Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

नारायणी अस्पताल निर्माणका लागि आम नागरिक समाजकाे दबाब र्‍याली

spot_img
spot_img

वीरगंज । पर्साका आम नागरिकहरूले नारायणी अस्पतालको पाँच सय शय्याको भवन निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन माग गर्दै शनिबार वीरगंजमा दबाब र्‍याली निकालेका छन् । नारायणी अस्पताल परिसरबाट सुरु भएको र्‍याली नगरको विभिन्न स्थान हुँदा घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले नारायणी अस्पतालको बहु प्रतीक्षित भवन निर्माण प्रक्रिया झन्डै पाँच वर्षदेखि अलपत्र परेको भन्दै यसलाई यथाशीघ्र अघि बढाउनुपर्ने माग गरे । उनीहरूले अस्पतालका पूर्वाधार अभावका कारण वीरगंज सहित आसपासका जिल्लाहरू बारा, रौतहट, सर्लाही र भारतको बिहार र उत्तर प्रदेश राज्यका समेत गरी लाखौँ नागरिकले स्वास्थ्य सेवामा कठिनाई भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

अस्पताल भवन निर्माणका लागि सरकारबाट बजेट विनियोजन भइसकेको भए पनि कानुनी विवादका कारण काम रोकिएको भन्दै नागरिक समाजले अदालतलाई समेत छिट्टै छिनोफानो गर्न अनुरोध गरेको छ ।

पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले नारायणी अस्पतालबाट आफ्ना पूर्वजदेखि आफूहरूले सेवा लिएको बताउँदै यसको पुनर्निर्माण लागि सबै नागरिक समाज एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

उनले भने, “सर्वोच्च अदालतले विचाराधीन मुद्दालाई छिनोफानो गरेर अस्पताल निर्माणको प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउन सहयोग गर्ने मेरो विश्वास छ ।” उनले सरकार र सर्वोच्च अदालत यसमा गम्भीर नभए अझै कडा आन्दोलन गर्ने आफूहरू बाध्य हुने चेतावनी पनि दिए ।

आम नागरिक समाज वीरगंजकाे तर्फबाट बाेल्दै उनले नारायणी अस्पतालकाे भवन निर्माणकाे काम सुरु नहुन्जेल सम्म हाम्राे आन्दाेलन जारी उद्घाेष गरे ।

वीरगंज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताए । उनले भने, “अस्पताल निर्माण हाम्रो लागि मात्र नभई हाम्रो आउने पुस्ताको लागि हो, हाम्रो बालबच्चाको लागि हो । त्यसैले तपाईँहरूको यो लडाईमा तपाईँहरूसँग छु ।”

त्यस्तै, नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले वीरगंज तथा आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले तत्परता देखाउनुपर्ने बताए । उनले भने, “अस्पताल निर्माण रोकिएको पाँच वर्ष बितिसक्यो, यो अन्याय हो । हामी यो विषयमा बेवास्ता गर्न सक्दैनौँ । अझै पनि यस मुद्दाको निर्क्योल निस्किएन भने हामी आमरण अनसन गर्नेछौँ ।”

र्‍यालीमा सहभागीहरूले अस्पताल निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने, अदालतले मुद्दाको छिनोफानो चाँडो गर्नुपर्ने तथा सरकारको चासो बढाउनुपर्ने माग राख्दै नाराबाजी समेत गरेका थिए ।

र्‍यालीमा नेकपा एकीकृत समाजवादीका नेता मनाेज चाैधरी, नेकपा माओवादी केन्द्रका बाबुराम काैशिक, नेवि संघका रमेश यादव लगायत विभिन्न नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

यसअघि माघ १८ गते नारायणी अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरूले पनि अस्पतालको भवन सम्बन्धी मुद्दा अदालतबाट छिट्टै छिनोफानो लगाउन माग गर्दै सडकमा उत्रिएर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका थिए भने शुक्रबार जनमत पार्टीले पनि केही बेरका लागि घण्टाघर अगाडि चक्का जाम गरेर अस्पतालको विषय अवाज उठाउँदै नाराबाजी गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...