Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 313

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाएका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ तर मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६७ सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको हो । बैठकमा १०१ जना सांसद उपस्थित थिए ।

मधेस प्रदेशसभामा एमालेका सभामुख बाहेक २४, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९, जसपाका १९, माओवादीका ९ र नेकपा एकीकृत समाजवादीका  ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । 

लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

करेन्ट लागेर वीरगंज कारागारका कैदीबन्दीको मृत्यु

वीरगंज । करेन्ट लागेर वीरगंज कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ११ श्रीपुर निवासी ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हाे ।

शनिबार विहान करेन्टर लागेर घाइते भएका नुनियाकाे वीरगंजस्थि नरायणी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक भारतीले वताए । 

वीरगंज कारागारमा ०७५ सालदेखि जेलजीवन बिताउँदै आएका उनी कारागारको मेसमा काम गर्ने समयमा करेन्ट लागेर घाइते भएका थिए । प्रहरीका अनुसार जवरजस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर घाइते भएका थिए ।

मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

इप्रका पाेखरियाकाे क्षेत्रबाट तस्करीकाे लाइन खुल्ला

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरियाले आर्थिक नजराना बुझी तस्करीको लाइन खोलेको छ । भर्खरै केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पोखरियाका कार्यभार सम्हालेका प्रहरी निरीक्षक राजन ढकालले तस्करीको लाइन खुल्ला गरेका हुन् ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने प्रसौनी भाठ्ठा, धोरे, जानकी टोला, आस्वारी लगायतको नाकाबाट अहिले व्यापक तस्करी भइरहेको छ । राति मात्रै नभई दिन दहाडै तस्करहरुले तस्करीको सामान भारतबाट नेपाल भित्र्याई रहेका छन् । मोटरसाइकलमा तस्करीका सामान लोड गरि सीमा क्षेत्रमा खटेका इलाका प्रहरी कार्यालय पोखरियाका टोलीलाई आर्थिक नजराना बुझाई तस्करी गर्ने गरेको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

तस्करहरुले किरानाका सामान, हार्डवेयर, कुखुराको चल्ला, कपडा लगायतका सामानहरु तस्करी गर्ने गरेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर ढकालको मातहतका प्रहरी टोलीले सीमा क्षेत्रमा तस्करहरुसँग रकम असुली तस्करी गराई रहेको स्थानीयहरुको आरोप छ ।

इन्स्पेक्टर ढकालले घुमुवा प्रहरी मार्फत तस्करहरुसँग सेटिङ्ग गरेर तस्करीको लाइन खोलेको श्रोतले बताएको छ । नेपाल भारतको मुख्य नाका वीरगंज भन्सारमा तस्करीको लाइन बन्द भएपछि अहिले ग्रामीण भेगबाट तस्करीको लाइन खुलेको छ ।

वीरगंज क्षेत्रका तस्करहरु अहिले ग्रामीण भेगलाई निशाना बनाएका छन् । उनीहरु अहिले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक ढकाललाई मात्रै महिनावारी नजराना बुझाएर सहज तरिकाले तस्करीको सामान नेपाल भित्रयाई रहेका छन् ।

अहिले ग्रामीण क्षेत्रका किराना पसलहरुमा तस्करीको सामान छ्यापछ्याप्ती देख्न सकिन्छ । खास गरेर ग्रामीण क्षेत्रका पसलहरुमा नेपालमा उत्पादित खाद्यान्न सामाग्री भन्दा पनि भारतबाट आयातित खाद्यान्न सामाग्री बढि देख्न पाइन्छ ।

प्रहरी अहिले शान्ति सुरक्षा दिनुभन्दा पनि कसरी बढि भन्दा बढि तस्करबाट पैसा असुल्न सकिन्छ भन्ने मनसायमा तल्लिन भएको देखिन्छ । इन्स्पेक्टर ढकाल ‘ऐनी हाउ, पैसा कमाउ’ भन्ने मनसायले समाजमा शान्ति सुरक्षा दिनुभन्दा पनि सीमा क्षेत्रमा तस्करहरुबाट पैसा असुल्न प्रहरी खटाएको भन्ने त्यहाँ हुने तस्करीबाट सहजै अनुमान लगाउन सकिन्छ । दिउसाे कै समय मै खुल्याम तस्करी भइरहेकाे भिडियाे समेत कालिका टाईम्सलाई प्राप्त भएकाे छ ।

पाेखरियाकाे ८ औं नगर सभाबाट रु ४७ करोड १२ लाखकाे बजेट पारित

पाेखरिया । पर्साको पोखरिया नगरपालिकाको आठौ नगर सभा शुक्रबार सम्पन्न भएकाे छ । नगरपालिकाकाे कार्यालयमा पाेखरियामा भएकाे नगर सभाकाे बन्द सत्रले रु ४७ करोड़ १२ लाख ९३ हजार रूपैयाको बजेट सर्व सहमतीले पारित गरेकाे पोखरिया नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार आय तर्फ नगरपालिकाकाे वित्तिय समानीकारण अनुदान रु ११ करोड़ १ लाख २ हजार, सर्शत अनुदान चालू तर्फ रु २० करोड ४५ लाख ९९ हजार ३, सशर्त अनुदान पूजीगत तर्फ रु १ करोड़ ४ लाख, सम्पूरक अनुदान र १४ करोड़ ५ हजार रहेकाे छ । यस बर्ष नगरपालिकाकाे विशेष अनुदान प्राप्त भएकाे छैन ।

 त्यसैगरी राजस्व बाडफाड तर्फ रु ९ करोड़ २ लाख ७ हजार, बीतीय समानीकरण प्रदेश सरकारबाट रु ७८ लाख ९४ हजार ८ सय रहेकाे छ । प्रदेश सरकारकाे सशर्त अनुदान चालु तर्फ प्राप्त भएकाे छैन । प्रदेश सरकारबाट सर्शत पूजिगत अनुदान रु ९५ लाख १० हजार, सम्पूरक अनुदान पूजीगत तर्फ रु २० लाख ११ हजार, विशेष अनुदान चालु रु ३० लाख १२ हजार रहेकाे छ ।

त्यसैगरी प्रदेश सरकार राजस्व बाडफाड रु ५० लाख १३ हजार, मालपोतबाट प्राप्त राजस्व स्थानीय स्तर प्राप्त हुने रु १ करोड १४ लाख, आन्तरिक स्रोत स्थानीय स्तरबाट प्राप्त हुने रु ५० लाख गरि जम्मा रु ४७ करोड़ १२ लाख ९३ हजार रूपैयाको बजेट पारित भएकाे नगरपालिकाले जनाएकाे छ ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएकाे नगर सभाकाे बन्द सत्रमा वडाध्यक्षहरु प्रमोद गिरी, केदार महतो चाई, रामप्रबेश प्रसाद चौहान, लक्षमण साह कानू , सीयानंद प्रसाद चौहान, प्रमानन्द प्रसाद कुर्मी, किशोरी साह, नौशाद आलम, सोनालाल साह गोड, कार्यपालिका सदस्य अजय कुमार कलवार, राधा साह, रामबचन महतो, सुगन्धि देनी पटेल, चुनी देनी, सिमा देवी पटेल, सलीमा खातून, तेतरी देबी, अन्य नगर सभा सदस्यहरु, लेखापाल मनदीप महतो, नगरपालिकाको विभिन्न शाखाका प्रमुख र कर्मचारीहरु उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण नगरपालिकाका कर्मचारी नरेन्द्र साहले गरेका थिए ।

वीरगंज २० मा एक दिनकाे लागि सुधा बनिन् वडाध्यक्ष

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २० हरपतगंजका वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई एकदिने मानार्थ वडाध्यक्ष बनाएका छन । सोही वडामा रहेको श्री निरन्जन साह कलवार आधारभूत विद्यालय हरपतगंजमा अध्ययनरत छात्रा सुधा कुमारीलाई वडाअध्यक्ष सिंहले मानार्थ वडाअध्यक्ष बनाएका हुन ।

मानार्थ वडाअध्यक्ष बनेकी सुधाले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी र हरपतगंज स्वास्थ्य चौकी अनुगमन तथा निरीक्षण गरेकी थिईन् । मनार्थ वडाध्यक्षसुधालाई उनी अध्ययनरत विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा पनि फुलको माला लगाएर स्वागत गरिएको थियो ।

उनले पहिलो पटक मानार्थ वडाध्यक्ष बनेपछि माला लगाउँदा खुशीको सिमा नरहेको सुनाएकी थिईन् । साथै वडाध्यक्ष बनेपछि विद्यालयमा पुगेर विद्यार्थीहरुलाई खाजा वा खाना खाइसकेपछि झोला बाहिर नफाल्ने, त्यसलाई डस्बिन मै राख्नु पर्ने सुझाव दिएकी थिईन् ।

वडाध्यक्ष परागका अनुसार विद्यार्थीहरुको मनोबल बढाउन राजनितिक र समाजिक र चेतना पनि बढाउन मानार्थ वडाध्यक्ष बनाएका थिए । उनले वीरगंज महानगरपालिकामा रहेको ३२ वटा वडामा मध्ये पहिलो मानार्थ वडाध्यक्ष बनाउने पहिलो जनप्रतिनिधि पनि हुन । विद्यार्थी जिवनकालको राजनितिक आन्दोलन र परिवर्तनले राजनितिमा आएका वडाध्यक्ष परागले आफ्नो समयमा यस्तो अवस्था नरहेको सुनाएका थिए ।

जिवनमा शिक्षा संगै समाजिक र राजनितिक चेतना आवश्यक रहेकाले अहिलेदेखि नै विद्यार्थीहरुलाई यसप्रति लगनशील बढाउन थालेको परागले बताए । जिल्लामा पहिलो पटक मानार्थ वडाध्यक्षको रुपमा छात्रा नै बनेको वडाध्यक्ष सिंहले बताए ।

जिल्ला प्रशासनमा अधिकृत खतिवडाकाे मनाेपरी, सेवाग्राहीलाई सास्ती

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा प्रशासकिय अधिकृत कृष्ण प्रसाद खतिवडाकाे मनाेपरी देखिएकाे छ । अधिकृत खतिवडाले गलत मन्सायले नागरिक्ता बनाउन प्रशासन कार्यालय आउने सेवाग्राहीलाई दु:ख दिइरहेकाे तथ्य फेला परेकाे छ । 

वीरगंज महानगरपालिकाकाे वडा नं.–८ निवासी मेनुका खड्का आफ्नो नयाँ नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा केही दिनदेखि धाइरहेकी छन् । सबै कागजात पुग्दा पनि नागरिकता दिन अधिकृत खतिवडा आलटाल गरिरहेको उनको आरोप छ ।

सबै प्रक्रिया र कागजात पुग्दा पनि अधिकृत खतिवडा कुनै न कुनै बाहाना खोजेर सेवाग्राहीलाई दिक्दार पारेका छन् । सेवाग्राही दिक्क भएको मौका छोपेर कार्यालयमा सक्रिय भएका ‘हाकिमका दलालहरु’ सेवाग्रहीहरुसँग काम छिटो गराइदिने भन्दै पैसाको बार्गेनिङ गर्ने गरेको उनको आरोप छ ।

‘एक जना आएर मलाई भने यसरी नागरिकता बनाउन गाह्रो छ । केही पैसा खर्च गर्नुस् एकछिनमै नागरिकता बन्छ ।’, उनले भनिन्, ‘सरकारले हामीलाई यो एक थान नागरिकता बाहेका के नै दिएको छ र, अनि यो नागरिकता बनाउन पनि दलालमार्फत घुस दिनुपर्ने ।’

अहिले जिल्ला प्रशासन कार्यालय, पर्सामा नयाँ नागरिकता लिन दैनिक सयौँ युवाको भीड लाग्ने गरेको छ । वैदेशिक रोजगारीमा जान वा विभिन्न प्रायोजनका लागि नागरिकता लिन पुगेका युवाहरु त्यहाँको भीड र ढिलासुस्ती देखेर ‘सरकारको काम अहिले जाला घाम’ भन्ने उखानको अर्थ बुझिरहेका छन् ।

बुधबारदेखि नै नागरिकता बनाउन हैरानी खेपिरहेकी खड्का जस्तै त्यहाँ पुगेका अधिकांश युवाहरुको प्रश्न कागजात हुँदा पनि हाकिमले नागरिकता दिन किन ढिलाई गरिरहेका छन् भन्ने छ । खड्काको नागरिकता बनाउन सुरुमा उत्तम कुमार घिमिरेले निर्देशन दिदा पनि उनी बुवा र आमाकाे अभिलेख मगाउन भन्दै बनाएनन् । अभिलेख आएपछि पनि अर्का सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले निर्देशन दिँदा पनि प्रशासकीय अधिकृत खतिवडा बिहीबार पनि उनकाे नागरिक्ता बनाइदिएनन् ।

कार्यालय समय सकिनु अघि नै कार्यकक्ष छोडेर ‘टाप’ कसे । नागरिकता प्रिन्ट हुँदा पनि हस्ताक्षर नगरि अधिकृत खतिवडा कार्यालयबाट निस्केका कारण दाेस्राे दिन सांझ सम्म पनि सेवाग्राहीले नागरिकता पाउन सकिन । जिल्ला प्रशासन कार्यालयकाे नागरिक वडापत्रमा आवश्यक कागजत पुगेकै दिन नागरिक पाउने लेखेपनि दुई दिन सम्पुर्ण कागजात पुग्दा पनि सेवाग्राहीले नागरिकता पाउन सकेका छैनन् ।

अधिकृत खतिवडाकाे बारेमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल कहाँ गुनासाे गर्दा उनी यस अघि पनि उनकाे बारेमा गुनासाे आएकाे वताउँदै आफु पुन: बाेलाएर साेधपुछ गर्ने वताए । उनले अब पनि नसुध्रिए कारवाही गर्ने आश्वासन दिए ।

ट्राफिक प्रहरी ड्युटी भन्दा पनि असुली धन्दामा सक्रिय भएपछि वीरगंज अस्तव्यस्त

वीरगंज । मधेश प्रदेशको एकमात्र महानगर ‘वीरगंज महानरपालिका‘ जिल्ला प्रहरी, जिल्ला प्रशासनदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय यही तर वीरगंज बजारमा ट्राफिक प्रहरीलाई दियो बालेर खोज्नुपर्छ । बजारमा छिटफुट रुपमा एक दुई स्थानमा ट्राफिक प्रहरी खटेतापनि इमान्दारितापूर्वक ड्युटी नगरेको कारण वीरगंज बजारको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बन्दै गएको छ ।

वीरगंज महानगरपालिकाको घण्टाघर चोक, माइस्थान चोक, आदर्शनगर चोक, अलखियामठ चोक लगायत अति व्यवस्थत स्थानहरुमा ट्राफिक प्रहरीहरु खटाइएको छ तर त्यहाँ रहेको विटमा कुनैपनि बेला ट्राफिक प्रहरी देखिदैन । तिनीहरु ड्युटी भन्दा पनि कसरी समय विताउन सकिन्छ, भन्ने मनसायका साथ ट्राफिक जाम हुने स्थानलाई छाडी त्यस छेउछाउका पसलहरुमा बसेर गफ गर्ने गरेको कारण दिनुहँ स्थानीयहरु ट्राफिक जामको समस्या खेप्न बाध्य छन् ।

ट्राफिक प्रहरी कहिलेपनि इमान्दारिताका साथ ड्युटी गरेको पाइँदैन । जहिले पनि ट्राफिक प्रहरी बिट खाली नै हुन्छ । त्यस छेउछाउको पसल लगायतका ठाउँमा खडा भइ गफ गरेर समय मात्रै विताउने गरेको प्रत्यक्षदर्शीहरुले वताएका छन् । सडक दिनभरि अस्त व्यस्त हुन्छ, जथाभावी पार्किङ्ग गरिएको हुन्छ, जथाभावी सडक काट्ने, बीच सडकमै ठुला सवारीसाधन पार्किङ्ग गरेर पसलमा सामान किन्न जाने कार्य हुन्छ तर ट्राफिक प्रहरी त्यहाँ हुँदैन, अन्यत्र छेउछाउमा बसेर गफ गरि रहेका हुन्छन्, जसले गर्दा ट्राफिक जाम भएपछि सर्वसाधारणलाई आवत जावतमा सास्ती खेप्नुपरेको उनीहरुको गुनासो छ ।

तराईमा चर्को गर्मीले ड्युटी गर्न समस्या हुने बताउने ट्राफिक प्रहरीको सक्रियता रकम असुली हुने ठाउँमा बढि देखिन्छ । ट्राफिक प्रहरीले महानगरको ट्राफिक व्यवस्थापन गर्नुभन्दा पनि छड्के चेकजाँच एवं यातायात कार्यालयको ट्रायल सेन्टरमा बढि सक्रियता रहेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार त्यती मात्रै नभई नेपाल भारत सीमा क्षेत्र वीरगंज भन्सार, ड्राइपोर्ट क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता बढि देखिने गरेको छ । त्यस क्षेत्रमा अवैध असुली बढि हुने गरेको कारण ट्राफिक प्रहरीको ध्यान त्यही क्षेत्रहरुमा केन्द्रित हने गरेको उनीहरुको भनाई छ ।

त्यती मात्रै हाइन, महानगरमा असुली गर्नको लागि छड्के चेकजाँच पनि व्यापक हुन्छ । त्यो नामको लागि मात्रै चेकजाँच हो, त्यो असुली गर्ने काम मात्रै रहेको स्थानीयहरुको भनाई छ । छड्के चेकजाँचको नाममा जहाँ मन लाग्यो त्यहाँ चेकजाँच शुरु गरिदिन्छ, केही असुली हुन्छ अनि जान्छ । त्यस्तै वीरगंजको पावरहाउस चोक, सिर्सिया ड्राइपोर्टदेखि परवानीपुरसम्म खटेका ट्राफिक प्रहरी असुली मात्रै गर्छन् । केही वर्षदेखि ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी भन्दा पनि राजस्व असुलीलाई बढाउने मनसायले पनि छडके चेकजाँचलाई तिब्रता दिएको पाइन्छ ।

भारतबाट एकिकृत जाँच चौकी हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा नेपाली मालबाहक ट्रकहरुसँग ड्राइपोर्ट चोकदेखि पावरहाउस चोक, गण्डक चोक हुँदै परवानीपुर चोकम्म खटेका ट्राफिक प्रहरी वैद्य तथा अवैद्य दुबै तरिकाले असुली गर्ने गरेको छ । नेपाल मालबाहक ट्रक तथा कन्टेनरबाट ओभरलोड गरेवापत न्यून्तम रकमको रसिद काटेर देखाउने तर अवैध रुपमा भित्रिन दिनका लाग साँठगाँठ गरि मासिक रुपमा ट्राफिक प्रहरीले रकम बुझ्ने गरेको बताइएको छ ।

भारतबाट आईसिपि हुँदै नेपाल प्रवेश गर्ने ओभरलोड ट्रक, कन्टेनर, जीप, ट्याक्टर लगायतका मालबाहक गाडीबाट प्रवेश शुल्कको नाममा वीरगंजका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले १ देखि २ सय रुपैया तथा ओभरलोड भनेर ५ सय रुपैया अवैध रुपमा असुल्ने गरेका छन् । यहाँ मात्रै होइन, जिल्लाको ग्रामीण क्षेत्रमा खटेका ट्राफिक प्रहरीहरु पनि अवैध रकम असुली गर्ने गरेका छन् ।

यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले यहाँको नागरिक सचेत नभएसम्म ट्राफिक जामको समस्या समाधान नहुने बताए । ट्राफिक प्रहरीले वीरगंज बजारमा इमान्दारितापुर्वक ड्युटी गर्ने गरेको दाबी गर्दै ट्राफिक प्रहरीले एक्लै गरेर यो समस्याको समाधान सम्भव नरहेको उनको भनाई छ । जथाभावी पार्किङ्ग गर्नेलाई स्थानीयहरुले पनि विरोध गर्नुपर्ने उनको भनाई छ ।

सधैं सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति नहुन पनि सक्छ, आफ्नो व्यापारिक प्रतिष्ठान अगाडि जथाभावी पार्किङ्ग गर्नेलाई व्यापारीहरुले पनि विरोध गर्नुपर्ने बताए । अर्कोतर्फ कुनै पनि स्थानमा अव्यवस्थित तरिकाले कसैले पार्किङ्ग गर्छ भने जोसुकै सर्वसाधारणले विरोध गर्नुपर्ने उनको भनाई छ । आफ्नो कारण अन्यलाई समस्या हुनु हुँदैन भन्ने सोच यहाँका नागरिकमा विकास हुनुपर्ने बताए ।

४० लाखको गाडी चढ्ने प्रतिष्ठित व्यक्तिहरुलाई गाडी कहाँ पार्किङ्ग गर्ने भन्ने सोच नै छैन, कसैले जानी जानी सडकमै पार्किङ्ग गर्ने गरेका छन्, त्यस्तालाई ठीक पार्न स्थानीय जागरुक हुनुपर्ने उनको भनाई छ । 

बहुदरमाईकाे बलात्कार घटनाकाे आराेपित विरुद्ध मुद्दा दर्ता

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा भएकाे १३ बर्षिया बालिकालाई बलात्कार घटनाकाे आराेपित विरुद्ध प्रहरीले बुधबार मुद्दा दर्ता गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाई नगरपालिका वडा नं. ०६ गम्हरीयाका २२ बर्षिय बिशाल साह तुराहा विरुद्ध जबरजस्ती करणी विरुद्ध मुद्दा दर्ता गरेकाे पिडित पक्षले जनाएका छन् ।

असार ०७ गते राति ८ बजेको समयम आराेपितले बालिकालाई बलात्कार गरेकाे भन्दै पिडित पक्षले उजरी दिएका हुन् । पिडितकाे असार १९ गते वीरगंजस्थित नारायणी अस्पतालमा मेडिकल गरिएकाे छ ।

आराेपित तुराहालाई प्रहरीले असार ८ गते नै नियन्त्रणमा लिएपनि असार १८ गते मात्र मुद्दा दर्ता गरेकाे पिडित पक्षले जनाएका छन् । त्यस अघि प्रहरीले उजरी नै लिन मानेका थिएनन् । घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले वताए ।

उनले सुरुमा फाेनमा घटना बारे कालिका टाईम्सका सम्पादकलाई वताउन मानेन । प्रवक्ता भारतीले घटना बारे सूचना पाउन जिल्ला प्रहरी कार्यालयमा सम्पादकलाई बाेलाएका थिए । जिल्ला प्रहरी कार्यालय पुग्दा घटना बारे अनुसन्धान भइरहेकाे उनले वताए । मुद्दा दर्ता भयाे कि भएन ? भयाे भने कहिले भयाे ? पिडितकाे मेडिकल कहिले भयाे ? भनेर साेध्दा त्याे अनुसन्धान पक्रिया भएकाे जवाफ दिए । 

पिडितले सुरुमा उजरी लिएर जाँदा प्रहरीले दु:ख दिएकाे वताएका छन् । “महिला सेलको प्रहरीले पिडितसंग हप्काएर कुरा गरेकाे र मेडिकल नगराई नै पठाएकाे पिडित पक्षकाे भनाई छ । पिडित पक्षले ३ जनाले बलात्कार गरेकाे उजरी दिएपनि प्रहरी पछि उजरी सच्याएर एक जना विरुद्धकाे दर्ता गरेकाे हाे ।

प्रहरीले घटना भएकाे भाेली पल्ट नै विशाल सहित दुई आरोपितलाई समातेर अनुसंधान गरेकाे थियाे । प्रहरी स्राेतका अनुसार उनीहरु विरुद्ध अभ्रद व्यहारको मुदा दर्ता गरिएको थियाे ।  

अन्धविश्वासका कारण परिवारबाटै दुई जनाकाे हत्या, भतिजाेसहित ३ जना पक्राउ

वीरगंज । आफ्नै काकाकाे हत्या आराेपमा पर्सा प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ५ निवासी ३३ बर्षिय लक्ष्मण कुमार प्रजापति सहित ३ जनालाई पक्राउ गरेकाे छ ।

२३ दिन अघि पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.१ बिसुनपूर्वा टोलस्थित ओरिया खोलाको किनारमा बारा कै कलैया उपमहानगरपालिकाकाे वडा नं.५ पर्साटोल निवासी ५५ बर्षिय रामएकवाल पण्डित कुम्हार र बारा कै आदर्शकोतवाल गाउँपालिका वडा नं.५ निवासी ३४ बर्षिय सुरेश ठाकुरकाे शव गाडिएकाे अवस्थामा फेला परेकाे थियाे । बरामद भएकाे शवहरुकाे पाेस्टमार्टम साेही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएकाे थियाे ।

नेपाल भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र (सिमा पिलर ५/४५१ नं.) उत्तर पूर्वतर्फ रहेकाे खाली जग्गामा गाडिएको अवस्थामा फेला परेकाे दुर्घन्धित दुई वटा शवकाे मृत्युकाे कारण बारे प्रहरी अनुसन्धान गर्दै जाँदा आफन्तबाटै हत्या भएकाे खुलेकाे हाे ।

पक्राउ पर्नेमा लक्ष्मण सहित मृतक रामएकवालका ज्वाई जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी ३२ बर्षिय सन्तोष प्रसाद कुम्हार र साेही ठाउँ निवासी ४५ बर्षिय महादेव महतो नुनिया रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कुमोध ढुंगेलले वताए । उनका अनुसार पक्राउ परेका मध्येका लक्ष्मण मृतक रामएकबालका भतिजाे हुन् । 

पक्राउ परेका तीन जनासहितको समुहले यही २९ जेठमा रामएकबाल र उनको साथी आदर्शकोतवाल घर भइ कलैयाँ बस्दै आएका सुरेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी ढुंगेलले जानकारी दिए । मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडेकाे खुलेकाे उनले वताए ।

अनुसन्धानको क्रममा प्राविधिक बिशलेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारीक रिसईवी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको एसपी ढुंगेलले वताए ।

मृतकहरुलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा बोलाएर दुबै जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको देखिन्छ ।

यी दुबै जनाले केही व्यक्तिलाई सुपाडी दिएर मार्न लगाएको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरी प्रमुख ढुंगेलकाे भनाई छ ।

प्रहरीका अनुसार ८ लाखको सुपाडीमा दुबै जनाको हत्या भएको छ । त्यसमध्ये ४ लाख लक्ष्मणले र ४ लाख संतोषले पैसा दिएको प्रहरीले बतायो । घटनास्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकारसहित तीनै जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य संलग्न संकित व्यक्तिहरुको पहिचान भईसकेको र निजहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

नेशनल लघुवित्तकाे १० औं बार्षिकाेत्सवमा विभिन्न कार्यक्रम सम्पन्न

वीरगंज । नेशनल लघुवित्त बित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलानचोकले आफनो कार्यकालको १० औ बर्ष पुरा गरी ११ बर्षमा प्रवेश गरेको छ ।

बार्षिकाेत्सवकाे अवसरमा नेशनल लघुवित्त बित्तिय संस्था लिमिटेड अनुगमन कार्यालय बर्दिबास महोतरी अन्तर्गतका शाखाहरुले बिभिन ठाउमा बितिय साक्षरता तथा खाद्यान, फलफुल र शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम गरेको बर्दिबास अनुगमन कार्यालयका अनुगमन अधिकृत बालिष्टर यादवले जानकारी दिए ।

उनका अनुसार वितिय साक्षरता कार्यक्रम संचालन गौशाला महोतरी शाखाका शाखा प्रमुख रामसुन्दर यादवको समुहले आफनो कार्य क्षेत्र भित्र पर्ने श्री राष्ट्रिय जनता निमन माध्यमिक बिद्यालयका बिधार्थीहरुलाई दिइएको र गोडैता सर्लाही शाखाका शाखा प्रमुख उपेन्द्र यादवको समुहले आफ्नो कार्य क्षेत्र भित्र बलरा नगरपािलकाकाे वडा नं. -२ मा पर्ने श्री आधारभूत बिद्यालय हथिऔलमा आफनो सदस्यहरुलाई बितिय साक्षरता कार्यक्रम गरेको छ ।

शाखा कार्यालय बिन्धि धनुषाका शाखा प्रमुख पंकज कुमार यादवको समुहले आफनो कार्य क्षेत्र भित्र रहेको मानव सेवा आश्रमका बृद्ध वृद्धाहरुलाई फलफुल वितरण गरेको तथा गौरीबास महोतरी शाखाका शाखा प्रमुख जामुन प्रसाद यादवको समुहले आफनो कार्य क्षेत्र भित्र पर्ने आशाको परिवार भने संस्था जसले कुष्ठ रोगका असहायहरुलाई वृद्धा आश्रममा राखेर तथा गरिब, बिपन्न परिवारका कुष्ठ रोग लागेका व्यक्तिको छोरी बच्चालाई छात्राबासमा राखेर पढाई लेखाई र हेरचाह गरिरहेको छ, यी संस्थामा रहेका कुष्ठ रोगका बृद्धहरु तथा छात्राहरु लाई खाधान तथा शैक्षिक सामग्री बितरण गरेको अनुगमन अधिकृत यादवले जानकारी दिए ।

संस्थाले १० बर्षमा आफनो कार्यक्रमलाई उल्लेख्य रुपमा बृद्धि गरी १८४ वटा शाखा मार्फत देशको ७४ जिल्लाका २ लाख २७ हजार महिला तथा पुरुष सदस्यहरुलाई सेवा दिइरहेको छ ।

कार्यक्रम संचालन गर्दै गर्दा संस्थाले २१ अर्ब कर्जा गरिब तथा बिपन्न परिवारमा धितो र बिना धितो लगानी गर्नुका साथै ति सदस्यहरुबाट ६ अर्ब बचत संकलन गरी सुरक्षित साथ कर्जा, बचत, बिमा तथा विप्रेषण सहित सामाजिक कार्यक्रममा भाग लिने तथा सहयोग गर्ने कार्य निरन्तर रुपमा गरिरहेको छ ।

साथै नेशनल लघुवित्त बित्तिय संस्था लिमिटेड एघारौ बर्षमा प्रवेश गर्दै गर्दा समस्त सेवाग्राही, शेयरधनि, नियमनकारी निकाय तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा अझ सबल र उत्कृस्ट रुपमा प्रस्तुत हुने प्रतिबद्धता अनुगमन अधिकृत यादवले जनाएका छन् ।