Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
Home Blog Page 292

सरकारको नयाँ कर प्रणालीविरुद्ध वीरगंजमा सुनचाँदी व्यवसायी आन्दाेलित

0

वीरगंज । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदी व्यवसायसँग सम्बन्धित नयाँ कर नीतिको विरोधमा वीरगंजका व्यवसायीहरु आन्दोलित भएका छन्। सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशभरका व्यवसायीहरू आन्दोलित बनेका हुन्।

यसै सन्दर्भमा वीरगंजका सुनचाँदी व्यवसायीहरुले बिहीबार आ–आफ्ना पसल बन्द गर्दै विरोध ¥यालीको आयोजना गरेका थिए। पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन साह सोनारको नेतृत्वमा निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय पुगेर सम्पन्न भएको थियो।

विरोध ¥यालीपश्चात व्यवसायीहरूले सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई सात बुँदे ज्ञापनपत्रसहित पसलको चाबी हस्तान्तरण गरेका छन्। कार्यक्रममा पर्सा सुनचाँदी कालीगढ संघको समेत उल्लेखनीय उपस्थिति थियो।

ज्ञापनपत्रमा सुन र गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न, हिरा तथा जवाहरात जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता लिन, तथा सुनचाँदीको कारोबारलाई प्रोत्साहित गर्न नयाँ ऐन, नियम तथा नीतिहरू निर्माण गर्न माग गरिएको छ। साथै, छिमेकी देश भारतमा झैं नेपालमा पनि सुनमा केवल ६ प्रतिशत भन्सार शुल्क मात्र लगाउनुपर्ने माग व्यवसायीहरुले राखेका छन्।

संघका अध्यक्ष भुलन साह सोनारले भने, “सरकारको नयाँ कर प्रणालीले व्यवसायलाई धरापमा पारेको छ। वीरगंजमा मात्रै ४ सयभन्दा बढी सुनचाँदी पसल रहेका छन् र तीमा आश्रित सयौं व्यवसायी संकटमा परेका छन्।”

व्यवसायीहरूले सरकारको निर्णय तत्काल फिर्ता नभए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

वीरगंजमा आगलागी नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास

0

वीरगंज । विपदजन्य आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरण तथा नियन्त्रण गर्ने उद्देश्यले पर्सा जिल्लाकाे सदरमुकाम वीरगंजमा Fire Extinguisher प्रयोग सम्बन्धी Demonstration तथा संयुक्त अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।प

र्सा जिल्लास्थित सम्बन्धित कार्यालयको संयोजन तथा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगंज) सँगको सहकार्यमा अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो। अभ्यासमा सि.प्र.अ.को कमाण्डमा कार्यालयबाट ५५ जना, जु.प्र.अ.को कमाण्डमा मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुरबाट २५ जना तथा स्थानीय १५ जना गरी जम्मा ९५ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा Fire Extinguisher प्रयोग गर्ने विधि सम्बन्धी Demonstration गरिएको साथै सम्भावित आगलागी नियन्त्रण गर्न सकिने उपायहरूको अभ्यास गरिएको थियो। अभ्यासले सहभागीहरूलाई विपद् अवस्थामा चाँडो र प्रभावकारी रूपमा प्रतिकार गर्ने क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

परवानीपुर गाउँपालिकाले आगामी वर्षको नीति तथा बजेट तयारी थाल्यो, राय सुझाव माग

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पालिकाले जनचाहना अनुसारको यथार्थपरक, जनमैत्री, दिगो विकासमा केन्द्रित, प्रभावकारी र जनसहभागितामूलक बजेट निर्माण गर्न आम नागरिक, संघसंस्था तथा सरोकारवालाहरूबाट राय सुझाव माग गरेको हो।

गाउँपालिका कार्यालयले एक सूचना जारी गर्दै आगामी असार १ गतेसम्म लिखित रूपमा सुझाव दिन आह्वान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्थानीय बासिन्दा तथा पालिकाभित्र रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले आफ्नो राय, सल्लाह र सुझाव पेश गर्न सक्ने जानकारी दिएका छन्।

राय सुझावहरू पालिकाको आधिकारिक इमेल वा योजना शाखाको प्रमुखको मोबाइल नम्बरमा पठाउन सकिनेछ। पालिकाले प्राप्त राय सुझावको समायोजन गरी नीति तथा कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाइने जनाएको छ।

गर्मीका कारण पोखरिया नगरपालिकाका विद्यालयहरू तीन दिनका लागि बन्द

0

पोखरिया । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पोखरिया नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरप्रमुख प्रदुमन प्रसाद चौहानद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयहरूमा कक्षा १२ सम्मको पठनपाठन जेठ २८ गतेदेखि ३० गतेसम्म बन्द हुनेछ। सो अवधिमा विद्यालयहरूको प्रशासनिक सेवा भने यथावत रूपमा सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाले सार्वजनिक सूचना मार्फत आइतबार, असार १ गतेदेखि नियमित रूपमा पठनपाठन पुनः सञ्चालन हुने जनाएको छ। हाल बढ्दो तापक्रमका कारण विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई स्वास्थ्य समस्या देखिन थालेपछि उक्त निर्णय लिइएको हो।

गर्मीबाट बच्न चिकित्सकहरूले घरभित्रै बस्न, प्रशस्त पानी पिउन, धूपमा यात्रा नगर्न र स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न सुझाव दिएका छन्।

वीरगंजमा ‘भविष्य मेला २०२५’ को तयारी तीव्र, उत्साहजनक सहभागिताको अपेक्षा

0

वीरगञ्ज । आगामी जेठ ३० गते वीरगञ्जमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२५’ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनास्थल, सहभागी शैक्षिक संस्थाहरू, स्वयंसेवक व्यवस्थापन तथा प्राविधिक समन्वयका कामहरू अन्तिम चरणमा पुगेका छन्। मेला आयोजक समिति र साझेदार संस्थाहरूको समन्वयमा मेलालाई प्रभावकारी, समावेशी र विद्यार्थीमैत्री बनाउन विशेष तयारी भइरहेको छ।

मेलामा सहभागी हुन इच्छुक विद्यार्थी र अभिभावकहरूका लागि अनलाइन पूर्व-दर्ता खुला गरिएको छ। आयोजकले अबको केही दिनभित्र मेलाको औपचारिक कार्यक्रम तालिका सार्वजनिक गर्ने जानकारी दिएको छ।

विस्तारित सहकार्य र सुविधाहरू

मेलामा एबीसी सेक्युरिटीज प्रालिद्वारा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा घोषणा भएसँगै अन्य साझेदारहरूबाट पनि थप सहयोग र सुविधाहरू आउने क्रम जारी छ। केही संस्थाहरूले करियर काउन्सिलिङ सत्र, सन्देशमूलक कार्यशाला (workshop), इन्फोटेक प्रदर्शनी तथा प्रेरणादायी वक्ताहरूको सहभागिताको तयारी गरिरहेका छन्।

शैक्षिक संस्था र व्यवसायिक सहभागिता बढ्दो

मेलामा काठमाडौँ, चितवन, हेटौंडा, बिराटनगर, जनकपुरलगायतका शैक्षिक संस्थाहरूले आफ्नो उपस्थिति जनाउने पक्का भइसकेको छ। वीरगञ्जका स्थानीय शैक्षिक संस्था, व्यावसायिक प्रतिष्ठान, सामाजिक संघ-संस्था र युवा समूहहरूको सक्रिय सहभागिता मेलालाई जीवन्त बनाउने अपेक्षा गरिएको छ।

मेलाका निर्देशक नवीन कार्कीले भने, “विद्यार्थीहरूका लागि यो केवल शैक्षिक जानकारीको मेला होइन, उनीहरूको भविष्य निर्माणको आधार हो। यो मेलाले वीरगञ्जमा दीर्घकालीन परिवर्तन ल्याउने सम्भावना बोकेको छ।”

सुरक्षा र व्यवस्थापनका विशेष व्यवस्था

मेलामा सहभागीको ठूलो संख्यालाई ध्यानमा राख्दै सुरक्षा र व्यवस्थापनका लागि प्रहरी प्रशासन, स्वयंसेवक समूह र मेडिकल सहयोग टोलीको व्यवस्था गरिनेछ। स्थानमै खानेपानी, विश्राम स्थल, प्राथमिक उपचार केन्द्र र निर्देशन कक्षहरूको समेत व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा बढ्दो चासो

मेलालाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक उत्साह देखिएको छ। विद्यार्थीहरूबीच करियर, शैक्षिक अवसर, छात्रवृत्ति, प्राविधिक तालिम र वित्तीय साक्षरताबारे छलफल चुलिंदै गएको छ।

स्थानीय अभिभावकहरू, शिक्षकहरू र युवा नेताहरूले मेलाको प्रभाव दीर्घकालीन हुने विश्वास व्यक्त गरेका छन्। स्थानीय युवा नेता राकेश यादवका अनुसार, “यो मेला वीरगञ्जका युवालाई आत्मविश्वासी बनाउने, सपना देख्न सिकाउने र त्यसलाई साकार पार्न मार्गदर्शन गर्ने थलो बन्नेछ।”

वीरगंजको ओम अस्पतालमा गम्भीर सुत्केरीको सफल शल्यक्रिया, आमाछोरी दुवै सुरक्षित

0

वीरगंज । वीरगंजस्थित ओम हस्पिटलले एक जटिल अवस्थामा रहेकी सुत्केरी महिलाको सफल शल्यक्रिया गरी आमाछोरी दुबैलाई सुरक्षित बचाउन सफल भएको छ । डा. जगत दीप पटेलको नेतृत्वमा गरिएको उक्त शल्यक्रियाले वीरगंजमा समेत जटिल प्रसूति शल्यक्रिया सम्भव छ भन्ने सन्देश दिएको छ ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–७, भौंराटार निवासी २३ वर्षीया मुनी कुमारी कुशवाहालाई वीरगंज तथा भारतको रक्सौलस्थित डन्कन अस्पताललगायतका अस्पतालहरूले यहाँ उपचार सम्भव नरहेको भन्दै रेफर गरेका थिए । तर, ओम हस्पिटलले उनलाई भर्ना गरी जटिल अवस्थामा शल्यक्रिया गरेपछि दोस्रो सन्तानका रूपमा छोरी जन्मिएकी हुन् ।

शल्यक्रिया गर्ने डा. पटेलका अनुसार बिरामीको पाठेघरभित्र साल (placenta) छिरेको थियो र पेसाब नलीसम्म असर गरिसकेको अवस्थामा पनि अपरेशन सफलतापूर्वक सम्पन्न भएको हो।  “यो प्लेसेन्टा परक्रेटा (placenta percreta) को जटिल केस थियो,” उनले भने, “शल्यक्रियाका क्रममा रगतको अत्यधिक मात्रा खपत भएकाले २० पोकासम्म रगत चढाउनु परेको थियो।”

बिरामीका श्रीमान् पुरुषोत्तम कुशवाहाका अनुसार, “छोरीलाई जन्म दिनुभन्दा पहिले आमाको जीवन जोगिन सक्दैन भन्ने भनाइ अन्य अस्पतालहरूले दिइसकेका थिए, तर डा. जगतको हिम्मत र समर्पणका कारण हामीले दुबैलाई जोगाउन सक्यौं।”

परिवारका अनुसार आर्थिक र भौगोलिक कठिनाइका कारण उनीहरूलाई बाहिरी अस्पतालमा जान सम्भव थिएन । यस्तो अवस्थामा ओम हस्पिटलमा गरिएकाे अपरेशनले धेरैका लागि आशाको किरण देखाएको हो ।

डा. पटेलले भने, “बिरामी र परिवारले विश्वास गरेपछि यस्तो जोखिमपूर्ण सर्जरी पनि सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ। वीरगंजमै पनि अब यस्तो जटिल शल्यक्रिया सम्भव छ भन्ने उदाहरण यो घटना हो।”

नेशनल मेडिकल कलेजले प्रहरीलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने

0

वीरगंज । नेशनल मडिकल कलेज वीरगंजले नेपाल प्रहरी, भुतपुर्व प्रहरी र प्रहरीका परिवारहरुलाई स्वास्थ्य सेवा विशेष छुट उपलब्ध गराउने भएकाे छ । छुट प्रदान गर्नकाे लागि नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच  मंगलबार दुई पक्षिय सम्झाैता भएकाे छ ।

सम्पन्न सम्झाैता अनुसार पर्सा जिल्ला भरका नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई बिभिन्न स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुबिधा उपलब्ध गराइने छ । सम्झाैतामा मेडिकल कलेजकाे तर्फबाट कलेजका प्रबन्धक शहानवाज अन्सारी र नेपाल प्रहरीकाे तर्फबाट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्रले हस्ताक्षर गरेका छन् ।

अस्पताले स्वास्थ्य सुविधा अन्तर्गत नेपाल प्रहरीका नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई ८ देखि ५० प्रतिशत सम्म छुट प्रदान गर्ने नेशनल मेडिकल कलेजका प्रबन्धक शाहनवाज अंसारीले जानकारी दिए ।

उनका अनुसार अस्पताले बहालवाला नेपाल प्रहरीलाई ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २५ प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने छ ।

यसैगरी भूतपूर्व नेपाल प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारजनहरुलाई समेत ओपिडि टिकटकमा ५०%, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २० प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएकाे छ ।

साे अवसरमा कलेजमा संचालक प्रो.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरिक्षक सुबास भट्ट लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

खानेपानी आयोजनाका लागि वीरगंजमा साउनभित्रै टेण्डर आह्वान गरिने

0

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकाभित्र सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको निर्माणका लागि आगामी साउन महिनाभित्रै टेण्डर आह्वान गरिने जानकारी दिएका छन्।

सोमबार खानेपानी मन्त्रालयमा वीरगंजको खानेपानी तथा ढल निकाससम्बन्धी समस्या समाधानका लागि आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने परियोजनाहरूका लागि प्राविधिक तथा वित्तीय छलफल गरेर टेण्डर प्रक्रियामा प्रवेश गरिने बताए।

उनले खानेपानी मन्त्रालय, वीरगंज महानगरपालिका र अन्य सरोकारवाला निकायहरूको संयुक्त प्रयासले वीरगंजवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

मन्त्रालयका अनुसार छलफलको निष्कर्षस्वरूप साउन महिनाभित्रै एडिबीसँगको समन्वयमा आयोजनाका लागि टेण्डर आह्वान गर्ने सहमति भएको हो।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो।

ठोरीको पर्यटन प्रबर्धन प्रदेश सरकार प्रतिबद्ध छ : प्रमुख भण्डारी

0

वीरगंज । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले समृद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । सोमबार ठोरीको औपचारिक भ्रमणका क्रममा आयोजित स्वागत समारोहमा बोल्दै प्रदेश प्रमुख सुवेदीले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य गर्दै ठोरीको पर्यटन प्रवद्र्धनमा दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताइन् ।

“ठोरीमा ऐतिहासिक सीता गुफा, रेड हिल पार्कजस्ता अनुपम पर्यटकीय स्थलहरू छन्। यिनको वैज्ञानिक अध्ययन, प्रचारप्रसार र पहुँचयुक्त पूर्वाधार निर्माण आजको आवश्यकता हो,“ प्रमुख सुवेदीले भनीन् ।

उनको भ्रमणको अवसरमा ठोरी गाउँपालिकाले प्रमुख सुवेदीलाई विशेष स्वागत कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्षहरू, प्रशासनिक अधिकृतहरू, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, स्थानीय विद्यालयका प्रमुखहरू र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमपछि प्रदेश प्रमुख सुवेदीले ठोरीका प्रमुख पर्यटकीय स्थलहरू—रेड हिल पार्क, ठोरीको पशुपतिनाथ मन्दिर, राइधारा तथा ऐतिहासिक सीता गुफाको स्थल अवलोकन गरिन् । भ्रमणको क्रममा उनले ठोरीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र पर्यटन विकासको अपार सम्भावनाको प्रशंसा गर्दै राज्यको तर्फबाट आवश्यक पहल हुने आश्वासन दिइन् ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रदेश प्रमुख समक्ष ठोरीको पर्यटनसँगै स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र सीमावर्ती सुरक्षासम्बन्धी विषयमा ध्यानाकर्षण गराएका थिए ।

परवानीपुर गाँउपालिकाको सेमिनार हलको निर्माण कार्य सम्पन्न

0

वीरगंज । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुर स्थित केडिया आँखा अस्पतालको छेउमा पालिकाको सेमिनार हलको निर्माण कार्य सम्पन्न भएको छ । गाँउपालिकाले गत आर्थिक बर्षमा नै एक करोड २० लाखको बजेट विनियोजन गरेर सेमिनार हलको निर्माण गरेको हो ।

सेमिनार हलको गत बर्षदेखि निर्माण कार्य सुरु गराएर चालु आर्थिक बर्ष २०८१/०८२ को केहि महिना अगाडी नै कार्य सम्पन्न भएको परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनीयारले जानकारी दिए ।
उनका अनुसार सेमिनार हल निर्माणका लागी एक करोड १० लाख बजेट विनियोजन भएपनि ९३ लाख मै सम्पन्न भएको अवस्था छ ।

पालिकाको कुनैपनि कार्यक्रम , प्रशिक्षण , गोष्ठी , तालिम लगायतका कार्यक्रम गर्दा सभाहल भाडामा लिनुपर्ने अवस्थाको अब अन्त्य भएको उनले बताए ।

अब विश्वविद्यालय, कलेज, वा अन्य शैक्षिक संस्थाहरूले तालिम, वक्तृत्वकला, प्रोजेक्ट प्रस्तुति, तथा अन्य शैक्षिक गतिविधिहरूको लागि भाडामा लिएर सेमिनार हल प्रयोग गर्न सक्नेछन् ।
सेमिनार हलमा के के गर्न सकिन्छ ?

अब पालिका कै सेमिनार हलमा कुनै विशेष विषयमा विशेषज्ञहरूले प्रस्तुति दिने र सहभागीहरू बीच छलफल हुने कार्यक्रम हुनेछ । पालिका भित्रका विद्यार्थी, शिक्षक, वा व्यवसायिक व्यक्तिहरूले आफ्नो अनुसन्धान, परियोजना वा विचार प्रस्तुत गर्ने कार्यक्रम गर्न सक्ने छन ।

यस्तै पालिका भित्रका कुनैपनि कार्यशाला कुनै सीप वा ज्ञान सिकाउने उद्देश्यले सञ्चालन गरिने अभ्यासात्मक कार्यक्रम गर्न सकिने उनले बताए ।

पालिकाको सेमिनार हलमा भेला ,संस्थागत कार्यक्रम, विद्यालय, वा विश्वविद्यालयको बैठक, छलफल वा सम्मेलनका कार्यक्रमहरू पनि गर्न सकिने गरी निर्माण भएको उनको भनाई छ ।

प्रशिक्षण कार्यक्रम अन्तर्गत कर्मचारी, शिक्षक, वा विद्यार्थीलाई नयाँ सीप सिकाउने तालिम कार्यक्रमहरू गर्न सकिने छन ।
सांस्कृतिक वा शैक्षिक कार्यक्रममा कहिलेकाहीँ सेमिनार हलमा कविता वाचन, वाद–विवाद, वा शैक्षिक प्रतियोगिता जस्ता कार्यक्रम पनि गरिन्छ ।

सेमिनार हलले पालिकाबासीलाई फाईदा हुने

परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले अब पालिकाको सेमिनार हल औपचारिक बैठक, गोष्ठी, कार्यशाला ,सम्मेलन वा प्रस्तुति गर्नको लागि उपयुक्त स्थान हुने बताएका छन ।

उनका अनुसार अब विश्वविद्यालय, कलेज, वा अन्य शैक्षिक संस्थाहरूले तालिम, वक्तृत्वकला, प्रोजेक्ट प्रस्तुति, तथा अन्य शैक्षिक गतिविधिहरूको लागि भाडामा लिएर सेमिनार हल प्रयोग गर्न सक्नेछन् ।

यस्तै विद्यार्थी, शिक्षक, वा कर्मचारीहरूले पावरपोइन्ट वा अन्य माध्यमबाट जानकारी प्रस्तुत गर्नको लागि एउटा व्यवस्थित ठाउँ आवश्यक हुन्छ त्यो यहाँ बनाईएको अवस्था छ ।

अब कुनै विशेष अतिथि वक्तालाई बोलाएर कार्यक्रम सञ्चालन गर्न चाहिँदा सेमिनार हल उपयुक्त स्थान हो जहाँ ध्वनि प्रणाली, प्रोजेक्टर आदि जडान हुने बताए ।

उनका अनुसार अब केही साना–साना सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, वा सामाजिक जमघटको लागि पनि प्रयोग गर्न सकिन्छ ।

सेमिनार हलले एक औपचारिक र व्यवस्थित वातावरण प्रदान गर्छ जसले सहभागिहरूलाई ध्यान केन्द्रित गर्न सहयोग पुर्‍याउँछ भने आशा लिईएको छ ।