Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 298

प्रधानमन्त्री ओली र खानेपानी मन्त्री यादवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौँ । खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न खानेपानी मन्त्री प्रदीप यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

मन्त्री यादवका अनुसार, “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजनाहरू तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो ।

कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ: पहिलो सय दिन (२०८१ कात्तिक ६ सम्म), दोस्रो सय दिन (२०८१ माघ १७ सम्म) र आर्थिक वर्षको बाँकी अवधि। यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिहरूको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताए ।

पहिलो सय दिनको अवधिमा, मनसुनका कारण अवरुद्ध मेलम्ची खानेपानी आयोजनालाई पुनः सञ्चालनमा ल्याउने, न्यूरोड-ठमेल क्षेत्रमा थप ३० किलोमिटर पाइपलाइन विस्तार गर्ने, निर्माणाधीन कीर्तिपुर र महाँकालचौरका पानी पोखरीहरूको निर्माण सम्पन्न गर्ने, धोबीघाट फोहर पानी प्रशोधन केन्द्रलाई दैनिक ३ करोड ७० लाख लिटर क्षमता सहित सञ्चालन गर्ने कार्यहरू सम्पन्न गरिनेछन् ।

यसका साथै, भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता गरी आयोजनाको निर्माण कार्य सुरु गर्ने र जाइकाको अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनालाई पनि अगाडि बढाइनेछ ।

दोस्रो सय दिनमा काठमाडौँ उपत्यकाभित्र रहेका ढुङ्गे धारा, इनार, पोखरीहरू संरक्षण गर्ने, वर्षाको पानी सङ्कलन तथा पुनर्भरणका कार्यहरू सञ्चालन गर्ने योजना रहेको छ । यस चरणमा, नेपाल खानेपानी संस्थानबाट थप चार हजार घरधुरीमा खानेपानी प्रणाली सुधार तथा विस्तार गरिनेछ । सहरी खानेपानी आयोजनाअन्तर्गत ६ वटा आयोजनाहरूको समापन गरिनेछ ।

आर्थिक वर्षको बाँकी अवधिमा नगर क्षेत्रका थप चार हजार घरधुरीमा खानेपानी प्रणाली सुधार गरिनेछ । साथै, दमक र विदुर ढल आयोजनाहरूको निर्माण सम्पन्न गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका थप परम्परागत पानीका स्रोतहरूको संरक्षण, वर्षाको पानी सङ्कलन तथा पुनर्भरणको काम गरिनेछ । यसै गरी, सल्लाघारी, कोड्कु र धोबीघाट ढल प्रशोधन केन्द्रको डिजाइन र निर्माण कार्य अगाडि बढाइनेछ ।

मन्त्री यादवले खानेपानी मन्त्रालयका ठूला परियोजनाहरूले नेपाली जनताको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिने बताए । सम्झौता राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि सशक्त आधार रहेको बताउँदै उनले भने, “यो सम्झौता केवल कागजी प्रक्रियामा सीमित नरही जनताको जीवनमा सुधार ल्याउने गरी कार्यान्वयनमा ल्याइनेछ । खानेपानी पहुँच र गुणस्तरको क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान गर्नका लागि मन्त्रालय प्रतिबद्ध छ, र निर्धारित समयमा काम पूरा गरेर जनतालाई सेवा प्रवाहमा सहजता ल्याउनेछ ।”

सम्झौता अनुसार, तोकिएका कामहरू समयमा पूरा गर्न मन्त्रालयले नियमित अनुगमन गर्ने, जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने योजना र परियोजनाहरूको प्रगति समय-समयमा सार्वजनिक समेत गरिनेछ ।

वीरगंज महानगरका विद्यालयका शिक्षकहरुकाे तलब अब सोझै आफ्नै खातामा

वीरगंज । वीरगंज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा विद्यालयमा पठाएर तलब बुझ्दै आएका शिक्षकहरुले अबदेखि भने आफ्नै खातामा मासिक रुपमा तलब बुझ्ने भएका हुन् ।

महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल उपलब्ध गराउन आह्वान गरेको छ ।

सूचनामा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरुकै व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमबारभित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’

यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएकोमा अबदेखि भने सिधै सम्बन्धित शिक्षक कर्मचारीको खातामा तलब जाने व्यवस्था मिलाइएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरुले समयमै तलब बुझ्न नपाएको र उहाँहरुको दैनिकी पनि असहज भएको महसुस भयो,’ उनले भने, ‘त्यसैले अबदेखि भने उहाँहरुको खातामा सोझै महानगरले नै तलब भत्ता पठाउँदा केही हदसम्म सहज हुने अपेक्षा छ ।’
महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले शिक्षक कर्मचारीले उपलब्ध गराएको नबिल बैंकको खातामा तलब पठाइने जानकारी दिए ।

विगतमा विद्यालयको खातामा तलब निकासा हुँदा समयमै तलब लिन शिक्षकहरुलाई झन्झट हुने गरेकोमा अब भने महानगरले शिक्षकहरुको समस्या बुझेर सोझै खातामा तलब जाने व्यवस्था मिलाएको पनि उनले बताए ।

‘संचय कोष, नागरिक लगानी कोष र बीमा रकम भने विद्यालय मार्फत नै भुक्तानी गर्नु पर्ने भएकाले त्यो बाहेक शिक्षकहरुले खुद पाउने तलब भने अब सोझै शिक्षककै खातामा जाने व्यवस्था मिलाएका छौँ,’ उनले भने । महानगरमा रहेका ९१ वटै सामुदायिक विद्यालयमा यस्तो व्यवस्था लागू हुने पनि उनले जनाए ।

त्रिजुद्ध माद्यमिक विद्यालयका प्रधानाध्यापक नविन मिश्रले वीरगंज महानगरपालिकाले शिक्षकहरुको तलब मासिक रुपमा उनीहरुकै ब्यक्तिगत खातामा सोझै निकासा गर्ने व्यवस्था मिलाउनुलाई प्रसंसनीय भएको बताए । उनले यस अघि शिक्षकहरुलाई निकै सास्ती हुने गरेको भन्दै अब भने निजामति र सेना–प्रहरी सरह नै मासिक सोझै खातामा तलब पाउने सुन्दा उत्साहित बनेको सुनाउँछन् ।

शिक्षकको व्यक्तिगत खातामा मासिक रुपमा सोझै तलब जाँदा शिक्षकको जिवन सहज बनाउने भन्दै उनले वीरगंज महानगरपालिकाले शिक्षकहरुले उठाउँदै आएको माग र उनीहरुको समस्या सम्बोधन गरेर सार्वजनिक शिक्षा सुधारको काम गरेको पनि बताए ।

उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्न थप पानीका स्रोतहरू खोजी गर्न मन्त्रीकाे निर्देशन

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्नका लागि थप पानीका स्रोतहरू खोजी र परिचालन गर्न निर्देशन दिएका छन् । उनले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म उपत्यकाको पानीको समस्या समाधानका लागि तत्काल प्रभावकारी उपाय अपनाउन जरुरी भएको बताउँदै यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री यादवले तारकेश्वर नगरपालिका अन्तर्गतको अल्ले, बौडे र टोखा नगरपालिकामा रहेको भण्डारे मुहानको अनुगमन गर्दै यस्ता स्रोतहरूको संरक्षण, चुहावट रोकथाम, र सुधारलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले काठमाडौँ उपत्यकामा पानीको अपुग समस्या समाधान गर्न यस्ता मुहानहरूबाट थप पानी आपूर्ति गरिने जानकारी गराए ।

“हाल यी मुहानहरूबाट लगभग ६५ लाख लिटर पानी आपूर्ति भइरहेको छ, तर अल्ले, बौडे र भण्डारे मुहानसहित तारकेश्वरमा रहेका अन्य मुहानहरूलाई पूर्ण क्षमतामा परिचालन गर्दा दैनिक १ करोड २१ लाख लिटर पानी आपूर्ति गर्न सकिन्छ,” मन्त्री यादवले बताए । उनले मन्त्रालयका कर्मचारीहरूलाई तत्काल कार्य योजना बनाई काम अघि बढाउन निर्देशन पनि दिए ।

मन्त्री यादवले काठमाडौँका पानीका स्रोतहरू दीर्घकालीन रूपमा संरक्षण गर्ने मन्त्रालयको प्रमुख दायित्व रहेको बताए । उनले भने, “पानीका स्रोतहरूबाट निरन्तर रूपमा पानी चुहावट भइरहेको हुँदा त्यसको रोकथामका लागि अत्यावश्यक कदम चाल्नु पर्नेछ ।”

मन्त्री यादवले दीर्घकालीन समाधानका लागि मन्त्रालयले ठोस योजना अघि सारिरहेको स्पष्ट पार्दै भने, “खानेपानीको समस्या काठमाडौँ मात्र होइन, देशभरकै जनताले भोगिरहेका छन् । म यस विषयमा गम्भीर छु, र मन्त्रालयले दिगो समाधानका लागि योजनाबद्ध काम गरिरहेको छ ।”

अनुगमनका क्रममा स्थानीय समुदायसँगको छलफल गर्दै मन्त्री यादवले स्थानीय चुनौती र सम्भावनाहरूको विश्लेषण गर्नुका साथै समस्या समाधानका लागि सरकार दृढतापूर्वक क्रियाशील रहेको जानकारी गराए ।

उनले थपे, “हाम्रो प्रतिबद्धता र मेहनतको साथ, काठमाडौँ उपत्यकाका बासिन्दालाई गुणस्तरीय र सुरक्षित पानीको आपूर्ति सुनिश्चित गर्न हामी निरन्तर लागिपरेका छौँ ।”

अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, मन्त्री यादवका प्रमुख सल्लाहकार अवधेश कुमार दास, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेल लगायतका अन्य अधिकारी र स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पर्सा प्रहरीले झण्डै ४ कराेड बराबरकाे मालबाहक ट्रकहरू राअका बुझायाे

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले रु ३ करोड ९३ लाख ८८ हजार ६ यस ३१ बराबरको मालबस्तुहरू लोड रहेको ट्रकहरू पक्राउ गरि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएकाे छ ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार सांझ ८:४० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२५ लु १ ख ७५३२, ना ३ ख ५४९  नम्बरको मालबाहक ट्रकहरूलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए .

उनका अनुसार विल विजक भन्दा बढीका कम्प्युटरको माउस र व्हिस्की मदिरा लगायतका मालबस्तुहरू लोड गरी वीरगंजबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले उक्त मालबाहक ट्रकहरू नियन्त्रणमा लिएकाे थियाे ।

अन्दाजी मूल्य रु ३ करोड ९३ लाख ८८ हजार ६ सय ३१ बराबरका मालबस्तुहरू लाेड रहेकाे ट्रकहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता भारतीले जानकारी दिए ।

स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्न सरकार लागी परेको छ : मन्त्री पाैडेल

नारायणी अस्पतालमा क्यान्सरको उपचार हुने, मंत्री पौडेलले गरे उद्धघाटन

वीरगंज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीरगंजकाे नारायणी अस्पतालमा क्यान्सर वार्डको उद्धघाटन गरेका छन । उद्धघाटन संगै नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएको छ ।

वाडको उद्धघाटन गर्दै मंत्री पौडेलले देशका सातवटै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्ने क्रममा नारायणी अस्पतालमा पनि सुरु भएको जानकारी दिए । उनले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु भएकोमा सेवा प्रवाह बारे नागरिकले थाहा पाउने गरि समाचार प्रशारण, प्रकाशन गरिदिन उनले संचारकर्मीलाई आग्रह गरे ।

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरे अनुसार कोशी अस्पताल बिराटनगर र मधेस प्रदेशको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नियमित क्यान्सर उपचारसेवालाई शुरु गरेको हो ।

कार्यक्रममा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग, जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधारको विकासबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार भक्तपुर क्यान्सर अस्पतालले आवश्यक जनशक्ति, विशेषज्ञ तालिम र प्राविधिक सहयोग प्रदान गर्नेछ भने नारायणी अस्पतालले भौतिक पूर्वाधार र उपकरणहरूको व्यवस्थापन गर्नेछ ।

मन्त्री पौडेलले अंगप्रत्यारोपण र मुटुको हर्ट सर्जरीको पनि सातै प्रदेशमा विस्तार गर्ने तयारी गरिरहेका बताए ।

सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधा कम भएपनि आशा र अपेक्षा धेरै भएकोले बिरामीको सेवामा कुनैपनि कमी हुन नदिन उनले स्वास्थ्य कर्मचारीसंग आग्रह गरे । नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाका लागि हाल ६ शैयाको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर एनामुल हकले जानकारी दिए ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा उपलब्ध छ ।

नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग, डाइग्नोसीस, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिंग लगायतका सेवा सुरु गरिएको छ ।

नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पताल हालका लागि मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटाएको जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयका गुणस्तर तथा मापन शाखा प्रमुख डाक्टर मदन कुमार उपाध्याय, वीरगंज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, वीरगंज महानगर सभापति मणिन्द्रलाल नेपाली, दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

मधेशमा सबैभन्दा धेरै विद्युत् चोरी हुने ठाउँ मौलापुर, कम सिमरा

वीरगंज । मधेश प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र छ। यो केन्द्रबाट ४३.४० प्रतिशतले विद्युत् चुहावट भएको छ ।

प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेशका अधिकांश वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ। ‘मधेशका गाउँ-गाउँमा विद्युत् चोरी धेरै भएकाले पनि चुहावटको मात्रा पनि धेरै देखिएको हो। मधेश प्रदेशका २३ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै चुहावट मौलापुरमा देखिएको छ’ उनले भने, ‘यहाँ विशेष गरेर हुकिङ गरेर, मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति देखिएको छ। हामीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरेर जरिवाना गर्दै पनि आइरहेका छौँ ।’

मधेश प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा पर्छ-बाराको सिम्रनगढ वितरण केन्द्र। सो केन्द्रमा पनि ४३.२३ प्रतिशत विद्युत् चुहावट भएको छ। यस्तै तेस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा मल‌ंगवा वितरण केन्द्र दर्ज भएको छ। यो केन्द्रबाट पनि गत आवभरिमा ४२.९१ प्रतिशतले विद्युत् चुहावट भएको छ ।

प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ। सो केन्द्रबाट विद्युत् चुहावट १.४० प्रतिशतमात्र रहेको छ। दोस्रो सबैभन्दा कम चुहावट हुने वितरण केन्द्रमा मिर्चैया वितरण केन्द्र रहेको छ। सो केन्द्रको विद्युत् चुहावट ३.०१ प्रतिशत छ। त्यस्तै तेस्रो कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा वीरगञ्ज वितरण केन्द्र पर्छ। सो केन्द्रको चुहावटको हिस्सा ५.८८ प्रतिशत छ।

मधेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरका अनुसार गत आवमा प्रदेशमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरेको थियो। प्राधिकरणले गत आवमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै दुई हजार ६५६ जनालाई  पक्राउ गरेर आवश्यक कारबाही गरेको थियो। त्यस्तै गत आवमा नै विद्युत् चुहावटमा संलग्न रहेकाबाट छ करोड २० लाख तीन हजार ९५८ रकम जरिवाना उठाएको थियो । रासस

सिएमए संघकाे स्थापना दिवसमा रक्तदान

वीरगंज । नेपाल सिएमए संघ पर्साको २१ औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित नेपाल चिकित्सक संघको सभा हलमा भएकाे कार्यक्रममा ४० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डेले वताए ।

संघका पर्सा अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमलाई संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । साे कार्यक्रममा राकेश साह गोंढ, डा. मुक्तिनारायण साह, हृदय नारायण महतो, नरेश साह, मुकेश प्रसाद यादव, विनय कुमार साह लगायतले  रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले जानकारि दिए ।   

कार्यक्रममा नेपाल औषधि व्यवसायि संघ पर्साका अध्यक्ष ताजुदिन अंसारी ,सिएमए  संघका केन्द्रीय सदस्य रामदयाल महतो, स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुबास गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ,प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साह लगायतकाले मन्तव्य राखेका थिए ।

 रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक राजेन्द्र साहले गरेका थिए।

जनप्रतिनिधिको समन्वय बिना ‘डिजे स्पिकर’, बजाउन रोक लाग्न सक्दैन: अध्यक्ष यादव

वीरगंज । स्थानीय प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनीतिक तथा धार्मिक/सांस्कृतिक कार्यक्रममा चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउन रोक लगाएको निर्णयमा पर्साको संखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले आपती जनाएका छन ।

उनले स्थानीय प्रशासन जिल्लाका जनप्रतिनिधि सहमति बेगर, पुर्व जानकारी बेगर नै स्थानीय प्रशासनले चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउन रोक लगाउन गरेको निर्णयमा यस जिल्लामा कार्यन्वयन नहुने भन्दै आपती जनाएका हुन ।

उनले मधेश प्रदेशको विभिन्न जिल्लामा विगत लामो समयदेखि रातिको समयमा ढिलो बिबाहको जन्ती आउने, पार्टीको कार्यक्रममा चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बज्ने जस्ता कार्यलाई नियन्त्रण गर्न राजनितिकदल र जनप्रतिनिधिको भुमिका आवश्यक रहेकाले स्थानीय प्रशासन समन्वय नै नगरेको सुनाए ।

प्रशासनले अत्यधिक चर्को स्वरमा बजाइने डिजे र लाउड स्पिकरलगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रणमा आफुहरु पनि गम्भीर रहेकाले यसमा स्थानीय प्रशासनलाई समन्वय गर्न सुझाव दिए ।

गत भदौ २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला सुरक्षा समितिको सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक ¥याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसबाजीहरू गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पर्सामा चर्को आवाज र आतिसबाजी गर्नेजस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए । उनले सो सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरू गरेमा कानुन बमोजिम कारबाही हुने प्रस्ट पारेका थिए ।

पोखरीयाका मेयरलाई कांग्रेसले बुझायो ८ बुँदे ज्ञापनपत्र

वीरगंज । नेपाली कांग्रेसले पर्साको पोखरिया नगरपालिकामा ८ बुँदे मागसहितको ज्ञाापननत्र बुझाएकोे छ । नेपाली काांग्रेस पोखरिया नगर कार्य समितिले नगरपालिकाको बजेट, योजना , कार्यक्रम लगायतसंग सम्बन्धित ८ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेस नगर कार्य समितिका सभापति रामबाबु प्रसाद चौहानले पोखरिया नगरपालिकाबाट भईरहेका सम्पूर्ण कामकाजको सम्बन्धमा कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको र त्यस बारेमा सोमबार मेयर प्रधुमन चौहानलाई ८ बुँदे ज्ञापनपत्र बझुाइएको बताए ।

कांग्रेसको ज्ञापनपत्रमा चालु आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत खारेज गरी जग्गाको वर्गीकरण र मूल्यांकन वैज्ञानिक ढङ्गले गर्नुपर्ने, सिफारिस शुल्क सहज र सुलभ बनाउनु पर्ने, अन्य शीर्षकमा गरिएको कर वृद्धि खारेज गर्नुपर्ने, नागरिकले कानुन बमोजिम सूचना माग्दा कानुनले तोकेको समयावधि भित्र सरल र सहज तरिकाले सूचना उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यस्ततै हाट बजारको ठेक्का र कर असुली पारदर्शी गर्नुपर्ने, नगर प्रहरीले दादागिरी शैलीबाट हाट बजार शुल्क उठाउदै आएकोमा त्यसलाई रोक्नुपर्ने, शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने, विकास निर्माणको काममा पारदर्शिता र सुशासन कायम गर्नु पर्ने, नगरपालिकामा कार्यरत कर्मचारीहरुको ८ महिनादेखि रोकिएको तलब यथाशिघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, पोखरियामा नगरसभा गृहको लागी जग्गा उपलब्ध गराउन पहल गर्नु पर्ने माग कांग्रेसको छ ।

यी मागहरु यथाशिघ्र सम्वोधन नभएमा कांग्रेस पार्टी विरोधका कार्यक्रमसहित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत कांग्रेस पोखरिया नगर कार्यसमितिले दिएको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा कांग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण चौहान, कांग्रेस युवा नेता तथा पूर्व मेयर दिपनारायण रौनियार लगायतका नेताकार्यकर्ताहरुको पनि सहभागीता थिथयाो ।