Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Home Blog Page 291

वडाध्यक्ष र शाखा अधिकृतसहित ३ जना उपर भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर

वीरगंज । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले धनुषाकाे जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाध्यक्ष उपेन्द्र सहनी र वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेलीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेकाे छ ।

घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले वडा अध्यक्ष सहनी, वडाका सचिव तेली र अर्को व्यक्ति विजय मण्डललाई सेवाग्राहीसँग रु.४ लाख ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सहनी, वडा सचिव तेली र मण्डलको आपसी मिलोमतो तथा योजनामा घर बाटो सिफारिस प्रमाणित गरी दिनका लागि सेवाग्राहीसँग साे घुस/रिसवत माग गरी लिएको पुष्टि भएपछि तिनै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा मुद्दा दायर गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले वताए ।

दायर आराेप पत्रमा विगो रु.४ लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग गरिएकाे छ ।

पोखरिया अस्पतालको स्तरोन्नत्तीको माग गर्दै अनिश्चितकालिन धर्ना

वीरगंज । पर्साको पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नत्तीका साथै सरकारी कार्यालयको सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि पोखरिया अस्पतालमा धर्ना दिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरुले आइतबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

प्रदेश सरकारले ५ वर्षअघि नै निर्णय गरि प्रादेशीक अस्पताल घोषणा गरिसकेको पोखरिया अस्पतालमा त्यसअनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएपछि त्यसैको माग गर्दै आँफुहरुले अनिश्चितकालीन धर्ना सुरु गरेको केन्द्रिय सदस्य समानीले बताए । यसका साथै पोखरियामा भूमीसुधार, मालपोत, नापी लगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नुपर्ने मागपनि आफुहरुको रहेको उनले बताए ।

साथै नगरपालिकाले जनता माथी अनावश्यक कर लगाई शेवा विस्तार नगरी हाकिमको टिप्पणी आदेशमा नगरपालिकालाई भर्ती केन्द्र बनाई ठगी धन्दा गरिरहेको विराेधमा समेत धर्ना बसिएकाे नेता सम्मानीले वताए ।

आँफुहरुको माग बारेमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारलार्ई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नगरिएपछि बाध्यभएर धर्नामा बस्नु परेको भन्दै समानीले भने, ‘जबसम्म हाम्रा माग तीनै तहको ससरकारले सम्बोधन गर्दैनन् तबसम्म यो धर्ना जारी रहन्छ ।’

आँफुहरुको आन्दोलन तीनै तहको सरकारका विरुद्ध रहेको अर्का केन्द्रिय सदस्य राजेश साहले बताए । उनले भने, ‘प्रदेश सरकारले पोखरिया अस्पताललाई ५ वर्ष पहिले नै प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नत्री गर्ने निर्णय गरिदियो । तर अस्पतालमा त्यसअनुरुपको भौतिक पूर्वाधार छ । न जनशक्ति नै छ । एउटा सिटामेलका लाागि बिरामीहरु निजी क्लीनिकमा जानुपर्ने बाध्यता छ ।’

पोखरियालाई पर्सा जिल्लाको दोश्रो सदरमुकाम भनिएपनि यहाँ नगरपालिकाको कार्यालय बाहेक अन्य सरकारी कार्यालय एउटापनि नभएको उनले बताए । नगरपालिकालेपनि नागरिकलाई सेवासुविधा दिनुभन्दा अनेक बहानामा करको भारी थोपर्दै आएको गुनासो उनले गरे।

धर्ना कार्यक्रममा केन्द्रि सदस्य समानी र साहसंगै अर्का केन्द्रिय सदस्य गगनदेव कुर्मी, जहिर आलमका साथै पार्टीका नेता कार्यकर्ताहरु सहभहागी छन् ।

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुग्यो

वीरगंज । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

क्षतिग्रस्त पम्पीङ सिस्टमको पुन:स्थापना छिटोभन्दा छिटो गर्न मन्त्री यादवकाे निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को महाँकालचौर शाखामा बाढीले क्षति पुर्‍याएको पम्पीङ सिस्टमलाई पुन:स्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिनुभएको छ । 

उहाँले आइतबार स्थलगत अनुगमन गर्दै बाढीले क्षतिग्रस्त पम्पीङ सिस्टमको पुन:स्थापना प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले पम्पीङ सिस्टम बन्द हुँदा काठमाडौँका विभिन्न क्षेत्रमा खानेपानी आपूर्ति रोकिएको कारण सर्वसाधारणले भोगिरहेको कठिनाइप्रति गहिरो चिन्ता व्यक्त गर्दै छिटोभन्दा छिटो आपूर्ति सुचारु गर्ने पहल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको जीवनमा पानीको अभाव जस्तो समस्या हुन सक्दैन । यो समस्या समाधान गर्न केयूकेएलले तुरुन्तै कार्य अघि बढाउनुपर्छ ।”

मन्त्री यादवले मन्त्रालयले पुन:स्थापनाका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सम्बद्ध निकायलाई शीघ्र पुन:स्थापना कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले थप्नुभयो, “पम्पीङ सिस्टम पुनः सञ्चालनका लागि के सहयोग आवश्यक छ, मन्त्रालयले त्यही अनुसार सहयोग उपलब्ध गराउनेछ ।”

त्यसपछि मन्त्री यादवले सुन्दरी जलस्थित पानी प्रशोधन केन्द्रको पनि निरीक्षण गर्नुभयो, जहाँ बागमती नदीको पानीमा बढेको धमिलोपनका कारण पानी प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो । उहाँले धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सुचारु गरी सोमबारसम्म काठमाडौँका पानी भण्डारण ट्याङ्कीहरूमा खानेपानी आपूर्ति गर्न निर्देशन दिनुभयो । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार, सो क्षेत्रको इन्टेक सफा गरेर वितरण प्रक्रिया अघि बढाइने छ ।

बाढीले गर्दा कीर्तिपुरस्थित सुन्दरीघाटको इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्त्वपूर्ण उपकरणहरू डुबेर ठूलो क्षति पुगेको छ । मन्त्रालयको प्रारम्भिक आकलन अनुसार, बाढीले करिब एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्तिलाई प्रभावित बनाएको छ । मन्त्री यादवले यस क्षतिको पूर्ण विवरण लिएर पुन:स्थापनाको योजना अघि बढाउने बताउनुभयो ।

सिर्सिया नदीमा हाम फालेकी किशाेरीकाे खाेजी कार्य जारी

वीरगंज । पर्सा जिल्लाको वीरगंजस्थित सिर्सिया नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको पहिचान खुलेको छ । 

आइतबार बिहान करिब ९ बजेतिर वीरगंजकाे रानीघाटस्थित पुलबाट हाम फालेकी किशोरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २, खुटुवा निवासी १७ वर्षीय रमिता कुमारी दास रहेकाे प्रहरीले जनाएकाे छ ।

रमिताकाे आमालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर साेधपुछ भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दीपक भारतीले वताए । रमिताकाे आमा वाेल्न सक्ने अवस्थामा नरहेकाेले थप कुराहरु खुल्न नसकेकाे उनले वताए । 

प्रवक्ता भारतीका अनुसार, खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय बासिन्दासँगको सहकार्यमा प्रहरीको प्रयास जारी छ । अविरल वर्षाको कारण बाढीको बहाव उच्च भएको हुँदा खोजी कार्यमा चुनौती उत्पन्न भएको छ ।

प्रहरीका अनुसार रमिता कुमारीले नदीमा हाम फालेपछि उनी बाढीको तेज बहावमा बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले खोजी कार्यमा कठिनाइ थपेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर खोजी कार्य जारी राखे पनि हालसम्म रमिता कुमारीको कुनै सुराक फेला परेको छैन ।

यसैबिच, घटना लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल पनि घटनास्थलमा पुगेका थिए । उनले खोजी कार्यको निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका हुन् । खोजी कार्यका लागि थप सुरक्षाकर्मी परिचालित गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको छ ।

यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको राससलाई जानकारी दिए । अरु ३६ जना घाइते भएका छन् ।

उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो ।

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् । त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ । रासस

जनमत पार्टी पर्साद्वारा बाढी प्रभावितकाे सहयाेग र उद्धारकाे लागि हेल्पलाइन नम्बर जारी

बीरगंज । जनमत पार्टी पर्साले अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण भौतिक क्षति भएको छ । कतिपय परिवार डुुबानमा समेत परेका छन् ।

वषाका कारण बीरगन्ज लगायत पर्सा जिल्ला कै अवस्था दयनिय अवस्था रहेको छ पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले भने, ‘बिपद् व्यवस्थापन गर्ने सरकारी निकाय एवं सुरक्षा एजेन्सी लगायत सम्पुर्ण जनप्रतिनिधिहरु यो विपत्तिमा हातेमालो गर्दै सहकार्य गरौं, पीडितलाई सहयोग गरौं । सबैले उच्च सतर्कता अपनाऔं ।’

प्रभावित परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा स्वयम्सेवकको खट्न सबै नेता कार्यकर्तालाई उनले अनुरोध गरेका छन् ।

साथै समस्यामा परेकाहरुलाई हेल्पलाइन नम्बरहरु पार्टीका महानगर संयोजक संजय सिंह ९८०७२११३८०, दस्ता संयोजक मनोज साह ९८०६३३१६५१, बीरगन्ज महानगर अध्यक्ष महदेव शर्मा ९८०७१२२०००, विद्यार्थी जिल्ला अध्यक्ष बिबेक झा ९८६६३८९७४५ लगायतमा सम्पर्क गर्न जनमत पार्टी पर्साले अपिल गरेको छ ।

क्षतिग्रस्त खानेपानी प्रणालीहरू पुनःस्थापनका लागि मन्त्री यादवकाे निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले हालैको अविरल वर्षाका कारण देशभर क्षतिग्रस्त भएका खानेपानी प्रणालीहरू पुनःस्थापनाका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिएका छन् ।

 शनिवार मन्त्रालयमा आकस्मिक बैठक बोलाएर मन्त्रालयका उच्च अधिकारीहरूसँग क्षतिग्रस्त क्षेत्रहरूको वर्तमान अवस्थाको बारे जानकारी लिदै मन्त्री यादवले पुनःस्थापनाका लागि तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन् । 

सचिव, विभागीय प्रमुख र अन्य सम्बन्धित कर्मचारीहरूको उपस्थितिमा भएको बैठकमा मन्त्री यादवले ‘विशेष कार्यदल’ गठन गरी क्षतिको यथाशीघ्र मूल्याङ्कन र आवश्यक कदम चाल्न निर्देशन समेत दिए ।

उनले भने, “हामी यो चुनौतीपूर्ण अवस्थामा जिम्मेवारीपूर्वक काम गर्दै छौं । म स्वयं भोलि बिहानैदेखि प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षणमा जानेछु । नियमित खानेपानी आपूर्ति छिटोभन्दा छिटो सुचारु गर्न र आवश्यक प्राविधिक तथा स्रोतसाधनको तुरुन्त व्यवस्था गर्न मैले निर्देशन दिइसकेको छु ।”

मन्त्री यादवले प्रभावित क्षेत्रका जनताले पानीको अभाव झेल्न नपरोस् भन्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै भने, “यस सङ्कटको समाधान गर्न कुनै कसर बाँकी राख्ने छैनौँ । तत्काल मर्मत तथा पुनःनिर्माणका लागि सबै सम्भावित स्रोत र साधन परिचालन भइरहेको छ । चाँडै नै पानी आपूर्ति पुनः सञ्चालनमा ल्याउनेछौँ ।”

प्राकृतिक विपत्तिका कारण दसैँको मुखमा नागरिकको दैनिक जीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै उनले सबैलाई सुरक्षित स्थानमा बस्न र बाढी डुबानबाट जोगिन उच्च स्थानमा आश्रय लिन आग्रह गरे । साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरकारी निकायहरूलाई उद्धार र राहत कार्यमा खट्न उनले आग्रह समेत गरे ।

लगातारको भारी वर्षाले देशभरका पानी आपूर्ति प्रणालीहरूमा व्यापक क्षति पुर्‍याएको छ । बागमती नदीमा आएको बहावका कारण सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानीको धमिलोपनले गर्दा प्रशोधन प्रक्रिया अवरुद्ध भएको छ । यसले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति ठप्प भएको छ ।

त्यस्तै, ललितपुरको फर्पिङ्गस्थित जलविद्युत परियोजनामा पेनस्टक पाइप विस्फोट हुँदा पानी वितरण रोकिएको छ । सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखामा रहेका महत्त्वपूर्ण उपकरणहरू डुबेर क्षतिग्रस्त भएका छन् ।

मन्त्रालयको प्रारम्भिक अनुमान अनुसार, यस प्रकोपका कारण करिब एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति प्रभावित भएको छ । यो क्षति पुनःस्थापना गर्न विशेष योजना अनुरूप कार्य अघि बढिरहेको मन्त्री यादवले बताए ।

अझै पर्साकाे दुई पालिकाकाे सभा नहुँदा बजेट आउन सकेन

वीरगंज । पर्साकाे दुई पालिकाकाे सभा नहुँदा आर्थिक बर्ष २०८१/०८२ काे बजेट आउन सकेकाे छैन । असार १० गते सम्म गरि सक्नु पर्ने सभा अहिले सम्म नहुँदा पर्साकाे बहुदरमाई नगरपालिका र जिराभवानी गाउँपालिकाकाे बजेट आउन सकेकाे छैन ।

अहिले सम्म पर्साकाे वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, पाेखरिया नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका, ठाेरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, कालिकामाई गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा सभा भएकाे छ ।

जिल्लाकाे १२ पालिकामा सभा सम्पन्न भएपनि आधा मात्र पालिकाहरुमा खाता संचालनमा आएका छन् । वीरगंज महानगरपालिका, पाेखरिया नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका, ठाेरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिकामा मात्र खाता संचालनमा आएकाे जानकारी प्राप्त भएकाे छ । वाकी सभा सम्पन्न भएका पालिकाहरु खाता संचालन हुने पक्रियामा रहेकाे बुझिएकाे छ ।

अझै सम्म सभा नहुने पालिकाहरुमा दशैंमा समेत कर्मचारी र शिक्षकहरु तलब खान पाउँन्छन् की पाउँदैन अन्याैल बढेकाे छ । बहुदरमाईकाे नगर सभा र जिराभवानीकाे गाउँ सभा नहुँदा दशैंमा दुबै पालिकामा समाजिक सुरक्षा भत्ता समेत वितरण नहुने सम्मभवान बढेकाे छ ।

यी दुबै पालिकामा जनप्रतिनिधिहरु बिच बजेटमा भागभण्डा नमिल्दा सभा अन्याैल भएकाे हाे । सभा नहुँदा विकास निर्माणकाे काम समेत प्रभावित भएकाे छ ।  

अम्बिका ममता स्मृति प्रतिष्ठानद्वारा मनदेवी मिश्र सम्मानित

वीरगंज । अम्बिका ममता स्मृति प्रतिष्ठानले वीरगंजकी ९८ बर्षीया एकल महिला मनदेवी मिश्रलाई सम्मान गरेको छ । प्रतिष्ठानले शैक्षिक, धार्मिक तथा समाजिक क्षेत्रमा योगदान पु¥याएको वीरगंज महानगरपालिका वडा नम्बर ३२ निवासी मिश्रलाई सम्मान गरेको हो ।

काठमाडौं स्थायी घर भई लामो समयदेखि वीरगंज महानगरपालिका वडा नम्बर ३२ टेढामा बसोवास गर्दै आएकी मिश्रको परिवारले विद्यालय स्थापना गर्नका लागि जग्गादेखि भौतिक संरचना निर्माण लगायतमा योगदान पुर्‍याएकोले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले जानकारी दिए ।

प्रतिष्ठानकी चञ्चला दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ९८ बर्षकी वृद्धा महिलालाई २५ हजारको चेक सहित दोसल्ला ओढाएर सम्मान गरेकाे कार्यक्रममा सहभागि राजन श्रीवास्तवले जानकारी दिए ।

उक्त सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजमा एकल महिलाहरुले पु¥याएको योगदानको कदर र सम्मान गर्नुपर्नेमा जोड दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता पाण्डेले आफू मन्त्री हुँदा एकल महिलाहरुलाई पुर्नविवाह गर्न प्रोहत्साहित गर्नका लागि ५० हजार रुपैंया प्रोत्साहन पुरस्कारको व्यावस्था गरेपनि महिलाहरुकै विरोधका कारण न्यायालयले रोक लगाएको सुनाए । उनले आफू अर्थमन्त्री हुँदा महिलाहरुको शिक्षाका लागि चार अर्ब रुपैया बजेट विनियोजन गरेको र ३० हजार सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माणको योजना ल्याएको जिकिर गरे ।

सम्मानित मिश्रको योगदानको प्रशंसा गर्दै उपाध्यक्ष पाण्डेले एकल महिलाको आँट र साहसले महिलाहरुको मनोबल बढाउने विश्वास व्यक्त गरे । शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने एकजना व्यक्तिलाई सम्मान गर्दै आएको अम्बिका ममता स्मृति प्रतिष्ठानले यषबर्ष मिश्रलाई सम्मान गरेको हो ।

कार्यक्रममा साहित्यकार गणेश लाठ, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.निरज सिंह, शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाली कांग्रेसका नेता जितेन्द्र पुरुष ढकाल, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईराला लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले गरेका थिए ।