Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 286

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

वीरगंज । नेकपा माओवादी केन्द्र पाेखरिया नगर कमिटीले विभिन्न माग सहित बुधबार पाेखरिया नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । २१ बुन्दे माग सहित नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान र प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएको माओवादी केन्द्र पोखरियाका नगर कमिटीका अध्यक्ष पानालाल प्रसाद कुर्मीले जानकारी दिए ।

आर्थिक बर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत (भुमीकर) संसोधन गर्न, सिफारिस शुल्क सहज सुलभ र अन्य शिर्षकमा गरिएको कर बुदी आर्थिक मन्दिको मारमा परेका जनताको अवस्थालाई मध्य नजर गरि खारेज गर्न, पोखरिया अस्पताल तथा स्वास्थ्य चौकीहरु मा नेपाल सरकारबाट पाउनु पर्ने निशुल्क औषधीहरुको व्यवस्थापन गर्न, पोखरिया अस्पतालमा जनतालाई पाउनु पर्ने नेपाल सरकारबाट सुबिधाहरु सहज रुपमा उपलब्ध गराउन माग गरिएकाे उनले वताए ।

यसैगरी ज्ञापन पत्र मार्फत पर्सा जिल्लाको श्री जिल्ला उच्चांगल रामदेव कलवार मा.वि. मा स्नातक तहको अध्यन अध्यापनको लागी सुचारु गर्नलाई पहल गर्न र पोखरिया नगरपालिकामा रहेका विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकहरुको व्यवस्थान गर्न लगायतकाे समेत माग गरिएकाे छ ।

माओवादी केन्द्र पाेखरिया नगर अध्यक्ष कुर्मीकाे नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएकाे टाेलीमा नगर उपाध्यक्ष हरेन्द्र महताे चाई, नगर सचिव लक्ष्मीनारायण ठाकुर, कोषाध्यक्ष सोवालाल ठाकुर, सदस्य धन्सुनर कुर्मी, देबेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौँ । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालयका विद्यार्थीहरु मंगलबार गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका छन् ।

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आइतबार गाउँपालिकाकाे कार्यालय घेराउ गर्नु साथै प्रदर्शन समेत गरेका हुन् । तलब नपाएका शिक्षकहरु आइतबार हाजरी गरेर गाउँपालिका कार्यालयमा गएपछि विद्यार्थीहरु पनि गाउँपालिका मै पुगेका थिए ।

गाउँपालिका कार्यालय पुगेका विद्यार्थीहरु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विराेध चर्काे नाराबाजी समेत गरेका थिए । आक्राेशित विद्यार्थीहरु गाउँपालिकाका केही कुर्सी समेत ताेडफाेड गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामका अनुसार प्लस २ का १२ जना शिक्षक र उच्च माद्यमिक अनुदानका एक जना, शिक्षण सिकाई अनुदान माविका २ जना, निमाविका १ जना, निजि स्राेतका ५ जना शिक्षकले तलब पाएका छैनन् ।

प्लस २ का शिक्षकहरु गत आर्थिक बर्ष कै फागुन महिनादेखि र बाकी शिक्षकहरु चालु आर्थिक बर्षकाे साउनदेखि तलब नपाएका हुन् । तलबकाे माग गर्दै विद्यालय प्रशासन र शिक्षकहरुले बारम्बार गाउँपालिकालाई जानकारी गराउँदा पनि उपलब्ध नभएपछि बाध्य भएर आइतबारदेखि पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित भएका हुन् । 

गाउँपालिका कार्यालय पुगेका तलब नपाएका शिक्षकहरु शिक्षा शाखा प्रमुख वृजकिशाेर त्रिपाठीलाई तलबकाे माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । तलब नपाए सम्म आफुहरु पठनपाठन नगराउने ज्ञापन पत्र मार्फत नै जानकारी समेत गराएका छन् । जस कारण बुधबार पनि कक्षा ६ देखि १२ सम्म पठन पाठन प्रभावित हुने भएकाे छ । 

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्साका जिल्ला कार्यकारिणी सदस्य, विन्दवासिनी गाउँपालिका अध्यक्ष, र जगरनाथपुर गाउँपालिकाका इन्चार्ज रमेश साह तेलीले मंगलबार पार्टी परित्याग गर्दै अशोक राईको नेतृत्वमा रहेका जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

तेलीले मङ्गलवार काठमाडौँमा नेपाल सरकारका खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव र पार्टी उपाध्यक्ष रणध्वज कन्दङ्वाको हाथबाट पार्टी सदस्यता ग्रहण गर्दै पार्टी प्रवेश गरेका हुन् ।

मन्त्री यादवले तेलीको आगमनलाई महत्त्वपूर्ण राजनीतिक परिवर्तनको संज्ञा दिँदै अबको राजनीतिक आवश्यकता वास्तविक सङ्घर्ष र मधेसको समर्पित नेतृत्व रहेको बताउँदै भने, “जुन जसपाले मात्र प्रदान गर्न सक्छ । रमेशजीको आगमनले हाम्रो पार्टीलाई थप सबल बनाउनेछ, ।” 

उनले जसपा नेपालले पद र सत्ताका लागि बारम्बार सम्झौता गर्दै मधेसी जनताको भावनासँग खेलबाड गरेको आरोप पनि लगाए । “जसपाले भने सधैँ इमानदार सङ्घर्ष गर्छ, र अबको सही राजनीतिक विकल्प यही हो । समृद्ध मधेस र सशक्त राष्ट्र निर्माणका लागि सबैलाई ढिला नगरी जसपामा सामेल हुन आग्रह गर्दछु । परिवर्तन र पहिचानको यात्रा यहीँबाट सुरु हुन्छ,” उनले थपे ।

त्यसै गरी, जसपा प्रवेश गरेका रमेश साह तेलीले मधेस र जनताको हितको संरक्षण गर्ने जिम्मेवारीबाट जसपा नेपाल चुकेको कारण आफूले जसपा प्रवेश गरेको बताए । तेलीले जसपा नेपालमा आबद्ध रहेका अन्य नेताहरूलाई सही समयमै निर्णय लिन आग्रह गर्दै भने, “अब सबैले जसपामा सामेल भई सही मार्गमा अघि बढ्नुपर्छ । म सधैँ जनताको सेवामा सक्रिय रहँदै विकास र समृद्धिका लागि काम गर्न प्रतिबद्ध छु ।”

जसपाका उपाध्यक्ष रणध्वज कन्दङ्वाले तेलीजस्तो समर्पित नेताको साथले जसपा थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस्तै पार्टीका नेता तबरेज अहमदले रमेश साह तेलीको आगमनलाई ऐतिहासिक निर्णयको रूपमा व्याख्या गर्दै जसपाले मात्र मुलुकको स्थायी परिवर्तन र मधेसको समृद्धिको ग्यारेन्टी गर्न सक्षम रहेको दाबी गरे ।

रमेश साह तेलीको जसपामा प्रवेशलाई पर्साको राजनीति र जसपाको अभियानमा नयाँ ऊर्जा थप्ने घटनाका रूपमा हेरिएको छ । जसपाले आगामी दिनहरूमा मधेसको अधिकार र पहिचानका लागि आफ्नो अभियानलाई अझ सशक्त बनाउन योजना बनाएको छ ।

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो एक सय दिनको कार्यकालका उपलब्धिहरू मंगलबार सार्वजनिक गर्दै मन्त्रालयको कामलाई जनअपेक्षाअनुसार द्रुतगतिमा अघि बढाइएको बताएका छन्  । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी गत असार ३१ गते पदभार ग्रहण गरेपछि आफूले मेलम्ची आयोजना पुनः सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रहरूको पुनर्स्थापनासम्मका कार्यहरूमा विशेष ध्यान दिइएको बताए । 

उनले आफ्नो नेतृत्वमा मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको दाबी गरे ।

बडादसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने आफ्नो अठोट अनुरूप मेलम्चीको पानी गत असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको बताए । “यसले उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको छ,” उनले भने, “मेलम्ची आयोजनाको पुनः सञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिए ।”

प्रत्यक्ष जनसंवाद र सहकार्यको प्रयासले काठमाडौँ उपत्यकाको खानेपानी सङ्कटलाई कम गर्न महत्त्वपूर्ण पुगेको उनले बताए । मन्त्री यादवले आफ्नो सय दिनको अवधिमा विभिन्न आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण गर्दै व्यक्तिगत रूपमा प्रगतिमा चासो देखाएका थिए । उनले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरा गरी काममा तीव्रता दिन समेत निर्देशन दिएका थिए । 

“स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो,” मन्त्री यादवले भने । उनको निरीक्षणको क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजनाहरू अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ ।

पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको मन्त्री यादवले बताए । “जसमा स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ,” मन्त्री यादवले भने । त्यसै गरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रहरूमा नियमित आपूर्ति सुरु भइसकेको उनले जानकारी दिए ।

मन्त्रालयले सरसफाइ सुधारमा पनि विशेष प्राथमिकता दिएको उनले दाबी गरे । तर, असोज महिनामा आएको अविरल वर्षाका कारण धोवीघाट फोहोर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरणहरू अवरुद्ध भएका थिए । मन्त्री यादवले समस्या समाधानका लागि तत्काल मर्मत थाल्न निर्देशन दिइएको र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको समेत बताए । उनले भने, “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन । हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौँ ।” 

मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गति दिन २८ अगस्टमा चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइसकेको पनि मन्त्री यादवले बताए । पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । सेप्टेम्बर २४ मा आएको बाढीले आठ सय मिलिमिटर पाइपलाइनमा क्षति पुर्‍याएपछि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।

यस्तै मन्त्रालयले देशभरिका विभिन्न जिल्लाहरूमा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू सञ्चालनमा ल्याएको छ । यी आयोजनाहरू विभिन्न चरणमा रहेका छन्, जसमा पुरानो योजना मर्मतदेखि नयाँ आयोजना निर्माणसम्मका कामहरू समावेश छन् । मन्त्रालयले यी परियोजनाहरूलाई छिटो सम्पन्न गर्नका लागि अतिरिक्त बजेटको व्यवस्थापनका लागि प्रयास गरिरहेको मन्त्री यादवले बताए । परियोजनाहरूको सफल कार्यान्वयनले करिब १५ लाख मानिसलाई प्रत्यक्ष लाभ पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

नेपालमा पाेलियाे उन्मुलन भएपनि जाेखिम अझै कायम छ : चिकित्सकहरु

वीरगंज । नेपालमा पोलियोकाे जाेखिम अझै कायम रहेकाे चिकित्सकहरुले वताएका छन् । पोलियो भाईरस विरुद्ध जनचेतना जगाउनका लागि रोट्री क्लब अफ वीरगंज र रोट्री क्लब अफ मेट्रोपोलिसले मंगलबार वीरगंजमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा चिकित्सकहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा पाेलियाे राेग बारे जानकारी गराउँदै वाल तथा नवजात शिशु विशेषज्ञ डाक्टर आनन्द झाले पोलियो भाईरस संसारको जुनुसकै देशमा फेला परेपनि त्यसको जोखिम नेपालमा पनि हुने बताए । विश्व भूमण्डलीकरणले गर्दा मानिसहरुको आवतजावतका कारणले पनि पोलियो भाईरस संक्रमणको जोखिम हुने डाक्टर झाको भनाई थियो ।

उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले नेपाली नागरिकहरुलाई पोलियो भाइरसबाट बचाउनका लागि प्रति व्यक्ति ३० हजार खर्च गरिरहेकोले यसको उपयोगिता प्राप्त गर्नका लागि हरेक नेपाली नागरिकले दायित्ववोध गर्नुपर्ने बताए ।

कार्यक्रममा वाेल्दै डाक्टर निरज सिंहले नेपालमा पाेलियाे उन्मुलन भएपनि अझै जोखिम भने कायमै रहेको बताए । उनले पोलियो उन्मुलन भयो भनेर ढुक्क हुनुपर्ने अवस्था नरहेको बताए ।

उनले पोलियोको बारेमा व्यापक जनचेतना फैलाउनुपर्ने र यसमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

त्यस्तै डाक्टर मनोज गुप्ताले पोलियो जस्तो अत्यन्त जोखिमयुक्त भाईरसबाट बचाउनका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले नेपाली नागरिकमाथि गरिरहेको लगानीलाई खेर जान नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुरले १५ बर्ष सम्मका बालबालिकाहरुलाई पाेलियाेकाे जाेखिम रहेकाे वताए । उनले पांच बर्ष सम्मका बालबालिकामा पाेलियाे राेग लाग्ने सम्भावना बढी रहेकाे वताउँदै त्यस भन्दा अलि कम सम्भावना १५ बर्ष सम्मकाे बालबालिकामा रहेकाे वताए ।

कार्यक्रममा पोलियो उन्मुलन सम्बन्धी जनचेतनाका लागि सञ्चार माध्यमहरुले पनि निःशुल्क प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामुदायिक रेडियो नारायणी एफ.एमका स्टेसन मेनेजर निरज पिठाकोटेले पोलियो उनमुलन अभियानमा सामुदायिक रेडियो पनि साथमा रहेकोले पोलियो उन्मुलन सम्बन्धी प्रचार सामग्री एफएमबाट निःशुल्क प्रसारण गरिने घोषणा गरे ।

त्यस्तै रेडियो पोखरियाका प्रवन्ध निर्देशक शम्भु कुमार सुमनले पनि आफ्नाे रेडियाेबाट निःशुल्क रुपमा जनचेतनामूलक सामग्री बजाएर प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाए । 

रोट्री क्लब अफ वीरगंज र रोट्री क्लब अफ मेट्रोपोलिसले छपकैयामा रहेको क्लबको आफ्नै सेन्टरमा भएकाे पोलियो उन्मुलन सम्बन्धी अभिमूखीकरण कार्यक्रममा क्लबले पोलियो उन्मुलन सम्बन्धी आयोजना गर्ने कार्यक्रमको बारेमा पनि जानकारी गराएको छ ।

रोट्री क्लब अफ वीरगंजका निर्मल खत्री र रोट्री क्लब अफ मेट्रोपोलिसका अध्यक्ष अनिल जयसवालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको बारेमा जानकारी दिदै रोट्री क्लबका पूर्व अध्यक्ष अभिषेक चौधरीले पोलियो उन्मुलनका लागि रोट्री क्लबले अन्तराष्ट्रियस्तरमा नै महत्वपूर्ण भूमिका खेल्दै आएको र नेपालमा पनि क्लबले स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा विभिन्न क्रियाकलापहरु गर्दै आएको जानकारी दिए ।

उनले विशेष गरी पोलियो उन्मुलनका लागि रोटरी क्लबले नेपाल सरकारसँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिदै आउदो अक्टोबर २४ तारिक अर्थात असाेज ८ गते क्लबले पोलियो विरुद्ध जनचेतनाका लागि विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

उनका अनुसार पर्सि ८ गते बिहीबार बिहान नारायणी अस्पतालदेखि घण्टाघरसम्म दौड प्रतियोगिता, लालबंगला अगाडिको खाली ठाउँमा मानव साङलो बनाउने र साँझ ६ बजे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रममा सहभागी हुन आयाेजक क्लबहरुले सबैलाई आग्रह पनि गरेका छन् ।

आरडीसी सेन्टर, राेटरी भवनमा भएकाे कार्यक्रमकाे संचालन राेट्री क्लब अफ वीरगंजका सचिव राकेश मिश्राले गरेका थिए ।

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

वीरगंज । वीरगंजको ड्राइपोर्ट चौकमा खटिने ट्राफिक प्रहरीले यस्तै छाडेका ओभर लाेडका गाडीहरुबाट रु दुई लाख भन्दा बढी जरिवाना भएकाे छ । अस्थायी ट्राफिक प्रहरी ड्राइपाेर्टले विना कारवाही छाेडेका ओभर लाेड गरेका १३ वटा गाडीहरुलाई यातायात व्यवस्था कार्यालय वीरगंजले रु दुई लाख १२ हजार ४ सय १७ जरिवाना गरेकाे छ ।

शुक्रबार दिउसाे आइसीपीबाट एकैसाथ एक दर्जन भन्दा बढी ओभर लाेड गाडीहरु छुटेका थिए । ति गाडीहरुलाई ड्राइपाेर्टमा डियुटीमा खटिएका ट्राफिक प्रहरीले राेकेर चेकजाँच समेत गरेनन् । मात्र गाडीहरु काउन्ट गरेर छाडी दिए । 

प्रत्यक्षदर्शीका अनुसार कच्चा पदार्थ (केमिल) लाेड रहेका बिआर १० जिसि  ३८२७, बिआर १० जिसि ५८२८, बिआर १० जिसि ०८५८, बिआर १० जिसि ३८१४, बिआर १० जिसि ३८२५, डब्लुबि ५३ सि १६८३,  डब्लुबि ५३ सि ३०२४, डब्लुबि ५३ सि ३०७०, डब्लुबि ५३ सि ३०६९, डब्लुबि ५३ सि १६११, डब्लुबि ५३ सि ३०७८, डब्लुबि ५३ सि १६२०, डब्लुबि ५३ सि ३०६० र डब्लुबि ५३ सि ३०४२ नम्बरकाे भारतिय नम्बरकाे ओभर लाेड रहेका १४ वटा गाडीहरु डियुटीमा खटिएका ट्राफिक प्रहरीकाे सामुने नै छुटेका थिए ।

त्यसपछि याे खबर एक संचारकर्मीलाई प्राप्त भएपछि उनी बाटाे मै ति गाडीहरुलाई राेकेर साेधपुछ गरेका थिए । पछि त्यँही संचारकर्मीले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई जानकारी गराएपछि ति गाडीहरु जगरनापुर मै राेकिएका थिए । त्यसपछि ति गाडीहरुलाई के गर्ने ट्राफिक प्रहरीकाे टाउकाे दुखाईकाे विषय भयाे ।

ट्राफिक प्रहरी स्राेत कै अनुसार सुरुमा ति गाडीहरुलाई ट्राफिक प्रहरीले नै जरिवानाकाे रसिद काटेर छाेडने प्रयास गरिएकाे थियाे । तर गाडीकाे क्षमता भन्दा दाेब्बरदेखि तेब्बर सम्म ओभर लाेड रहेकाले नियम अनुसर नमिल्ने भएपछि ति गाडीहरुलाई जिल्ला ट्राफिक प्रहरीले यातायात कार्यालयलाई बुझाउन बाध्य भयाे ।   

समाचार स्राेतका अनुसार अस्थायी ट्राफिक प्रहरी पाेष्ट ड्राइपाेर्टका इन्चार्ज राम सहाय यादवलाई दलाल मार्फत प्रति गाडी रु दुई सयकाे दर बुझाएर ति गाडीहरु जाने गरेकाे थियाे । यी त उदाहरण पात्र घटना मात्र हुन् । यस्ता दुई सयदेखि ३ सय सम्म ओभर लाेड गाडीहरु दिनहुँ ड्राइपाेर्ट भएर जाने गरेका छन् । ति सबै गाडीहरुबाट ड्राइपाेर्टमा खटिने ट्राफिक प्रहरीले दलालहरु मार्फत प्रति गाडी रु दुई सय देखि ५ सय सम्म घुस रकम बुझ्ने गरेका छन् ।  

शुक्रबार दिउसाेदेखि नै वीरगंज २२ स्थित क्वालिटी काँटा अगाडी राेकिएका गाडीहरु मध्ये १३ वटालाई आइतबार दिउसाे मात्र जिल्ला ट्राफिक प्रहरीले कारवाहीकाे लागि यातायात व्यवस्था कार्यालय वीरगंजलाई बुझाएकाे थियाे । त्यसपछि यातायात कार्यालयले बिआर १० जिसि ३८२७ लाई रु २० हजार ९ सय ४९ , बिआर १० जिसि ५८२८ लाई रु २० हजार २ सय ६२, बिआर १० जिसि ०८५८ लाई रु २० हजार ५ सय २२, बिआर १० जिसि ३८१४ रु १९ हजार ९ सय ७२, बिआर १० जिसि ३८२५ लाई रु २० हजार ४ सय १२ जरिवाना गरेकाे छ ।

यसैगरी डब्लुबि ५३ सि १६८३ लाई रु ११ हजार ४ सय ६६,  डब्लुबि ५३ सि ३०२४ लाई रु १४ हजार २ सय ९४, डब्लुबि ५३ सि ३०७० लाई रु १३ हजार ५ सय ७८, डब्लुबि ५३ सि ३०६९ लाई रु १३ हजार ८ सय ७, डब्लुबि ५३ सि १६११ लाई रु १४ हजार ४ सय ८४, डब्लुबि ५३ सि १६२० लाई रु १३ हजार एक सय ५६, डब्लुबि ५३ सि ३०६० लाई रु १५ हजार एक सय ८९ र डब्लुबि ५३ सि ३०४२ लाई रु १४ हजार ३ सय २६ जरिवाना गरिएकाे यातायात व्यवस्था कार्यालय वीरगंजले जनाएकाे छ ।

ड्राइपाेर्ट भएर दिनहुँ जाने ओभर लाेड गाडीहरु डियुटीमा खटिएका ट्राफिक प्रहरीहरुले नजराना बुझेर छाडने गरेकाे याे घटनाले प्रमाणित समेत गरेकाे छ । ओभर लाेडका गाडीहरुका जिम्मा लिएका दलालले पछि आएर ट्राफिक प्रहरीलाई नजराना बुझाउने गरेका छन् ।

ओभर लाेड गाडीहरु ड्राइपाेर्टमा किन राेकिएन ? प्रश्न ड्राइपाेर्ट ट्राफिक प्रहरीका इन्चार्ज असई राम सहाय यादवलाई साेध्दा नवराज मैनालीसंग साेध्न गैर जिम्मेवार पूर्ण जवाफ दिए । तपाई त्यहाँकाे इन्चार्ज हाेइन तपाईलाई जवाफ दिनु पर्दैन कालिका टाईम्सका सम्पादकले अर्काे प्रश्न गर्दा त्याे बेला उनी नै डियुटीमा रहेकाेले उनीसंग नै साेध्न भन्दै फाेन काटिदिए ।

यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्याल पर्सा प्रमुख प्रहरी निरिक्षक लाेकराज भट्टसंग बुझ्न फाेनमा सम्पर्क गर्दा आजै मात्र १४ वटा गाडीहरुलाई कारवाहीकाे लागि यातायात कार्याय बुझाइएकाे भन्दै तपाई कसरी भन्नु हुन्छ भन्दै उल्टै सम्पादकलाई नै प्रश्न गरे । त्यसपछि सम्पादकले यी त उदाहारण पत्र मात्र घटना हुन्, यस्ता गाडीहरु त दिनहु जानेका गरेका छन् नि फेरी अर्काे प्रश्न गर्दा आफु सिडियाे सावसंग एउटा मिटिङमा रहेकाे भन्दै पछि कार्यालयमा भेटर कुरा गर्न भन्दै जवाफ दिन चाहेनन् । 

अब नियम विपरित कार्य गर्ने ड्राइपाेर्टमा खटिएका ट्राफिक प्रहरी टाेलीलाई कारवाही हुन्छ की हुँदै हेर्न बाकी मात्र छ । अवैध रकम असुल्न मात्र ब्यस्त रहेकाे ड्राइपाेर्ट ट्राफिक प्रहरी टाेलीलाई कारवाही भएन भने साे अवैध रकमबाट जिल्ला ट्राफिक प्रहरी र प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया सम्म पुग्ने गरेकाे सहजै बुझ्न सकिन्छ । 

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

वीरगंज । पर्साको पोखरियामा आयोजित पोखरिया गोल्डकप फुटबलको उपाधि वीरगंज युथ एकेडमीले जितेको छ । दसैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा भएकाे गाेल्डकपकाे आइतबार भएको फाइनल खेलमा पर्साको विरुवागुठीलाई टाइबेकरमा ५–३ गोलले पराजित गर्दै वीरगंजले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बरा बरीमा सकिएपछि खेलको अन्तिम नतिजा ट्राइबेकरबाट गरिएको थियाे । समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र प्रसाद चाैधरीले विजेता टिम वीरगंजलाई एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरे । उपविजेता बिरुवागुठीले नगद ५१ हजार १ सय ११ रुपैयाँमै प्राप्त गर्याे ।

पोखरिया–४ को वडासमिति कार्यालय र नवदूर्गा पूजा समितिले आयोजना गरेको फुटबल प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । श्री जिल्ला उच्चांगल रामदेव कलवार मावि पाेखरियाकाे फिल्डमा भएकाे प्रतियाेगिता भएकाे थियाे ।

प्रतियाेगिताकाे समापन समाराेहमा पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, पूर्व मेयर दीपनारायण रौनियार, उप मेयर प्रमुख रूबी ठाकुर, नेता नेजामुदिन समानी, नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष बिंध्याचल ठाकुर, वडाध्यक्ष लक्ष्मण साह कानु, नौसाद आलम, किशोरी साह, दीपक ठाकुर लगायतकाको उपस्थित रहेको थियो ।

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

वीरगंज । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलामा आउने भक्तजन र दर्शनार्थीका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्रालयका कर्मचारीलाई विशेष निर्देशन दिएका छन् ।

मन्दिरमा मङ्सिरको दोस्रो सातादेखि पञ्चवर्षीय मेला लाग्नेछ, जुन विश्वभर पशु बलि दिने परम्पराका लागि प्रख्यात छ । शनिवार बिहान गढीमाई मन्दिरमा पूजा गर्दै मन्त्री यादवले मेला व्यवस्थापनका लागि भइरहेको तयारीको स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग छलफल गरेका हुन् । सोही क्रममा उनले गढीमाई मेलामा आउने श्रद्धालुहरूको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले भने, “गत वर्षको पञ्चवर्षीय मेलामा खानेपानी र शौचालयको अभावका कारण भक्तहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो । यसपालि त्यस्ता समस्याहरूलाई रोक्नका लागि हामीले समयमै समुचित प्रबन्ध गर्नुपर्छ ।”

मन्त्री यादवले गढीमाई मेला अवधिभर मन्त्रालयका कर्मचारीलाई पानीको शुद्धतामा मापन यन्त्र जडान गर्न र त्यसको सञ्चालन र व्यवस्थापन गर्न पनि निर्देशन दिए । “हामीले पानीको गुणस्तरमा कुनै कारको सम्झौता गर्न सक्दैनौँ । श्रद्धालुहरूले पक्कै पनि शुद्ध पानी पाउनु पर्छ । यसका लागि आवश्यक व्यवस्था गर्न हामी समर्पित छौँ,” उन भने ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले गढीमाई मन्दिर र मेला मधेसको लागि मात्र नभइ नेपालका लागि महत्त्वपूर्ण पहिचान भएको कुरा उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताए । उनले भने, “हाम्रो यस क्षेत्रको संस्कृति, परम्परा र धार्मिक आस्थाले यसलाई पर्यटकीय दृष्टिले महत्त्वपूर्ण बनाउछ । यसलाई प्रवर्द्धन गर्नका लागि हामीले विशेष ध्यान दिन आवश्यक छ ।”

उनले थपे, “गढीमाई मेला मात्र धार्मिक आस्था प्रकट गर्ने स्थान होइन, यसले आर्थिक र सांस्कृतिक दुवै पक्षलाई समेट्ने गर्दछ । यहाँ आउने भक्तजनहरूले स्थानीय व्यवसायमा पनि योगदान पुर्‍याउने छन्, जसले समग्र क्षेत्रमा आर्थिक गतिविधिलाई तीव्रता दिन सक्छ ।” गढीमाई मेला आयोजनामा सरकारले स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धन गर्ने अवसरका रूपमा लिने आवश्यकता रहेको उनले वताए ।

सो क्रममा उपस्थितहरूले गढीमाई मेला व्यवस्थापनमा सरकारको सक्रियता र सहयोगको महत्त्वलाई स्वीकार गर्दै मेलामा स्थानीय समुदायको विकास र समृद्धिमा थप ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । मन्त्री यादवले मेला सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउँदै श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व मन्त्री एवम् बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान), पूर्व सांसद प्रमोद गुप्ता, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा, स्थानीय युवा नेता सञ्जय सर्राफ, मेला आयोजक समितिका पदाधिकारीहरू र अन्य स्थानीय अगुवाहरूको उपस्थिति थियो ।

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा शनिवार वीरगंजमा प्रदर्शन भएकाे छ । पूर्व गृह मन्त्री समेत रहेका लामिक्षानेकाे रिहाईकाे माग गर्दै रास्वपा पर्साका नेता-कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे क्लासिक बैंक्वेटबाट निस्केकाे विराेध र्‍याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घणंटाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । विराेध र्‍यालीमा सहभागिहरुले नगर परिक्रमा गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे विरोधमा चर्काे नाराबाजी समेत गरेका थिए ।

प्रदर्शन कै क्रममा मिना बजार क्षेत्रबाट सरकारको प्रतीकात्मक शव यात्रा समेत निकालिएको थियो । जुन घण्टाघर चोक पुगेर मुख्य जुलुससँग मिसिएको थियो । साे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियाे ।

कोण सभालाई सम्बाेधन गर्दै रास्वपा पर्सा जिल्ला संयाेजक हरि पन्तले सरकारको सभापति ज्युलाई प्रतिशाेधकाे लागि नियन्त्रणमा लिएकाे वताए । उनले सरकारकाे कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै भने, “संसदीय छानबिन समितिले निर्दोष ठहर गरिसकेको अवस्थामा पनि रवि लामिछानेलाई फसाउन राज्यका शक्तिहरू प्रयोग गरिएका छन् ।”

उनले काँग्रेस र एमालेजस्ता परम्परागत दलहरू नयाँ राजनीतिक शक्तिहरूको उदयबाट त्रसित भएको दाबी गर्दै सरकारको यो कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

कोणसभामा केन्द्रीय सदस्य नन्दन यादवले पनि लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको परिणाम भने । उनले काँग्रेस-एमाले नेतृत्वको सरकारको योजनाबद्ध प्रयासले रास्वपा र त्यसका नेताहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाए । यादवले भने, “नेपाली जनताले मन पराउन थालेका लामिछानेलाई न्यायालयले निर्दोष साबित गर्नेमा हामी विश्वस्त छौँ ।”

विराेध प्रदर्शनमा रास्वपाका पूर्व जिल्ला संयाेजक दिलिप कुर्मी, पर्सा क्षेत्र नं. ४ का संयाेजक जितेन्द्र मिश्रा, युवा नेता महादेव प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाका सभापति चन्दन यादव, तुलसा पाैडेल अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।