Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
Home Blog Page 299

भेडिहारीका माेहन चाैरसियाले ५० जनाकाे आँखाकाे अप्रेशन गराए

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीका ५० जनाकाे माेतिया बिन्दुका शल्यक्रिया (अप्रेशन) निशुल्क रुपमा सम्पन्न भएकाे छ ।

स्थानिय नेता माेहन प्रसाद चाैरसिया र उनकी श्रीमती वडा सदस्य ज्ञान्ती देवीले शनिबार आफ्ना गाउँका ५० जनाकाे माेतिया बिन्दु राेगकाे शल्यक्रिया गराएका हुन् । वीरगंज आँखा तथा दाँत अस्पतालमा सबै जना आँखाकाे शल्यक्रिया सफल भएकाे स्थानिय पृथ्वी चाैरसियाले जानकारी दिए ।  वीरगंज आँखा अस्पतालका डा. चन्दन बनर्जीले आँखाकाे शल्यक्रिया गरेका हुन् । 

उनका अनुसार दुबै जनाले आफ्नाे व्यतिगत लगानीमा गत बैशाख २९ गते आफ्नै गाउँ भेडिहारीमा निशुल्क आँखा शिविर आयाेजना गरेका थिए । साे शिविरमा स्थानिय ३ सय जनाले आ आफ्नाे आँखाकाे चेक जाँच गराएका थिए । जस मध्ये ७० जनामा माेतिया बिन्दु राेग फेला परेकाे थियाे । साेही मध्येका ५० जनाकाे शल्यक्रिया समेत सम्पन्न भएकाे हाे ।

लामाे समयमा देखी आँखाबाट राम्ररी देख्न नपाएकाहरुकाे आँखा बनेपछि खुशि भएकाे अर्का स्थानिय संजय साह कानुले वताए ।

चलचित्र पत्रकार संघ नेपाल, पर्साको पहिलो बैठक सम्पन्न

0

वीरगंज । चलचित्र पत्रकार संघ नेपाल, पर्सा शाखाको नयाँ कार्यसमितिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष सूर्यनारायण वि.क.को अध्यक्षतामा वीरगंज गेटवे होटलमा सम्पन्न बैठकमा संघको भावी योजना, कार्यक्रम तथा गतिविधिहरूको बारेमा छलफल गरिएको थियो ।

बैठकमा चलचित्र पत्रकारिताको सशक्तिकरण, सञ्चारमाध्यमबीच समन्वय, तथा चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यसहित विभिन्न कार्ययोजना प्रस्तुत गरिएको थियो ।

बैठकले संघको सबै कार्यसमितिका सदस्यहरूको परिचयपत्र बनाउने, संघको नाममा खाता सञ्चालन गर्ने, तथा पर्सा जिल्लाका १४ वटै स्थानीय तहहरूमा चलचित्रमार्फत पर्यटन प्रवद्र्धन तथा कला, भाषा र साहित्यको संरक्षण’ शीर्षकमा नीति तथा कार्यक्रम र बजेट विनियोजनका लागि पहल गर्न ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

त्यसैगरी, यही जेठ ६ गतेदेखि ९ गतेसम्म इलाममा हुने २६औं वार्षिकोत्सव, दोस्रो राष्ट्रिय भेला, सिनेमा संवाद तथा बृहत कार्यशालामा पर्सा शाखाबाट अध्यक्ष सूर्यनारायण वि.क., उपाध्यक्ष आनन्द पटेल र सचिव रन्जित यादवलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय पनि गरिएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष निलिमा पौडेलले संघलाई अझ सक्रिय बनाउँदै त्यसका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

अन्त्यमा, बैठकले पहिलो कार्यकालका अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुका साथै अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको सचिव रन्जित यादवले जानकारी दिए ।

पर्सा ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा

0

वीरगंज । पर्सा जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’को रूपमा घोषित भएको छ । शनिबार वीरगंजमा आयोजित विशेष कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले यो घोषणा गरेका हुन् ।

जिल्ला खोप समन्वय समिति पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा मन्त्री सिंहले पर्सा जिल्ला मधेस प्रदेशको आठ जिल्लामध्ये यस उपाधि पाउने पहिलो जिल्ला बनेको जानकारी दिए । कार्यक्रमका प्रमुख वक्ताहरूले खोप कार्यक्रमलाई स्थानीय तहबाटै बलियो बनाइदै अघि बढाइएकोमा खुशी व्यक्त गरे ।

पर्सा जिल्लाका १४ वटै पालिकामा जन्मेदेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेकाले यो घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

उनका अनुसार, जिल्लाभर रहेका ११२ वटा वडामा गरिएको गहन अनुगमनपछि खोप नपाएका वा अधुरो खोप लिएका १ हजार ५१८ बालबालिका र ७ जना ‘शुन्य डोज’ बालबालिकालाई पनि खोपको पहुँचमा ल्याइएको थियो । यसैका आधारमा पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा गर्न सकिएको ठाकुरले बताए ।

२०७८ साल जेठ ३ गते पर्सा जिल्ला ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा गरिएको थियो । त्यसपछिका वर्षहरूमा हरेक बालबालिकाको खोप अवस्था नियमित रूपमा मूल्यांकन गर्दै छुटेका बालबालिकालाई खोप सुनिश्चित गरिएको ठाकुरले जानकारी दिए ।

कार्यक्रममा जिल्लाका सबै पालिकामा रहेका उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रम जिल्ला खोप समन्वय समिति पर्साका अध्यक्ष एवम् जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, स्वास्थ्य मन्त्रालयका सचिव राकेश मिश्र, स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख प्रमोद झा, पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहान, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतको उपस्थिती रहेको थियो ।

वीरगंजमा मारवाडी प्रिमियर लिगको दोस्रो संस्करण शुरु

0

वीरगंज । वीरगंजको आदर्शनगर रंगशालामा शनिवारदेखि माडवारी प्रिमियर लिग (एमपीएल) क्रिकेटको दोस्रो संस्करण शुरु भएको छ । स्व. सुशील कुमार खेतानको स्मृतिमा युवाहरूको प्रतिभा उजागर गर्ने र खेलप्रति प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

अध्यक्ष खेतानकै अध्यक्षतामा भएको प्रतियोगिताको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बलिङ् र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ब्याटिङ गरेर उद्घाटन गरेका थिए । प्रतियोगिता दिन–रात (डे–नाइट) खेल प्रणालीमा सञ्चालन भइरहेको छ । अन्तिम दिन उत्कृष्ट टिम, खेलाडी तथा विशेष प्रदर्शन गर्ने प्रतिभाहरूलाई पुरस्कार र सम्मान प्रदान गरिने अध्यक्ष खेतानले बताए ।

पहिलो संस्करणमा ८ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको दोस्रो संस्करणमा १० वटा टिमले सहभागिता जनाएका छन् ।

उपेन्द्र यादव भन्छन्ः “उत्पीडन, विभेद र असमानताको अन्त्यका लागि हामी संयुक्त संघर्षमा उत्रिएका हौं“

0

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा देशभरका उत्पीडित समुदायलाई समेटेर खबरदारी सभा आयोजना गरेको छ । पार्टीको केन्द्रीय परिसंघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अन्य अल्पसंख्यक समुदायका नेतृत्व, संघ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने, “उत्पीडन, विभेद र असमानताको अन्त्य तथा नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको सुनिश्चितताका लागि हामी सबै उत्पीडित समुदाय एकजुट भएर संयुक्त संघर्षमा उत्रिएका छौं ।“

सभामा ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै यादवले सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा विद्यमान असमानता अन्त्य गर्न जसपा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले १३ पृष्ठ लामो दस्तावेज प्रस्तुत गर्दै भने, “अबको संघर्ष उत्पीडितको पहिचान, अधिकार र अस्तित्वका लागि हुनेछ ।”

अवधारणा पत्रमा राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याको आधारमा प्रतिनिधित्व, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, मानव अधिकार र सामाजिक न्याय सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

उपेन्द्र यादवले चेतावनी दिँदै भनेका छन्, “यदि उत्पीडित समुदायको आवाज राज्यले सुन्दैन भने संघर्षको रूप अझ कठोर बन्नेछ। हामी समान अधिकार र सम्मान नपाएसम्म चुप लाग्नेछैनौं ।”

उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ । कार्यक्रममा जसपा नेपालका सह–अध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष गोविन्द चौधरी, महासचिव लालबाबु राउत, कार्यकारिणी समिति सदस्य राजकुमार राई, परिसंघका केन्द्रीय अध्यक्ष चन्देश्वर पासवान, मधेश प्रदेका पूर्व मुख्यमन्त्री सरोज यादव लगायत पार्टीका शिर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

0

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव राजु प्रसाद साहकाे सरुवा भएकाे छ । जिल्ला समन्वय समिति कार्यालय बाराकाे समन्वय अधिकारीमा कार्यरत साहकाे बिहिबार पर्सागढी नगरपालिकामा सरुवा भएकाे हाे ।

यस अघि पर्सागढी नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा हरिकिशाेर प्रसाद चन्द्रबंशी कार्यरत थिए ।

यसगरी बहुदरमाई नगरपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी अजय प्रसाद श्रीवास्तवले पाएका छन् । केही समयदेखि प्रमुख प्रशासकिय अधिकृत विहिन रहेका बहुदरमाई नगरपालिकाकाे आर्थिक तथा प्रशासनिक जिम्मेवारी अधिकृत श्रीवास्तवले पाएका हुन् ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बहिबार बहुदरमाई नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारी अधिकृत साताै तहका श्रीवास्तवलाई नगरपालिकाका आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएको हाे ।

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

0

वीरगंज। नेपालको द्वन्द्वकालीन इतिहासमा यौन हिंसा पीडित महिलाहरूको आवाजलाई मूलधारको बहसमा ल्याउने उद्देश्यले तयार पारिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगरस्थित क्युएफएक्स सिनेमा

हलमा सामुदायिक संस्था सानो पाइला र चलचित्र पत्रकार संघ नेपाल, पर्साको संयुक्त संयोजनमा विशेष प्रदर्शनी सम्पन्न भएको हो ।

सुबिना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र देवी खड्काको जीवनकथामा आधारित छ । जो एक आमासँगै माओवादी युद्धमा होमिएकी एक पूर्व लडाकु, राजनीतिज्ञ तथा यौन हिंसा पीडित पनि हुन् । द्वन्द्वपछिको नेपालमा शक्तिशाली निकायहरूले यौन हिंसाका मुद्दाहरूलाई दबाउने प्रयास गरिरहेको अवस्थामा देवीले ती अनुभवहरू उजागर गर्दै न्यायको खोजीमा यात्रा सुरु गरेको भन्दै विशेष प्रदर्शनी पछि वक्ताहरुले सम्बोधनमा उनको आँटको सह्राना गरे ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य रहबर अंसारी, नारायणी अस्पताल अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की इञ्चार्ज हेमा थापा, महिला उद्यमी तथा समाजसेवी गुड्डी जोशी, महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदी, वीरगंज जेसीजका अध्यक्ष सरोज चौरसिया लगायतले वृत्तचित्रका बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रदर्शनीपछि प्रतिक्रिया दिँदै प्रदेशसभा सदस्य रहबर अंसारीले भने, “हरेक राजनीतिक आन्दोलनमा लुकेका लैंगिक हिंसाका कथा बहिर आउँदैनन् । ‘देवी’ ले ती अन्धकारमा रहेका पीडाहरूलाई उजागर गरेको छ । यस्तो वृत्तचित्रले समाजलाई सोच्न बाध्य बनाउँछ ।”

महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदीले वृत्तचित्रले आफैंभित्र लुकेको साहस देखाएको बताइन् । महिला उद्यमी गुड्डी जोशीले ‘देवी’ जस्ता कथाले समाजमा मौनताको चपेटामा परेका मुद्दाहरूलाई आवाज दिने कार्य गरेको भन्दै सत्यको सँधै जीत हुने जिकिर गरिन् ।

मधेश क्षेत्रमा समेत द्वन्द्वकालको असर परेको छ, तर यहाँका पीडितहरूको आवाज झनै ओझेलमा परेको छ । देवी’ देखाएर यो बहस मधेशसम्म ल्याउने प्रयत्न गरिएको हो।

चलचित्र पत्रकार संघ नेपाल, पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले भने, “पत्रकारिताजस्तै वृत्तचित्र पनि समाजको ऐना हो । ‘देवी’ले जुन साहसिक कथन ल्याएको छ, त्यो प्रशंसायोग्य छ । यस्ता वृत्तचित्रहरूले यथार्थको सामना गराउन प्रेरित गर्छन् ।”

वृत्तचित्र प्रदर्शनपछि सहभागीहरूले ‘देवी’ ले ल्याएको कथाले आफैंभित्रको पीडा, सामाजिको उदासीनता र न्यायप्रतिको लडाइँलाई स्पष्ट रूपमा उजागर गरेको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सामाजिक अभियन्ता प्रकाश थारु, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनिता साह लगायतको उल्लेखनीय उपस्थिति रहेको सामुदायिक संस्था सानो पाइलाका सञ्चालन प्रमुख विवेक कर्ण जानकारी दिए ।

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

0

वीरगंज ।  वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पर्सा जिल्लाको घडीर्वा पोखरीमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा २०८ जना बिरामीले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।

स्वास्थ्य शिविरको अध्यक्षता अस्पतालका निर्देशक डा. इसरत जहाँ अन्सारीले गर्नुभएको थियो। बिहान मर्निङ वक गर्न जाने नगरवासीलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न रोगहरूको पहिचान, स्वास्थ्य परीक्षण र परामर्श प्रदान गरिएको थियो।

शिविरमा अस्पतालका वरिष्ठ विशेषज्ञ डा. इमरान अली, डा. उदित यादव, डा. मो. राशिद कलाम (पिजी), र डा. विवेक भारतीले बिरामीको जाँच तथा परामर्श सेवा दिएका थिए। त्यसैगरी, नर्सिङ सेवामा बबिता श्रेष्ठ, प्रजिता फूयाल, समिक्षा रिताल र सांतिका कू. सिंहको टोली सक्रिय रूपमा खटिएको थियो।

कार्यक्रममा मेट्रोन विकास गुप्ता र प्रेस प्रतिनिधि आसिक अन्सारीको पनि उपस्थिति रहेको थियो। चिकित्सकहरूका अनुसार शिविरमा आएका अधिकांश बिरामीहरू उच्च रक्तचाप, मधुमेह, पेटका समस्या, श्वासप्रश्वासका कठिनाइ तथा सामान्य संक्रमणबाट पीडित रहेका थिए।

बिरामीहरूले शिविरमा सहज, गुणस्तरीय र नि:शुल्क सेवा पाएको अनुभव सुनाउँदै आयोजकप्रति आभार प्रकट गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमले गाउँघरमा स्वास्थ्य सचेतना फैलाउने र उपचारको पहुँच सहज बनाउने कार्यमा टेवा पु-याउने बताएका छन्।

स्वास्थ्य सेवा जनताको पहुँचसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यो शिविरलाई आगामी दिनहरूमा अन्य स्थानमा समेत विस्तार गरिने नेशनल मेडिकल कलेजका प्रतिनिधिहरूले जानकारी दिएका छन्। 

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

0

वीरगंज । वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएकाे छ । वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा, तथा जैनस्वेताम्बर तेरापन्थी सभा वीरगंजकाे सहयोगमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंज महानगरपालिका–१० स्थित जैन हलको प्राङ्गणमा भएकाे कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि. लोकराज भट्ट सहित अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षण जैन धर्मगुरुहरूको मार्गदर्शनमा तनाव व्यवस्थापनसम्बन्धी व्याख्यान तथा अभ्यास रहेको थियो । धर्मगुरुहरूले प्रहरीजस्तो जिम्मेवार पेशामा कार्यरत व्यक्तिहरूले भोग्ने दैनिक कार्यदबाब, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र ड्युटीको मानसिक दबाबलाई कसरी सकारात्मक ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे गहिरो मार्गदर्शन प्रदान गरे ।

कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले यस्तो मानसिक स्वास्थ्य केन्द्रित कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको अन्त्यमा आयोजक प्रहरी इकाइहरूले जैन समाजप्रति आभार प्रकट गर्दै, यस्ता कार्यक्रमहरूले प्रहरी संगठनभित्र दीर्घकालीन मानसिक सशक्तिकरण र मनोबल वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

0

वीरगंज । पर्सा जिल्लाको धोबीनी गाउँपालिका–५, सानो धोबीनीमा बुधबार दिउसाे भीषण आगलागी भएको छ । आगलागीमा परी स्थानिय धाेबी मियाँकाे घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

अगलागीमा एक घर पूर्ण रुपले जलेर नष्ट हुनुकाे साथै घरभित्र रहेका १२ वटा बाख्रा, १२ क्विन्टल धान लगायतकाे सामग्री पनि जलेकाे इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक ज्याेति प्रकाश कार्कीले जानकारी दिए ।

स्थानीयका अनुसार आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । यद्यपि, विद्युत सर्ट सर्किट वा चुलोबाट आगो सल्किएको हुन सक्ने आशंका गरिएको छ । आगोको तीव्रता यति धेरै थियो कि स्थानीय बासिन्दाले पानी र बाल्टीको सहायताले निभाउने प्रयास गरे पनि घरलाई बचाउन सकेनन् ।

आगलागीबाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । जलेको घरसँगै घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत दैनिक उपभोग्य वस्तुहरू पूर्ण रूपमा जलेका छन् ।