Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
Home Blog Page 297

वीरगंजमा नाबालिकामाथि जबरजस्ती करणी, दुई जना पक्राउ

0

वीरगंज । वीरगंजमा दुई फरक घटनामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार हाल वीरगंज महानगरपालिका वडा नं.१५ निवासी २५ वर्षीय मनिष पासवान र पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.६ संठी निवासी २३ वर्षीय विशाल यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार, पहिलो घटना मिति २०८१ साल मंसिर २५ गते बिहान १० बजे घटेको हो । १४ वर्षीया नाबालिका घरबाट खाना खाएर बजार गएकी घर नफर्किएपछि खोजतलास गर्दा मनिष पासवानले विवाहको झुठो प्रलोभन देखाइ भारत लगेर पटक–पटक करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । 

पासवानले मिति २०८२ साल जेठ ११ गते पीडितलाई वीरगंजमा छाडेको बताइएको छ । उनलाई करणीसम्बन्धी कसूरमा सात दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, दोस्रो घटना मिति २०८२ साल जेठ ८ गते दिउँसो २ बजे घटेको हो । कक्षा ८ मा अध्ययनरत १३ वर्षीया नाबालिकालाई विद्यालयबाट घर फर्किने क्रममा विशाल यादवले प्रेम गर्छु भन्ने झुठो प्रलोभन देखाइ वीरगंज महानगरपालिका वडा नं.१५ भिष्वास्थित आफ्नै कोठामा लगेर पटक–पटक करणी गरेको उजुरी परेको छ । यादवलाई नियन्त्रणमा लिई करणीसम्बन्धी कसूरमा छ दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता लम्सालले घटनाबारे जानकारी दिँदै, दुवै घटनामा पीडितका परिवारबाट उजुरी परेपछि अनुसन्धान अघि बढाइएको र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने वताए ।

वीरगंजमा मुख्य नालाको सफाइ अभियान तीव्र, अतिक्रमण हटाउने र दीर्घकालीन योजना बनाउने तयारी

0

वीरगंज । मनसुनको पूर्वसन्ध्यामा बाढीजन्य जोखिम न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका मुख्य तथा सहायक नालाहरूको सफाइ अभियानलाई तीव्र बनाएको छ । लामो समयदेखि अवरुद्ध रहेका नालाहरूको सरसफाइ र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकता दिइएको महानगर स्रोतले जनाएको छ।

मंगलबार महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा वडा नं. ११ र १३ अन्तर्गत पर्ने मुख्य नालाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको थियो । टोलीले अल्पाइन स्कुल हुँदै श्रीपुर क्षेत्रसम्म फैलिएको नालाको अवस्थाको अध्ययन गरेको थियो ।

निरीक्षणमा नाला अतिक्रमणमा परेको, नियमित सफाइ नभएकाले पानीको निकास अवरुद्ध भएको र बाढीको समयमा जलजमावको समस्या देखिएको पाइएको छ । अनुगमनका क्रममा स्थानीय बासिन्दाले घरभित्रसम्म पानी पस्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने समस्या सुनाएका थिए ।

स्थानीयको गुनासो सुनेपछि महानगर प्रमुख सिंहले तत्काल नाला सफाइ र अतिक्रमण हटाउने निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “स्थानीयको समस्या समाधानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ । दीर्घकालीन रूपमा फोहर व्यवस्थापन र नाला संरक्षणसम्बन्धी योजना पनि निर्माण गरिनेछ ।”

अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वडा नं. १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्यलगायतको उपस्थिति थियो ।

महानगरले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूको पनि अनुगमन गर्दै तत्काल समाधान र पूर्वाधार सुधारमा जोड दिने जनाएको छ ।

बर्दिवासमा ३ दिवषिय “फ्रिडम राइजिङ्ग” तालिम सुरु

0

महोत्तरी । समाजमा अन्याय, अत्याचार र शोषणविरुद्ध सामूहिक आवाज र साझा पहल कदमीको माध्यमबाट परिवर्तन ल्याउने उद्देश्यले महोत्तरीको बर्दिवासमा आजदेखि तीन दिवशीय “फ्रिडम राइजिङ्ग” नेतृत्व विकास तालिम सुरु भएको छ।

तालिमको उद्घाटन गर्दै द फ्रिडम फण्डका नेपाल कार्यक्रम व्यवस्थापक जियम श्रेष्ठले “फ्रिडम राइजिङ्ग” एक परिवर्तनकारी नेतृत्व विकास कार्यक्रम भएको बताउनु भयो। उहाँका अनुसार, यो तालिमले दासत्व विरोधी आन्दोलनहरूमा अन्यायमा पारिएका समुदायको सञ्जालीकरणमा सहयोग पुर्याउनेछ।

त्यस्तै, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले तालिमको उद्देश्यबारे प्रकाश पार्दै भन्नुभयो, “तालिमले सहभागीहरूलाई आफ्नो इतिहासको पुनरावलोकन गरेर सुन्दर भविष्यको परिकल्पना गर्न मद्दत गर्नेछ। साथै, समाजलाई परिचालन गरिरहेको शक्तिहरूको पहिचान गरी आवश्यक रुपान्तरणीय शक्ति सिर्जना गर्न प्रेरित गर्नेछ।”

तालिममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट आएका जिल्ला हरवाचरवा अधिकार मञ्चका पदाधिकारी, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका प्रतिनिधि, नागरिक समाजका अगुवा र मानव अधिकारकर्मीहरू गरी ४५ जना सहभागी छन्। तालिमको सहजीकरणमा महिला अधिकारकर्मी श्याम कुमार शाह, निरज कुर्मी र अधिवक्ता बालाराम भट्टराईले भूमिका निर्वाह गरिरहनु भएको छ।

नेपाल सरकारले वि.सं. २०७९ साउन २ गते हरवाचरवाको मुक्तिको घोषणा गरेको भए तापनि, मुक्तिको घोषणा भएको दुई वर्ष सात महिना बितिसक्दा समेत तथ्यांक संकलन तथा पुनःस्थापनाको प्रक्रिया अझै सुरु हुन सकेको छैन। संविधानको धारा २९ र धारा ४० ले शोषणविरुद्धको अधिकार र दलित समुदायको लागि एकपटक जमिन तथा आवासको मौलिक हक सुनिश्चित गरेको भए पनि, मधेश प्रदेशका ८ जिल्लामा करिब एक लाखभन्दा बढी हरवाचरवा परिवारहरू अझै पनि शोषणपूर्ण अवस्थामा बाँचेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ।

वीरगंजको सुरक्षा अवस्थाप्रति प्रश्न: वृद्धको नगद लुटियाे, पत्रकारको मोटरसाइकल चोरी

0

वीरगंज । पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा शान्ति सुरक्षामा खलल पुगेको सर्वसाधारणले महसुस गर्न थालेका छन् । मंगलबार दिउँसो वीरगंजको मुख्य व्यस्त स्थान घण्टाघर चोकबाट एक वृद्धको रु एक लाख ४० हजार नगद लुटिएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ कटेया देउरबाना निवासी ६० वर्षीय जोगिन्द्र राउत कुर्मी ऋण चुक्ता गर्न वीरगंज गएका बेला लुटपाटको शिकार भएका हुन् । कुर्मीले राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न रकम लिएर वीरगंज आएका थिए । सहकारीमा कर्मचारी नभेटिएपछि मालपोत कार्यालयमा काम सकेर फर्कंदै गर्दा घण्टाघर चोकमा रिक्साबाट झर्दै गर्दा अज्ञात समूहले झोलाबाट नगद रकम लुटेर लगेका हुन् ।

त्यही दिन दिउँसो मुर्लीस्थित नेपाल पत्रकार महासंघ पर्सा अगाडि पत्रकार विनोद पटेलको मधेश प्रदेश ०८–००१ प ००९६ नम्बरको बजाज पल्सर २२० सिसी मोटरसाइकल समेत चोरी भएको छ । पटेलका अनुसार एक युवकले दिनदहाडै बिना हेलमेट मोटरसाइकल चोरेर भाग्न सफल भएको थियो । महासंघ नजिकको सिसिटिभी फुटेजमा चोरको तस्वीर स्पष्ट देखिए पनि प्रहरीले चोरलाई समात्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले वृद्धको रकम लुटिएको घटनाको जानकारी प्रहरीलाई आएको छैन भनेका छन् । “बृद्धको रकम चोरी भएको हामी कहाँ उजुरी आएको छैन, तपाईंबाट थाहा पाइरहेको छु, यसबारे बुझ्दैछु,” लम्सालले भने । मोटरसाइकल चोरीको घटनाबारे भने अनुसन्धान भइरहेको उनले बताए ।

घण्टाघर चोकमा वृद्ध लुटिएको र पत्रकारको मोटरसाइकल चोरी भएको घटनाले वीरगंजको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको सर्वसाधारणको भनाइ छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा ६१ जनाद्वारा रक्तदान

0

वीरगंज । वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ताको प्रमुख उपस्थितीमा सम्पन्न कार्यक्रममा ठाकुरराम क्याम्पसका प्रमुख रञ्जित प्रसाद यादव, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्राध्यापक संघका पूर्व सभापति प्रमोद कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पूर्व स्ववियु सभापति वैकुण्ठ श्रीवास्तव, समाजसेवी प्रकाश उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज क्षेत्रमा रगतको बढ्दो अभाव र रक्तसञ्चार केन्द्रको आग्रहलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको सभापति यादवले जानकारी गराए । “रक्तदान नै जीवनदान हो,” उनले भने, “यसले न्यानो मानवता र सामाजिक सहकार्यको भावनालाई बलियो बनाउँछ ।”

रक्तदान गर्नेहरुमा प्रीती पटेल, राहुल सिंह राजपुत, जय नेपाल चौरसिया, राजु पटेल, गुड्डु पटेल, सकलेन मुस्ताक, आलोक सिंह, रिकेश यादव, इम्तियाज हुसेन लगायत रहेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

विपी उद्यानको तरकारी बजार छपकैयामा सार्ने तयारी

0

वीरगंज । वर्षौंदेखि बीरगंजको घण्टाघर नजिकैको विपी उद्यानमा अनियमित रूपमा सञ्चालनमा रहेको तरकारी बजार अन्ततः व्यवस्थित रूपमा छपकैयास्थित सार्वजनिक जग्गामा स्थानान्तरण हुने भएको छ ।

वीरगंज महानगरपालिकाले स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, वडा नम्बर २ स्थित रेल्वे रोडसँग जोडिएको ३२ कठ्ठा सार्वजनिक जग्गामा नयाँ तरकारी बजार निर्माण गरिएको हो ।

बजारका लागि सटरसहितको सेड, शौचालय, वाउण्ड्री वाल जस्ता पूर्वाधारहरू महानगरकै बजेटमा निर्माण गरिएको छ । नवनिर्मित सेडलाई व्यवस्थापन गर्न छिट्टै टेण्डरमार्फत ठेक्कामा दिने तयारी भइरहेको र त्यसपछि विपी उद्यानमा रहेको बजारलाई पूर्ण रूपमा स्थानान्तरण गरिने प्रशासकीय अधिकृत कर्णले जानकारी दिए ।

ग्रामीण भेगमा वर्षे धानको बीऊ राख्न शुरु, बीऊमा पनि भारतमै निर्भर

0

ओमप्रकाश चौधरी
सेढवा । रोहिनी नक्षत्र शुरु भएपछि पर्साका ग्रामीण किसानहरुले बर्षे धानबालीको बीऊ राख्न शुरु गरेका छन् । बर्षे धानबाली अन्तर्गत भदैय तथा अगहनी बालीमा पर्ने सोना सारो, मनी मन्सुली, सोना मन्सुली तथा बिभिन्न हाईब्रिड जातका बीऊ किसानहरुले राख्न शुरु गरेका छन। पाच अगाडी यस क्षेत्रमा परेको बर्षाका कारण ब्याडमा सिचाई गर्न नपरेको र सो बर्षाले सिचाईको सहाराले किसानहरुले बिऊ राख्न थालेका छन् ।

तर पछिल्ला वर्षको तुलनामा यस पाली ब्याडमा बीऊ राख्ने कार्य छिटो भएको जिराभवानी गाँउपालिका वडा नं २ सेढवा निवासी किसान अमृत चौधरीले बताए । अहिले राखेको धानको बीऊ २०/२५ दिनपछि अर्थात असार महिनाको पहिलो सातामा रोपाईको लागि तयार हुने किसान चौधरीले बताए । उनकाअनुसार बिगतमा जेठ २० गते पछि बीऊ राख्ने र असार १५ गते पछि किसानहरुले रोपाई गर्दै आएका थिए ।

धानबालीको लागि किसानहरु भारतीय बजारमा निर्भर
पर्साका अधिकांश किसानहरु धानबालीको उन्नत जातको बीऊका लागि भारतीय बजारमा धाउनु परेका छन् । किसानहरुले बीऊ खरिदका लागि नरकटियागंज, भंगहा, इनरवा, मैनाटाड, भेलाही, सिकटा तथा बेतिया लगायतका भारतीय बजारमा जाने क्रम जारी रहेका छन् । किसानहरुले नेपाली बजारमा उचित दाममा बीऊ उपलब्ध भएको भन्दै भदैई तथा अगहनी धानको बिभिन्न ब्राडका बीऊ खरिदका लागि भारत तिर जाने गरेका बताएका छन् ।

भारतीय रुपैयाको सटहीमा किसान ठगिदै

उचित मूल्य तथा गुणस्तर बीऊ खरिदका लागि भारतीय बजारमा किसानहरु भारतीय रुपैयाको सटहीमा ठगिदै आएका छन् । नेपाली रुपैयालाई भारतीय रुपैयामा रुपान्तरण गर्दा एक सय साठी नेपाली रुपैया बराबर एक सय भारतीय रुपैया हुने भएपनि भारतीय व्यापारीहरुले एक सय भारतीय रुपैयाका लागि एक सय पैसठी नेपाली रुपैया सम्म लिने गरेका छन् ।

सरकारले सिफारिस गरेको धानको बीऊप्रति किसानको आकर्षण घट्दो

नेपाल सरकारले नेपाली किसानका लागि सिफारिस गरेका स्वदेशी तथा भारतीय बिभिन्न कम्पनीको बीऊ प्रति किसानको आकर्षण घटेको छ । बीऊ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुर किसानका लागि चैते धानबालीमा सात वटा र बर्षे धानबाली अन्तर्गत एक सय ६८ जातका उन्नत तथा हाई ब्रिड जातको बीऊ सिफारिस गरेको छ । तीमध्ये चैते धानबाली अन्तर्गत हर्दिनाथ – १ जातका धानबाली र एकदमै न्यून हाईब्रिड जातको बीऊ नेपाली किसानहरुले लगाउने गरेका छन् ।

सरकारले सोना मन्सुली, भदैई मन्सुली, मनी मन्सुली तथा अन्य हाईब्रिड जातको बीऊ सिफारिस नगरे पनि यी जातका धानबाली किसानको रोजाईमा पर्दै आएको छ । सरकारले सिफारिस गरेका बीऊ अत्यधिक महंगो तथा उत्पादन सन्तोषजनक नभएको भन्दै किसानहरु यी बालीहरु लगाउदै आएका छन् । पर्सा जिल्लाको धान खेती योग्य भएको जग्गामध्ये ९० प्रतिशत भन्दा बढि क्षेत्रफलमा यी धानबालीको खेती हुदै आएको छ ।

अबैधानिक रुपमा सिफारिस नभएका बीऊ बिजनको बिक्री बितरण

नेपाल सरकारको सिफारिस बिना नै कतिपय भारतीय बीऊ बिजनको खुलेयाम बिक्री बितरण भइरहेको छ । विभिन्न भारतीय कम्पनीले उत्पादन गरेका बीऊ बिजन सरकारको अनुमति बिना नेपाली बजारमा बिक्री भएका पाईन्छ । नेपाली किसानको रोजाईमा समेत परेका भदैई मन्सुली, मनी मन्सुली तथा सोना मन्सुली जातको धानको बीऊ सरकारको सिफारिस बिना नै व्यापारिक संस्थाहरुले बिक्री बितरण गरी रहेका छन् । नेपाल सरकारकै मातहतमा रहेका पर्साका अधिकांश स्थानीय सरकारले समेत सिफारिस प्राप्त गर्न नसकेका यी जातका धानका बीऊ ५० प्रतिशत अनुदानमा आम किसानहरुलाई वितरण समेत गरि रहेका छन् ।

यस सम्बन्धमा कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकृत उमेश थापाले बीऊ बिजन गुणस्तर नियन्त्रण केन्द्रको अनुमति बिनाको बीऊ बिक्री गर्न नमिल्ने बताए । सिमा क्षेत्रमा रहेका किसानहरुले आफै खरिद गरी प्रयोगमा ल्याउनु फरक कुरा भएको भन्दै कुनै संस्थाले आयात गर्नु र पालिकाले खरिद गरी किसानलाई बितरण गर्नु अवैधानिक भएको अधिकृत थापाले बताए । तर संघ सरकारले यी अबैधानिक कार्यको नियन्त्रणका लागि कुन निकायलाई जिम्मेवारी दिएको यकिन नभएको अधिकृत थापाले बताए ।

रङ्गपुरमा सचेतना कार्यक्रमः लागूऔषधको लतमा नलाग्न प्रहरीको आग्रह

0

ओमप्रकाश चौधरी
सेढवा । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा २ अन्तर्गत रङ्गपुर प्रहरी चौकीद्वारा लागू औषधको दुष्प्रभाव र त्यसबाट जोगिने उपाय सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्रहरी चौकी रङ्गपुरका प्रमुख प्रहरी सहायक निरीक्षक रामपुकार चौधरीको नेतृत्वमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । “समुदाय–प्रहरी साझेदारी” अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा रङ्गपुर टोलका स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको क्रममा सहभागीहरूलाई लागू औषधको लतले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जानकारी दिइएको थियो । साथै, युवाहरूलाई लागू औषधबाट जोगिन र प्रहरीलाई सहयोग गर्न आग्रह पनि गरिएको थियो ।

प्रहरी सहायक निरीक्षक चौधरीले लागू औषध रोकथाममा प्रहरी मात्र नभई स्थानीय समुदायको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिए ।

वीरगंज महानगरको बेरुजु रकमः ६७ करोडबाट घटेर २२ करोडमा सीमित

0

वीरगंज । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको नेतृत्वमा आर्थिक पारदर्शितातर्फ उल्लेखनीय प्रगति गर्न सफल भएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले वीरगंजमा बेरुजु रकम उल्लेख्य रूपमा घटेको देखाएको हो ।

२०७८÷७९ मा ६७ करोड ७८ लाख १० हजार रुपैयाँ रहेको बेरुजु रकम क्रमिक रूपमा घट्दै २०७९÷८० मा ५० करोड ९१ लाख ५० हजारमा सीमित भयो । सोही वर्षमा पेश्की बेरुजु समेत झरेर ७८ लाख ८१ हजार रुपैयाँ मात्र देखिएको थियो ।

गत आर्थिक वर्ष २०८०÷८१ मा भने वीरगंजको बेरुजु झनै घट्दै २२ करोड ७५ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । यसमध्ये पेश्की बेरुजु त झनै न्यून हुँदै ५१ लाख ५० हजार रुपैयाँमा झरेको छ ।

६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको रकमको लेखापरीक्षण हुँदा जम्मा ३.६२ प्रतिशत मात्र बेरुजु देखिनु वीरगंजको आर्थिक सुशासनको प्रमाण भएको विश्लेषण गरिएको छ ।

महानगरका आन्तरिक लेखा परीक्षक हरिशंकर कुर्मीले खर्च प्रक्रिया पारदर्शी र विधिसम्मत बनेकोले बेरुजु घट्न सकेको बताए । कुर्मीका अनुसार कर्मचारीहरूले कार्यविधि पूर्ण पालना गरेका छन् भने वर्तमान जनप्रतिनिधिहरूबाट अनावश्यक दबाब पनि परेको छैन ।

मेयर सिंहले आफूले कुनै पनि भुक्तानी प्रक्रियामा हस्तक्षेप नगरेको स्पष्ट पार्दै, “कानुन, नियम र प्रक्रिया अनुसार मात्रै काम गर्न निर्देशन दिने गरेको छु,“ भने । उनले थपे, “बेरुजु कम गर्दै जनविश्वास जित्नु हाम्रो प्राथमिकता हो ।”

वीरगंजमा केराको मूल्य आकासियो, उपभोक्ता आक्रोशित – स्थानीय प्रशासनको मौनता

0

वीरगंज । वीरगंजमा केराको मूल्य आकाशिएको छ। मधेश प्रदेशमा विशेष धार्मिक पर्व वट सावित्रीलाई लक्षित गर्दै व्यवसायीहरूले केराको मूल्य मनोमानी रूपमा बढाएको स्थानीय उपभोक्ताहरूको आरोप छ।

शनिवारसम्म बढीमा १२० रुपैयाँ प्रति दर्जनमा बिक्री भइरहेको केरा आइतबार ३०० रुपैयाँ र सोमवार बिहान २५० रुपैयाँमा बिक्री भएको छ। उपभोक्ताहरूको भनाइमा तीन दिनभित्र नै केराको मूल्य दोब्बर भन्दा बढीले वृद्धि भएको छ, जसले बजारमा आक्रोश फैलिएको छ।

सिमावर्ती भारतीय बजार रक्सौलमा भने केरा थोकमा ५५ देखि ६० रुपैयाँ भारुमा र खुद्रामा ७० रुपैयाँसम्म बिक्री भइरहेको छ, जसले वीरगंज र रक्सौल बजारबीचको मूल्य अन्तर झनै प्रष्ट पारेको छ।

स्थानीय व्यापारीहरूका अनुसार केही व्यवसायीहरूले बजारमा कृत्रिम रूपमा अभाव सिर्जना गरी मूल्य बढाइरहेका छन्। शम्भु गुप्ता नामका व्यापारीले वीरगंजमा भारतीय केराको ठूलो परिमाणमा आयात गर्दै बजार नियन्त्रणमा लिएको र स्थानीय प्रशासनको मिलोमतोको आशंका समेत जनाइएको छ।

नेपाल फलफूल तथा तरकारी थोक व्यवसायी संघ पर्साका अध्यक्ष जगु साहका अनुसार धार्मिक पर्व र मागको चापसँगै नेपालमा केराको आपूर्ति कम भएकाले मूल्य वृद्धि भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले केराको मूल्य कृत्रिम रूपमा बढाउने व्यक्तिहरूलाई कारबाही गरिने बताए।

काठमाडौंको कालिमाटी फलफूल बजारमा केरा प्रति दर्जन १५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने वीरगंजमा दोब्बर मूल्यमा केरा बिक्री भइरहेको छ। स्थानीय प्रशासनको कमजोर अनुगमन र व्यवसायीको मनोपोलीका कारण उपभोक्ताहरू मारमा परेका छन्।