Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 512

परवानीपुर गाउँपालीकाको दलीत बस्तीमा खानेपानीको समस्या

0

आनन्द पटेल/
वीरगंज । “घरको धारा महिनौं भो सुकेको तर हालसम्म स्थानीय सरकारले यस समस्याको समाधान गर्नका लागि कुनै पनि पहल कदमी अगाडी बढाएको छैन ।“ यो दुःखेसो स्थानीय संतोष यादवको हो । उनी बारा जील्लाको परवानीपुर गाउँपालीका वडा नं १ बुनियाद टोलका निवासी हुन् । उनी लगायत सिकेन्द्र पासवान, मुकेश पासवान, मुन्ना पासवान लगायतको पनि अहिलेत्यही दुर्दशा छ ।

“एक त हामी दलित र त्यसमा पनि गरिबको संतान भएको कारणले हाम्रो बस्तीमा गाउँको सिंहदरबार भनेर चिनिने स्थानीय सरकारको आँखा पर्न सकेको छैन” स्थानीय मुकेश पासवानको दुःखेसो छ । पानी भनेको जीवन हो, तर त्यही एक थोपा पानी पाउन आफूहरुलाई घन्टौंसम्म कुर्नु परेको पिडित मुन्ना पासवानको भनाई छ । एक त आफूहरुसँग घरमा पानी पीउन चापाकल छैन । अर्कोतिर छिमेकीको चापाकल हुँदाहुँदै पनि धारा नै सुकिसकेपछि अब कहाँबाट सहज रुपमा पानी खाने यो प्रश्न अधिकांश स्थानीयको मनमा छ ।

आफूहरुको अवस्था अहिले कर या मर जस्तै भएको स्थानीयहरुको भनाई छ । यो जल्दो बल्दो कहानी बारा जील्लाको परवानीपुर गाउँपालीकाको हो । यो पालीका देशकै सबै भन्दा सानो पालीकाको रुपमा चिनिन्छ ।

परवानीपुर गाउँपालीका मधेश प्रदेशको बारा जिल्लामा पर्दछ । यसको क्षेत्रफल १५.४८ वर्ग कि.मी. रहेको छ भने यहाँको जनसंख्या २२ हजार भन्दा बढी रहेको छ । यस पालीकामा पाँच वटा वडाहरु रहेका छन् । यस पालीकामा विभिन्न जातीका मानिसहरुको बसोबास रहेको छ । जस्तै मधेशी, थारु क्षेत्री, यादव, कुर्मी, तेली, मुस्लीम, चमार, दुसाद आदी छन् । यी सबै समुदायको आ-आफ्नै धर्म संस्कृतीहरु रहेको छ ।

सबै समुदायले आ-आफ्ना धर्म फरक फरक तरिकाले मनाउने गरेका छन् । तर यो पालीकामा खासगरी दलीत समुदायका मानीसहरु अझै पनि पछाडि परेका छन् । यो पालीकामा करिब एक हजार भन्दा बढी दलीतहरुको बसोबस रहेको छ । ज्याला मजदुरी गर्नु, खेतीपाती गर्नु आदी उनीहरुको प्रमुख पेशा हो । तर यस पालीकाको खासगरी दलीत बस्तीमा अहिले खानेपानीको समस्या बढिरहेको छ ।

हुनत यो समस्या मधेश प्रदेशभरि नै छ । तर परवानीपुर गाउँपालीकाको दलीत बस्तीमा खानेपानीको समस्या विकराल छ । यस गाउँपालीकाको पाँचवटै वडाका मानिसहरु खानेपानीको समस्या भोगिरहेका छन् ।

वडा नं १ बुनीयाद टोलमा दलीतहरुको जनसंख्या ३ सय भन्दा बढी रहेको र अधिकांश घरमा पानीको समस्या रहेको स्थानीय सिकेन्दर पासवानले बताए । उनले विगत पाँच महिनादेखि उनीहरु पानीको समस्याबाट गुजारी रहेको बताए । त्यती मात्र होईन घरको धारा सुक्दा खाना पकाउन, नुहाउन, बच्चाहरुलाई स्कुल पठाउन लगायतका समस्याहरु दिनहुँ भोगिरहेको बताए । पासवानले पानी बिना बाँच्नै गाह्रो भएको बताए  । उनले स्थानीय सरकारसँग छिटो भन्दा छिटो पानीको समस्या समाधान गर्न आग्रह गरे ।

त्यस वडाका वडा अध्यक्ष चोकट महतो धानुकले पानीको समस्या गाउँभरी नै रहेको बताए । उनले दलीत बस्तीमा अलि बढि समस्या भएको स्वीकारे । “हुनत उनीहरुको बस्तीमा हामीले एक दुई ठाउँमा चापाकल दिएकै हौँ तर जमीन मुनि नै पानीको सतह सुकेको कारणले गर्दा चापाकलमा पानी आउनै छाड्यो ।“

वडा अध्यक्ष धानुकले पालीकाको बैठकमा पनि दलित बस्तीको पानीको समस्याका कुराहरु राख्ने तयारी गरेको बताए । अरु वडामा पानी ट्यांकीको सुविधा भएको तर आफ्नो वडामा पानी ट्यांकीको सुविधा पनि नहुँदा पानी वितरण गर्नमा समस्या भएको बताए । उनले खानेपानी मात्र नभई यस वर्ष पानी नर्पदा खेतीपाती गर्नमा पनि समस्या भएको बताए ।

यता खानेपानीको समस्या उता पानी नर्पदा खेतीपाती गर्नमा समस्या यो दुवै समस्याले अब आफूहरु बाँच्न नै नसक्ने भएको त्यहाँको स्थानीयहरुको दुःखेसो छ ।

यसैगरी वडा नं २ रामपुर टोकनीको दलीत बस्तीमा पनि खानेपानीको समस्या भयावह छ । खासगरी रामपुर टोलको मुसहरी बस्तीमा दलीतहरुको धेरै बसोबास रहेको छ । मुसहरी बस्तीमा दलीतहरुले पानीको समस्या धेरै भोग्दै आएका छन् । वडा नं २ निवासी नथु रामले पानीको समस्याले दैनिक कामकाजमा समस्या भईरहेको बताए । उनले भने “हाम्रो दलीत बस्तीमा खानेपानीको समस्या छ, पानी नै समयमा पाउन नसक्ने भएपछि अरु कुराहरु कसरी पाउने?” उनकै घरमा बस्ने एक जना दलित महिलाले भनिन् “घरमा चापाकल छैन ।

दलित महिला भएर अरुको धारामा पानी लिन जाँदा समस्या हुन्छ तर पनि दुःख गरेर भए पनि थोरै पानीले जिनतिनकाम चलाई राखेका छौं ।”पानी बिना दैनिकी चलाउनै गाह्रो भएपछि जसरी भएपनि टाँढासम्म गएर पानी ल्याउनु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । यती मात्र होइन उनीहरुले यहाँका निर्वाचित जनप्रतिनिधीसँग पानीको समस्या समाधान गरिदिन आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको बताए ।

आफूहरु दलित भएकै कारण समाजले अहिलेसम्म समान रुपमा हेर्ने नगरेको उनीहरुको गुनासो छ । आफूहरु दैनिक ज्यालादारी गरेर खाने व्यक्ति भएको हुनाले जतिसक्दो छिटो पानीको समस्या समाधान गरिदिन सबैसँग बारम्बार आग्रह गरिरहेको बताए । निर्वाचित भएर आईसकेपछि यस वडामा चापाकल जडानगरी स्थानीयलाई खानेपानीको सहज सुवीधामा सहयोग गरेको र त्यही बेला दलीत बस्तीमा पनि चापाकल जडान गराईएको वडा नं २ का वडा अध्यक्ष महमदुनुरुल होदा अंसारीले बताए ।

उनले अब गाउँसभा सम्पन्न भईसकेको हुनाले यस वर्षको आर्थीक बजेटमा यो समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए । वडा अध्यक्ष होदाले यस समबन्धमा गाउँपालीका प्रमुखजयूसँग पनि छलफल भईरहेको जानकारी दिए । यहाँका बुद्धीजीवी अगुवाहरुको अनुसार गाउँमा भएको ईनार, बोरीङ आदि संचालनमा ल्याउन सके तत्कालका लागी यो समस्या समाधान हुने बिश्वास छ । यस वडामा ८ देखी १० जना दलीतहरुको घरमा पानीको कुनै सेवा-सुविधा नैनरहेको स्थानीय जवाहीर रामले बताए । 

यसैगरी वडा नं ३ लिपनीमा पनि यस्तै खानेपानीको समस्या छ । वडा नं ३ लिपनीमा ३ सय भन्दा बढि दलितहरुको बसोबास रहेको छ । ती दलित बस्तीमा अधिकांश मानिसहरू अनपढ, काम गर्ने सीपको कमी र बढी गरीबीको रेखामुनी बसोबास गर्ने नै छन् । प्राय: उनीहरू दैनिक ज्यालादारी गरेर आफ्नो परिवार चलाउने गर्छन् । तर यो बस्तीमा पनि चापाकल सुकेर जाँदा खाने पानीको समस्या उत्पन्न भएको छ ।  बस्तीमा आवश्यकता जति चापाकल नभएकोले यहाँ पानीको झन् समस्या छ ।  बस्तीमा पानीको समस्याले बालबच्चादेखि लिएर परिवारका हरेक सदस्यलाई पानी बिना काम गर्न निक्कै समस्या भएको उनीहरुले दुःखेसो पोखे ।

वडा नं ३ लिपनी बस्ने जीतेन्द्र रामले स्थानीय सरकार प्रतिदु:खेसो पोखे “गाउँमा यत्रो ठूलो मानवीय समस्या उत्पन्न भएको छ तर यहाँका वडा अध्यक्ष, वडा सदस्य लागायत राजनीतिक दलहरुलेकिन केही गर्न नसकेको ?” अर्का स्थानीय करिमन राम भन्छन् “हामी दलीतहरुको आवाज प्राय: सुनिदैन । एउटा चापाकलको लागि नेताहरुलाई कति हार-गुहार गरें तर अहिलेसम्म कसैले मेरो कुरोको सुनुवाई गरेनन्  ।“

यति मात्र होइन गाउँको कुनै बैठक, भेला आदिमा पनिदलितहरुको सहभागिता गराउने परिपाटी नै हराएको गुनासो पनि उनीहरुको छ । खाने पानीको आवश्यकता पूरा गर्न आफूहरु बिहान ३ बजे देखि नै लाईनमा बसेर पानी लिन घन्टौं कुर्नुपर्ने समस्या रहेको सीता देवी हजराको पीडा छ ।

उनी भन्छिन् घरमा ६ जना बच्चाहरु छन्, तिनीहरु बिहानै स्कूल जानुपर्छ, उनीहरूको लागि बिहानै नास्ता बनाउनु पर्ने, उनीहरूलाई नुहाई धुवाइ गर्ने आदि कामहरू गर्ने भएकोले पानीको धेरै प्रयोग गर्नु पर्ने हुन्छ, तर पानी न पाउँदा बालबच्चालाई नुहाई, धुवाई गर्ने खाना पकाउने, घरको काम गर्ने आदिमा धेरै समस्या भइरहेको बताइन् । यस वडामा खाने पानीकोट्यांकी उपलब्ध रहेको तर स्थानीय सरकारको लापरवाहीका कारण सञ्चलानमा नआएको हुनाले उनीहरुलाई थप पीडा भएको उनीहरुको भनाइ छ ।

यसैगरी सोही वडाका कार्यपालीका सदस्य जगदिश रामले आफ्नो अथक प्रयासले यसै आर्थीक वर्षमा खानेपानी ट्यांकी संचालनका लागी गाउँपालीकाबाट रु. २५ लाख रुपैयाँ छुट्टयाईएको र खानेपानी ट्यांकी संचालन गर्नका लागि आफू दिनरात लागी परेको बताए ।

वडा नं ३ का वडा अध्यक्ष इब्राहीम मियाँ धोबिसँग खानेपानीको समस्याको बारेमा बुझ्दा उनले यस वडामा खानेपानीको समस्या भएको स्वीकारे । वडा अध्यक्ष इब्राहीम मियाँको भनाई अनुसार यस वडामा दिनहुँ सयौंको संख्यामा स्थानीयहरू खानेपानीको समस्या लिएर आफू कहाँ आउने गरेको र त्यसमा दलित बस्तीका मानिसहरू पनि आफ्ना समस्या लिएर आउने गरेको बताए ।

उनले भने “ दैनिक १०० देखि १५० जनाको संख्यामा स्थानीयहरू खानेपानीको समस्या लिएर वडा कार्यालयमा आउने गरेको र पालीकाको बैठकले प्रत्येक वडामा एक एक वटा पानी ट्यांकीको बोरीङ जडान गरिने र्निणय भएको बताए । यो र्निणयले अब केही हदका लागि पनि पानीको समस्या समाधान गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

यसका साथै उनले यस वडामा गाउँका भद्र भलाद्मीसँग छलफलगर्दा वहाँहरुले तत्कालका लागि पुरानो इनार सफा गराउने, डिप बोरिङको व्यवस्थापन गराउने, पानी ट्यांकी सञ्चालनमा ल्याउने आदि सल्लाह सुझाव दिएको र आफू त्यसै अनुसार कामहरू अगाडि बढाउन लागि परेको वडा अध्यक्ष धोबीको भनाइ छ ।

यस गाउँपालिकाको बिचमा पर्ने वडा नं. ४ चैनपुर टोल हो । यो टोलमा सबै भन्दा बढि दलितहरुको संख्या रहेको छ । यस वडामा ४ सय भन्दा बढि दलितहरुको बसोबास छ । राजनीतिक दृष्टकोणले पनि यो वडा एकदमै महत्वपूर्ण मानिन्छ । तर राजनीतिक दृष्टिकोणले यति बलियो मानिएको यो वडा पनि खानेपानीको समस्याबाट भने बच्न सकेको छैन ।

यस वडामा पनि खासगरी दलितहरु खानेपानीको समस्याबाट मुक्ति पाउन सकेका छैनन् । यहाँ पनि पानी लिन बिहानैदेखि ठूलो लाईनमा बसेर एक बाल्टिन पानीका लागि मानिसहरु तड्पिनु परेको अवस्था छ । चार सय भन्दा बढि संख्या भएका यी दलितहरु बेला बेलामा राजनीतिको शिकार हुँदै आएका छन् । यो समाजले अहिले पनि भित्री मनले आफूहरुलाई समान रूपमा स्वीकार गर्न नसकेको दलित अगुवा महन्थ रामले बताए ।

उनले नेपाल सरकारले जातीय छुवाछूतको भेदभाव अन्त्य गरे पनि समाजले आफूहरुलाई पूर्ण रूपमा स्वीकार नगरेको बताए । चाहे राजनीतिक रुपमा होस्, या सामाजिक रूपमा होस्, हामी दलितहरु अहिले पनि पछाडि नै परेको उनले बताए । यस वडाको दलित बस्तीमा खानेपानीको सुविधा स्वरूप चापाकल जडान गरिएको तर जमीन मुनिको पानीको मुहान सुकिसकेको कारण आफूहरूलाई पानीको धेरै समस्या भएको दलीतहरुको भनाइ छ । यस बस्तीमा पानीको मुख्य श्रोत चापाकल नै रहेको छ ।

रोजगारीको समस्या भएको कारण आफूहरू जीविको पार्जन गर्नका लागि घरमा बाख्रा, गाई, भैंसी पालन गरेर दुई पैसा आर्जन गर्ने गरेको तर पानीको समस्याले गर्दा जीवजन्तुहरुलाई पनि पालनधेरै समस्या भएको उनीहरुको गुनासो छ । आफ्नो बस्तीमा खानेपानीको सुविधा नहुँदा अरूको घरमागएर पानी लिन जानुपर्ने बाध्यता रहेको शंकर रामले बताए । पानीको सुविधा नहुदाँ आफूहरुको खेत खलियान पनि समयमै तयार गर्न नसकेको उनीहरूको भनाइ छ  ।

यस वडाका वडा अध्यक्ष गम्भीरा राउत कुर्मीले खानेपानीको समस्या मात्र दलित बस्तीमा नभएर वडाभरि नै रहेको बताए । उनले भने यसपाली पानी समयमा नपर्दा करिब ७० प्रतिशत मानिसहरूको चापाकल सुकिसकेको अवस्था छ । ठूलो वडा भएको कारण आफूहरुसँग बजेटको पनि कमी भएको हुनाले जन अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे ।

वडा अध्यक्ष कुर्मीले आफू चुनाव जीतेर आएपछि करिब ३ सय घरदुरीमा चापाकल जडान गराएको र यसका साथै दलीत बस्तीमा पनि चापाकल जडान गराएको बताए । उनले आफ्नो नजरमा दलित बस्ती पनि अरु ठूला वडा जातीको सरह भएको बताए । उनले भने “दलितहरुको बस्ती अलि ठूलो छ, आफूले हरेक क्षेत्रमा काम गर्नुपर्ने भएको हुँदा दलित बस्तीलाई अलि व्यवस्थापन गर्न नसकेको स्वीकार गरे ।“

आफ्नो निजी प्रयोगका लागि जडान गराइएको बोरिङग र धारा आम जनताको लागि खुल्ला गरिएको र बिहानदेखि रातीसम्म सयौंको संख्यामा मानिसहरु पानी लिएर जाने गरेको वडा अध्यक्ष कुर्मीको भनाई छ । साथै वडामा कम्तीमा पनि ३ वटा डिप बोरिङ जडान गर्ने पालीकाबाट आफूले माग गरेको पनि बताए ।

दलित बस्तीको अर्को बिडम्बनाको कुरा के छ भने पैसा हुनेहरुले डीप बोरिङ गरेर पानीको समस्या समाधान गरि राखेका छन् तर धेरैसँग त्यती पैसा नभएपछि त्यो काम पनि गर्न पाएका छैनन् । यसमा बहुअरी निवासी रामबेलास पासवान भन्छन् “ एक छाक खाना खानको लागी दिनभरि ईटा मसालामा काम गर्नुपर्ने अवस्था छ , बालबच्चाहरुलाई पढाउर्नु पर्ने ठूलो जीम्मेवारी छ अनि यती गर्दा त यो कमाईले पुगीरहेको छैन अनि कहाँबाट डीप बोरिङ जडान गर्नु । राम्रो काम पाउन मुस्किल छ, हाम्रो लागि यस्ता कामहरु पहाड तोडे जस्तै छ ।

यस गाउँपालिकाको सबभन्दा अन्तिम वडा भनेको वडा नं ५ बहुअरी टोल हो । यो टोल बारा जिल्ला मै सब भन्दा बढी शिक्षित टोलको रूपमा परिचित छ । एक महिना अगाडी यस वडामा बिधालयको भवन शिलान्यास कार्यक्रममा आउनु भएका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि आफ्नो मन्तब्यको क्रममा यो कुराको चर्चा गर्नु भएको थियो ।

यस वडामा २०० सय भन्दा बढि दलितहरुको संख्या छ । अरु वडाको तुलनामा यहाँ दलितहरु अलि शिक्षित छन । तर खानेपनीको समस्या यहाँ पनि अन्यत्र जस्तै छ । अधिकांशले आफ्नै लगानीमा चापाकल जडान गरे पनि यसपाली बढि गर्मी भएको कारणले गर्दा चापाकल सुकेको कारण उनीहरूलाई खानेपानीको समस्या भएको हो । पानी नपर्दा गाउँपालिकाको अरु वडा भन्दा यस टोलमा बढी समस्या भएको अवस्था छ ।

यहाँ पनि दलित लगायत अरु समुदायका मानिसहरू पशुपालन गरेर दुई चार पैसा कमाउने गरेको तर खानेपानीको अत्यधिक समस्याले गर्दा पशुहरुमा विभिन्न रोगहरू समेत लाग्न सुरु भइसकेको छ । यसबाट दलितहरूलाई ठूलो क्षति हुने पनि अवस्था सिर्जना भएको छ ।

वडामा गएर खाने पानीको लागी एउटा चापाकल जडानको लागि पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको र पछि बाध्य भएर कर्जा लिएर आफ्नो घर अगाडि चापाकल जडान गरिएको तर त्यो पनि सुकेर काम लाग्ने नभएपछि पानीको समस्या भएको हरिन्द्र हजारले आफ्नो दुःख पोखे । उनले अरुको धारामा पानी लिन जाँदा हप्काउने, कहिलेकाहिँ घरको गेट नै बन्द गरिदिने भएपछि एक बाल्टीन पानी लिन धेरै संघर्ष गर्नु परेकोले उनी आज कल निराश छन् ।

यसैगरी धुरेन्दर दासले पानीको समस्याले गर्दा घरमा पढ्ने बालबच्चाहरु सधैं स्कूल ढिलो जाने गरेको बताए । यति मात्र होइन पानीको समस्याले गर्दा आफ्नो काममा पनि धेरै अवरोध हुने गरेको पीडा व्यक्त गरे । खाना पकाउन, नुहाउन, कपडा धुन आदि घरायसी कामकाजका लागि पानी नपाएपछि सधैं जारमा पानी बोकी साइकल, मोटरसाइकलमा ल्याएर गुजारा चलाइरहेको हरिन्द्र हजारले बताए ।

यो वडामा अरु समुदाय भन्दा बढि दलितहरुको बस्तीमा खानेपानीको समस्या छ । यस वडाका रामायण प्रसाद गुप्ताले आफ्नो निजी डीप बोरिङबाट सयौंलाई बिहान र बेलुकाको समयमा नि:शुल्क रुपमा पानी बितरण गर्दै आएका छन् । यसैगरी टाँढा, टाँढाबाट स्थानीयहरु पानी ल्याएर गुजारा चलाईराहेका छन् । टोलमा लाखौंको बजेट आए पनि यहाँका निर्वाचित जनप्रतिनिधिले मात्र सडक, नालाको काम गरेर बजेट सिध्याइरहेको दलितहरुको आरोप छ ।

यस वडाका वडा अध्यक्ष रामेश्वर साह कलवारले वडामा भएको खानेपानीको समस्यालाई लिएर आफूहरु धेरै चिन्तित रहेको र यस समबन्धमा यस वडामै खानेपानी ट्यांकी जडान गराउनेमा आफूहरु लागिपरेको बताए । पानी ट्यांकी जडान गर्ने काम शुरु पनि भईसकेको र थप बजेटका लागी प्रदेश सरकार र संघीय सरकारलाई लिखित रुपमा नै माग गरिसकेको निर्वाचित वडा सदस्य दारा सिंह पटेलले जानकारी दिए ।

दलीत बस्ती लगायत सबै समुदायको लागी खानेपानी  अत्ति नै आवश्यक भएको हुनाले तत्कालका लागि सबैले मिलीजुली पानीको व्यवस्थापन गर्न उनले आग्रह गरे । गाउँमा भएको वनजङ्गल विनाश गरेर वातावरणलाई प्रदुषित पारेकै कारण आज खानेपानीको यत्रो ठूलो समस्या उतपन्न भएको अधिवक्ता रामचन्दर सिंहले बताए । उनले अब पनि सबै नागरिक सचेत भएर वातारण स्वच्छ पारी खानेपानीको ब्यवस्थापनमा लाग्न जरुरी रहेको बताए ।

यस सम्बन्धमा गाउँपालीका प्रमुख रामक्षत्री प्रसाद पटेलले दलीत बस्ती लगायत यस पालीकामा भएको खानेपानीको समस्यालाई लिएर आफूहरु धेरै चिन्तित रहेको र तत्कालका लागि गाउँपालीकाको पाँच वटै वडामा, पाँचवटा डिप बोरिङ जडान गर्ने कार्य शुरु भईसकेको जनाए ।

यसरी अत्ति आवश्यक पर्ने ठाउँमा डिप बोरिङ जडान कार्य सम्पन्न भईसकेपछि तत्कालका लागि पानीको समस्या समाधान हुने बताए । साथै  उपलब्ध पानी ट्यांकीलाई शुचारु गर्नेर वडाको अवस्था अनुसार थप कार्यहरु अगाडि बढाईने अध्यक्ष पटेलले प्रतिबद्धता जनाए । 

अनेरास्ववियु इन्चार्जको जिम्मेवारी बहन गर्न सकिदैन : बन्जारा

0

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले नेकपा एमाले पर्साले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारीबाट अस्वीकार गरेका छन्।

बन्जाराले यहि साउन १८ गते नेकपा एमालेका जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्मालाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। पार्टीले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारी अस्वीकार रहेकाे र त्याे जिम्मेवारी आफुले वहन गर्न नसक्नेले राजीनामा दिएकाे बन्जाराले बुझाएको राजीनमा पत्रमा उल्लेख छ।

राजिनामा पत्रमा बन्जाराले लेखेका छन् -नेकपा एमालेको हालै सम्पन्न बैठकले मलाई अनेरास्वबियुको इन्चार्जको जिम्मेवारी दिएको पाए । जिम्मेवारी तोक्ने काम प्रति धन्यवाद ज्ञापन गर्दछु । तर अहिले म फरक जिम्मेवारीमा क्रियाशिल रहेकोले त्यो जिम्मेवारी वहन गर्न नसक्ने जानकारी गराउँछु ।

बन्जारा नेपाल पत्रकार महासंघकाे मधेस प्रदेशका महासचिव हुन् । पत्रकार महासंघले तय गरेको मापदण्डलाई कार्यान्वयन गर्ने स्थानमा रहेकोले पनि नेकपा एमालेले तोकेको जिम्मेवारीमा बसेर काम गर्न नसक्ने उनको भनाई छ । बन्जाराले अनेरास्ववियुको इन्चार्जको भूमिका स्वीकार गर्न नस्कने जनाउँदै इन्चार्जबाट राजीनामा दिएको बताएका छन् ।

बिन्दवासिनी गाउँपालिकाकाे बजेट रु ३१ करोड ३ लाख

0

वीरगंज । पर्साको बिन्दबासिनी गाँउपालिकाले १३ औं गाउँ सभामा आर्थिक बर्ष २०८०/०८१ काे रु ३१ करोड ३ लाख ३४ हजार बराबरकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीकाे अध्यक्षतामा भएकाे  १३ औं गाउँ सभामा उपाध्यक्ष ज्योती चौधरीले साे रकम बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

 बिन्दबासिनी गाउँपालिका कार्यालयको सभाहलमा भएकाे कार्यक्रममा वाेल्दै गाउँपालिका अध्यक्ष तिवारीले राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए । उनले बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने बताए ।

आगामी आबको निति अन्तर्गत बिन्दबासिनी गाँउपालिकामा कृषि, सिचाई तर्फ बिषेश बजेट राखिएकाे जनाएकाे छ । कृषि भएमा शिक्षा र स्वास्थ्य लगायत अन्य बिकास सम्भव रहेको उनले बताए । सबै भन्दा पहिला किसानहरु लागि कृषि पोल तार जडानको साथै कृषि मीटर निशुल्क बितरण कार्यक्रम जरुरी रहेकाे उनकाे भनाई थियाे ।

शिक्षा, स्वास्थ्य, पर्यटन प्रबर्द्धन र महिला बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको गापा अध्यक्ष तिवारीले जनाए । गुणस्तर शिक्षाका लागि कतिपय नयाँ कार्यक्रम थप्प गरिएका छन । एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएकाे उनले वताए ।

बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन । भने मुख्य नीति २ वटा +२ विद्यालय सञ्चालन , १ वटा बर्थिङ सेन्टर सञ्चालन र कृषि मीटरको महशुल निशुल्क गरिने अध्यक्ष तिवारीले बताए ।

यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने पनि बताए । साथै एमबिबिएस अध्ययन छात्रवृत्ति, निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लागि निरन्तरता दिइएको अध्यक्ष तिवारीले बताए । यसैगरी सिंचाई व्यवस्थापन, खानेपानी ट्यांकीलाई सञ्चालनमा ल्याउने नीति रहेको उनले बताए ।

प्रस्तुत बजेट अनुसार चालु आ.व. २०८०/८१ को लागि नेपाल सरकारकाे वित्तीय हस्तान्तरण  २९ कराे ३७ लाख ६४ हजार ८ सय,  प्रदेश सरकारकाे वित्तीय हस्तान्तरण रु ६५ लाख,आन्तरिक राजस्व र गत आ.व। मौज्दात रु एक कराेड ७० हजार रहेकाे छ ।

व्यय तर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना रु २ कराेड ८३ लाख, वडा स्तरीय आयोजना ३ कराेड ७५ लाख, गत आ.व.को दायित्व, विषयगत शाखागत बजेट, विभिन्न कोषहरू समेत रु ४ कराेड ८० लाख ७० हजार छुट्याइएकाे उपाध्यक्ष चाैरसियाले वताइन ।

गाउँ सभामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा, वडाध्यक्ष अछेलाल महतो, मुक्ति राउत कुर्मी, जयप्रकाश चौरसिया, अनोज कुमार चौरसिया, मोहन यादव, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए ।

पकहाँ मैनपुरका अध्यक्ष मेहताकी पत्नीकाे निधन

0

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताेकी पत्नी शाेभावती देवीकाे शनिबार निधन भएकाे छ । पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. १ धाेरे निवासी उनकाे भारतकाे पटनामा उपचारकाे क्रममा निधन भएकाे हाे ।

१७ दिनदेखि पटनाकाे जगदिश मेमाेरियल हाेस्पिटलमा उपचाररत रहेकी ५० बर्षिय शाेभावतीकाे शनिबार दिउसाे २ बजे निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । उनलाई केही समयदेखि फाेक्साे र वन टिभिकाे समस्या देखिएकाे थियाे ।

पटनाबाट शनिबार सांझ उनकाे शव निज निवास धाेरेमा ल्याइसकिएकाे छ । आइतबार विहान ९ बजे धार्मिक परम्परा अनुसार गाउँ कै आर्य घाट अन्त्येष्टि गरिने छ । उनकाे दुई छाेरी र एक छाेरा रहेका छन् ।  

अनसनरत ओझैया बर्तामा आउन मानेन : उपाध्यक्ष महताे

0

वीरगंज । विभिन्न माग राख्दै केहि दिन देखि अनसन बसेका पटेर्वा सुगौली गाउँपालिका–३ का रामजन्म ओझैयाकाे माग सम्बाेधन गर्न गाउँपालिका कार्यालय तयार रहेकाे पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता महताेले वताएकी छन् ।

गाउँपालिका कार्यालयले शनिबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै उपाध्यक्ष महताेले आधिकारीक रुपमा गाउँपालिकालाई जानकारी नै नदिई ओझैया विभिन्न माग राख्दै अनसन बसेकाे कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि गाउँपालिकाकाे ध्यानाकर्षण भएकाे वताइन ।

उनले पालिकालाई आधिकारी जानकारी नै नदिई वीरगंजको घण्टाघर, जिल्ला प्रहरी कार्यालय लगायतको ठाउँमा गाउँपालिकासंग केही माग राखि अनसन बस्दै आएको कुरा थाहा पाएपछि पटक पटक वार्ताको लागी पहल गर्दा पनि असनसन बसेका युवक ओझैया वार्ताको लागी तयार नभएको बताईन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव र वडाध्यक्ष विजय गौरेले रामजन्म के कति कारणले अनसन बसेको ?, के–के मागहरु रहेको छ ? लगायतको सम्बन्धमा बुझ्न र पुरा गर्न सकिने जायज मागहरु पुरा गर्न जिल्ला समन्वय समिति पर्सामा पुगि त्यहाँका प्रमुख निरन्जन साह सोनार तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक प्रकाश बस्नेतको उपस्थितिमा समन्वय गर्न प्रस्ताव राखे पनि अनसनरत ओझैया वार्तामा बस्न नमानेको उपाध्यक्ष महतोले बताईन् ।

गाउँपालिका जुन सुके बेला पनि वार्ता गर्न तयार रहेको छ, तर पटक पटक आग्रह गर्दा पनि ओझैयाले बेवास्ता गरेको उपाध्यक्ष महतोको भनाई छ । युवक ओझैयालाई कुनै अप्रिय घटना नघटोस् र उसले उठाएका जायज मागहरु पुरा गर्ने सोचले पत्रकार सम्मेलन गरि वार्ताको आह्वान गरिएको उपाध्यक्ष महतोले बताईन् ।

ओझैयाले अराजकता ढङ्गले गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै बिथोल्ने काम गरेका थिए, उपाध्यक्ष महतोले भनिन्, ‘त्यस क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै ओझैयाले जनप्रतिनीधि सहितका माथि मुद्दा हालेका छन् ।’’

‘हरेक कुरा मैले नै भने अनुसार हुनुपर्छ भनेपछि त ओझैयाले आफै निर्वाचित भएर आउनु पर्याे नि, उपाध्यक्ष महतोले भनिन्, सबै क्षेत्रको लागी बजेट बिनियोजन गर्नु पर्ने हुन्छ । ओझैयाले भनेकै हरेक कुरा मान्न सक्ने अवस्था रहेको छैन्, तर पनि उसले उठाएका जायज मागहरु पुरा गर्न गाउँपालिका तयार छ ।’’ ‘वार्तामा आओस् न, पालिकामा नआई समस्या समाधान हुदैन नि’, उपाध्यक्ष महतोले भनिन् ।’

पटेर्वा सुगौलीका कुनै पनि व्यक्ति वा संस्थाले कुनै पनि सूचना माग गर्दा प्रचलित कानुनले तोके बमोजिक समयमा नै सूचना उपलब्ध गराएको र यसपछि पनि माग हुने सूचना उपलब्ध गराईने उपाध्यक्ष महतोले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृत संदेश यादव सहित पालिकाका विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सरकारकाे प्राथमिकतामा सुशासन र पारदर्शीता छ : अर्थमन्त्री महत

0

वीरगंज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफनो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । प्रेस युनियन पर्साले शुक्रबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै अर्थमन्त्री महतले सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा एमालेले लगाएको आरोप गलत भएको बताए ।

महतले भने,‘ अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइ दिने, सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ ।” आफनै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबीसमेत उनले गरे । सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्थाकाे पक्षमा आफु रहेकाे वताउँदै महतले त्यसैका कारण अवैध गतिविधिका सूचनाहरु पाउन सहज हुने वताए ।

वर्तमान सरकारले सुशासन, पारदर्शीता र विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको अर्थमन्त्री महतले बताए । आफुले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्याहरु विस्तारै कम हुदै गएको , वैदेशिक मुद्राको सञ्चिचतीमा सुधार आएको, मुल्यवृद्धि क्रमिक रुपमा घटदै गएको, पूँजी प्रवाहमा देखिएका समस्या सम्बोधन हुँदै गएको पनि उनले बताए ।

अर्थमन्त्री डा. महतले आयातित सामाग्रीमा लेबलिङ गर्न आवश्यक रहेको बताए । अर्थमन्त्री महतले लेबलिङले अवैध रुपमा भित्रिने समानहरुलाई नियन्त्रण गर्न सहयोग गर्ने स्पष्ट पार्दै सबैले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या विस्तारै कम हुँदै गएको र वैदेशिक सञ्चिति सुधारन्मुख रहेको बताए । अर्थमन्त्री महतले बैंकहरुको उच्च ब्याजदरका कारण अर्थतन्त्रमा पुंजी प्रवाहमा देखिएको समस्या केही हदसम्म सम्बोधन भएको दाबी गरे । उनले जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा तराई मधेशका जमिनहरु बाझो भएको र यसले खाद्यान्न तथा खानेपानीको अभाव सृजना गरेको भन्दै चिन्ता व्यक्त गरे । यसको दिर्घकालिन समाधानतर्फ सरकार गम्भीर रहेको अर्थमन्त्री महतको भनाई थियाे ।

अर्थमन्त्री महतले दुई दशकदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुर्नसञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको पनि वताए ।  उनले भने,‘ चिनी कारखाना पुन: सञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारले सम्भाव्यता अध्ययन भइरहेको छ, यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ ।” चिनी कारखना चलाउछ भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्नेपनि उनले प्रष्ट पारे ।

अर्थमन्त्री महतले वीरगंजस्थित कृषि औजार कारखाना मर्मत सम्भारगरि पुन: सञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि एक करोड रुपैया बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए ।

केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफुले पाएका मेडलहरु लिलामीमा राखेको पोष्ट साममाजिक सञ्जालमा राखेका छन् ।

त्यहि प्रसंग बारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने,‘ सरकारसंगको सम्झौता अनुसार केन्द्रलाई २५ करोड रुपैया दिने उल्लेख छ । त्योमध्ये हालका लागि १ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको छ, बाँकी रकम आवक्श्यकता अनुसार व्यवस्थापन गरिनेछ ।

दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरि १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएकोे छ ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसिया, काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेताहरु राकेश सिंह, प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको पनि उपस्थिती थियो । पत्रकार सम्मेलनकाे संचालन प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साहले गरेका थिए ।

पटेर्वा सुगाैलीमा झारफुक गर्ने पास्टहरुलाई प्रहरीले लखेटे

0

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली वडा नं. ४ भलुवाही खोलाको डिलमा पिता परमेश्वरको नामले गर्दै आएका झारफुक गर्नेहरुलाई प्रहरीले लखेटेकाे समाचार प्राप्त भएकाे छ ।

स्थानीय विकास थारु लगायतका केही व्यक्तिले साे स्थानमा साताको शुक्रवार र मङ्गलवार झारफुककाे कार्यक्रम गर्दै आएका थिए । सत्य बचन आत्मिक उत्थान केन्द्रकाे नामले हुँदै आएकाे कार्यक्रमका कारण स्थानीयले समस्या झेल्नुपरेको भन्दै गुनासाे प्रहरी समक्ष पुगेपछि प्रहरीले अब देखि यस्ता कार्यक्रम नगर्न चेतावनी दिदै लखेटेकाे हाे ।

प्रहरी त्यहाँबाट लखेटेपछि विकास थारु लगायतका झारफुक गर्नेहरु महुवनस्थित पुगेर बसेका थिए । त्यहाँबाट पनि इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले प्रहरी चाैकी महुवनलाई खबर गरेर लखेटेकाे थियाे । 

२१ औं सताव्दीमा आएर पनि झारफुककाे नाम बिरामीहरुलाई सास्ती दिने काम हुँदै आएकाे थियाे । पास्टरकाे नामले गरिने झारफुकका कारण बिरामीहरु त्यहीं बेहाेस हुने र केहि समय पछि फेरी हाेसमा आउने प्रत्यक्ष रुपमै देख्न सकिन्थ्याे । त्यस्ता कार्यहरु गैर कानुनी भएपनि खुल्याम रुपमा हुँदै आएकाे थियाे । 

भलुवाही खोलाको पूर्वतिर रहेको बाँधसँगैको सिसौँघारीमा हुँदै आएको कार्यक्रममा नेपाल तथा छिमेकी मुलुक भारतका विभिन्न राज्यबाट सहभागी हुन आउनेहरू तथा तिनीहरूको सवारीसाधनका कारण समस्या उत्पन्न भइरहेको थियाे ।

साइकल, मोटरसाइकल, जीप, कार, ट्याक्टर, टेम्पो, मयुरीलगायत सवारीसाधनको पार्किङ व्यवस्थापन नहुँदा सो सडकखण्ड कार्यक्रमको दिन प्रायः बन्द हुने गरेको यात्रीहरूले गुनासा गर्दै आएका थिए ।

साे स्थानमा जथाभावी दिसापिसाब गर्ने, पानीका बोतल, प्लास्टिक, कागज तथा अन्य अनावश्यक पदार्थको उचित व्यवस्थापन नहुँदा फोहर बढ्दै गएको स्थानीयको गुनासाे थियाे । 

वीरगंजमा जिउँदाे मानिसकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री

0

वीरगंज । वीरगंजमा श्रीमतीले जिउदाे श्रीमानकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री गरेकाे घटना बाहिरिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैया निवासी भाेला पासीकाे नाममा रहेकाे जग्गा श्रीमती सिमा पासीले मृत्यु दर्ता बनाएर बिक्री गरेकाे आराेप लागेकाे हाे ।

 १२  बर्षपछि आफ्नो घर फर्केका भाेलीका परिवारजनले त्यस्ताे आराेप लगाएका हुन् । १२ बर्ष भन्दा बढी अवधिदेखि हराइरहेका भोला बिहीवार बिहान ९ बजे घर फर्केपछि यस्ताे घटना सार्वजनिक भएकाे हाे ।

१२ बर्ष अघि उनकी पत्नी सीमा पासी ५ वर्षीय छोरा र ८ वर्षीया छोरीलाई लिएर पोइलो गएकी थिइन् । सोही टोलका समसाद अलिसँग पोइलो गएकी सीमालाई अहिले पुन: वीरगंज मै बस्दै आएकी छन् । शुरूमा सीमा र समसाद भारतको दिल्ली भागेका थिए । उनी हाल १८ वर्षीय छोरीसँग वीरगंजमा बस्दै आएकी छन् । 

आफनी पत्नीलाई खोज्दै भारत गएका भोलापछि मानसिक अवस्था गुमेपछि हराएका थिए ।  पहिले उनको मानसिक अवस्था ठीक नहुँदा घर फर्केका थिएनन् । तर केही महीनायता मानसिक अवस्थामा सुधार आएपछि आफू वीरगंज आएको उनले बताए ।

पत्नी सिमाले २०७८ सालमा पति भोलाको वडा नं २ बाट मृत्युदर्ता प्रमाणपत्र बनाइ अंशमा उनको एक कट्ठा ४ धुर जग्गा पनि हत्याएको परिवारजनले आरोप लगएका छन् ।

परिवारजनका अनुसार वीरगंजकाे वडा नं. १ छपकैया मै रहेकाे एउटा १८ धुर र एउटा ६ धुर जग्गा श्रीमती सिमाले हत्याएकी हुन् । साे जग्गाबाट उनी बिक्री समेत गरेकाे परिवारजनकाे आराेप छ ।

भारतको कोलकातामा बस्दै आएका भाेला बिहिबार एकासी घर फर्केपछि यस्ताे कुराहरु खुलेका हुन् । भाेलाकी आमा जिउँदै रहेपनि उनलाई जानकारी नै नदिई सिमाले श्रीमानकाे मृत्यु दर्ता बनाएर उनकाे नाममा रहेकाे सम्पती हत्याउन सफल भएकी परिवारजनकाे भनाई छ ।

जिउँदो मानिसको मृत्युदर्ता प्रमाणपत्र बनाइ सम्पत्ति हिनामिना गरेका सबैलाई छानबीनको दायरामा ल्याइ आवश्यक कारबाही गर्न परिवारजनले माग समेत गरेका छन् ।

१२ बर्षपछि घर फर्केका भाेलाकाे शान्ति सुरक्षाकाे माग गर्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत दर्ता गराएका छन् । मृत्यु दर्ता बनाइसकेका घर फर्केका भाेलाकाे ज्यानकाे खतरालाई मध्यनजर गर्दै उनका परिवारजनले शान्ति सुरक्षाकाे निवेदन दिएका हुन् ।

परिवारजनले मृत्यु दर्ता प्रमाण पत्र बनाउने कार्यमा संलग्न सबै जनाकाे विरुद्ध कारवाहीकाे माग गर्दै उजरी दर्ता गराउन पनि तयारी गरेका छन् । 

राजस्व लक्ष्य भेट्न भन्सारका कर्मचारी इमान्दार हुनुपर्छ : अर्थ मन्त्री महत

0

वीरगंज । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार वीरगंजस्थित सुख्खा बन्दरगाह भन्सार र वीरगंज भन्सार कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री महतले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए।

अर्थमन्त्री महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ थियो।

उननले भने,‘ हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिक भन्दा निजी फाइदालाई महत्व दियौँ भने राजस्व कम उठ्छ ।

जायज कुरालाई नजायज बनाउन थालियो, सार्वजनिक भन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रूपमा व्यवसायीले अर्को बाटो रोज्ने उनको भनाइ थियो । राजस्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छु, मन्त्री महतले भने ।

सुख्खा बन्दरगाहमा ठूलो मेसिन आए पनि उपयोगमा आउन नसकेको उल्लेख गर्दै उनले भने, “उपयोगमा किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो, प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो, त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेड गर्न स्रोतको कमी हुँदैन, तर तपाईंहरूले सहयोग गर्नुपर्छ।”

आफू फाइदा उठाउन नभई काम गर्न आएको, फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरा मनन गरेमा भने राजस्वले लक्ष्य भेट्ने उनको जिकिर थियो। राजस्वको लक्ष्य के छ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा महतले प्रष्ट पारे।

भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र वीरगंज भन्सार कार्यालयबाट प्राप्त हुने उल्लेख गर्दै मन्त्री महतले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने यसैबाट बुझ्नुपर्ने बताए ।

यसैबिच मन्त्री महतसहितकाे टाेली आन्तरिक राजश्व कार्यालय वीरगंजकाे पनि निरिक्षण गरेकाे थियाे ।

कडेल आत्महत्याका कारक रुङ्गटा जेल चलान

0

वीरगंज। चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा पुर्व पक्षका लागी थुनामा गएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको बिहिबारको आदेशले रुङ्गटा जेल चलान भएका श्रेष्तेदार इश्वर आचार्यले बताए ।

कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।

रुङगटा वीरगंजको प्रसिद्ध रुङ्गटा एम्पाएरका सदस्य हुन । रुङग्टाले ८५ प्रतिशत शेयर खरिद गरेपछि कडेललाई निकै अपमानपूर्ण ब्यवहार गरेको स्थानीयको भनाई छ ।

लामो सघर्ष श्रम र पसिना खर्चिएर बनाएको औधोगिक प्रतिष्ठानमा रुङगटाको प्रवेश पछि कडेल कर्मचारीमा सिमित बनाइएका थिए । रुङ्गटाको अपमानपूर्ण ब्यवहार कार्यशैलीका कारण नै कडेलले मृत्युको बाटो रोज्नु परेको स्थानीयको भनाई छ ।

यद्धपी रुङगटा पूर्पक्षकालागि चेल चलान हुने भएपछि बेहोस भएका थिए । उनलाई उपचारको लागि भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।

व्यवसायी कँडेल वैशाख १९ गते अनमोल फिडको कार्यालय वेलचोकमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावलविरुद्ध किटानी जाहेरी दिएको थियो । रावललाई प्रहरीले वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो ।

उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए । रावल रिहा भएपछि सेटिङमा रिहा हुने बिश्वस्त भएपछि रुङ्गटा अदालतमा हाजिर भएका थिए । तर उनको सेटिङ फेल खाएको छ ।