Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

नारायणी अस्पताल निर्माणका लागि आम नागरिक समाजकाे दबाब र्‍याली

spot_img
spot_img

वीरगंज । पर्साका आम नागरिकहरूले नारायणी अस्पतालको पाँच सय शय्याको भवन निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन माग गर्दै शनिबार वीरगंजमा दबाब र्‍याली निकालेका छन् । नारायणी अस्पताल परिसरबाट सुरु भएको र्‍याली नगरको विभिन्न स्थान हुँदा घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले नारायणी अस्पतालको बहु प्रतीक्षित भवन निर्माण प्रक्रिया झन्डै पाँच वर्षदेखि अलपत्र परेको भन्दै यसलाई यथाशीघ्र अघि बढाउनुपर्ने माग गरे । उनीहरूले अस्पतालका पूर्वाधार अभावका कारण वीरगंज सहित आसपासका जिल्लाहरू बारा, रौतहट, सर्लाही र भारतको बिहार र उत्तर प्रदेश राज्यका समेत गरी लाखौँ नागरिकले स्वास्थ्य सेवामा कठिनाई भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

अस्पताल भवन निर्माणका लागि सरकारबाट बजेट विनियोजन भइसकेको भए पनि कानुनी विवादका कारण काम रोकिएको भन्दै नागरिक समाजले अदालतलाई समेत छिट्टै छिनोफानो गर्न अनुरोध गरेको छ ।

पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले नारायणी अस्पतालबाट आफ्ना पूर्वजदेखि आफूहरूले सेवा लिएको बताउँदै यसको पुनर्निर्माण लागि सबै नागरिक समाज एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

उनले भने, “सर्वोच्च अदालतले विचाराधीन मुद्दालाई छिनोफानो गरेर अस्पताल निर्माणको प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउन सहयोग गर्ने मेरो विश्वास छ ।” उनले सरकार र सर्वोच्च अदालत यसमा गम्भीर नभए अझै कडा आन्दोलन गर्ने आफूहरू बाध्य हुने चेतावनी पनि दिए ।

आम नागरिक समाज वीरगंजकाे तर्फबाट बाेल्दै उनले नारायणी अस्पतालकाे भवन निर्माणकाे काम सुरु नहुन्जेल सम्म हाम्राे आन्दाेलन जारी उद्घाेष गरे ।

वीरगंज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताए । उनले भने, “अस्पताल निर्माण हाम्रो लागि मात्र नभई हाम्रो आउने पुस्ताको लागि हो, हाम्रो बालबच्चाको लागि हो । त्यसैले तपाईँहरूको यो लडाईमा तपाईँहरूसँग छु ।”

त्यस्तै, नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले वीरगंज तथा आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले तत्परता देखाउनुपर्ने बताए । उनले भने, “अस्पताल निर्माण रोकिएको पाँच वर्ष बितिसक्यो, यो अन्याय हो । हामी यो विषयमा बेवास्ता गर्न सक्दैनौँ । अझै पनि यस मुद्दाको निर्क्योल निस्किएन भने हामी आमरण अनसन गर्नेछौँ ।”

र्‍यालीमा सहभागीहरूले अस्पताल निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने, अदालतले मुद्दाको छिनोफानो चाँडो गर्नुपर्ने तथा सरकारको चासो बढाउनुपर्ने माग राख्दै नाराबाजी समेत गरेका थिए ।

र्‍यालीमा नेकपा एकीकृत समाजवादीका नेता मनाेज चाैधरी, नेकपा माओवादी केन्द्रका बाबुराम काैशिक, नेवि संघका रमेश यादव लगायत विभिन्न नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

यसअघि माघ १८ गते नारायणी अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरूले पनि अस्पतालको भवन सम्बन्धी मुद्दा अदालतबाट छिट्टै छिनोफानो लगाउन माग गर्दै सडकमा उत्रिएर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका थिए भने शुक्रबार जनमत पार्टीले पनि केही बेरका लागि घण्टाघर अगाडि चक्का जाम गरेर अस्पतालको विषय अवाज उठाउँदै नाराबाजी गरेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...