्रसरता लिनुपर्ने उनले बताए । उनले मधेसलाई तत्काल ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गर्न संघ सरकारसंग मागपनि गरे ।

कार्यक्रममा खानेपानी संस्थानका वीरगंज शाखा प्रमुख निरण महर्जनले कार्यालयमा नयाँ धारा जडान गर्न चाहने सेवाग्राहीको चाप एक्कासी बढेकोले जनशक्तिको कमीले समस्या भएको बताए । उनले भने,‘ पानीको समस्या सुरु भएपछि सेवाग्राहीको चाप बढ्यो, त्यसलाई मध्यनजर गरि जनशक्ति थप्नका लागि माथिल्लो निकायमा पत्रचार गरिसकेका छौ, अहिले भने भएकै जनशक्ति र श्रोतसाधनको भरपुर उपयोग गरिरहेका छौ । दैनिक ३० देखि ४० वटा नयाँ धारा जडान गरिरहेको जानकारीपनि उनले गराए ।

खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुषालले खानेपानीको चरम संकटको सामना गरिरहेको वीरगंज महानगरमा संस्थानले अरु ५ वटा महानगर भन्दा सबै भन्दा बढि जनशक्ति र श्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद मरासिनीले संस्थानको पाइप लाइन नबिछ्याइएका महानगरका बाँकी १४ वटा वडामा पाइपलाइन बिछ्याउनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन मन्त्री यादवसंग अनुरोध गरे ।

कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य श्याम पटेलले वीरगंज महानगरसहित पर्सा जिल्लामा देखिएको पानीको संकट बारे अहिलेसम्म बैठक र भाषण गर्ने काममात्रै भएका तर समस्या समाधानका लागि कुनै ठोस पहल हुन नसकेको टिप्पणी गरे ।

मन्त्री यादव समक्ष आक्रोश पोख्दै पटेलले भने,‘ बैठक र भाषण धेरै भयो अहिलेसम्म, त्यसका कारण अब सरकार र यसको निकायले काम गर्नु पर्यो ।

पालिकासंग पर्याप्त बजेट र श्रोतसाधन नभएकाले खानेपानी मन्त्रालयले तत्काल बजेटको व्यवस्थापन गरेर जनतालाई राहत पुर्याउनु पर्नेमा उनले जोड दिए ।

पर्सा २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले अर्थमन्त्री प्रकाशरण महतलाई नै भेटेर वीरगंजसहित पर्सा जिल्लामा निम्तिएको पानीको संकट समाधानका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको जानकारी गराए ।

संसद विकास कोषको रकम १ करोड भन्दा कमको योजनामा खर्च गर्न नपाउने संवैधानिक प्रावधानले समस्या भएको बताउदैं उनले भने,‘ त्यसमापनि संसद विकास कोष विरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ, त्यो मुद्धा छिनोफानो हुने बित्तिक्कै मैले मेरो संंसद विकास कोषको १ करोड रकम डिप बोरिङ जडानमा खर्च गर्ने घोषणा अहिलेनै गर्छु ।

उनले संस्थानमा सेवाग्राहीको चाप बढेकाले त्यसअनुसारको जनशक्ति तत्काल थप गरिदिन मन्त्री यादवसंग आग्रह गरे ।

पर्साका १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले वीरगंजसहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफुले संसदमा पटक पटक आवाज उठाएको बताए । यसका साथै प्रधानमन्त्रीसमेतलाई भेटेर ध्यानाकर्षण गराइसकेको उनले सुनाए । तर यति गर्दापनि संघ सरकार समस्या समाधानका लागि पहल गर्नुको सट्टा कानमा तेल हालेर बसेको गुनासो उनले गरे ।

उनले भने,‘ वीरगंजसहित मधेसमा अहिले पानीको हाहाकार छ, मधेसमाथि यत्रो बज्रपात पर्दापनि संघ सरकार कानमा तेल हालेर बसेको छ, आजपनि मधेसलाई हेर्ने संघ सरकारको नजर विभेदकारी छ ।

मन्त्रीस्तरीय निर्णयबाट मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेर यहाँका जनतालाई राहत दिन उनले आग्रह गरे । यसका साथै अहिले तत्कालका लागि वीरगंजस्थित संस्थानको शाखा कार्यालयमा जनशक्ति थपिदिन मन्त्री यादवसंग उननले अनुरोध गरे ।

मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गराउने मन्त्री यादवकाे प्रतिबद्धता

कार्यक्रममा सहभागी वीरगंज महानगर र पर्साका जनप्रतिनिधीहरुको गुनासो सुनेपछि खानेपानी मन्त्री यादवले अब बस्ने मन्त्रीपरिषद बैठकबाटै मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गराउने प्रतिबद्धता जनाए ।

पानीको संकटको सबैभन्दा बढि सामना गरिरहेकोे वीरगंज महानगरपालिका मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले उपलब्ध साधन–श्रोत र बजेटले भ्याएसम्म महानगरको समस्या समाधानमा आफु लाग्ने बताए ।

उनले वीरगंजस्थित संस्थानको कार्यालयमा अन्य जिल्लाबाट जनशक्ति झिकाएर थप गर्ने र अहिले उपलब्ध जनशक्ति र साधन–श्रोतको भरपुर उपयोग गरेर सेवा प्रवाह गर्न कार्यक्रममा सहभागी संस्थानका अध्यक्ष , महाप्रबन्धक र शाखा प्रमुखलाई निर्देशनपनि दिए ।

उनले नयाँ धारा जडानको प्रकृया सहज र छिटोछरितो बनाउनपनि संस्थानका कर्मचारीलाई निर्देशन दिए ।

महानगरका मेयर सिंहको अध्यक्षतमा भएको उक्त छलफल कार्यक्रममा प्रदेश सभा सदस्य प्रमोद जयसवाल, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, संविधान सभा सदस्य अजय द्विवेदी, वीरगंज महानगरपालिका उपमेयर इम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, जनता समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका साथै महानगरका ३२ वटै वडाका वडाअध्यक्ष, राजनीतिक दलका नेता लगायतको सहभागीता थियो ।

पर्सालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय

0

वीर‍गंज । जिल्ला समन्वय समिति पर्सामा बुधबार जिल्ला विपद् व्यवस्थापन समिति पर्साकाे बैठक सम्पन्न भएकाे छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीकाे अध्यक्षतामा बसेकाे बैठकले पर्सा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेकाे छ ।

बैठकमा पर्सा जिल्लामा खानेपानीको मुख्यस्रोतको रुपमा प्रयोग हुँदै आएका चापाकलहरु लामो समयदेखि पानी नपरेकोले सुक्न गई खानेपानीको अत्यन्तै अभाव हुन गएको र आकाशे खेतीमा आधारित पर्साको कृषि कार्य बर्षा नहुँदा तथा परम्परागत रुपमा सिंचाईको स्रोतको रुपमा प्रयोग हुँदै आएका नदी, कुलो, पोखरी, बोरिङ लगायतका मुहानहरु समेत सुक्न गई सिंचाई सुविधाको अभाव भएकाेले सुख्खा ग्रस्त क्षेत्र घाेषणा गर्न सिफारिस गर्न सर्वसमहत निर्णय गरेकाे हाे ।

पर्सा जिल्लामा खानेपानीकाे अभाव भएकाे र लामाे समयदेखि प्रयाप्त मात्रमा बर्षा नहुँदा हालसम्म अधिकांश क्षेत्रमा रोपाई समेत नभएको र कतिपय स्थानमा रोपाई भएका खेतहरु समेत सुक्न गई उत्पादन नहुने अवस्था सृजना भएकोले जिल्लाका स्थानीय विपद् व्यवस्थापन समितिहरु र जिल्ला समन्वय समिति, पर्सामा भएको सर्वपक्षीय बैठकको मांग सिफारिसको आधारमा पर्सा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने सर्वसहमत निर्णय भएकाे जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साेनारले वताए ।

साथै पानीको वर्तमान समस्यालाई तत्काल र दीर्घकालीन रुपमा समाधान गर्न नेपाल सरकार, प्रदेश सरकार र विकास निकायहरुलाई राहत तथा सहयोगको लागि अनुरोध गर्ने बैठकले सर्वसहमतीबाट निर्णय गरियो उनका स्वकिय सचिव हरिन्द्र साले जानकारी दिए ।

बैठकका प्रतिनिधि सभा सदस्य अजय कुमार चाैरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, प्रमाेद जयसवाल, विना कुमारी शर्मा, जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन प्रसाद कुर्मी, पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहान, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ता, धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहान, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमाेद तिवारी, ठारी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे । 

अर्थ मन्त्री महत वीरगंजमा

0

वीरगंज । नेपाल सरकार अर्थ मन्त्री प्रकाशशरण महत वीरगंज आएका छन् । बुधबार सांझ वीरगंज आएका अर्थमन्त्री महतलाई त्यसअघि बाराकाे सिमरा विमान स्थलमा भव्य स्वागत गरिएकाे थियाे ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सिमरा विमान स्थलमा भव्य स्वागत गरेका थिए । प्रचण्ड सरकारमा अर्थमन्त्री भएपछि पछि पहिलाे पटक वीरगंज आएका महतकाे कांग्रेस पर्साका नेता तथा कार्यकर्ताहरु भव्य स्वागत गरेका हुन् ।

बुधबार विभिन्न कार्यक्रममा सहभागि हुनुकाे साथै आन्तरिक राजश्व कार्यालय वीरगंज र वीरगंज भन्सारकाे स्थलगत निरिक्षण गर्ने पनि कार्यक्रम रहेकाे नेपाली कांग्रेस पर्साका नेताहरुले जनाएका छन् ।

अर्थ मन्त्री महतसंगै अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजश्व विभागका महानिर्देशक पनि वीरगंज आएकाे बुझिएकाे छ । 

सखुवाप्रसौनीकाे महुवनमा एक्स–रे सेवा सञ्चालन

0

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा आएको छ ।

महुवन स्वास्थ्य चौकीमा रहेको स्वास्थ्य परिक्षण ल्याबमा मंगलबारदेखि एक्स–रे सेवापनि सञ्चालनमा ल्याइएको हो । मंगलबार स्वास्थ्य चौकीमै पुगेर गाँउपालिका अध्यक्ष यशवन्त यादवले उक्त एक्स–रे सेवाको उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले मैले गरेको प्रतिबदता अनुसार महुवान स्वास्थय चौकीमा गाउँपालिका स्तरिय करीब ३५ लाखकाे बजेटबाट २ कोठे भवन समेत निर्माण गरी डिजिटल एक्स-रे संचालनमा लयाएको वताए ।

उनले ग्रामीण भेगका जनतालाई एक्स–रे जस्तो सामान्य सेवाका लागि समेत वीरगंजकाे अस्पतालमा पुग्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि गाउँमै रहेको स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा ल्याइएको बताए ।

अध्यक्ष यादवले महुवन स्वास्थ्य चौकीमा सञ्चालित एक्स–रे सेवाले वीरगंजका सरकारी र निजी अस्पतालको तुलनामा कम दरमा सेवा उपलब्ध गराउने जानकारीपनि दिए । वीरगंजका सरकारी र नीजी अस्पतालमा एक्स–रे को शुल्क ३५० रुपैयाँ रहेकोमा महुवन स्वास्थ्य चौकीबाट भने एक्स–रे को शुल्क ३०० रुपैयाँ मात्र लिइने उनले बताए ।

गाँउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतो, पाँच वटै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

हट्यो नेपाली गाडीलाई रक्सौल जानु पूर्व पास लिनुपर्ने प्रावधान

0

वीरगंज । नेपालबाट वीरगंजकाे बाटो हुँदै भारतीय सहर रक्सौल प्रवेश गर्न चार पाङग्रे (चक्के) गाडीलाई अब विशेष पास नलिनुपर्ने भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलले रक्सौल बजारमा सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको जनाइएकाे छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेत समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले सीमावर्ती भारतीय सहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूसँग पहल गरेका थिए ।

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पासको प्रावधानले नेपालीहरूलाई सास्ती हुने बताउँदै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए । उनले भारतीय सहर रक्सौलसँग वीरगंजबासीकाे सम्बन्ध व्यावसायिक मात्र नभई पारिवारिक र धार्मिक सम्बन्ध समेत रहेकोले यस्तो प्रावधानले दुवै देश बिचको सम्बन्धमाथि नै असर पर्ने बताएका थिए ।

त्यस्तै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि पास लिनुपर्ने प्रावधान झन्झटिलो र व्यवहारिक नदेखिएको बताउँदै त्यसलाई फिर्ता लिन भारतीय भन्सार कार्यालयका अधिकारीहरूसँग आग्रह गरेका थिए ।

सांसद यादव र मेयर सिंहको आग्रह पश्चात् भारतीय भन्सार विभागले नेपाली नम्बर भएको चार पाङ्ग्रे (चक्के) गाडीलाई पास लिनुपर्ने प्रावधानलाई हटाएको छ । अहिले नेपाली चार चक्के गाडीहरू सहजै रक्सौलसम्म गइरहेका छन् ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले पनि नेपाली नम्बर प्लेटको गाडीलाई दूतावास पुगेर पास लिनुपर्ने लगायतका सम्पूर्ण प्रावधान हटाइएको बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पहिला जस्तै नेपाली चार चक्के गाडी रक्सौलसम्म बिना कुनै झन्झट प्रवेश गर्न पाउने जानकारी दिए ।

यसअघि मङ्गलवारदेखि नेपाली नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासबाट विशेष अनुमतिसहितको पास लिनुपर्ने प्रावधान लागु भएको थियो । प्रावधान लागु भएसँगै पारिवारिक तथा अन्य विशेष कामले रक्सौल जाने नेपालीहरूलाई सास्ती भोग्नु परेको थियो ।

एक दर्जन भन्दा बढी पर्साका नेताहरु एमाले प्रबेश

0

वीरगंज । नेकपा माओवादी केन्द्र परित्याग गरेर पर्साका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रबेश गरेका छन् ।

माओवादी केन्द्रका नेता बिरेन्दर यादव, सलाउदिन अहमद, कृष्ण मोहन यादव, दिपेन्द्र कुमार चौधरी लगायतका १५ जना नेकपा एमालेमा प्रवेश गरेकाे एमाले वीरगंज महानगर कमिटीका सचिव सुरेन्द्र कुर्मीले जानकारी दिए ।
 
एमाले प्रबेश गर्ने नेताहरु एक बर्ष पहिला मात्र जनता समाजवादी पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका थिए ।
 
नव प्रवेशी सबै जनालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमका बिच खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
 
काठमाडाैंस्थित केन्द्रिय पार्टी कार्यालयमा भएकाे पार्टी प्रबेश कार्यक्रममा एमालेका नेता सुमन प्याकुरेल, अच्युत मैनाली, निर्मला देवकोटा, प्रभु हजरा, जालिम मियाँ, मनोज गुप्ता, शिवजी साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

नगवाका राैनककाे हत्या भएकाे परिवाजनकाे दाबी

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवाका ३० वर्षीय रौनक वर्णवालको हत्या भएको पिरवाजनले आरोप लगाएका छन् । परिवारजनले साेमबार पत्रकार सम्मेलन गर्दै राैनककाे हत्या उनकी श्रीमती र सालाेले नै गरेकाे आराेप लगाएका हुन् । 

आत्महत्या गरेको भनिएपनि दाई राैनककाे उनकै श्रीमती प्रकिंता वर्णवाल र सालो प्रयुक्त बर्णवालले मिलेर हत्या गरेको रौनकका भाई रबि वर्णवालकाे आरोप छ । वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सामा आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै रविले केही समय पहिलादेखि नै दाई र भाउजाे प्रकिंता बिच विदा हुँदै आएकाे वताए ।

झुण्डिएर मृत्यु हुने व्यक्तिको शरीरको अन्य भागमा चोटपटक नहुने तर आफ्नो भाइको खुट्टा र चिउँडोमा चोट लागेको देखिएकाले उनको हत्या गरिएको रविको भनाई छ ।

पर्सा प्रहरीले किटानी जाहेरी लिन नमानेको पनि पत्रकार सम्मेलनमा रविले गुनासो गरे । आफ्नो भाइको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले पनि चासो नदिएको पत्रकार सम्मेलनमा रविले बताए । दाईकाे मृत्युकाे कारण बारे निश्पच्छ छानविन हुनु पर्ने हाम्राे माग रहेकाे उनले वताए । 

घरमा काेइ नभएकाे बेला राैनकले साउन ७ गते झुन्डिएर आत्महत्या गरेकाे उनकी श्रीमती प्रकिंताले आफुलाई फाेन गरेकाे भनेकाे राैनकका बुवा भुषणले वताए । त्यसपछि घरमा पुग्दा झुन्डिएकाे अवस्थामा नभई उनी तल्ल भुंईमा रहेकाे वताउँदै अस्पताल भर्ना गर्दा अस्पतालले दुई दिनपछि साउन ९ गते मात्र मृत्य घाेषण गरेकाे वताए ।

मृतक रौनकको घरमा श्रीमान् श्रीमती र उनको बुवा बस्दै आएका थिए । मृतक राैनक हिमालय लाइफ इन्सुरेन्समा कार्यरत थिए भने उनकी श्रीमती प्रकींता एनआइसी बैंकमा कार्यरत रहेकी छन् । दुबै जनाकाे १५ महिना पहिला मात्र विवाह भएकाे थियाे ।

खानेपानी मन्त्री कलवारको निर्देशनमा वीरगंजमा पानी वितरण

0

वीरगंज ।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले वीरगंज पानी वितरण गर्न थालेको छ । मधेश प्रदेश सरकारको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलवारको निर्देशनमा कार्यालयले वीरगंज विभिन्न स्थानमा ट्याङ्करमार्फत पानी वितरण गर्न थालेको हो ।

मन्त्री ज्युकाे निर्देशनमा डिभिजन कार्यालयका ८ वटा ट्यांकर मार्फत वीरगंज महानगरपालिकाकाे विभिन्न स्थानमा खानेपानी वितरण भइरहेकाे मन्त्री कलवारका स्वकिय सचिव सचिन कुमार सिंहले जानकारी दिए ।

वीरगंजका विभिन्न १२ स्थानमा २ हजार लिटरको ट्याङ्कीमार्फत पानी वितरण भइरहेकाे उनले बताए । उनका अनुसार अहिले वीरगंजकाे राधेमाई, श्रीपुर, रानीघाट, पानीट्याङ्की, लक्षमणुवा, डिभाईन क्लोनी, विर्ता बजार, गणेशमान चौक, नापी शाखा छपकैया लगायतका स्थानमा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ । 

अझै आवश्यक्ताको आधारमा थप स्थानमा ट्याङ्कीबाट पानी वितरण गर्ने तयारी भइरहेको स्वकिय सचिव सिंहले जानकारी गराए । 

कालिकामाई गापा र युवा संगठनहरु बीच छव बुँदे सहमति

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका र संयुक्त युवा संगठनहरु बीच छव बुँदे सहमति भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र कालिकामाई युवा समाज, नेवि संघ कालिकामाई गाउँपालिका तथा टिनडाेबिया युवा क्लब बिच साेमबार लिखित सहमती भएकाे हाे ।

युवाहरुको छड्के अनुगमनमा फेला परेका शिक्षा तथा स्वास्थ्यको समस्याहरु पहिलो प्राथमिकतामा राखी सम्बोधन गर्ने, निजी श्रोतका शिक्षकहरुको तलब समयमा उपलब्ध गराउने, सामुदायिक विद्यालयहरुमा रहेकाे बेन्च, डेस्कको अभावलाई परिपूर्ति गर्ने, दरखास्त आवहान गरे शिक्षक भर्ती गर्ने, हरेक कक्षाकोठामा पंखा जडान गर्ने, विद्यार्थीको अनुपातमा भौतिक संरचना निर्माणको लागि आवश्यक पहल गर्ने‍, विद्यालय व्यवस्थापन समिति गठनको लागि पत्रचार गर्ने सहमती भएकाे कालिकामाई युवा समाजका बुलट तिवारीले वताए । 

त्यसैगरी पालिका अन्तर्गतको स्वास्थ्य शाखाहरु व्यवस्थित बनाउने, विकाश कार्यमा अनियमितता भएको गुनासोलाई मध्यनजर गर्दै उक्त कार्यको अनुगमन गरी दोषीलाई कारवाही गर्ने, युवा संगठनहरु स्वतन्त्र मानसिकताका साथ विकशित पालिका निर्माणका निम्ति पलिकालाई सहयोग गर्ने, कर्मचारी, प्रतिनिधि र युवाहरु आत्मसाथ गरि विकाश कार्यकोलागि अगाडि बढ्ने र धार्मिक तथा सामुदायीक जग्गा अतिक्रमण गर्नेहरूको छानबिन गर्ने पनि सहमती भएकाे कालिकामाई युवा समाजका तिवारीले जानकारी दिए ।

मिति २०८०/०३/२४ गते संयुक्त युवा संगठनहरुले बुझाएको संयुक्त विज्ञप्ति र उक्त विज्ञप्तिलाई लिएर मिति २०८०/०३/३१ गतेको गाउँसभामा उत्पन्न विवादलाई मध्यनजर गर्दै स्वच्छ र समृद्ध पालिका निर्माणमा युवाहरुको साथ र सहयोग अति आवश्यक भएको हुनाले संयुक्त युवा संगठनहरु र कालिकामाई गाउँपालिका बिच सुमधुर सम्बन्ध कायम गरी विकशित पालिका निर्माणका निम्ति आत्मसाथ गरि अगाडि बढ्न सहमति भएकाे जनाइएकाे छ ।

सहमती पत्रमा गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ता र युवा संगठनकाे तर्फबाट कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसिया, नेवि संघ कालिकामाई गाउँपालिका अध्यक्ष राजेश कुशवाहा र टिन्डाेबिया युवा क्लबका अध्यक्ष कृष्णा पटेलले हस्ताक्षर गरेका छन् ।

पर्सालाई सुख्खा ग्रस्त जिल्ला घोषणा गर्न जनमत पार्टीकाे माग

0

वीरगंज । जनमत पार्टी पर्साले जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घाेषणा गर्न माग गरेकाे छ । जनमत पार्टी पर्साले साेमबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई ज्ञापन पत्र बुझाउँदै यस्ताे माग गरेकाे हाे ।

यस वर्ष समय अनुकुल पर्याप्त वर्षा नभएको कारण पर्साको अधिकान्स धानखेती रोपाइ हुन नसकेको र सिचाइ परियोजनाहरुले पनि सिचाइको लागी पानी समयमा चाहिएको अनुपातमा उपलब्ध गराउन नसकेको अवस्थामा किसानहरु मर्कामा परेकाेले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्नु पर्ने जनमतकाे माग रहेकाे छ ।

सिचाइको समस्याले ग्रसित किसानलाई मल, खादको अभावले थप समस्यामा पारेको वताउँदै जनमतले सरकारी मातहतका निकायहरु, पालिकाहरुले लक्षित किसानलाई आवश्यकता अनुसार सरकारले तोकेको मुल्यमा मल, खाद उपलब्ध गराउन नसकेको बाध्यात्मक अवस्थामा किसानहरु बिचौलिया र अन्य ब्यपारीहरु संग महँगो मुल्यमा मल, खाद खरिद गर्न बाध्य भएकाे जनाएकाे छ ।

सहज सिचाइ र मल, खाद उपलब्धताको लागी सरोकार र जिम्मेवारवाला निकाय संग पहल गर्न र मल, खाद माफियाहारुको पहिचान गरि कारवाही गर्न माग गरेको जनमतले बुझाएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

साथै यस वर्ष प्राकृति आपदाको अवस्थामा पर्सा जिल्लामा खेति किसानिको दयनीय अवस्था हुने हुँदा यो जिल्लालाई सुखाग्रस्त जिल्ला घोषणा गरि किसानहरुलाई छतिपुर्ती एवं सुबिधाको लागी पहल, सिफारिस गर्न अनुरोध समेत गरिएको छ।

जिल्ला इन्चार्ज माधव सिह र जिल्ला संयोजक ओमप्रकाश सरार्फको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकाे टोलीमा राजनीतिक समिति सदस्य करिमा बेगम, केन्द्रिय सदस्यहरु चन्दन सिंह, नजमा खातुन, सह जिल्ला इन्चार्ज मुकेश द्विवेदी, जिल्ला सचिव राजनरायण मिश्र, युवा दास्ताका पर्सा संयोजक कन्हैया झा, उमा शंकर गुप्ता, सन्जय सिंह, सन्दीप साह, शशी पाण्डे लगायतको सहभागीता रहेको थियो ।