Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 369

बालकुमारी आन्दोलनमा दुई युवाको मृत्यु, मन्त्रीको गाडी ध्वस्त

काठमाडौँ । ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आएका दुई जना युवाले ज्यान गुमाएका छन् । ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा शुक्रबार विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको मृत्यु भएको हो । sharethis sharing button 

बालकुमारी–ग्वार्को सडक खण्डमा आन्दोलन गरेका उनीहरू र प्रहरीबिच झडप भएको थियो । त्यही क्रममा प्रहरीले हवाईफायर गर्नुका साथै अश्रुग्यास समेत प्रहार गर्‍यो । 

यतिमात्र नभएर आन्दोलनकारीहरूलाई तितरवितर पार्न लाठ्ठी समेत प्रहार गर्‍यो । प्रदर्शनका क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । त्यसपछि आन्दोलन उग्र बनेको थियो ।

मन्त्रीको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका थिए । शुक्रबार बिहान ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका थिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । तर त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

यो विषयमा उच्च अदालत पाटनमा  मुद्दा समेत दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

तर १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै अरु युवा पनि आन्दोलनमा उत्रिएका हुन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताए । अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको उनको भनाइ छ । 

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको छ । 

छानबिन समिति गठन 

यसैबीच बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।  मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।  

मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अप्रत्याशित रुपमा घटेको उक्त घटनाका सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन समितिलाई सात दिनको कार्यादेश दिइएको छ ।  

मन्त्रालयले बालकुमारीस्थित ईपीएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।  यस अवस्थामा संयमता अपनाइ शान्ति कायम गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ । 

के भन्छन् ज्वाला ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताएका छन् ।  एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताए ।

‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन’, मन्त्री ज्वालाले भने, ‘बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुख व्यक्त गर्छु ।’ उनले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद रहेको भन्दै घटनाका सम्बन्धमा आफ्नो मन्त्रालयको कुनै साइनो र सम्बन्ध नरहेको बताए ।

‘गाडी मन्त्रालयमा गइरहेको बेला गाडी रोकियो, हावा खुस्काइयो र जलाइयो । विना कारण, विना सम्बन्ध । जो र जसको सरोकार थियो त्यो एउटा विषय होला हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कारण थिएन, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने कुरा खेदजनक छ’, मन्त्री ज्वालाको भनाइ छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको सयुँक्त प्रहरी टोलीले शुक्रबार विहान ११ बजे फरार प्रतिवादी पर्सागढी नगरपालिका वडा नम्बर ७ रघुनाथपुरका २० वर्षीय देवनारायण महरालाई पक्राउ गरेको हाे ।

पक्राउ परेका महरालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

१५ बर्षिय बालिकालाई कार्तिक १५ गते महराले जबरजस्ती करणी गरेकाे आराेप छ । पिडितले दिएकाे उजरी प्रहरीले मंसिर २९ गते दर्ता गरि कारवाही अगाडी बढाएकाे थियाे । 

दिव्य विकास स्राेत केन्द्रकाे बार्षिक समिक्षा बैठक सम्पन्न

वीरगंज । दिव्य विकास स्राेत केन्द्रकाे जिल्ला स्तरिय बार्षिक समिक्षा बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे बैठकमा सहभागिहरुले संस्थाले गरेका काम सराहनिय रहेकाे वताए । सरकारकाे आँखा नपुगेकाे ठाउँमा संस्थाले काम गरेकाे देखिएकाे बैठकमा वाेल्ने वक्ताहरुकाे भनाई थियाे ।

जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन पटेलले सरकारकाे आँखा नपुगेकाे ठाउँमा संस्थाले कठिन भन्दा कठिन काम गरेकाे वताए । उनले सडक ढलान मात्र विकास रहेकाे भन्दै समाजिक विकास पनि जरुरी रहेकाे वताए ।

उप प्रमुख पटेलले संस्थाले कम बजेटमा धेरै काम गरेकाे अनुगमनकाे क्रममा आफुहरुले देखेकाे वताए ।

बैठकमा संस्थाका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले संस्थाले संचालन गरेका कार्यक्रमकाे बारेमा प्रस्तुती मार्फत जानकारी गराएका थिए ।

उनले संस्थाले संचालन गरेकाे स्थानिय अधिकार कार्यक्रम, स्वयंसेवक परिचालन कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र किशाेर किशाेरी प्रजनन् स्वास्थ्य परियाेजना अन्तर्गत भएका काम र उपलब्धिकाे बारेमा जानकारि गराएका थिए ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन कुमार सर्राफकाे अध्यक्षतामा भएकाे बैठकमा गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का,  समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रबेश साह, दिव्य विकास स्राेत केन्द्रका अध्यक्ष उमेश चाैहान, कार्यकारी निर्देशक रामाकान्त पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

हरवाचरवा अधिकार मञ्च सिरहाको जिल्ला सम्मेलन सम्पन्न

वीरगंज । “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापन हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहाको चौथो जिल्ला सम्मेलन लहानमा सम्पन्न भएको छ ।

सम्मेलनले चलितर मण्डलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहा गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमसः. जमुनी सदाय, राधा चौधरी, ईश्वरवती राम र हरी राम चयन भएका छन् ।

त्यस्तै मञ्च सदस्यहरुमा क्रमश श्यामसुन्दर सदा, सुनिता सदाय, बिष्णुदेवी सदाय, जीतनी सदाय, पानोदेवी सदा, अमित्रा देबी सदाय, परमेश्वर मण्डल, प्रमिलदेवी राम, पुकारी मोची, कबिता पाशवान चुनिएका छन् ।

सम्मेलनल उद्घाटन समारोहका प्रमुख अतिथी प्रदेश सभा सदस्य राजेन्द्र प्रसाल चौधरीले मधेस प्रदेश सरकारको आर्थिक बर्ष २०८०/२०८१ को निति, कार्यक्रम र बजेट कार्यान्वयन मार्फत मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन, प्रमाणीकरण र परिचय पत्र बितरण गरिने बताए ।

उनले नेपाल सरकारद्वारा मुक्त घोषणा गरिएका हरवाचरवाहरुको न्यायिक पुर्नस्थापनका लागि मधेस प्रदेश सरकारले संघीय र स्थानिय सरकारसंग आवश्यक पहल कदमी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रमका अर्का बक्ता लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले मुक्त हरवाचरवाहरुको आर्थिक तथा सामाजिक सवालहरु सम्बोधन गर्नका लागि स्थानिय सरकारले कार्यबिधी निर्माण गरि अगाडी बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव, बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता यादव, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत सञ्जय कुमार महराले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन दलित जनकल्याण यूवा क्लवका कार्यक्रम संयोजक बहादुर सदाले गरेका थिए ।

नेपाली शेयर बजार अपराधीहरूको कब्जामा : प्रदीप यादव

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नेपाली शेयर बजार अपराधीहरूको कब्जामा रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकलाई सम्बोधन गर्दै यादवले शेयर बजारमा भइरहेको गम्भीर आर्थिक अपराधमा मन्त्री, कर्मचारी र धितो बोर्डका अध्यक्ष प्रत्यक्ष रूपले संलग्न रहेको आरोप लगाए ।

पूर्व वन तथा वातावरण मन्त्री यादवले भने, ‘धितो बोर्ड नै मतियार बनेर लगानीकर्तामाथि अत्याचार गरिरहेको छ भने सीमित व्यापारी र बिचौलियालाई पोस्ने काम भइरहेको छ । यसमा नेपाल सरकारका मन्त्रीहरूको पनि संलग्नता छ, कर्मचारीको मिलेमतो छ भने धितो बोर्डका अध्यक्षको पनि संलग्नता देखिन्छ ।’

शेयर बजार लगातार घटिरहेको अवस्थामा घाटामा गएका बैङ्कले प्रिमियम मूल्यमा आइपिओ जारी गरेर अर्बौँ रुपैयाँ लगानीकर्तालाई झुक्क्याएर उठाउन सफल भएको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवको भनाई छ । घाटामा गइरहेका घोराही सिमेन्ट, हिमालयन इन्सुरेन्स लगायतका कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएर अर्बौँ रुपैयाँ सङ्कलन गर्न दिने नै धितो बोर्डका अध्यक्ष भएको यादवको आरोप छ ।

३३ खर्ब भन्दा माथि लगानी भएको शेयर बजारमा लगातार घाटा लाग्दा लगानीकर्ता आत्महत्या गर्न र शेयर बजारबाट पलायन हुन बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरे । बिमा कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति दिँदाको प्रावधान र सम्बन्धित कम्पनीका विभिन्न निर्णय, कागजपत्र तथा पत्राचारको छानबिन गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।

बैंकिंग क्षेत्रको समस्या बारे आजपाको अन्तरक्रिया

वीरगंज । बैंकिंग क्षेत्रको समस्या बारे बिहिबार वीरगंजम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटीकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।
 
कार्यक्रममा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता विषयमा अन्तरक्रिया भएकाे थियाे ।
 
कार्यक्रमलाई सम्बाेधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले मुलुककाे पुंजी केही समिति व्यक्तिले प्रयाेग गरिरहेकाे वताए । उनले दलाल पुंजिपतिहरुले देश लुट्दै विदेश लगि रहेकाे आराेप समेत लगाए ।
 
त्यस्ता पुंजितपतिका कारण मध्यम र गरिब बर्ग पिडामा रहेकाे वताउँदै अध्यक्ष साहले सरकारले मनोमानी ब्याज फिर्ता, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनु पर्ने धारणा राखे ।
 
यी मागहरुलाई पुरा गराउन आजपाले माघ १० गते मधेश बन्द घाेषणा गरेकाे कार्यक्रमलाई सफल बनाउन सबै सहभागीहरुले आग्रह समेत गरे ।
 
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं प्रतिनिधिहरु, सरोकारवाला व्यक्ति तथा पीड़ितहरुको  उपस्थिति रहेको थियो ।

इप्रका पटेर्वा सुगाैलीद्वारा ३ टेक्टर अबैध काचौ काठ बरामद

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट बिहिबार ३ टेक्टर अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराज केशरीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं. ७ स्थित छठी घाट ब्रहमबाबाको छेउमा नदीको किनाराबाट काचाै काठ नियन्त्रणमा लिएकाे हाे ।

बिन्दबासनीको कौईलाभार बढनिहार साझेदारी समिती पर्साका अधयक्ष रिजवान आलम, सब डिभिजन वन रंगपुर टाढी पर्साका रेन्जर कपिलदेब प्रसाद यादव सहितको खटिएकाे संयुक्त टाेलीले बिहिबार विहान ११ बजे अलग अलग गरी २ दुई ठाउँमा लुकाई छिपाई राखेको अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले वताए ।

अवैध रुपले बालुवा उत्खनन गर्ने ५ वटा ट्याक्टर पक्राउ

वीरगंज । प्रहरीले खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी गरिरहेकाे अवस्थामा बिहिबार पर्साकाे पर्सागढी नगरपालिकाबाट ५ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।

पर्सागढी नगरपालिका–३ स्थित भेडाहा खोलाबाट अवैध रूपले बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीकाे निर्देशनमा खटिएकाे प्रहरीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी चौकी मिलन चौकबाट खटिएको टोलिले बिहिबार विहान ०७ बजे ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र ना ७ त १२९६ टयाक्टर नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले जानकारी दिए ।

उक्त ट्याक्टरहरु प्रहरी चाैकी मिलन चाैक मै राखेर थप अनुसन्धान भइरहेकाे उनले वताए ।

विवेकशील साझा पार्टीद्वारा सरकारी अस्पतालकाे सेवा सुधार गर्न ध्यानाकर्षण

वीरगंज । विवेकशील साझा पार्टीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन, वीर अस्पतालकाे सेवा सुधारकाे लागि कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई ध्यानाकर्षण गराएको छ ।

देशको सबै भन्दा पुरानो तथा गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका नेपाली नागरिकहरूलाई नि:शुल्क र सर्वसुलभ हिसाबले सेवा प्रदान गर्दै आएको वीर अस्पतालमा पच्छिल्लो समय विभिन्न सेवा सुविधामा अवरोध आइरहेको कुरालाई लिएर विवेकशील साझा पार्टीको तर्फबाट महासचिव रन्जु दर्शना नेतृत्वकाे डेलिगेसनले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेललाई भेटेर ध्यानाकर्षण गराएकाे हाे ।

उक्त डेलिगेसनमा विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य कमला ढुङ्गाना, चन्द्र श्रेष्ठ, शीतल भुषाल, सनन श्रेष्ठ, बागमति प्रदेश अध्यक्ष अजित खड्का, सचिव शकिल अहमद, सदस्य अशोक अधिकारी, कोमलनाथ पौडेल र जिवेश कोईरालाकाे सहभागिता रहेकाे थियाे ।

देश भरिका जनतालाई सेवा दिइरहेको वीर अस्पतालमा सेवाको कटौटि हुनुभनेको नागरिकहरूको स्वास्थ्य सम्बन्धी अधिकारको हनन गर्नु हो । कहिले एक्स-रे गर्ने फ्लिमको अभाव, कहिले अति आवश्यक उपकरणहरू बिग्रिएको अवस्था आइरहन्छ । यति मात्र नभइ कैयौँ ल्याब प्रशिक्षण समेत बाह्य स्थानमा दिनुपर्ने अवस्था आउनु भनेको आम नागरिकको स्वास्थ्य माथि खेलवाड गर्नु भएकाे डिलिगेसनमा सहभागिहरुले वताएका छन् ।

स्वास्थ्य सेवा राज्यको दायित्व हो त्यसैले आर्थिक मन्दिको नाम दिएर स्वास्थ्य सेवामा कटौटि हुनु हुँदैन बरु सरकारका अन्य विलासि खर्च रोकिनु पर्ने महासचिव रन्जु दर्शनाले वताइन ।

१०० वर्ष भन्दा लामो समय भर्ना भएका बिरामीहरूलाई नि:शुल्क खाना प्रदान गरिरहेको अस्पतालले अब उपरान्त सो नगर्ने कुरा पनि गरिब जनताको हितमा नरहेकाे उनले वताइन ।

वीर अस्पताल लगायत देशै भरका सरकारी अस्पतालको स्थिति उजागर गर्दै सरकारलाई ध्यानाकर्षण गराउने र सरकारी अस्पतालहरूको सुधार, सेवामा सुधारको लागि दबाब दिँदै विरोधमा समेत हाम्रो योजना रहेको महासचिव दर्शनाले जानकारी दिइन । 

भारतीय सुटर सिंहकाे बारा र राैतहटकाे विभिन्न घटनामा सलंग्नता

वीरगंज । बाराको कलैयामा झन्डै दुई महिना अगाडि बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोप लागेका मुख्य सुटर सुजित कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई बारा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । बारास्थित बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईटमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको भारतीय नागरिक सिंह अहिले अस्पतालमा छन् ।

मंगलबार राति मुठभेट हुँदा २ राउण्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले बताए । अहिले उनको बारा सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार हुँदैछ ।

सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । कार्तिक १३ मा स्वर्णकारको हत्या भएको थियो । 

दुई वटा माेटरसाइकलमा आएका चार जनाकाे समुहले स्वर्णकारलाई गाेली प्रहार गरि हत्या गरेका थिए । त्यस मध्येका ३ जना अझै फरार छन् ।

भारत मोतिहारी जिल्लाको छौडादानो पञ्चायतस्थित तिनकुनि घर भएका सिंह सार्प सुटर हुन् । ३२ वर्षीय सिंह ‘कन्ट्याक्ट किलर’ को रुपमा मधेशमा विभिन्न हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

बारास्थित भुताही पुलमा भएको हत्यामा सिंहले गोली चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७९ फागुनमा भारतबाट नेपालमा आएर बसेका एक जना पुरुषको बारामा हत्या भएको थियो । सो हत्यामा सिंहले नै गोली चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

२०८० असोज ९ मा पचरौतामा गोली प्रहार गरेर भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको थियो । आरोपीतहरुले भारतबाट नेपालमा ल्याएर अजितको हत्या गरेका हुन् । सुजितले प्रहार गरेको गोलीबाट अजितको हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

भारतीय सुटर सिंह विगत ५ वर्ष देखि बारा र रौतहटमा घटेका विभिन्न घटनामा गोली हानी हत्या गर्ने सार्प सुटर  रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए । निज उपर थप अनुसन्धान भईरहेको उनले बुधबार प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

पक्राउ परेका सिंहको साथबाट प्रहरीले १ थान घरेलु हतियार (पेस्तोल) बरामद गरेको छ । उनी विगत ५ वर्षदेखि बारा, रौतहट र सर्लाहीमा भएका हत्याको घटनामा ‘कन्ट्याक्ट किलर’को रुपमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।