Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 333

टि-१० क्रिकेट लिगको उपाधी डाक्टरलाई, महानगर बन्याे उपविजेता

वीरगंज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगिताको उपाधी नेपाल मेडिकल एसोसिएसन पर्साले उचालेको छ ।

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत बुधबार भएको फाइनल खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगंज महानगरपालिकालाई बल आउटमा १-० अन्तरले हराएको हो । वीरगंजको आदर्शनगर खेल मैदानमा भएको खेलमा ८३ रनको लक्ष्य पाएको वीरगंज महानगरपालिकाले १० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो ।

दुई टिमको खेल बराबरीमा पुगेपछि बल आउटको माध्यमले नतिजा निकालिएको नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ८२ रन बनाएको थियो । टि-१० क्रिकेट लिग प्रतियोगिताका विजेता नेपाल मेडिकल एसोसिएसन पर्सालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

यस्तै उपविजेता बनेको वीरगंज महानगरपालिकालाई नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक शरण कुमार अधिकारीले शिल्ड र प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रतियोगिता भरीका बेस्ट ब्याटसम्यानमा नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. दिपेश झा , बेस्ट बलरमा डा. रुपेन्द्र मिश्रा र बेस्ट फिल्डरमा नेपाल पत्रकार महासंघ पर्साका खेलाडी सदाम हुसेन चुनिए । उनीहरूलाई कार्यक्रममा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदिप तम्राकर र वीरगंज महानगरपालिका २० का वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

यसअघि बुधबार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगंज बैंकर्स ग्रुपलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । भने मंगलबार आयोजक नेपाल राष्ट्र बैंकलाई हराएर वीरगंज महानगरपालिका फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक, नेपाल पत्रकार महासंघ पर्सा, वीरगंज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगंज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगंज सहभागी भएका थिए ।

एएचटीयू एसएसबीद्वारा मितेरीपुलबाट १३ वर्षीया बालिकाकाे उद्दार, ३ जना पक्राउ

वीरगंज । एएचटीयू एसएसबीले नेपाल भारतकाे सिमामा रहेकाे मितेरीपुलबाट १३ वर्षीया बालिकालाई उद्दार गरेकाे छ । साथै ति बालिकालाई प्रलाेभनमा पारेर अपहरण गरेका ३ जनालाई पक्राउ समेत गरेकाे छ ।

मानव बेचबिखन नियन्त्रण इकाई क्षेत्र मुख्यालय बेतियाह कार्यालय ४७ औं कोर सशस्त्र सीमा बाल रक्सौलले बालिकालाई उद्दार गर्नुकाे साथै भारत विहार वैशालीका राजीव रोशन, राकेश रोशन र दिलीप कुमारलाई पक्राउ गरेकाे हाे ।

तीनै जनाले भारतकाे तमिलनाडुबाट एक नाबालिग भारतीय युवतीलाई नेपाल लैजाने गरेको सूचनाकाे आधारमा इन्स्पेक्टर मनोज कुमार शर्माकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले पक्राउ गर्न सफल भएकाे हाे ।

इन्सपेक्टर शर्माका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ तीन जना र एक नाबालिग बालिका हिँडेको देखेपछि उनीहरुलाई तत्काल राेकेकाे थियो ।

शंकाका आधारमा तीन जना र बालिकालाई सोधपुछ र परामर्श गर्दा १३ वर्षीया बालिकालाई बिहारको वैशाली जिल्लाको इलाकाबाट प्रलोभनमा पारेर लगिएको खुलासा भएको थियो । सोधपुछका क्रममा पहिले युवतीलाई विवाहको बहानामा तमिलनाडु लगिएको र त्यसपछि युवतीलाई दिल्ली लगिएको पनि खुलेकाे छ । त्यसपछि किशाेरीलाई नेपाल लैजाने क्रममा पक्राउ परेका हुन् ।

१३ वर्षीया बालिकालाई तमिलनाडु, दिल्ली र त्यसपछि नेपाल लग्न खाेजिएकाे बारे थप अनुसन्धान भइरहेकाे इन्सपेक्टर शर्माले वताए । उनले भने “युवतीको परिवारलाई फोनमा सम्पर्क गर्दा यसबारेमा कुनै जानकारी थिएन । बालिकाका अभिभावकले छोरीलाई नेपाल जान नदिन आग्रह गरे । त्यसपछि आफुहरु राेकेर अनुसन्धान थालेका थिए ।”

इन्स्पेक्टर शर्मा नेतृत्वकाे टाेलीमा इन्स्पेक्टर शिवनाथ मिश्र (विद्रोही बलिया निवासी), हवलदार अरविन्द द्विवेदी, हवल्दार पम्मी मिश्रा, हवल्दार अन्नामनी, हवलदार ओमप्रकाश जाट, प्रयास किशोरका अभिषेक लगायतका खटिएका थिए ।

रामनवमीकाे अवसरमा कुस्ती प्रतियाेगिता, पूर्व मन्त्री रिजालद्वारा उदघाटन

वीरगंज । रामनवमीकाे अवसरमा बुधबार पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ चिलझपट्टीमा मेला लागेकाे छ । मेलामा आयाेजित कुस्ती प्रतियाेगिताकाे उदघाटन पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य (सांसद) रमेश रिजालले गरेका हुन् ।

 सखुवनिया माईको मन्दिर नजिकै भएकाे कुस्ती प्रतियाेगितामा नेपाल र भारतका प्रसिद्ध पहलवानहरु भाग लिएका थिए । प्रतियाेगिताका विजेताहरुलाई नगद पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

मेला आयोजक समितीका अध्यक्ष सन्तोश कुशवाहाको अध्यक्षतामा भएकाे कुस्ती प्रतियाेगितामा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्ष बिहारी महतो नुनिया, नेपाली कुशावाहा, नेपाली कांग्रेसका नेता रामदेव चौहान, प्रेम थापा, विनय द्विवेदी लगायतकाे उपस्थिति रहेको थियो ।

यसैगरी रामनवमी कै अवसरमा कालिकामाई गाउँपालिकाकाे वडा नं. ३ हरिहरपुरस्थित कालिकामाई मन्दिर, छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बन्जारीस्थित छिपहरमाई मन्दिर लगायतकाे ठाउँमा पनि मेला लागेकाे थियाे ।

टि-१० क्रिकेट लिग : पत्रकार महासंघ विजयी

वीरगंज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगंजलाई हराएको छ ।

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगंजलाई १६ रनले हराएको हो । वीरगंजकाे आदर्शनगर खेल मैदानमा भएको खेलमा ७८ रनको लक्ष्य पाएको एनवाईएफ वीरगंजले १० ओभरमा ९ विकेटको क्षतिमा ६१ रन मात्र बनाएपछि नेपाल पत्रकार महासंघ पर्साले जित निकालेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । बुधबार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगंज बैंकर्स ग्रुपलाई हराएको छ ।  

खेलमा ७८ रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले १० ओभरमा ८ विकेटको क्षतिमा ६७ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले १० रनले जितेको हो । यो जित संगै नेपाल मेडिकल एसोसिएसन पर्साले फाइनलमा प्रवेश गरेको नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक, नेपाल पत्रकार महासंघ पर्सा, वीरगन्ज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगंज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगंज सहभागी भएका थिए ।

निशाकाे मृत्यु संकास्पद, प्रहरीले आराेपितलाई पक्राउ गरी अनुसन्धान नगरेकाे गुनासाे

पर्सा । श्रीमानकाे कुटपिटका कारण आफ्नाे छाेरीकाे मृत्यु भएकाे पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ सखुवा जमुनियाका हिरालाल साहले आराेप लगाएका छन् ।

उनले आफ्नाे कान्छि छाेरी २४ बर्षिय निशा भन्ने बसन्ती कुमारीलाई उनका श्रीमान बहुदरमाई नगरपालिकाकाे वडा नं. ३ नगरदाहाका २५ बर्षिय ईनरजित साह गाेढ र इन्द्रजितका बाजे ६० बर्षिय मंसि साहले गरेकाे कुटपिटका कारण मृत्यु भएकाे भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

उजरी दिएकाे तीन दिन वितिसक्दा पनि प्रहरीले आराेपितलाई पक्राउ गरी कारवाही पक्रिया अघि नबढाएकाे उनले गुनासाे गरेका छन् । 

३ महिनाको गर्भवती निशाकाे ज्यान जान सक्ने गरी नियतपुर्वक लात र मुक्का समेतले छोरीको पेटमा प्रहार गर्दा लागेको चोटपिडाको कारण नयाँ बर्षकाे दिन मृत्यु भएको पिडित परिवाजनकाे आराेप छ । आफुहरु घटना भएकै दिन प्रहरीमा उजरी दिएपनि आराेपतिलाई प्रहरीले पक्राउ नगरी अनुसन्धान नगरेकाे मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले गुनासाे गरेकाे हाे ।  

विहेको चार बर्षपनि नबित्दै नीशाको उनका पति र उनका परिवारका सदस्यले मिलेर नयाँ बर्ष कै दिन निर्घात कुटपिट गरी हत्या गरेको पत्रकार सम्मेलनमा नीशाकी आमा चन्द्रावती देवीले आरोप लगाइन् । उनले भनिन्,‘ विहे भएको १ बर्ष यतादेखि नै ज्वाँई र उनका परिवारले नीशालाई कुटपिट गर्दै यातना दिदैं आएका थिए । ज्वाँई अर्कै केटीसंग सल्किएको थियो । त्यहिभएर छुटकारा पाउन शनिबार मेरी छोरीलाई उनिहरुले कुटी कुटी मारिदिए।’

आमा चन्द्रावतीका अनुसार, नीशा तीन महिनाको गर्भवती थिइन् । स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन नीशाले आफना पति मुन्नालाई भन्दा पैसा छैन भन्ने बहाना बनाएर उल्टै यतना दिएको दुखेसो गत शनिबार बिहान ७ बजेतिर फोन गरेर आमा चन्द्रावतीलाई सुनाएकी थिइन् ।

निशाकाे बैशाख १ गते नै उपचारकाे लागि वीरगंज लग्ने क्रममा बाटाेमा मृत्यु भएकाे थियाे । मृतककाे पाेष्टमार्टम साेही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । पाेष्टमार्टम रिपाेर्ट आएपछि मात्र घटना बारे केही भन्न सकिने उनले वताए ।

मृतकका श्रीमान् आराेपित इन्द्रजितले अचानक पेट दुखेर बेहाेस भएकी निशालाई उपचारकाे लागि अस्पताल लग्ने क्रममा मृत्यु भएकाे वताए । आफुले वा आफ्नाे परिवारकाे काेई पनि सदस्यले निशालाई कुटपिट नगरेकाे इन्द्रजितकाे भनाई छ । 

टि-१० क्रिकेट लिगमा डाक्टर र बैंकर्स ग्रुप विजयी

 वीरगंज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगितामा  नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई फराकिलो रन अन्तरले हराएको छ ।

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गतको मंगलबार भएको तेस्रो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई ६१ रनले हराएको हो । वीरगंजकाे आदर्शनगर खेल मैदानमा भएको खेलमा १०७ रनको लक्ष्य पाएको पत्रकारले ९ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले ६१ रनले जितेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ८ विकेटको क्षतीमा १०६ रन बनाएको थियो । अहिलेसम्म जिल्लामा भएको विभिन्न प्रतियोगितामा जित्दै इतिहास राखेको नेपाल पत्रकार महासंघ पर्साले नेपाल मेडिकल एसोसिएसन पर्सासंग पहिलो पटक हार ब्योहोर्नु परेको हो ।

खेलको म्यान अफ दि म्याच नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. नदिम हुसेन घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंहले शिल्ड प्रदान गरेका थिए ।

यसैगरी, टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मंगलबार भएकाे दाेस्राे खेलमा वीरगंज बैंकर्स ग्रुपले आयोजक नेपाल राष्ट्र बैंकलाई हराएको छ । नेपाल राष्ट्र बैंकलाई वीरगंज बैंकर्स ग्रुपले ९ विकेटले हराएको हो ।

वीरगंजकाे आदर्शनगर खेल मैदानमा भएको खेलमा ८० रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले ८ ओभरमा एक विकेटको क्षतीमा लक्ष्य पूरा गरेपछी नेपाल राष्ट्र बैंक ९ विकेटले पराजित हुन पुगेको हो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको आयोजक नेपाल राष्ट्र बैंकले निर्धारित १० ओभरमा ६ विकेटको क्षतीमा ७९ रन बनाएको थियो ।

नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टि – १० क्रिकेट लिग प्रतियोगिता बैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए । प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक, नेपाल पत्रकार महासंघ पर्सा, वीरगंज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगंज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगंज सहभागी भएको उनले बताए ।

सशस्त्र प्रहरीद्वारा १३ लाख बराबरको भन्सार छलिका सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी पर्साले रु १३ लाख २० हजार २३५ मूल्य बराबरको भन्सार छलिका सामानहरु बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी पर्साले आइतबार र साेमबार पर्सा जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेका विभिन्न किसिमका सामान तथा सो ढुवानिमा प्रयोग गरिएका सवारी साधन बरामद गरेकाे हाे ।

बरामद सामान तथा सवारी साधन साेमबार विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएकाे छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले साेमबार विरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार मेनगेट वरपरको ईलाकाबाट रु. ७ लाख ४० हजार ९५५ मुल्य बराबरको किराना सामान, मोटर पर्टस र लत्ता कपडाको साथै कपडा ढुवानिमा प्रयोग गरिएको रु दुई लाख मुल्य बराबरको बि.म.न.पा. १ ह २-००२२ नम्बरको अटो बरामद गरेकाे थियाे ।

साथै सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलिले आइतबार रु २ लाख मुल्य बराबरको ना.६३ प ६५१५ नम्बरको मोटर साइकल र उक्त मोटर साइकलमा ल्याउदै गरेको मुल्य रु १२ हजार बराबरको पंखा बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. २ बहुअर्वाभाठाबाट बरामद गरेको थियाे ।

आइतबार नै सुरक्षा बेश क्याम्प बेलवाबाट खटिएको गस्ति टोलिले रु. एक लाख ६७ हजार २८० मुल्य बराबरको कपडाहरु विरगंज महानगरपालिकाकाे वडा नं. ३२ टेडा रोडबाट बरामद गरेकाे थियाे । उक्त बरामद सबै सामानहरु र सवारी सधान साेमबार विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

बिन्दबासिनीमा १६ जना नयाँ शिक्षकको पदस्थापन

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकामा १६ जना शिक्षक पदस्थापन भएका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा पर्सा जिल्लाबाट नाम निकालेर सिफारिस भएका नवप्रवेशी शिक्षकशिक्षिकाहरुलाई सोमवार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो ।

बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले १६ जना शिक्षकशिक्षिकालाई खादा र टीका लगाई पदस्थापन पत्र प्रदान गरेका हुन् । साथै उनले दत्तचित्त भएर शिक्षण पेशामा समर्पित भई पालिकाको शैक्षिक विकासमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

पालिकामा शैक्षिक जनशक्ति अभाव खट्किएको अवस्थामा नियुक्त भएर आएका शिक्षकशिक्षिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने अध्यक्ष तिवारीको विश्वास छ ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने लगायतको उपस्थिती रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मधवलका प्रधानाध्यापक मुकलेश राउत गद्दीले जानकारी दिए ।

टि-१० क्रिकेट लिग : उदघाटन खेलमा वीरगंज महानगर विजयी

वीरगंज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा वीरगंजमा सोमबारबाट टि – १० क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा टि – १० क्रिकेट लिग प्रतियोगिता सुरु भएको हो ।

वीरगंजको आदर्शनगर खेल मैदानमा सुरु भएको उदघाटन खेलमा वीरगंज महानगरपालिका कार्यालयले एनवाईएफ वीरगंजलाई १२ रनले हराएको हो ।  ८९ रनको लक्ष्य पाएको एनवाईएफ वीरगंजले १० ओभरमा ४ विकेटको क्षतिमा ७६ रन मात्र बनाएपछि वीरगंज महानगरपालिकाले १२ रनले जितेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको वीरगंज महानगरपालिकाले १० ओभरमा ६ विकेटको क्षतीमा ८८ रन बनाएको थियो । साेमबारकाे खेलको म्यान अफ दि म्याच वीरगंज महानगरपालिकाका खेलाडी वडा सदस्य दिपेन्द्र राउत घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंह र सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदीप तम्राकरले पुरस्कार वितरण गरेका थिए ।

टि – १० क्रिकेट लिग प्रतियोगिताको उदघाटन नेपाल राष्ट्र बैंक लिमिटेड वीरगंज कार्यालयका निर्देशक सरण कुमार अधिकारीले गरेका थिए । मंगलबारकाे पहिलो खेलमा वीरगंज बैंकर्स ग्रुप र नेपाल राष्ट्र बैंक भिड्ने नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

यस्तै भोलि नै हुने दोस्रो खेलमा नेपाल पत्रकार महासंघ पर्सा र नेपाल मेडिकल एसोसिएसन पर्सा भिड्ने सहायक निर्देशक सरार्फले बताए । बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक, नेपाल पत्रकार महासंघ पर्सा, वीरगंज बैंकर्स ग्रुप, नेपाल मेडिकल एसोसिएसन पर्सा, वीरगंज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगंज सहभागी हुने उनले बताए ।

वीरगंज २१ काे नवनिर्मित वडा कार्यालयको उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ मा नवनिर्मित वडा कार्यालयको उद्घाटन भएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) समेत रहेका यादवले सोमबार एक कार्यक्रमका बिच नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । 

भवनको उद्घाटन गर्दै सांसद यादवले आफ्नै भवन निर्माणसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे । आफ्नै भवन भएपछि हाल पुरानो पूर्वाधार रहितको साँघुरो भवनबाट सञ्चालित वडा कार्यालयबाट सेवाग्राहीले भोगिरहेको सास्तीको पनि अन्त्य हुने उनले बताए । 

जनतासँग प्रत्यक्ष रूपमा काम गर्ने सरकार भनेकै स्थानीय तह भएको बताउँदै उनले भने, ‘गुणस्तरीय र जनअपेक्षाअनुसार सेवा प्रदान गर्न कार्यालयको ठूलो भूमिका हुन्छ । भवन बन्नु पूर्व रहेको वडा कार्यालयमा कुनै पनि सुविधा थिएन । सेवाग्राहीका लागि राम्रोसँग बस्ने ठाउँको समेत व्यवस्था थिएन । नयाँ भवन बनेसँगै यस्ता खाले सबै समस्याको समाधान हुने मेरो विश्वास छ ।’

त्यस्तै उनले महानगरपालिकामा पर्ने प्रत्येक वडाको आफ्नै छुट्टै भवन हुनुपर्ने बताए । बाँकी रहेका वडाहरूमा पनि पर्याप्त सुविधासहितको वडा कार्यालय भवन बनाउनका लागि आवश्यक बजेट व्यवस्था गर्न आफूले पहल गर्ने बताए ।

पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले एक फरक प्रसङ्गमा बोल्दै सङ्घ सरकारले वीरगंज महानगरलाई हेपेको आरोप लगाए । ‘मधेस प्रदेशको एक मात्र महानगर वीरगंज हो । तर सङ्घ सरकारले वीरगंजका लागि पठाएको बजेट पर्याप्त हुँदैन । पूर्वाधार निर्माणको आवश्यकता रहेको वीरगंजलाई ठूलो अनुदान दिनुपर्नेमा बढी राजश्व उठ्ने काठमाडौँलाई धेरै अनुदान दिने सरकारको नीति गलत छ,’ उनले भने । वीरगंजकाे विकासका लागि विशेष प्याकेज ल्याउन आफू लागिपरेको उनले सुनाए ।

कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण साह रौनियारले वडा कार्यालयको भवन निर्माण भएपछि आफ्नो सपना पूरा भएको बताए । यसअघि सञ्चालित वडा कार्यालयबाट आफूले अपेक्षित काम गर्न नसकेको बताउँदै उनले भने, ‘नयाँ भवनमा अब नयाँ सोच, ऊर्जा र शक्तिका साथ काम गर्ने छौँ ।’ परवानीपुरलाई महानगर कै नमुना वडा बनाउने अभियानका साथ आफू अघि बढेको सुनाउँदै उनले थपे, ‘यसका लागि महानगरको नेतृत्व र प्रदेश तथा सङ्घ सरकारबाट हामीले ठूलो सहयोगको अपेक्षा गरेका छौँ ।’ 

महानगरको नगर स्तरीय १ करोड ७ लाख रुपैयाँ बजेटमा बनेको वडा कार्यालय भवन निर्माणको ठेक्का दिव्य सूर्योदय आस्था जेभी वीरगंजले पाएको थियो । २०८० जेठ २९ गते शिलान्यास भएको दुई तल्ले वडा कार्यालय भवनमा १२ कोठा रहेको वडा कार्यालयका सुरज यादवले जानकारी दिए ।