Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 277

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीकाे कमिटी पुर्नगठन भएकाे छ । जिराभवानी गाउँपालिकाकाे वडा नं. १ स्थित जिराभवानी मन्दिर परिसरमा भएकाे एक भेलाले हदिश मियाँकाे अध्यक्षतामा १३ सदस्यिय कमिटी पुर्नगठन भएको हो ।

पुर्नगठित समितिकाे उपाध्यक्षमा भागवती चाैधरी, सचिव भुलन दास थारु, सदस्यहरुमा छाेटेलाल विन, राजकपुर भण्डारी, देवलाल भण्डारी, सावित्री देवी, भागरथी देवी, मदन मुखिया विन, कुंज विहारी ठाकुर, गाैरीशंकर चाैधरी, किशाेरी थारु र रामकिशुन चाैधरी सर्वसहमत चयन भएका छन् । 

जिल्ला कमिटीका सचिवालय सदस्य भोला महतो थारुकाे अध्यक्षतामा भएकाे भेलामा पार्टीका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य बलगोपाल थापा, केन्द्रिय सदस्य एवं वीरगंज महानगर अध्यक्ष मनाेज चौधरी, युवा संघ नेपालको केन्द्रिय सदस्य अनिल पटेल लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

जनमत पार्टी पर्साले रंगभेद विरुद्ध एकता दिवस मनाउने

वीरगंज । जनमत पार्टी पर्साले रंगभेद विरुद्ध एकता दिवस मनाउने भएकाे छ । शनिबार बसेकाे जनमत पार्टीकाे जिल्ला कार्यसमिति पर्साको बैठकले यही मंसिर १० गते सोमबार रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय गरेको हो ।

केन्द्रिय समितिको निर्णय अनुसार पर्सामा रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय भएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । जनमत पार्टी पर्साकाे आयाेजनामा यही १० गते घण्टाघरबाट बृहत र्‍याली निकालेर रंगभेदविरुद्धको एकता दिवस मनाउने निर्णय भएकाे उनले वताए । 

उनका अनुसार पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार वीरगंजमा एकता दिवस मनाउने सर्वसम्मत निर्णय गरिएको हो ।

बैठकमा राजनीतिक समिति सदस्य सिपु तिवारी, केन्द्रिय सदस्यहरु श्याम शंकर चौरसिया, अनिता रौनियार, श्याम गुप्ता, बिनय यादव, राहुल रौनियार, राजेश चौरसिया, नेताहरु अमरनाथ सिंह राठौर, संजय सिंह लगायत विभिन्न पालिका अध्यक्ष एवं नेता, कार्यकर्ताको उपस्थित रहेको थियो ।

गढीमाई मेला हिन्दुहरूको ठुलो आस्थाको केन्द्र हाे : मन्त्री चौरसिया

बारा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले हिन्दुहरूको ठुलो आस्थाको केन्द्रको रूपमा रहेको गढीमाई मेलामा नेपाल सरकारको पूर्ण साथ र समर्थन रहने बताएका छन् ।

गढीमाईको दर्शन गरे पश्चात् मन्त्री चौरसियाले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेपाल सरकार पर्यटन मन्त्रालयलाई आफू काठमाडौँ गएर गढीमाई मेलाको बारेमा जानकारी दिने र पर्यटन मन्त्री समेत मेला अवलोकन तथा निरीक्षण गर्न आउनेमा आफू विश्वस्त रहेको उनले वताए ।

बलीका आधारमा विश्व प्रसिद्ध गढीमाई मन्दिरलाई अहिलेको सरकारले विश्व सम्पदाको सूचिमा समावेश गराउनको लागि पहल गर्ने समेत मन्त्री चौरसियाले बताए । गढीमाईको दर्शन गर्न आउने सबैको मनोकामना पूरा हुने गरेकोले सबै हिन्दुहरू सँग उनले मेला अवलोकन तथा गढीमाईको दर्शन गर्न आउनको लागि आग्रह समेत गरे ।

गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौरसियाले सनातन काल देखि प्रत्येक पाँच वर्षमा गढीमाईको मेला लाग्दै आएको र गढीमाईमा आएपछि सबैको मनोकामना पूरा हुने गरेको विश्वास व्यक्त गर्नुभएको थियो ।

विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए सँगै अहिले केन्द्र र प्रदेशको मन्त्रीहरू सँगै विभिन्न राजनीतिक दलका मुख्य नेताहरू, प्रहरी प्रशासनका प्रमुखहरू, मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीहरू मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

एसईई नतिजाको पुनर्याेग गर्दा गौतम माविकी छात्राले गरिन् जिल्ला टप

-मुस्कान श्रेष्ठ /
वीरगंंज । शैक्षिक सत्र २०८० को एसईई परिक्षामा वीरगञ्जको गौतम माध्यामिक विधालयमा अध्यन्नरत रिया साहले ३.९७ जीपीए ल्याएर पर्सा जिल्ला टप गरेकी छन् ।

एसईई परिक्षाको नतिजा चित्त बुझ्दो नआएपछि पुनर्योग गर्दा उनले पर्सा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।

सो अवसरमा विधालयले एक कार्यक्रमको आयोजना गरी छात्रा रियालाई २५ हजार नगद पुरस्कार र सम्मान पत्रसहित सम्मान गरेको छ ।

कार्यक्रममा विधार्थी रियाले आफ्नो आमाबुबा तथा विधालयको साथका कारण उक्त नतिजा ल्याउन सफल भएको बताईन् । उनले आफ्नो आत्मबल बढाउन विधालयका शिक्षक तथा शिक्षीकाले खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गरिन् । 

यस्तै,  विधालयकी सह–प्रधानाध्यापिका पिया लामाले विधार्थीको उत्कृष्ट नतिजाले आफूहरु गौरभान्वित महसुस भइरहेको बताईन् । छात्राले गरेको मेहेनतप्रति परिवारजनले गरेको विश्वासको कारण सफलता हासिल भएको भन्दै प्रशंसा समेत गरिन् ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले विधार्थीको आफूप्रतिको अटल विश्वास र परिवारजनको साथले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभएको छ । उहाँले आएको नतिजालाई अन्तिम रुपमा स्वीकार नगरी आफूले गरेको मेहेनत प्रति विश्वास छ पुनः चेकेजाँच गराउनु पर्ने बताए ।

गत असारमा राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा रियाले अन्य विषयहरुमा ए प्लस ल्याएपनि कम्पूटर साईन्सको विषयमा भने बी प्लस ल्याएकी थिईन । त्यतीबेला उनको एसईईको नतिजा ३.९५ जीपीए रहेको थियो । अहिले पुनर्योग गर्दा उनले ३.९७ ल्याएकी हुन् ।

यो घटनाले राष्ट्रिय परिक्षा बोर्ड अन्तरगत परिक्षा नियन्त्रण कार्यालयको लापरवाहीलाई दर्शाएको छ । यस्ता प्रकृतिका गम्भीर त्रुटीकै कारण विधार्थीहरुको मनोबल खस्नुका साथै परिक्षाको नतिजा नै संका उत्पन्न भएको छ ।

कार पाेलमा ठोक्किँदा दुर्घटना

वीरगंज । वीरगंजकाे ओम आश्रम नजिकै बुधवार राति कार दुर्घटना भएको छ । बागमती प्रदेश ०१ च ८६२३ नम्बरको कार नेशनल ट्रेडिङबाट भित्र प्रवेश गरी ओम आश्रम नजिकैको घुम्तीमा बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार एक जना घाइते भएका छन् । कार चालक फरार रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । प्रहरीका अनुसार फरार चालकको खोजी कार्य भइरहेको छ ।

रातिको समयमा दुर्घटनाको ठूलो आवाज सुनेर स्थानी घटनास्थलमा पुगेका थिए । घाइते व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण र चालकको पहिचानबारे अनुसन्धान भइरहेको छ ।  

दुर्घटनाले कारमा पुर्ण रुपले क्षति पुग्नुकाे साथै विधुतकाे पाेलमा समेत क्षति पुगेकाे छ ।

आधुनिक मेशिनले किसानलाई सहज भएसंगै कृषिमै आधारित ज्यामीहरुको पेशा संकटमा

-ओमप्रकाश चाैधरी/
सेढवा । कृषि कार्यका लागि उत्पादन भएका बिभिन्न आधुनिक मेशिन तथा औजारका कारण किसानहरुलाई खेतीपाती गर्न सहज भएका छन । तर कृषिमै आधारित ज्यामीहरुको पेशा भने संकटमा परेका छन ।

खेतीपातीका लागि खनजोत गर्न ट्याक्टरको प्रयोग गरी फाली तथा रोटाभेटर लगायतका मेशिनहरुको प्रयोजन हुन थालेका छन । जसले गर्दा कम समय तथा कम खर्चमा धेरै जमिनलाई खनजोत गर्ने सजिलो भएका छन । तर सो मेशिन तथा औजारको प्रयोग भएसंगै किसानहरुले गोरु पाल्न बन्द गरेका छन भने हलो लोप नै भएका छन । किसानहरूले बस्तुभाव पाल्न छोडेपछि गाईबस्तुबाट पाइने गोबर तथा मलमुत्रबाट तैयार हुने कम्पोष्ट मलको प्रयोग बालीमा एकदमै न्यून भएका छन ।

बाली भित्रियाउन हार्भेस्टर मेशिन तथा बाली काट्न रिपर तथा दाई गर्न थ्रेसर प्रयोग हुन थालेपछि किसानहरुलाई सहज भएका छन । एक बिघा धानबाली एक घण्टामै कटानी गरी दाई गर्न सक्ने हार्भेस्टर मेशिनका कारण किसानहरुले कम समय र कम खर्चमा बाली भित्रियाउने भएका पटेर्वासुगौली गाउँपालिकाका किसान भागवत चौधरीले बताए ।

एक बिघा बाली काट्न र दाई गर्न दुई क्वीन्टल धान वा पाच देखि ६ हजार रुपैया मात्र खर्च गर्नु परेको किसान चौधरीले बताए । सोही एक बिघा धानबाली कटानी गरी थ्रेसरले दाई गर्दा कमतीमा २० जना ज्यामी खटाउनु पर्ने र दाई गर्नका लागि प्रयोग गरिने थ्रेसरलाई समेत भाडा दिनु पर्ने किसान चौधरीको भनाई रहेका छन ।

यस कार्यका लागि कमसेकम १५ हजार रुपैया खर्च गर्नु पर्ने किसान चौधरीको भनाई रहेका छन । यसका साथै बजारमा आएका बिभिन्न किसिम्मका किटनाशक औषधीका कारणले पनि खेतिपातीमा ज्यामीहरुको कटौती भएका छन । धान तथा अन्य बालीमा किटनाशक औषधीको प्रयोग गर्दा बालीमा अन्य झारपात न उम्रिने, उम्रिए पनि मर्ने हुँदा गोडमेल गर्न ज्यामीहरुको आवश्यक्ता नपर्ने भएका जिराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान अमृत चौधरीले बताए ।

जिराभवानी गाउपालिका वडा नं ५ का कृषिका लागि मजदुरका कार्य गर्दै आएका नमी माझी मुस्हरका अनुसार कृषि कार्यमा काम पाउन कमी भएको बताए । खेतीका लागि किसानहरु अकलझुकल काममा लगाउने गरेको मुस्हरको भनाई छ । आली बाध्न, बिऊ छर्न, बीऊ उखेल्न तथा बर्षातको बेला बाली कटानी गर्नका लागि काममा खटाउने गरेको मजदुर मुस्हरले बताए ।

सोही कारणले गाँउघरमा छाक टार्न समस्या भएकाले अधिकांश मजदुर तथा मजदुरका सन्तान रोजगारीका लागि छिमेकी मुलुक भारतका बिभिन्न राज्यमा जाने गरेका मजदुरहरुले गुनासो गरे । जिराभवानी गाउँपालिका वडा नं ४ सुपौलीका किसान ब्रिजलाल पञ्जियारका अनुसार दलित तथा मजदुरहरुबाट ज्यालादारीकै भरमा परिवार पाल्दै आएका हुँदा किसानहरुले बिशेष ध्यान दिनु आवश्यक रहेको बताए ।

ज्यामीहरुलाई कामको आवश्यकता रहेका कारण कृषि परियोजनका आधुनिक मेशिकको प्रयोग नगरेको पञ्जियारले बताए । बालीको गोडमेल, बाली भित्रियाउन मेशिनको प्रयोग नगरी ज्यामीहरुलाई खटाउने गरेको किसान पञ्जियारले बताए ।

पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो ।
 
“चालु आवको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्तिक मसान्तसम्ममा रु ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण रु २५ खर्ब १८ अर्ब पाँच करोड पुगेको छ”, कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, “जुन कुल जिडिपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।”
 
विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा रु चार अर्ब ९८ करोड बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ । कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व रु १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख र बाह्य ऋण दायित्व रु १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख बराबर छ । जिडिपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत हो ।
 
सरकारले चालु आवका लागि रु पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिकसम्ममा रु एक खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्त भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३० दशमलव ३० प्रतिशत हो ।
 
चालु आवका लागि सरकारले रु तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात् रु एक खर्ब ४४ अर्ब पहिलो चौमासिकमा उठाएको छ । त्यस्तै, रु दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्ममा १० दशमलव एक प्रतिशत अर्थात् रु २१ अर्ब ७२ करोड ऋण लिइएको छ ।
 
चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले रु चार खर्ब दुई अर्ब बराबर बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्ममा रु एक खर्ब आठ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । कुल जिडिपीको आधारमा कात्तिक मसान्तसम्ममा ऋणको साँवाब्याज तिर्न भएको खर्च एक दशमलव ९० प्रतिशत बराबर हो । रासस

करैयामाई गाउँपालिका अनुदानमा गहुँको बीउ वितरण गर्दै

वीरगंज । करैयामाई गाउँपालिकाले मंगलबारदेखि किसानहरूलाई अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । गाउँपालिकाले हेटौंडास्थित कृषि सामग्री कम्पनी लिमिटेड, बागमती प्रादेशिक कार्यालयबाट एन.एल ९७१ जातका गहुँका बीउ १३२ क्विन्टल खरिद गरी किसानहरूसम्म ५०% अनुदानमा वितरण गर्न सुरु गरेकाे हाे ।

गाउँपालिकाका अध्यक्ष शम्भु यादवले किसानहरूले समयमै माग गरे अनुसारको बीउ उपलब्ध गराइएको बताए । साथै उनले यस वर्ष गहुँको उत्पादन राम्रो हुने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष यादवकै उपस्थितिमा सुरु भएकाे गहुँको बीउ शुक्रबारसम्म वितरण गरिने गाउँपालिकाको कृषि शाखाका प्रमुख ओमप्रकाश ठाकुरले जानकारी दिए ।

साथै उनले गाउँपालिकाले मकैको टिएमएमएच २९५८ जातको बीउ पनि ५०% अनुदानमा १-२ दिनभित्र किसानहरूमाझ वितरण गर्ने योजना रहेको जानकारी दिए ।

कृषि क्षेत्रलाई प्राथमिकता दिंदै समयमै बीउ वितरण गरिनु किसानका लागि ठूलो राहत हुने विश्वास गरिएको छ । गहुँ र मकै खेतीको सिजन सुरु भएकाले किसानहरूले यस अवसरलाई राम्रोसँग सदुपयोग गर्ने अपेक्षा गरिएको छ ।

कांग्रेस पर्सा क्षेत्र नं. २ का सचिव जसपा नेपालमा प्रबेश

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ टेडामा बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी संगठन सुदृढिकरण एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को क्षेत्रीय सचिव मिलन यादव, पर्सागढी नगरपालिका ९ एकटाङ्गाका स्थानीय युवा नेता शेरबाबु सहितका नेता कार्यकर्ताले जसपा नेपालमा प्रबेश गराएका थिए । नव प्रबेशीहरुलाई जसपा नेपालका महासचिव एवं पूर्व मुख्य मन्त्री लालबाबु राउत सहितका नेताले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव राउतले पार्टीले अग्रगामी परिवर्तनका लागि सामूहिक प्रयासमा जोड दिने बताए । उनले नव प्रवेशीहरूको अनुभव र योगदानाकाे आधारमा जसपा नेपालको सङ्गठनलाई अझ बलियो बनाउने गरि जिम्मेवारी दिइने वताए ।

साे कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्व मन्त्री सिंहासन साह कलवार, नेता शशिकपुर मियाँ, राम नरेश यादव, सुरेन्द्र कुर्मी, संतोष सर्राफ, सुधिर पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे । 

एउटै कपीमा तीन दाजुभाइ मिलिजुली लेखेर पढ्ने

 – सन्तोष श्रेष्ठ (ठाेरी-४, बिजयबस्ती)
समृद्ध ठोरीको रोडम्याप अन्तर्गत “शिक्षा” सुधारका उपायहरूको खोज, अनुसन्धान तथा छलफल गर्न स्थानीय समुदाय, शिक्षक तथा समिति संग बुधबार बिहान ८:३० बजे श्री शान्ति प्रावि चमरीटोल, ठोरी-५ मा शैक्षिक कार्यक्रमलाई अवरोध नपुर्‍याई गहन छलफल सम्पन्न गरियो । विद्यालयको वर्तमान समस्या, चुनौतीहरू र सम्भावित समाधानहरूमा केन्द्रित यस छलफलमा स्थानीय बासिन्दाहरूको अत्यन्त उत्साहजनक सहभागिता देखिएको थियो ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष संजय यादव र प्रधानाध्यापक राजदेव खवासले समस्याहरू प्रस्तुत गर्दै, विद्यार्थीहरूको तुलनामा शिक्षकको संख्या पर्याप्त भए पनि कक्षा कोठाहरू जीर्ण अवस्थामा रहेको, पानी पर्ने समयमा चुहिने, झ्याल-ढोका भत्किएको, कोठाभित्रको प्लास्टर उप्किएको, रंगरोगन नभएको र बेन्च-कुर्सीको अभाव रहेको कुरा उल्लेख गर्नुभएको छ ।

यो समस्याको मुख्य कारण विद्यालय भवन बनेको जग्गा (घरेडी) आधा ठोरी गाउँपालिका र आधा जिराभवानी गाउँपालिकामा पर्ने (संजोक पनि कस्तो ?) र विद्यार्थीहरू पनि लगभग आधा-आधा भएको देखिन्छ । तर सम्पुर्ण प्रशासनिक काम ठोरी गाउँपालिकाको जिम्मामा रहेकोले विद्यालयलाई कसैले पूर्ण अपनत्व नलिएको बताइएको छ ।

यो समस्या गाउॅपालिका स्थापना भएको लगभग आठ वर्षदेखि कायम रहेकोले समाधानका लागि गाउँवासीले अपिल गरिरहेका छन् । दुवै पालिका बसेर छलफल गरेमा सामान्य रूपमा समस्या समाधान हुन सक्छ । शिक्षकहरूको तलब/भत्तामा कुनै समस्या छैन, तर भौतिक पूर्वाधारका समस्या छन् । ती समस्याहरूलाई वर्गीकरण गरी अति आवश्यक समाधानमा दुवै पालिका मिलेर काम गरेमा विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न सकिने मैले देखेको छु ।

यस विद्यालयमा कूल ११६ विद्यार्थीमध्ये ९१ जना दलित तथा अत्यन्त गरिबीका कारण नियमित विद्यालय जान कठिनाइ भोगिरहेका छन् । विद्यालयका प्रधानाध्यापक राजदेव खवासका अनुसार, यी विद्यार्थीहरू विद्यालयमा कहिलेकाहीँ मात्र आउने, आए पनि सरसफाइ नगरी आउने, विद्यालय पोशाकको अभावमा विनापोशाक उपस्थित हुने अवस्था छ । साथै, आएका विद्यार्थीहरूमध्ये कतिपयले दाजुभाइ मिलेर एउटै कपीमा पढ्ने-लेख्ने गरेका छन् ।

गरिबी र विभिन्न समस्याका कारण बालबालिकाहरूको शिक्षामा पहुँच नहुनु यो एउटा गम्भीर समस्या हो । अभिभावक गरिब हुनु उनीहरूको दोष होइन, तर बालबालिकाले कपी र कलमको अभावमा विद्यालयमा पढ्नका लागि आवश्यक वातावरण नपाउनु बालअधिकारको उल्लङ्घन हो । यस्तो अवस्थामा, बालबालिकाको आधारभूत शिक्षा सुनिश्चित गर्न राज्य, नागरिक समाज र सरोकारवाला सबैको साझा प्रयास अनि दाईत्वको आवश्यक छ । त्यसैले हामी सचेत नागरिकको हैसितले हामीले पनि केही दाईत्व निभाउन सक्छाैं की ?