Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 312

पर्सामा बाख्रा चराउन गएकी बालिकाकाे नदीमा डुबेर मृत्यु

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी स्थानिय आलिम राउत गद्दीकाे १० बर्षिया छोरी साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएकाे हाे ।

शुक्रबार दिउसो २ बजेको समयमा बाख्रा चराउन गएकी बालिकाकाे गाउँकाे पश्चिमपट्टी रहेको धुतहा नदीमा डुबेर मृत्यु भएको प्रहरी चौकी प्रसाैनी भाट्ठाले जनाएको छ । नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले उद्धार गरी उपचारका लागी वीरगंजस्थित नारायणी अस्पालमा पठाएका थिए ।

उपचारको क्रममा नारायणी अस्पताल मै बालिकाकाे मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले खातुनको शव परिक्षणकाे लागि नारायणी अस्पताल मै राखिएको मृतकका दाई ईब्राहिम राउत गदीले जानकारी दिए ।

पहिराेले बगाएकाे बसमा सवार सखुवा प्रसाैनीका दुई कर्मचारी सहित ५ जना वेपता

वीरगंज । वीरगंजबाट काठमाडाैं जाँदै गरेकाे बस नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाउँदा पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाका ५ जना वेपता भएका छन् । शुक्रबार विहान पहिराेले बगाएकाे एञ्जल बसमा सवार २४ जना मध्ये सखुवा प्रसाैनी गाउँपालिकाका दुई कर्मचारी र ३ जना स्थानिय रहेका छन् । 

पहिराेले बगाएकाे बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकरी दिए । उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका रेडियो ग्राफर श्रृष्टि यादव, ल्याब असिस्टेण्ट रैफुल अन्सारी र वडा नम्बर २ जमुनियाका एकै परिवारका तीन जना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।

उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर यादव कलैया उपमहानगरपालिका वडा नं‍. ६ निवासी हुन् भने ल्याब असिस्टेण्ट अन्सारी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवाना निवासी हुन् ।

घटना बारे जानकारी लिन गाउँपालिका अध्यक्ष यादव सहितको टोली घटनास्थल पुगेकाे छ । चितवन भरतपुर म.न.पा. २९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल स्थित घटना स्थलमा गाउँपालिका अध्यक्ष यादव सहित, प्रमुख प्रशासकिय अधिकृत राजेश राैनिया, लेखा शाखा प्रमुख सुमन साह, समाजिक विकाश शाखा प्रमुख विनाेद यादव, इन्जिनियर रामबाबु पटेल लगायतकाे टाेली पुगेकाे हाे ।

पहिरोले बगाएकाे बस र वेपता यात्रुहरुकाे खाेजी कार्य अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितकाे सुरक्षाकर्मीहरू लगायत स्थानीय बासिन्दाहरू खाेजि कार्यमा जुटेका छन् ।

संकटमा मधेस सरकार, कांग्रेस नेतृत्वमा सरकार बनाउन कसरत

काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।

मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यसलगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो ।

कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको थियो । तर, विश्वासको मत लिएपछि मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको असन्तुष्टि जनाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागी भएका छैनन् ।

जनमत पार्टीलाई सहमति अनुसार विश्वास गरेर विश्वासको मत दिएपनि धोखाधडी गरी विश्वासको वातावरण कायम राख्न नसकेको आरोप कांग्रेस र लोसपा सांसदहरूको छ ।

सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी अघि बढाइसकेको छ । सो तयारी स्वरूप आज बिहान जसपा नेपाल, एमाले र लोसपाको संसदीय दलसँग छुट्टाछुट्टै रूपमा छलफल समेत गरेका छन् ।

स्रोतकाअनुसार छलफलमा जसपा, एमाले र लोसपाले कांग्रेस नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्न सुझाव दिएको छ ।

मन्त्रालय बाँडफाँडमा जनमत केन्द्रिय नेतृत्वको प्रदेशमा हस्तक्षेपका कारण सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्ण यादवले बताए ।

कांग्रेस स्रोतकाअनुसार विश्वासको मत लिनुअघि एमालेको मन्त्रालय यथावत् रहने गरी माओवादी र नेकपा एकीकृत समाजवादीले सम्हाल्दै आएको अर्थ मन्त्रालय, उर्जा, सिंचाई तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारीसहितका ४ मन्त्रलाय र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने आन्तरिक सहमति भएको थियो ।

विश्वासको मतपछि मन्त्रालय बाँडफाँडका लागि शनिवार बेलुकादेखि आइतबार बेलुकासम्म पटक पटक बैठक बस्यो । कांग्रेसले आफूले पाउने मन्त्रालयमा अडानमा रह्यो भने लोसपाले दुईवटा मन्त्रालय पाउने अडानमा राखेका थियो ।

आइतबार दिनभरको समर्थनपछि साँझ मन्त्रालय बाँडफाँडको कांग्रेससँग सहमति भई लिखित सम्झौता भइरहेको क्रममा मुख्यमन्त्री सिंहले अर्थमन्त्रालय आफूले नै राख्ने माथिबाट निर्देशन आएको भनेपछि सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता यादवले बताए ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थालेको हो ? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासा उनले सबै दलले आफ्नै नेतृत्व स्वीकर गरिसकेको बताए । सहमतिअनुसार नभए नयाँ सरकारको पहल थाल्ने बताए । सभार : नेपालभ्युज

क्रिकेटर धाेनीकाे जन्मदिन वीरगंजमा पनि मनाइयाे

वीरगंज । भारतिय क्रिकेटर महेन्द्र सिंह धाेनीकाे ४३ औं जन्मदिन वीरगंजमा पनि मनाइएकाे छ । एमएस धाेनी फैन क्लबले आइतबार वीरगंजमा आकास्मिक रक्तदान कार्यक्रम र आमाकाे माया छात्राबासमा खेलकुद र स्टेशनरी सामग्री सहयाेग गरेर धाेनीकाे जन्मदिन मनाएकाे हाे ।

रक्तसंचार केन्द्र वीरगंजमा भएका आकस्मिक रक्तदान कार्यक्रममा क्लबका आकाश गुप्ता, सन्दिप गुप्ता, पंकज पटेल, समिर अन्सारी र विकी सर्राफले रक्तदान गरेका थिए ।

 यसैगरी क्लबले वीरगंजस्थित आमाको माया छात्राबासमा खेलकुद र स्टेशनरी सामग्री सहयाेग गरेकाे थियाे । धाेनीकाे जन्मदिनकाे अवसरमा छात्राबासमा कक्षा १० काे ५५ सेट किताब ४ थान, १० सेट किताब ५ थान, कपी ६ दर्जन, ब्याट एक थान, विकेट दुई थान लगायतका सामग्री सहयाेग गरिएकाे क्लबका अध्यक्ष विकी सर्राफले जानकारी दिए ।

साे अवसरमा मानव सेवा आश्रम वीरगंज दिवेश गुप्ता, एमएस धाेनी फ्यान क्लबका गाैरव अग्रवाल, आरएन गुप्ता, सुजित गुप्ता, प्रिन्स गुप्ता, समिर हुसेन, ओम झा, सुरज सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजमा दाेस्राे गहवामाईकाे रथ यात्रा भव्य रुपमा सम्पन्न

वीरगंज । वीरगंजमा आइतबार दोश्रो गहवामाई रथ यात्रा भब्य रुपमा सम्पन्न भएको छ । गहवमाईको नवनिर्मित मन्दिरको १२ औं बर्ष पूरा भएको अवसरमा निकालिएको रथ यात्रामा हजारौं भक्तजनहरुको सहभागीता थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक विशेष कार्यक्रममा गहवामाईको मन्दिर परिसरमा पूजा गरेर रथयात्राको शुभारम्भ गरेका थिए । 

मन्दिर परिसरबाट काठको रथमा २६ केजी चाँददीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर निस्किएको रथ यात्रा घण्टघार चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुँदै पुन: मन्दिर पसिरमा पुगेर समापन भएको थियो ।

विभिन्न झाँकी, पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट गरी ३ जिल्लाका हजारौं भत्तक्तजनहरुको सहभागीता रहेको रथयात्रा आयोजक समितिका अध्यक्ष श्याम पोखरेलले बताए । 

आइतबारको रथ यात्रामा सहभागीताका लागि वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरुमा सार्वजनिक विदा दिएको थियो । यस्तै वीरगंज महानगर क्षेत्रमा आइतबार र सोमबार गरी दुई दिनका लागि माछा, मासु र मदिराको बिक्री वितरण र सेवनमा महानगरपालिकाले रोक लगाएको छ ।

रथ यात्रामा सहभागी वीरगंज महानगरका मेयर राजेशमान सिंहले वीरगंजलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगंज महानगरपालिकाले थालेको अभियानलाई गहवामाई रथ यात्राको आायोजनाले टेवा पुर्याएको बताए । उनले गत बर्षदेखि नै वीरगंज महानगरपालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितिले रथ यात्रा निकाल्न सुरु गरेको र यसले हरेक बर्ष निरन्तरता पाउने पनि बताए ।

मन्दिरकाे बार्षिकाेत्सवकाे अवसरमा आइतबार सांझ गहवामाई मन्दिर प्राङगणमा भजनकिर्तनसहितको धार्मिक कार्यक्रम सम्पन्न भएकाे छ । यस्तै सोमबार मन्दिर प्राङगणमै भण्डारा (प्रसाद वितरण) आयोजना गरिने गरिएकाे आयाेजक समितिले जनाएकाे छ ।

वीरगंज महानगरले जित्यो आदर्शनगर रंगशाला अगाडीको जग्गाको मुद्धा

वीरगंज । वीरगंजको आदर्शनगर रंगशालाको अगाडीको सार्वजनिक जग्गाको विवादमा एक दशकपछि सर्वोच्चले वीरगंज महानगरको पक्षमा फैसला दिएको छ ।

उक्त सार्वजनिक जग्गा आफ्नो रहेको भन्दै जुगुनु राज्य लक्ष्मी शाहले जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालत हेटौँडाबाट समेत आफ्नो पक्षमा फैसला गराउन सफल भएको भए पनि सर्वोच्च अदालतले आइतबार महानगरको पक्षमा फैसला सुनाएको हो ।

जिल्ला र पुनरावेदन अदालतको फैसला चित्त नबुझेको भन्दै मुद्धा दोहोर्याई हेरी पाउँ भनि तत्कालिन वीरगंज उपमहानगरपालिका (हाल वीरगंज महानगरपालिका)ले २०६८ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सर्वोच्चले २०७१ असार २० गते मात्रै मुद्धा दोहोर्याई हेरी पाउने निस्सा दिएको थियो ।

त्यसपछि पटक पटक पेशी चढेर विभिन्न आदेश हुँदै आइतबार सर्वोच्च अदालतका न्यायाधिशद्वय डा. कुमार चुडाल र कुमार रेग्मीको संयुक्त इजलासले जिल्ला र पुनरावेदन अदालतको फैसला उल्टाउँदै उक्त जग्गा महानगरपालिकाको हुने फैसला दिएको हो । यो सँगै वर्षौदेखि देखिएको उक्त जग्गाको विवाद निरुपण भएको छ ।

सर्वोच्चमा आइतबार महानगरको पक्षबाट अधिवक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद साह, सुरेश पोखरेल, इश्वर बराल र धन बहादुर थापाले बहस गरेका थिए । जुगुनुको तर्फबाट भने पूर्व महान्यायाधिवक्ता समेत रहेका महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सुधिर कर्ण लगायत ८ जनाले बहस गरेका थिए ।

तत्कालिन छपकैया गाउँ पंचायत वडा नं. ७ हाल वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर रंगशाला अगाडीको कित्ता नं. ५७ को करोडौ मुल्य पर्ने ३ कट्ठा ९ धुर जग्गा अब महानगरको अधिनमा आएको छ ।

नगर विकास समितिले त्यसबेला अधिग्रहण गरेर लिएको उक्त जग्गा व्यक्ति विशेषले आफ्नो बनाउन लागि परेका थिए ।
सर्वोच्चको आदेशसँगै सार्वजनिक जग्गा व्यक्तिगत बनाउन खोज्नेहरुको प्रयास विफल भएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्दै खाली गराउने अभियानका साथै विभिन्न समयमा अदालतमा जाहेर भएका जग्गा सम्बन्धी मुद्धाहरुमा समेत प्रमाण संकलन गरेर महानगरले आफ्नो पक्षमा ल्याउने काम गरिरहेको उनले वताए ।

यस अघि जीपी फाउण्डेसनको नाममा अतिक्रमण गरेर कांग्रेस नेता समेत रहेका महम्मद साहबुद्धिनले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको आदर्शनगरकै १ कट्ठा जग्गा समेत आफ्नो पक्षमा ल्याउन महानगर सफल भएको थियो ।

समाजवादी प्रेस संगठनद्वारा लाेककल्याणकारी विज्ञापकाे भुक्तानी गर्न माग

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगंज महानगरपालिकाको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न माग गरेको छ ।

संगठनले आईतवार नगर प्रमुख राजेशमान सिंहसंग भेट गरि चालु आर्थिक बर्षकाे भुक्तानी हुने समय सक्न एक दिन मात्र बाकी रहदा पनि वीरगंजका संचारमाध्यकाे लाेककल्याणकारी विज्ञापन प्रकाशन गरे वापतकाे भुक्तानी नभएको जानकारी गराउँदै भुक्तानी गर्न माग गरेको हो ।

आर्थिक बर्ष २०८०/०८१ को लोककल्याणकारी विज्ञापनकाे तेस्रो र अन्तिम किस्ताको भुक्तानी अहिले सम्म भएको छैन । दुईटा किस्ता वापतको रकम भुक्तानी नहुँदा वीरगंजका संचारमाध्यहरु मर्कामा परेका छन् ।

नगर प्रमुख सिंहले भोलि सम्म बाकी रहेको सबै संचारमाध्यमको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न आश्वासन दिए । उनले भेटघाट कै क्रममा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई लाेककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न निर्देशन दिए ।

लाेककल्याणकारी विज्ञापनकाे भुक्तानी अहिले सम्म वाकी रहेकाे बारे आफुलाई जानकारी नभएकाे भन्दै प्रमुख सिंहले यथासिघ्र भुक्तानी गर्न लेखा शाखालाई निर्देशन दिएका हुन् ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको नेतृत्वमा गएको डेलिगेशन टोलिमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, पर्सा जिल्ला उपाध्यक्ष हरिशंकर शर्मा, कोषाध्यक्ष संताेष साह, सहसचिव श्याम सर्राफ, सदस्य प्रदिप साह, रामेश्वर चौरसिया लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

वीरगंजमा आइतबार दोस्रो रथयात्रा निस्कने

वीरगंज । वीरगंजकाे प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा भाेली (आईतबार) निकालिने भएको छ। वीरगंज महानगरको ऐतिहासिक धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको रथयात्रालाई आईतबार थप भव्य बनाउने तयारी भइरहेको समितिका अध्यक्ष श्याम पोखरेलले बताएका छन् ।

गहवामाई मन्दिरको रथयात्रा मन्दिरको प्रांगणबाट सुरु भएर घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान हुँदै पुनः श्री गहवामाईको प्रांगणमा आउनेछ । आयोजकहरूले जनाए अनुसार, भोली आईतबार २३ गते बिहान ६ बजे रथयात्रा निकालिने छ ।

यसैगरी, आईतबार बेलुका ६ बजे भजन किर्तन आयोजना गरिने छ र असार २४ गते बेलुका ५ बजे महा भंडारा प्रसाद ग्रहण कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन् । गत वर्षदेखि सुरु भएको रथयात्रालाई निरन्तरता दिँदै यस वर्ष थप व्यवस्थित र आकर्षक बनाइने छ ।

समारोहलाई सफल बनाउन र थप भव्य बनाउनका लागि स्थानीय बासिन्दा र श्रद्धालुहरूले उत्साहपूर्वक तयारी गरिरहेका छन् । रथयात्राले वीरगंज सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

शिक्षकका लागि २ दिने प्रसंशनीय खाेज सम्बन्धि तालिम सुरू

वीरगंज । वीरगंजमा शिक्षकहरूकाे लागि प्रसंशनीय खाेज सम्बन्धि तालिम सुरू भएकाे छ । युवालयकाे आयाेजनामा वीरगंज गेटवै हाेटलमा शनिवारदेखि दुई दिने तालिम सुरू भएकाे हाे ।

पर्सागढी नगरपालिकाका ८ वटा विद्यालयका १६ जना शिक्षकहरू तालिम सहभागि छन् । सहभागिहरूलाई शनिबार पहिलाे दिन मुनिलाल बैठाले प्रशिक्षण दिएका थिए । उनले विद्यालयमा शिक्षण गर्दा सकारात्मक साेच र उर्जाका साथ गर्नुपर्नेमा जाेड दिए । परिवर्तित तरिकाले व्यवहारिक रूपमा विद्यार्थीलाइ सिकाउनुपर्ने उनकाे सुझाव छ ।

शिक्षक विद्यार्थीकाे सबल पक्षलाई पहिचान गरेर पुनरताजगी गराउने अभिप्रायले तालिमकाे आयाेजना गरिएकाे युवालयका पर्सा प्रतिनिधि राहुल साहले बताए । उनका अनुसार तालिमले शिक्षकहरूलाई शिक्षण सिकाइका विविध तरिकाहरूकाे बारेमा सिकनमा सघाउ पुग्नेछ ।

साेही अवसरमा वीरगंजका नमुना विद्यालउ नृसिंह मा.वि. पिपराका प्रधानाध्यापक हरेन्द्र कुर्मीले अनुभव सुनाएका थिए । विद्यालयकाे व्यवस्थापन र शिक्षण सिकाइमा आफनाे विद्यालयले अंगालेका विधिकाे बारेमा पनि उनले जानकारी गराए ।

तालिममा विद्यालय सुधार याेजना तथा विद्यालयकाे वार्षिक तथा पञ्चवर्षिय याेजना बनाउने बारेमा पनि प्रशिक्षण दिइएकाे थियाे ।

रास्वपाकाे प्रथम पोखरिया नगर भेला सम्पन्न, पटेलकाे नेतृत्वमा कमिटी गठन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे प्रथम पोखरिया नगरपालिका स्तरिय भेला सम्पन्न भएको छ । भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्य कमिटी समेत गठन गरेकाे छ ।

पोखरिया पार्टी प्यालेसमा आयोजित भेलाले प्रदिप पटेलकाे सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरेकाे छ । नवगठित कमिटीकाे उपसभापतिमा बैजनाथ ठाकुर, सचिवमा खलिल मिया तेलि, कोषाध्यक्षमा प्रतिमा देबि धोबिन र सदस्यहरुमा विशेश्वर प्रसाद यादब, राम प्रबेश पटेल, सुरज कुर्मी, फुलमती देबि, जितेन्द्र पटेल, दिलिप कुमार रौनियार, बनु शाह गोड सर्वसहमत चयन भएका छन् ।

भेलालाई सम्बाेधन गर्दै रास्वपाका केन्द्रिय सदस्य डा नन्दन यादबले पार्टी सभापतिलाई विपक्षीहरुले निराधार आरोपहरु लगाएर अनावश्यक हिलो छ्याप्ने काम मात्र गरेको बताए । 

रास्वपा पर्साका संयाेजक हरि पन्तले पोखरियामा अब रास्वपाको स्थानीय सरकार बन्ने गरि अघि बढ्न नवगठित कमिटीका पदाधिकारीहरुलाई निर्देशन दिए । उनले अरु पार्टीहरुलाई पटक पटक हेरि सकेकोले अब स्थानीय स्तरमा रास्वपालाई नै जिताउन त्यहाँका स्थानियहरुलाइ आग्रह गरे ।

रास्वपा पर्साका संयाेजक पन्तको सभापतित्वमा सप्पन्न भेलामा निबर्तमान जिल्ला संयोजक दिलिप कुर्मी, उप संयोजक तुल्सा पौडेल, प्रदेश सदस्य सुदिस प्रजापती, सब्बु कणेल, क्षेत्रीय सभापतिहरु फैयाज मिया, जितेन्द्र मिश्र, यातायात बिभाग प्रमुख राम आर्य, शिक्षा बिभाग उप प्रमुख सोना लाल पटेल, वडा सभापती माइकल साप्कोटा, मुना साह, कासिम मिया लागायतको सहभागीता रहेकाे थियाे ।

रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको उक्त भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत मन्तव्य राखेका थिए ।