Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
Home Blog Page 272

वीरगंजकाे आदर्शनगरमा जथाभावी रहेकाे तार हटाइयाे

0

वीरगंज । बीरगंज महानगरपालिका वडा नं. ६ अन्तर्गत आदर्शनगर क्षेत्रमा बारम्बार भइरहेको आगलागी जोखिम न्यूनीकरणका लागि मंगलबार जथाभावी रहेकाे तारहरु हटाइएकाे छ ।

हिजो हिमालय बैंक नजिकको बिजुली पोलमा लागेको आगोपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नगर प्रहरी प्रमुख हरि भुसाल, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान तथा तार व्यवस्थापन टोलीको संयुक्त पहलमा मंगलबार हिमालय बैंकदेखि हनुमान मन्दिरसम्मको क्षेत्रमा अव्यवस्थित तार हटाउने कार्य सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत बिजुलीका पोलमा झुन्डिएका पुराना र जथाभावी तारहरू काटेर हटाइएका छन् । नगर प्रहरी स्रोतका अनुसार यस क्रममा करिब १००० केजी बराबरका तारहरू संकलन गरिएका छन्।

नगर प्रहरी प्रमुख हरि भुसालले भने, “जथाभावी छोडिएका तारहरूले जनसुरक्षामा ठूलो खतरा उत्पन्न गर्छन् । हाम्रो लक्ष्य सुरक्षित र व्यवस्थित शहर निर्माण गर्नु हो।”

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले स्थानीयबासीको सहभागिताले मात्र यस्ता अभियान सफल हुने भन्दै आगामी दिनमा पनि निगरानी र तार व्यवस्थापनलाई निरन्तरता दिइने जानकारी दिए ।

मन्दिरमा सरसफाइ सामग्री हस्तान्तरण तथा जनचेतना अभियान

0

वीरगंज । लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा मंगलबार वीरगंजस्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम र सहयोगी क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

लायन्स डिस्ट्रीक 325 S अन्तर्गत वार्षिक कार्ययोजनाअनुसार आयोजना गरिएको कार्यक्रममा “प्लास्टिक झोला प्रयोग नगरौं” र “म मन्दिर फोहर गर्दिन” भन्ने नारासहित प्लास्टिक मुक्त तथा सफा वातावरणको सन्देश फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमका अध्यक्ष लायन नरोत्तम पाण्डेले धार्मिक तथा सार्वजनिक स्थलहरूको स्वच्छता केवल कर्तव्य नभई संस्कार भएको उल्लेख गर्दै भने, “हामीले सरसफाइका सामग्री मात्र होइन, सफा र सचेत समाजको सन्देश पनि सुम्पिएका छौं।”

कार्यक्रममा लायन बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्ता लगायत विभिन्न क्लबका सदस्यहरूको सक्रिय उपस्थिति थियो।

मन्दिर व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरिनुका साथै सहभागीहरूले मन्दिर परिसर सधैं सफा राख्ने प्रतिज्ञा पनि गरेका थिए । आयोजकहरूले आशा गरेका छन् कि यस्ता अभियानले धार्मिक स्थलहरूको सरसफाइ मात्र होइन, पर्यावरणीय चेतना र सामाजिक उत्तरदायित्वप्रतिको जनमानसमा सकारात्मक प्रभाव पार्नेछ।

कार्यक्रमले स्थानीय श्रद्धालुहरूमा उत्साह र प्रेरणा भरेको छ भने वीरगंजलाई सफा, हराभरा र स्वस्थ बनाउने अभियानमा थप ऊर्जा थपेको आयोजकले जनाएका छन्।

विनोद यादव जसपा नेपालकाे प्रवास विशेष प्रदेश समितिमा मनोनित

0

वीरगंज । नेपाली समाज मलेसियाका अध्यक्ष विनोद कुमार यादवलाई जनता समाजवादी पार्टी, नेपालको विधानअनुसार प्रवास विशेष प्रदेश समितिको सदस्य पदमा मनोनयन गरिएको छ।

विगत लामो समयदेखि मलेसियामा रहेका नेपाली समुदायका हकहित, पहिचान संरक्षण तथा सामाजिक एकता निर्माणमा निरन्तर क्रियाशील रहँदै आएका यादवको समर्पण र योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले सो पदमा मनोनयन गरेको हो।

नेपालीहरू मलेसियामा समस्यामा परेका बेला विनोद यादव स्वयम् अग्रसर भई समाधानमा जुट्दै आएका थिए । एक समर्पित अभियन्ताका रूपमा उनले प्रवासी नेपालीहरूको हितमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । पार्टीको यो निर्णयले प्रवासमा रहेका नेपालीको आवाज सशक्त रूपमा उठाउने उद्देश्य बोकेको स्पष्ट देखिन्छ ।

मनोनयनको जानकारी पाएपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै यादवले भने, “पार्टीले देखाएको विश्वासप्रति म आभारी छु । अब यो जिम्मेवारी केवल कागजमा होइन, काममा देखिनेछ । म विगतमा पनि प्रवासी नेपालीहरूको आवाज बनेर उभिएको थिएँ, आगामी दिनमा अझ बलियो रूपमा उभिनेछु ।”

उनको यो नियुक्तिलाई मलेसियामा रहेका नेपाली समुदायले गर्वका साथ स्वागत गरेका छन् । धेरैले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनलाई अझ सफल कार्यकालको शुभेच्छा दिएका छन् ।

नेतृत्व विकास सफलता प्राप्तिको मूल आधार : प्रमुख लामिछाने

0

वीरगंज । वीरगंज महानगरपालिका–१५, भिस्वास्थित नवदीप एकेडेमीमा हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सहरूको शपथ ग्रहण समारोह तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थीमा नेतृत्व विकासको महत्वमाथि जोड दिंदै भने, “नेतृत्व, अनुशासन र आत्मविश्वासको विकास नगरी दीर्घकालीन सफलता सम्भव हुँदैन । यस्ता कार्यक्रमहरूले विद्यार्थीमा जिम्मेवारी र सामाजिक चेतना विस्तार गर्छन्।”

विशिष्ट अतिथि तथा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले नवदीप एकेडेमीले निजी शिक्षामा अनुशासन र गुणस्तरको नमूना प्रस्तुत गर्दै आएको उल्लेख गर्दै संस्थालाई प्रोत्साहन दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्याब्सन प्राङ्गिक परिषद सदस्य डा. हरिशंकर साह, मधेश प्रदेश वरिष्ठ सल्लाहकार इमामुद्दिन अहमद, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय, माउन्ट एडमण्ड स्कुलका निर्देशक फजिल अहमद, प्याब्सन पर्साका उपाध्यक्ष बिरेन्द्र यादवल गायतको उपस्थिति रहेको थियो।

विद्यालयकी सञ्चालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका नेहा अग्रवालले गरेकी थिइन् ।कार्यक्रममा प्रजातान्त्रिक प्रक्रिया मार्फत चयन गरिएका हेड ब्वाय आर्यन साह, हेड गर्ल प्रियांका साह तथा हाउस क्याप्टेन्सहरूले विधिपूर्वक शपथ ग्रहण गरे ।

त्यस्तै, गत वर्ष विभिन्न शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अभिभावक, अतिथि र स्थानीय समुदायको उल्लेखनीय सहभागिताले कार्यक्रममा विशेष आकर्षण थपेको थियो ।

बजेट सुनिश्चितता नभएसम्म अब बाेरिङ जडान सम्भव छैन् : प्रमुख दास

0

वीरगंज । वीरगंजवासीको तत्काल खानेपानी समस्या समाधानका लागि जारि रहेकाे बोरिङ जडान कार्य बजेट अभावका कारण राेकिने भएकाे छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगंजका प्रमुख विपुल लाल दासका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा वीरगंजका विभिन्न वडामा ९४ वटा डिप बोरिङ जडान गरिएको थियो । नयाँ आर्थिक वर्ष सुरु भएदेखि पनि वीरगंजकाे विभिन्न वडामा ५० जति बोरिङ जडान भइसकेको छ ।

“तर अब बजेट सुनिश्चितता नभएसम्म थप बोरिङ जडान सम्भव छैन,” प्रमुख दासले स्पष्ट पारे । उनले भने ” उपभोक्ता समितिको माध्यमबाट आवश्यकताका आधारमा बोरिङ गाड्ने कार्य भइरहेको थियो । एउटा बाेरिङ गाड्न उपभाेक्ता समिति मार्फत रु ७ देखि ८ लाख र टेण्डर मार्फत रु ८ देखि १० लाख सम्म खर्च हुने गरेकाे छ । यद्यपि हाल पनि बोरिङको माग उच्च रहेको छ र बजेट सुनिश्चितता नभएका कारण तत्काल थप बाेरिङ गाडने कार्य सम्भव छैन् ।”

खानेपानी तथा ढल व्यवस्थापन कार्यालयकाे अलावा पनि वीरगंज महानगरपालिका र प्रदेश सरकार मार्फत पनि बोरिङ जडान कार्य भइरहेकाे छ । यी निकायबाट हाल सम्म वीरगंजमा कति बाेरिङ जडान भयाे भने तथ्यांक कसैले पनि उपलब्ध गराउन सकेका छैनन् ।

वीरगंज पावर हाउस चोकबाट मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार

0

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानसिक अवस्था कमजोर देखिएका एकजना पुरुषलाई मंगलबार उद्धार गरेको छ।

मंगलबार दिउँसो १२:४५ बजे वीरगंजकाे पावर हाउस चोकमा अन्दाजी ३५ वर्षका, आफ्नो नाम र ठेगाना बताउन असमर्थ एक पुरुषलाई उद्धार गरी मानवसेवा आश्रम वीरगंजमा लगिएको हो।

आश्रममा लगेपछि उनको सरसफाइ गरी नुहाइधुवाइ गराइ चिकित्सक डा. भरत गोईतकाे निगरानीमा औषधोपचार प्रक्रिया सुरु गरिएको मानव सेवा आश्रमका दिवेश गुप्ताले जानकारी दिए ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता तथा अभिभावक प्रकाश थारु, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादव तथा अन्य स्थानीय व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

मानवसेवा आश्रमले यस्ता उद्धार कार्य निरन्तर गर्दै आएको छ, जसले समाजमा सहयोग, करुणा र मानवताको भावना झनै सशक्त बनाइरहेको छ ।

पर्सामा प्याब्सनकाे संगठन विस्तार अभियान

0

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साद्वारा सञ्चालित संगठन विस्तार अभियानअन्तर्गत साेमबार दोस्रो दिन पर्सा जिल्लाका ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, सखुवा पर्सौनी गाउँपालिका र बहुदरमाई नगरपालिकाको भ्रमण सम्पन्न भएको छ।

भ्रमण टोलीमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेश सल्लाहकार इमामुद्धिन अहमद, तथा ठोरी गाउँपालिका फोकल पर्सन सुरेश पन्त सहभागी थिए।

भ्रमणकाे क्रममा स्थानीय निजी विद्यालयका प्रतिनिधिहरूसँग संगठनको उद्देश्य, भावी योजना र सदस्यता विस्तार सम्बन्धमा छलफल तथा संवाद गरिएको थियो । प्याब्सन अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा गुणस्तर र सुधार ल्याउन सशक्त संगठन निर्माण अपरिहार्य रहेको धारणा राख्दै गाउँगाउँसम्म संगठनको उपस्थिति आवश्यक रहेको बताए ।

प्याब्सन केन्द्रीय सदस्य छेदुप लामाले संगठन विस्तारलाई केन्द्रीय प्राथमिकता बताउँदै पर्साको सक्रियता अनुकरणीय भएको उल्लेख गरे । यस्तै, सल्लाहकार इमामुद्धिन अहमदले शिक्षक हित संरक्षण, नीति निर्माण र शैक्षिक मापदण्डका विषयमा मधेश प्रदेशस्तरमा एकीकृत रणनीति अवलम्बन गरिने जानकारी दिए ।

भ्रमण टोलीले सम्बद्ध पालिकामा पालिकास्तरीय प्याब्सन समिति गठन प्रक्रिया तीव्र बनाउने प्रतिबद्धता जनाएको छ ।

प्याब्सन पर्साले सञ्चालनमा ल्याएको यो अभियानले सम्पूर्ण पालिकामा संगठन विस्तार, सदस्यता अभिवृद्धि, र शिक्षा क्षेत्रको चुनौती समाधानका लागि साझा साझेदारीको प्रयासलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत अन्य पालिकाहरूमा पनि क्रमिक रूपमा भ्रमण गरिने जनाइएको छ ।

वीरगंजमा पानी बचतका लागि सातदिने जनचेतना अभियान सुरु

0

वीरगंज । युनिसेफ नेपाल र वीरगंज महानगरपालिकाको संयुक्त पहलमा पर्सा जिल्लामा पानीको बचत र जिम्मेवार प्रयोगसम्बन्धी सातदिने जनचेतनामूलक अभियान सुरु गरिएको छ । अभियानमा नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र, र समाजिक संस्था जिल्ला समन्वय समितिको सहकार्य रहेको छ।

हाल बर्खाको मौसम हुँदा पनि तराई, विशेषगरी मधेश प्रदेश, गम्भीर पानी संकटको सामना गरिरहेकाले दीर्घकालीन समाधानका लागि विद्यालय र समुदायस्तरमै सचेतना फैलाउने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमको प्रारम्भ नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन स्कुलका विद्यार्थीहरूलाई व्यावहारिक तालिमबाट गरिएको थियो । प्रशिक्षणमा घरेलु पानी प्रयोगमा बचत गर्ने उपाय, वर्षा पानी संकलन, चुहिने धारा मर्मत, र पानी पुनः प्रयोगका तरिकाहरू समेटिएको थियो ।

तालिम कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाकी वरिष्ठ सदस्य गुड्डी साहको नेतृत्वमा सम्पन्न भएको थियो भने नन्दनी गुप्ता, प्रिया कुश्वाहा, दुलारचन प्रसाद र आनंद यादवले सहकार्य गरेका थिए ।

आयोजकहरूका अनुसार यस्तो सचेतनामूलक अभियानले दीर्घकालीन रूपमा जल संकट न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास लिएको छ। यस्तै कार्यक्रमलाई मधेश प्रदेशका अन्य प्रभावित जिल्लामा पनि विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।

मधेश प्रदेशमै पर्साका एसपी मिश्रकाे उत्कृष्ट कार्यसम्पादन

0

वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको छ ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा प्राप्त यो सफलताको उच्च प्रशंसा गरिएको छ। कार्यसम्पादन सम्झौताको मूल्यांकनमा पर्सा प्रहरीले ९०.१९ प्रतिशत अंकसहित पहिलो स्थान हासिल गरेको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले जनकपुरमा आयोजित कार्यक्रममा जानकारी दिँदै एसपी मिश्रको नेतृत्वमा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम, तथा नीतिगत सुधारको क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साले मिश्रको कमान्डमा ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी र भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ। फरार प्रतिवादी पक्राउमा पनि उल्लेखनीय प्रगति गर्दै १,५११ जनालाई पक्राउ गरी ७३ वर्ष २ महिना कैद र झण्डै ३.५५ करोड जरिवाना असुल उपर गरेको छ ।

त्यस्तै, ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, अफिम लगायत विभिन्न लागुऔषधसहित १५३ जना कारोबारलाई नियन्त्रणमा लिइएको छ। मानव बेचबिखनसम्बन्धी १२ मुद्दा दर्ता गर्दै १३ जना अभियुक्तविरुद्ध कारबाही पनि गरिएको छ ।

प्रहरी उपरीक्षक मिश्रले भौतिक संरचना सुधार, प्रहरी मनोबल वृद्धिका साथै धार्मिक सद्भाव कायम राख्न शान्तिपूर्ण व्यवस्थापनमा समेत दक्षता देखाएका छन् ।

२०७७ सालदेखि सुरु भएको कार्यसम्पादन मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक उत्कृष्ट बन्न सफल भएको हो ।

डिप बाेरिङ जडानकाे लागि छैन् कुनै मापदण्ड, तिन सय मिटरकाे दुरीमा एक दर्जन जडान

0

वीरगंज । पर्सामा पानी संकटग्रस्तकाे समयमा पनि विभिन्न निकायकाे बिच समन्वय नभएकाे पाइएकाे छ । संघ र प्रदेश सरकारले मधेश प्रदेशलाई नै विपद् संकट तथा सुख्खाग्रस्त क्षेत्र घाेषणा गरेपनि तत्काल खानेपानीकाे लागि डिप बाेरिङ गाडने कार्य गरिरहेकाे विभिन्न निकाय र कार्यालय बिच समन्वय नहुँदा समस्या समाधान हुन सकेकाे छैन ।

खानेपानीकाे लागि वीरगंजमा संघ सरकार अन्तर्गतकाे खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, प्रदेश सरकार अन्तर्गतकाे खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र वीरगंज महानगरपालिकाकाे कार्यालय लगायतकाे निकायबाट बाेरिङ जडान भइरहेकाे छ । तर यी निकायहरु बिच समन्वय र सहकार्य नहुँदा कुनै टाेल र बस्तीमा एउटा पनि बाेरिङ जडान हुन सकेकाे छैन भने कुनै ठाउँमा थुप्रै बाेरिङहरु जडान भएका छन् ।

वीरगन्ज महानगरपालिका अन्तगर्तको रानिघाट क्षेत्रमा तीन सय मिटरको दुरीमा एक दर्जन बाेरिङ जडान भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा नजिक नै पर्ने महानगरको वडा नम्बर ९, वडा नम्बर १० र वडा नम्बर ११ मा पर्ने रानिघाट क्षेत्रमा एक दर्जन जति डिप बोरिङ जडान भएको पाएको हो ।

वडा नम्बर ९ मा रहेको जिल्ला प्रशासन कार्यालय देखि पश्चिममा बनारसी चोक हुँदै एकसय मिटरको दुरीमा ३ वटा र उतरको गल्लीमा तीन सय मिटरको दुरीमा ६ वटा डिप बोरिङ जडान भएको देखिएको छ । खानेपानीको अभाव भएको क्षेत्रमा डिप बोरिङ जडानको माग र आवश्यकता ध्यानमा राखेर बाेरिङ जडान गर्नु पर्नेमा कुनैपनि प्रकारको मापदण्ड पालना नभएको स्पष्ट रुपमा देखिन्छ ।

यति सम्म कि जिल्ला प्रशासन कार्यालय पर्सा नजिक नै एकसय मिटरको दुरीमा ३ वटा डिप बोरिङ जडान भएको पनि अवस्था छ । पछिल्लो एक महिनाको अवधीमा ३ सय मिटरमा जडान भएको डिप बोरिङ जडानमा मापदण्ड विपरीत हचुवाको भरमा बोरिङ जडान भएको स्थानीयबासीले आरोप लगाएका छन ।

राजनितिक पहुँचकाे आधारमा मापदण्ड विपरीत आवश्यकता भन्दा बाहिरको क्षेत्रमा डिप बोरिङ जडान भएको उनीहरुको भनाई छ । राजनितिकि दलका नेता कार्यकर्ता नै उपभाेक्ता समिति मार्फत डिप बोरिङ जडान गरेकाले आवश्यकता भन्दा पनि पहुचको आधारमा भएको देखिएको छ । अझै पनि साेही क्षेत्र दुई मिटर भित्र दुईटा बाेरिङ पनि फेरी अर्काे बाेरिङ जडान भइरहेकाे छ ।

यती धेरै बाेरिङ जडान भएकाे क्षेत्रमा खानेपानी संस्थानकाे ओभर हेड ट्या‌ंकीकाे खानेपानीकाे लाइन समेत रहेकाे छ ।

वीरगंज महानगरपालिकाको ३२ वटै वडामा खानेपानी समस्या छ । वीरगंजकाे वडा नम्बर १९ विन्दवासिनी र वडा नं. २४ रामगढवामा खानेपानीकाे ठूलाे समस्या छ । खानेपानी समस्या समाधानका लागि मधेस प्रदेश सरकार, नेपाली सेना, वीरगंज महानगरपालिका, खानेपानी संस्थान, स्थानिय जनप्रतिनिधिले टंयाकी मार्फत पानी वितरण गरिरहेका छन् ।

मतदाता नभएकाे बस्तीमा डिप बाेरिङ जडान भएन

वीरगंज महानगरपालिकाको वडा नम्बर २४ पशुपति विद्यालय देखि ज्ञानदा एकेडमी स्कुल सम्म एक वटा पनि डिप बोरिङ जडान नभएको स्थानीयबासीले गुनासो गरेका छन । महानगरपालिकाको नयाँ बस्तीको रुपमा रहेको उक्त बस्तीमा करिब एक सय घरदुरी रहेका छन् । तर ति बस्तीका बासीहरु स्थानिय मतदाता नभएकाेले कसैकाे ध्यान पुग्न नसकेकाे स्थानीयहरु बताउँछन ।

अहिले उक्त बस्तीमा बिहान र बेलुका गरी खानेपानी टंयाकी बाट पानी वितरण भईरहेको स्थानिय बिनोद चौरसीयाले बताए । उनका अनुसार अहिले खानेपानीको लागी टंयाकीको आसमा स्थानीयबासी बाँचीरहेका छन ।

वर्षौंदेखि अनवरत पानी आउने चापाकलहरूमा पानी सुक्न थालेको छ । पानी पर्याप्त नपर्दा गर्मी अचाक्ली बढेको छ । सर्वसाधारण मिनरल र जारको पानी किनेर खान बाध्य भएका छन् ।

एउटा बाेरिङ जडानमा ७ देखि ८ लाख सम्म खर्च

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगंजका प्रमुख विपुल लाल दासले महानगरपालिकामा खानेपानीको अभाव भएको ठाउँमा तत्काल समस्या समाधानकाे लागि उपभाेक्ता समिति मार्फत डिप बोरिङ जडान भएको जानकारी दिए ।

उनले एक वटा डिप बोरिङ जडानमा करिब ४० देखि ६० घरलाई खानेपानीको सुबिधा उपलब्ध गराउन करिब साढे ७ देखि ८ लाख सम्म खर्च भईरहेको बताए । उनका अनुसार महानगरपालिकाको क्षेत्रमा जडान भएको डिप बोरिङ जडान, पानी सप्लाई  टयांकी, फिटिङ सम्ममा यति रकम खर्च भईरहेको अवस्था छ ।

घना बस्ती भएका कारण एउटै ठाँउमा धेरै बाेरिङ जडान गर्नु परेकाे प्रमुख दासकाे भनाई छ । अहिले नजिक नजिकको दुरीमा भन्दा पनि आवश्यकता र घरको संख्या बमोजिम डिप बोरिङ जडान भएको कार्यालय प्रमुख दासले बताए ।
उपभोक्ता समितिले आवश्यकता र वडा तहमा समन्वय गरेर नै डिप बोरिङ जडान भएकाले खासै समस्या नभएको उनले बताए ।

टेण्डर मार्फत डिप बोरिङ जडान गर्न समय लाग्ने भएकाले छिटोसुबिधा उपलब्ध गराउने उद्येश्यले नै उपभोक्ता समिति मार्फत अगाडी बढेको दासले बताए ।

दासका अनुसार कार्यालय मार्फत गत आव ०८१/०८२ मा पर्सामा ९४ वटा डिप बोरिङ जडान भएको अवस्था छ । जस मध्ये वीरगंज महानगरपालिकाकाे विभिन्न वडामा मात्र ८७ वटा बाेरिङ जडान भएकाे छ । यसका साथै नयाँ आर्थिक बर्षमा पनि डिप बाेरिङहरुकाे जडान भइरहेकाे उनले वताए । साउन महिनामा भएकाे बाेरिङ जडानकाे एकिन तथ्यांक अहिले भन्न नसकिने उनले भने ।

जिल्ला विपद् व्यवस्थान समितसंगै छैन जडान भएकाे डिप बाेरिङकाे तथ्यांक 

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानीको अभाव भएको महानगरपालिकाको क्षेत्रमा लगातार भईरहेको डिप बोरिङ जडानको वास्तविक तथ्यांक नभएको बताए ।

महानगरपालिकाको एकै वडामा आवश्वयकता भन्दा बढि डिप बोरिङ जडान भएको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले बोरिङ जडानमा आवश्यकताकाे आधारमा मात्र गर्न जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेकाे बताए ।

खानेपानीको चरम अभाव भएको भन्दै सहज आपुर्तीको लागी बोरिङ जडान भएको हो भएपनि अहिले लागत संकलन भईरहेकाले यकिन तथ्यांक उपलब्ध नभएको उनले बताए । अहिले पनि केही क्षेत्रमा खानेपानीको अभाव रहेकाले त्यहाँ सहज रुपमा खानेपानीको सुविधा उपलब्ध गराउने काम भईरहेको प्रमु जिल्ला अधिकारी अर्यालले बताए ।

खानेपानीको समस्या भएको क्षेत्रमा बोरिङ जडानमा डिप बोरिङको लगत संकलन गर्ने, खानेपानी अभाव रहेका क्षेत्रको पहिचान गर्ने, आवश्यकता पहिचान भएका क्षेत्रमा पानी आपूर्तिको अवधारणापत्र तयार गर्ने, वास्तविक रूपमा खानेपानी अभाव भएका क्षेत्रको पहिचान गर्ने गरी काम गर्न निर्देशन दिईएको उनले वताए ।

वीरगंज महानगरपालिकाले पनि डिप बाेरिङ जडान गरेपनि तथ्यांकाे लागि वीरगंज महानगरपालिकाकाकाे सुचना अधिकारी सुनिल कुमार कर्णसंग बुझ्दा आफु समक्ष अहिले तथ्यांक उपलब्ध नभएकाे वताए । उनले वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राकेश साहसंग बुझ्न भने । तर प्रमुख साहकाे फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

विपद् र संकटकाे बेला पनि अनियमितता भइरहेकाे गुनासाे 

विपद् र संकटकाे बेला पनि सराेकारवालाहरुले एकद्वार प्रणाली लागु नगरेकाे स्थानियहरुले गुनासाे गरेका छन् । आवश्यकताकाे पहिचान गरि एकद्वार प्रणालीबाट डिप बाेरिङ जडान हुनु परेमा मनाेपरी तरिकाले भइरहेकाे उनीहरुकाे भनाई छ । त्यासमा पनि ब्यक्तिले डिप बाेरिङ जडान गर्दा दुई देखि ३ लाख सम्म लाग्ने खर्च सरकारी निकायले गर्दा ७ देखि ८ लाख रुपैया लाग्ने गरेका कारण अनियमितता भइरहेकाे स्थानियहरुकाे भनाई छ ।

त्यसमा पनि कुनै निकायले पनि एकिन तथ्यांक बताउन नमानेका कारण दाेहाेराे भुक्तानीकाे पनि अशंका रहेकाे एक स्थानिय नेताले वताए । विपद् र संकटकाे बेला मानवताकाे नताले भएनि समस्या समाधानमा मार्फत ध्यान हुनु पर्नेमा यहाँ भाेटकाे राजनितिक र उपभाेक्ता समितिकाे नाममा कार्यकर्ता पाल्ने काम मात्र भएकाे ति नेताकाे भनाई थियाे ।