Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
Home Blog Page 276

जनकपुरको होटलमा छुरा प्रहार गरी युवककाे हत्या, आराेपित युवती पक्राउ

0

वीरगंज । जनकपुर उपमहानगरपालिका–२३ मा रहेको हाेटल एसपी एण्ड गेष्ठ हाउसमा एक व्यक्तिको छुरा प्रहार गरि हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादव हुन् ।

उनी साउन ३ गते राति करिब ९:५० बजे केटिएम मोटरसाइकल (बा.४५प ४५८६) मा अभियुक्तसँगै उक्त होटलमा प्रवेश गरेका थिए । होटलको कोठा नं. १०२ मा बसेका बेला राति करिब २:५७ बजे विमलेश यादव नग्न अवस्थामा रगताम्य अवस्थामा पहिलो तलाबाट खसेको सिसि टिभि फुटेजमा देखिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार अभियुक्तले होटलको नाम प्रविष्ट गर्दा आफ्नो नाम ‘शनि यादव’ लेखाएकी थिइन् । घटना लगत्तै जुली झा राति ३:०४ बजे भुइँतलाबाट भाग्दै गरेको दृश्य होटलको सिसि टिभिमा देखिएको थियो ।

घटनाको अनुसन्धान गर्दै गएको प्रहरीले उनलाई सोही दिन मध्यान्ह १२:०० बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

घाइते विमलेशलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर ल्याइएको भए पनि बिहान ७:४५ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले मृतकको मोबाइल फोन र होटलको निगरानी क्यामेरा फुटेजका आधारमा घटनाको अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए ।

पर्सा प्रहरीद्वारा एक हजार ५११ जना फरार प्रतिवादी पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउमा आक्रामक अभियान सञ्चालन गर्दै न्याय सुनिश्चितताका लागि उल्लेखनीय सफलता हात पारेको छ । विशेष अभियान अन्तर्गत हालसम्म एक हजार ५११ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेकामध्येबाट कूल ७३ वर्ष २ महिना कैद सजाय र रू. ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरिएको छ।

नेपाल तथा भारतका विभिन्न स्थानमा लुकेर बसेका ती प्रतिवादीहरू पक्राउ नपर्दा पीडितहरू न्यायबाट वञ्चित हुने, समाजमा अराजकता र निराशा फैलिने भएकाले प्रहरीको प्राथमिक कार्यका रूपमा फरार पक्राउलाई राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताए।

उनका अनुसार अब कोही पनि राजनीतिक दबाब, सिफारिस वा अन्य बहानामा उम्कन नपाउनेछन्, बाँकी रहेका फरारहरूमाथि पनि कडा निगरानीका साथ यही अभियान जारी रहनेछ ।

मानव बेचबिखन मुद्दामा पनि पर्सा प्रहरीकाे सक्रियता

जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनजस्तो गम्भीर अपराध विरुद्ध पनि कडा कदम चालेको छ । सीमावर्ती जिल्ला भएकाले उच्च जोखिममा रहेको पर्सामा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा विशेष अभियान सञ्चालन गर्दै पछिल्लो ६ महिनामा १२ वटा मुद्दामा १३ जना प्रतिवादीलाई पक्राउ गरिएको हो।

उनीहरूमध्ये ६ जना कारागार चलान गरिएका छन् भने १३७ जना पीडित तथा जोखिममा रहेका व्यक्तिहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

अभियानअन्तर्गत होटल, लज, रेस्टुरेन्ट, खाजाघर व्यवसायीहरूसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम, स्कूल–कलेजमा ‘अवेयरनेस प्रोग्राम’ सञ्चालन गरिएको र सीमावर्ती नाकाहरूमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यस प्रकारको सक्रियता र प्रतिबद्धताले पर्सा जिल्लामा अपराध नियन्त्रण र न्याय प्रवाहमा उल्लेखनीय प्रगति भएको सरोकारवालाहरूको भनाइ छ ।

पत्रकार महासंघ मधेश प्रदेशलाई जनकपुरमा भवन निर्माणका लागि ४ कट्ठा जग्गा प्राप्त

0

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत श्रीराम मन्दिर गुठीको ४ कट्ठा बहुमूल्य जग्गा प्राप्त गरेको छ। यस जग्गा प्राप्तिसँगै महासंघले अब भव्य भवन निर्माणको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

गुठी व्यवस्थापन तथा सरकारी सहयोगमार्फत प्राप्त जग्गा कठिन परिश्रम, लामो प्रक्रिया र निरन्तर प्रयासको प्रतिफलस्वरूप उपलब्ध भएको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । यथार्थमा, उक्त जग्गा प्राप्तिका क्रममा भित्री विरोध र अवरोधहरू आए पनि “पवित्र मनले गरिएको कर्म” सफल भएको उनले बताइएका छन् ।

जग्गा प्राप्तिपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले भवन निर्माणमा कुनै कञ्जुस्याँई नगर्ने प्रतिबद्धता जनाएकाले महासंघले गहिरो सम्मान व्यक्त गरेको छ।

यस अभियानमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, सल्लाहकार राजेश कर्ण, प्रेस चौतारीका महासचिव हिरामान लामा, प्रदेश इन्चार्ज अच्युत पौडेल, प्रेस सेन्टरका नेता गोबिन्द देबकोटा, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूको सक्रिय भूमिका स्मरणीय रहेको अध्यक्ष बन्जाराले आफ्नाे फेसबुक स्टेटसमा उल्लेख गरेका छन् ।

गुठी केन्द्रीय कार्यालयसम्म पुगी पहल गर्ने उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र क्रान्ति, उपाध्यक्ष ज्योति झा, सचिव हदीश खुदार, कोषाध्यक्ष अनिल गौरव, दिपक गौतिम र सम्पूर्ण कार्यसमिति सदस्यहरूको योगदानप्रति महासंघले उच्च सम्मान प्रकट गरेको छ ।

अब छिट्टै भवन निर्माणको विस्तृत योजना तयार गरी कार्यान्वयनको चरणमा लैजाने तयारी भइरहेको छ। पत्रकार महासंघले यस सफलताका लागि सबै संचारकर्मी, शुभेच्छुक, संघसंस्था र गुठीका कर्मचारीप्रति हार्दिक आभार प्रकट गरेको छ।

यस उपलब्धिले मधेश प्रदेशको पत्रकारिता क्षेत्रको संरचनात्मक विकासमा ऐतिहासिक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

ठोरी वृद्धाश्रममा खाद्यान्न सहयोग

0

वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ भगवाननगरमा अवस्थित वृद्धाश्रममा आश्रित १७ जना वृद्ध–वृद्धाको सहयोगार्थ शनिबार करिब एक लाख साठी हजार रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल, लायन्स क्लब मिलेनियम एमजेएफ, संस्कृति गोल्ड र ग्रेट पीपलको संयुक्त आयोजनामा सम्पन्न सो सहयोग कार्यक्रममा संस्कृति गोल्डकी अध्यक्ष सोनी अग्रवालले वृद्धवृद्धालाई खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिन्।

कार्यक्रममा पूर्व डिस्टिक गभर्नर डी.एन. अग्रवाल, लायन्स सेन्ट्रलकी पूर्व अध्यक्ष मीरा खेतान, सीता अग्रवाल, कविता हालन, संगीता खेतान, मिलेनियम एमजेएफका अध्यक्ष विनोद खंडेलवाल, सचिव रोशन गुप्ता, पी.बी. शाह, उषा शाह, सुशील चाचान, सुभास अग्रवाल, अमित सर्राफ, ग्रेट पीपलका सुनील केडिया, संस्कृति गोल्डकी सदस्य सुनीता अग्रवाल, लायन्स सदस्य प्रकाश थारू, समाजसेवी, पत्रकारहरू तथा वृद्धाश्रमका व्यवस्थापकहरू सक्रिय सहभागी थिए।

लायन्सका वरिष्ठ सदस्य राधेश्याम खेतानले कार्यक्रमको उद्देश्य, सामग्रीहरूको विवरण र वृद्धाश्रमप्रतिको सामाजिक उत्तरदायित्वबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममार्फत वृद्धाश्रममा बसोबास गरिरहेका बासिन्दाहरूलाई दाल–चामल, तेल, नुन, चिनी, मसला लगायत दैनिक उपभोग्य सामग्रीहरू प्रदान गरिएको आयोजकहरूले जनाएका छन्।

उक्त सहयोगले वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकहरूको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ

0

वीरगंज । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन् । काठमाडौँको बानेश्वर क्षेत्रमा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले उनको पक्राउ पुष्टि गरेका छन् । प्रहरीले झालाई पक्राउ गरी आइतबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति दिएको छ ।

अभियोगअनुसार, २०८१ साल जेठ ४ गते झाले पीडित युवतीलाई आफ्नो कोठामा कोही नभएको अवस्थामा पटकपटक बलात्कार गरेका थिए । साथै, घटनाबारे कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिएको युवतीको आरोप छ ।

पीडितले प्रहरीसमक्ष माघ ३ गते औपचारिक जाहेरी दिएकी थिइन् । तर, प्रहरीले त्यसबेला तत्काल पक्राउ प्रक्रिया अघि नबढाएको पाइएको छ । चैत २५ गते मात्र काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएलगत्तै झा फरार भएका थिए ।

युवतीले प्रहरीमा जाहेरी दर्ता गराउन खोज्दा पटकपटक अवरोध सिर्जना भएको र अन्ततः कात्तिक २८ गते जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा निवेदन दिएपछि मात्र प्रक्रिया अघि बढेको बताइएको छ । सरकारी वकिलको कार्यालयले कात्तिक ३० गते प्रहरीलाई पत्राचार गरेपछि मात्र माघमा औपचारिक जाहेरी दर्ता भएको हो ।

झा २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेशको प्रमुखको रूपमा कार्यरत थिए । हाल उनी प्रहरी हिरासतमा छन् र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ठोरीमा सर्पदंशका घटना घटे, उपचार केन्द्रको अवस्था भने जीर्ण

0

-ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको ग्रामीण क्षेत्रमा यस वर्ष सर्पको टोकाइबाट घाइते हुनेको संख्या उल्लेखनीय रूपमा घटेको छ । ठोरी गाउँपालिकास्थित सर्पदंश उपचार केन्द्रका अनुसार अत्यधिक गर्मी र वर्षाको अभाव हुँदासमेत सर्पदंशका घटना अघिल्ला वर्षको तुलनामा कम देखिएका छन्।

नेपाली सेनाको सिद्धिबक्स गण अन्तर्गत निर्मलबस्ती पानीटंकीमा सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रका प्राविधिक सौरभ कार्कीका अनुसार चालु वर्षको बैशाख, जेठ र असार महिनामा ३३ जना मात्र सर्पदंश पीडित उपचारका लागि केन्द्रमा आएका छन्। जबकि गत वर्ष सोही अवधिमा ७५ जना बिरामी उपचारका लागि आएका थिए।

हाल उक्त केन्द्रबाट सर्पदंशबाहेक बिच्छु, अरिंगाल, माहुरीलगायत विषालु जीवजन्तुको टोकाइका बिरामीको उपचार सेवा बन्द गरिएको छ। केन्द्रले हाल सर्पदंशमा मात्र सेवा प्रदान गरिरहेको प्राविधिक कार्कीले जानकारी दिए।

२०७६ साल फाल्गुन २४ गतेदेखि सञ्चालनमा आएको यो केन्द्र चितवनको माडी नगरपालिका, पर्साको जिराभवानी, जगरनाथपुर, ठोरी गाउँपालिकालगायतका स्थानीयवासीहरूका लागि महत्वपूर्ण बनेको छ।
केन्द्रका संस्थापक अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन समितिको अध्यक्ष रहेका बेला नेपाली सेनाको सहकार्य र आफ्नै व्यक्तिगत प्रयासमा केन्द्र स्थापना गरिएको हो। औषधि व्यवस्थापनमा ठोरी गाउँपालिकाले सहयोग गर्दै आएको उनले बताए।

तर विडम्बना, अहिले पनि केन्द्र एउटा पुरानो काठको घरमा संचालन भइरहेको छ। टिनको छानो चुहिने र भवन जीर्ण हुँदा उपचार सेवा प्रभावित हुने अवस्था रहेको अध्यक्ष श्रेष्ठले गुनासो गरे।

यस विषयमा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने, पालिकाभित्र रहेका अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पदंश उपचारका लागि जनशक्ति र आवश्यक तयारी गरिरहेको बताए। साथै सो सर्पदंश उपचार केन्द्रको भवन निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

स्थानीयवासी तथा सेवाग्राहीहरूका लागि महत्वपूर्ण बनेको यस केन्द्रको स्थायीत्व र सुविधा विस्तारमा अझ ठोस पहल आवश्यक देखिएको छ।

समावेशी विकासको आधार : सबैका लागि सुरक्षित खानेपानी : मन्त्री यादव

0

वीरगंज । संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले देशका कुनै पनि समुदाय विकासको मूलधारबाट पछि नपरोस् भन्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन्।

शनिबार सुनसरीको झुम्कामा आयोजित “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन कार्यक्रममा बोल्दै उनले सामाजिक न्याय र समावेशी विकासलाई केन्द्रमा राख्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्‍याउनेतर्फ सरकार केन्द्रीत रहेको स्पष्ट पारे।

मन्त्री यादवले भने, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो। कसैलाई पनि पछाडि नपार्ने नीति सरकारको दीर्घकालीन दृष्टिकोण हो।”

उनले खानेपानी मन्त्रालयलाई सेवा–उन्मुख सामाजिक मन्त्रालयका रूपमा परिभाषित गर्दै, मन्त्रालयले सबै नागरिकसम्म स्वच्छ र सुरक्षित खानेपानी पु¥याउने योजनाअनुसार काम गरिरहेको जानकारी दिए। मन्त्री यादवका अनुसार मन्त्रालयको वित्तीय प्रगतिले ९० प्रतिशत उपलब्धि हासिल गर्नु कार्यक्षमताको दिगो सुधारको प्रमाण हो।

उक्त आयोजना मार्फत रामधुनी नगरपालिका अन्तर्गत झुम्का क्षेत्रका वडा नं. १, २, ३ र ५ का करिब २२ हजार ७८७ नागरिक तथा ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरीका प्रमुख महेसी महतोले जानकारी गराए।

कार्यक्रममा पूर्व संघीय सांसद नवदिता चौधरी, मेयर शंकरलाल चौधरी, उपमेयर तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, ढल व्यवस्थापन विभागका उपमहानिर्देशक राजेन्द्र सापकोटा, आयोजना निर्देशक सुरत बम, उप–निर्देशक महेश न्यौपाने, तथा ढल निकास विराटनगरका प्रमुख सुरतलाल चौधरी लगायतको उपस्थिति थियो।

झुम्का खानेपानी आयोजनाले स्थानीय जनताको दशकौँको चाहना पूरा गर्दै क्षेत्रीय विकास र जनजीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शेखरजीको चाहना दिउँसै देखिएको सपना मात्र हो : पूर्व मन्त्री रिजाल

0

वीरगंज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश रिजालले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट हटाउने कुरा असम्भव रहेको बताएका छन्।

शनिबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारित ‘नेपाली बहस’ कार्यक्रममार्फत पत्रकार ऋषि धमलासँगको कुराकानीमा बोल्दै रिजालले डा. शेखर कोइरालाप्रति कटाक्ष गर्दै “दलको नेता बन्ने शेखरजीको चाहना दिउँसै देखिएको सपना मात्र हो” भन्ने टिप्पणी गरे।

रिजालले स्पष्ट रूपमा भने, “प्रचण्ड र विद्या भण्डारीले भनेर नेपाली कांग्रेसको संसदीय दलको नेता छानिने हो र? त्यो त कांग्रेसले छान्ने हो नि। शेखरजी बन्न सम्भव नै छैन।”

उनले पार्टीभित्र देउवा पक्षको बलियो पकड रहेको दाबी गर्दै एनपी साउद र बालकृष्ण खाँणजस्ता नेताहरू अहिले पनि देउवा समूहमै “इनट्याक्ट” रहेको उल्लेख गरे।

शेखर कोइरालाको नेतृत्व क्षमता र वैचारिक स्पष्टता प्रति प्रश्न उठाउँदै रिजालले भने, “शेखरजी विचारमा प्रष्ट हुन सक्नुहुन्न, त्यस्तो व्यक्तिले प्रधानमन्त्री त परै जाओस्, दलको नेता बन्ने पनि सम्भावना छैन।”

उनको भनाइअनुसार, यदि शेखरले साँच्चिकै संसदीय दलको नेताका लागि दाबी गरेका हुन् भने त्यसलाई “अजमाउने” मात्र बाँकी छ।

सिमरामा जुवा खेलिरहेका ९ जना पक्राउ

0

सिमरा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ जानकी टोलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी नौ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले तास खेलिरहेका अवस्थामै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक शुभास साहको नेतृत्वमा गएको टोलीले केशव सुनुवारको घरमा खानतलासी गर्दा तेस्रो तलाको कोठामा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गर्नुका साथै एक लाख ५४ हजार छ सय अस्सी रुपैया नगद तथा तासका पत्ता बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा जीतपुर सिमरा उपमहानगरपालिका –१ का ३० वर्षिय सुसन खाती सुनार, वडा नं २ का ४० वर्षिय बलराम बिश्वकर्मा, साेही ठाउँका ५६ बर्षिय सुमन कुमार भट्टराई, ४१ बर्षिय अभय कुमार श्रीवास्तव, घरधनी ४१ बर्षिय केशव सुनुवार, ५२ बर्षिय थहलबहादुर बिश्वकर्मा, ५४ बर्षिय शिवजी प्रसाद साह, ५१ बर्षिय राजकुमार भट्टराई र ५९ बर्षिय बलराम कुमार क्षेत्री रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ। जुवा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्साका आधा पालिकाहरू ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृतकै भरमा

0

वीरगंज । पर्सा जिल्लाका आधा स्थानीय तहहरू हाल ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । जिल्ला अन्तर्गत १४ स्थानीय तहमध्ये ७ पालिकामा तहगत अनुसारकाे प्रमुख प्रशासकीय अधिकृत नहुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षासेवा र अन्य तर्फका अधिकृतहरूलाई अस्थायी रूपमा जिम्मेवारी दिँदै आएको छ ।

वीरगंज महानगरपालिका लगायत पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिका, धाेबिनी गाउँपालिका, ठोरी गाउँपालिका र बिन्दवासिनी गाउँपालिका अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालनमा छन्।

वीरगंज महानगरपालिकामा हाल शिक्षा सेवा अन्तर्गतका कर्मचारी अरविन्दलाल कर्ण निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् । उनी यसअघि सोही पालिकाको शिक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

त्यसैगरी, पोखरिया नगरपालिकामा रामविनय सिंह, बहुदरमाई नगरपालिकामा बृजकिशोर प्रसाद, धाेबिनी गाउँपालिकामा अशोक राैनियार, छिपहरमाईमा कदिर बाबु देवान, ठोरीमा धर्मराज थापा, र बिन्दवासिनीमा श्याम बाबु साह कानु निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्।

यीमध्ये अधिकांश कर्मचारीहरू शिक्षा क्षेत्र वा अन्य गैर–प्रशासनिक सेवा पृष्ठभूमिबाट आएका हुन् । उनीहरूलाई मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि तत्कालकाे लागि जिम्मेवारी दिएको हो । तर केही पालिकाहरु लामाे समयसम्म निमितकाे भर मै संचालन हुँदै आएपनि मन्त्रालयकाे ध्यान पुग्न सकेकाे छैन् ।

यद्यपि, उनीहरू सबैले आधिकारिक रूपमा ‘निमित्त’ उल्लेख नगरी ‘प्रमुख प्रशासकीय अधिकृत’ कै पदनाम प्रयोग गर्ने गरेको देखिएको छ । यसले प्रशासनिक स्पष्टता र उत्तरदायित्वको सवालमा प्रश्न उठाइरहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नयाँ नेतृत्वमा आएकी मन्त्री भगवती न्यौपानेले अब यस अवस्थाको समाधानतर्फ कस्तो पहल गर्छिन् भन्ने विषय स्थानीयस्तरमा चासोको केन्द्र बनेको छ। अब पनि ‘निमित्त’ कै भरमा स्थानीय सरकार चलाइन्छ कि दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत पदपूर्ति गरिन्छ ? — यो हेर्न बाँकी छ ।